इस्माइल हानियाको हत्याको बदला लिने इरानको घोषणा, जामकरन मस्जिदमा रातो झण्डा फहराइयो
काठमाडौं । इजरायलले हमास प्रमुख इस्माइल हानियाको इरानको राजधानी तेहरानमा हत्या गरेपछि अहिले इरानले यो हत्याको बदला लिने घोषणा गरेको छ । बदलाको घोषणाको जानकारी दिन इरानले आफ्नो देशको जामकरन मस्जिदको गुम्बजमा रातो झण्डा फहराएको छ ।
जामकरण मस्जिद इरानको राजधानी तेहरानबाट १२० किलोमिटर टाढा कोममा छ। कोमलाई इरानको पवित्र सहर मानिन्छ। यो मस्जिद इरानमा धेरै महत्त्वपूर्ण मानिन्छ र एक मात्र गुम्बज भएकोले यो मस्जिद विशेष छ। यो मस्जिद शिया मुस्लिमहरूका लागि महत्त्वपूर्ण तीर्थस्थल हो र इरानका विभिन्न ठाउँबाट मानिसहरू यहाँ आउने गर्छन्।
इरानको यो मस्जिद रातो झण्डाका कारण प्रायः विश्वभर चर्चामा रहन्छ। यस मस्जिदमा रातो झण्डा फहराइएको यो पहिलो पटक भने होइन । यहाँ यसअघि पनि पटकपटक यस्तो भएको छ । इरानले कसैको मृत्यु वा आक्रमणको बदला लिने घोषणा गर्दा यो रातो झण्डा फहराइन्छ। रातो झण्डा वास्तवमा युद्धको घोषणा हो।
झण्डामा अरबी भाषामा “या ला-थारत अल-हुसेन” लेखिएको छ, जसको अर्थ “हे हुसेनका बदला लिनेहरू” हुन्छ । यो झण्डा राखेपछि इरानको तर्फबाट अब इरानले मृत्युको बदला लिन्छ भन्ने सन्देश दिइन्छ । अहिले इरानले इजरायलसँग बदला लिने चर्चा भइरहेको छ ।
पछिल्ला वर्षहरूमा रातो झण्डा धेरै पटक फहराइएको छ। हरेक पटक प्रतिष्ठित व्यक्तिको मृत्युपछि यस्तो भइरहेको छ ।
सन् २०२० को शुरुवातमा पनि रातो झण्डा फहराइएको थियो । त्यो समय इरानी कुड्स फोर्सका शीर्ष कमाण्डर जनरल कासिम सुलेमानीको हत्यापछि यस्तो गरिएको थियो। त्यसबेला इराकमा अमेरिकी हवाई आक्रमणमा सुलेमानी मारिएका थिए ।
सन् २०२४ को सुरुमा कासिम सुलेमानीको पुण्यतिथिमा आयोजित कार्यक्रममा बम विस्फोट हुँदा पनि यो झण्डा राखिएको थियो । त्यतिबेला पनि इरानले बदला लिने कुरा गरेको थियो । सन् २०२२ मा पनि इरानले साउदी अरेबियामा आक्रमण गर्न सक्ने खबर आएको थियो । त्यसबेला इरानले नोभेम्बरमा रातो झण्डा फहराएको थियो।
एएफपी रिपोर्टका अनुसार अहिले यो झण्डा फहराइएको छ, तर यसलाई हटाउनको लागि कुनै निश्चित समय छैन। यो केहि दिन पछि हटाइन्छ र यसको लागि कुनै सही मिति छैन।
Facebook Comment