आफ्ना शीर्ष नेताको हत्या गरिएपछि हमासले के भन्यो ?
काठमाडौं । इजरायलले बुधबार बिहान हमास प्रमुख इस्माइल हानियाको हत्या गरेको छ । इरानको राजधानी तेहरानमा हमास प्रमुखको हत्या भएको हमासले पुष्टि गरेको छ ।
हमासले एक विज्ञप्ति जारी गर्दै तेहरानमा रहेका प्यालेस्टाइनी समूहको पोलिटब्युरोका प्रमुख इजरायलको विश्वासघाती आक्रमणमा मारिएको जनाएको छ । हानिया इरानका नवनिर्वाचित राष्ट्रपति मसुद पेजेस्कियानको पदभार ग्रहण समारोहमा सहभागी हुन तेहरान गएका थिए ।
हमासको राजनीतिक ब्यूरोका सदस्य मौसा अबु मारजुकले हानियाको मृत्युको बदला लिइने बताए। उनले इस्माइल हनियाको ‘कायरपूर्ण’ हत्याको जवाफ दिइने बताए ।
कतारमा बसेका हानिया मंगलबार इरानी राष्ट्रपति पेजेस्कियानको पदभार ग्रहण समारोहमा देखिएका थिए । इरानी राष्ट्रपतिसँगको भेटमा हानियाले हमास र प्यालेस्टाइनलाई समर्थन गरेकोमा इरानप्रति आभार व्यक्त गरेका थिए ।
इरानको तेहरानस्थित आफ्नो निवासमा इजरायली हमलामा मारिनुभन्दा केही घण्टाअघि उनले इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनीलाई पनि भेटेका थिए।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले हानियासँगै उनका अंगरक्षक पनि मारिएको जनाएको छ । बुधवार बिहान एक विज्ञप्तिमा आइआरजीसीले हमास प्रमुख इस्माइल हानिया र उनका एक अंगरक्षक तेहरानमा उनको निवासमा भएको आक्रमणमा मारिएको बताएको छ।
विज्ञप्तिमा भनिएअनुसार आक्रमण बुधबार बिहानको समयमा भएको थियो र आक्रमणको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ।
प्यालेस्टाइनी अथोरिटीका अध्यक्ष महमुद अब्बासले हमास प्रमुखको हत्याको निन्दा गर्दै यसलाई कायरतापूर्ण कार्य भनेका छन् । उनले इस्माइल हनियाको हत्या एकदमै ‘खतरनाक घटना’ भएको बताएका छन् ।
Facebook Comment