अस्पताल गएका बेला हाइटीका प्रधानमन्त्रीमाथि आक्रमण

डिसी नेपाल
१६ साउन २०८१ १६:४४

काठमाडौं । हाइटीका प्रधानमन्त्रीमाथि गोली प्रहार भएको छ । सुरक्षा बलहरूले प्रधानमन्त्री ग्यारी कोनेललाई पोर्ट-ओ-प्रिन्सको अस्पतालबाट सुरक्षित रूपमा बाहिर निकालेका थिए।

हाइटीमा ग्याङ वार चलिरहेको छ र यहाँ यस्ता घटना बारम्बार हुने गरेका छन् । उदाहरणका लागि, गिरोह लडाकुहरूले दिनहुँ आम मानिस र सुरक्षा बलमाथि आक्रमण गर्छन्। प्रधानमन्त्रीलाई बचाउन सुरक्षाकर्मीले फायरिङ गर्नुपरेको थियो ।

प्रधानमन्त्री कोनिलले राष्ट्रिय प्रहरी प्रमुख नोर्मिल रामेउ र केही पत्रकारहरूसँग हाइटीको सबैभन्दा ठूलो अस्पतालको भ्रमण गर्दा बाहिर बन्दुकको आवाज सुनिएको थियो। यहाँको अस्पतालको भ्रमणका क्रममा प्रधानमन्त्रीले अन्तर्वार्ता दिइरहेका बेला गोली चल्न थाल्यो । यसैबीच सुरक्षाकर्मी बाहिर आए र कैयौं राउण्ड फायरिङ गरे ।

प्रधानमन्त्री कोनिलको कार्यालयबाट जारी विज्ञप्तिमा प्रधानमन्त्री र उनको टोली सकुशल अस्पतालबाट निस्कन सफल भएको स्पष्ट पारिएको छ । यस दुर्घटनापछि प्रधानमन्त्री सीधै आफ्नो कार्यालय पुगेका थिए । यस घटनामा कुनै हताहत नभएको र कोही घाइते भएको जानकारी छैन ।

वास्तवमा प्रधानमन्त्री कोनिल गएको अस्पताल पहिले गिरोहको नियन्त्रणमा रहेको थियो । गत महिना मात्रै उक्त अस्पताललाई सुरक्षाकर्मीले आफ्नो नियन्त्रणमा लिएका थिए । प्रधानमन्त्री र उनको टोली अस्पतालको निरीक्षण गर्न पुगेका थिए तर गोली हानाहानले यहाँ असुरक्षा सिर्जना गरेको थियो । अस्पताल भ्रमणका क्रममा प्रधानमन्त्रीले उक्त क्षेत्रलाई ‘युद्ध क्षेत्र’ भएको भन्दै त्यहाँको स्वास्थ्य प्रणाली नराम्ररी प्रभावित भएको बताए ।

अहिले यो अस्पताल हाइटीको राष्ट्रिय पुलिस र केन्याली पुलिसको नेतृत्वमा संयुक्त राष्ट्रसंघ समर्थित मिसनको नियन्त्रणमा छ । शान्ति सेनालाई हिंसा नियन्त्रण गर्न हाइटीमा तैनाथ गरिएको छ। हाइटीको राजधानीको ८० प्रतिशत भूभाग गिरोहको नियन्त्रणमा छन् र यहाँका मेडिकल संस्था र औषधि पसलमा लुटपाट गरिरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *