बाघ बरदान कि अवसान ?

यो बर्षको बाघ दिवस सुन्दर शान्त बिशाल भयो। २९ जुलाईको बाघ दिवसलाई शुभकामना सन्देशहरु पोष्ट भए ३ दिन अगाडि देखि। २९ तारिख सामाजिक सञ्जाल छपक्कै भएको देखेर हर्ष लाग्यो। बाघ प्रेमीहरुको संख्या ब्यापक बढ्नु बाघ र बाघको बासस्थानलाई शुभ संकेत थियो।

राजधानीमा बाघ दिवस उस्तै भब्य, सभ्य र संरक्षणमय भयो। राष्ट्रिय बाघ संरक्षण समितिका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न बाघ दिवसमा प्रधानमन्त्रीलाई बाघहरुले घेरे। आहार-पानी, रुखको छहारी मागे।

शान्ति सुरक्षा पाउ भने। सहअस्तित्व कामय राखी मिलिजुली आ-आफ्नो सीमा भित्र शान्तपूर्वक बसेर संमृद्धिमा पुग्ने रोडम्याप प्रस्तुत गरे र संरक्षण इतिहासमा पहिलोपटक “प्रधानमन्त्री-बाघ संवाद” भयो। अत्यन्त सकरात्मक संवादबाट बाघविज्ञ, बाघप्रेमी र बाघ संरक्षणकर्मीहरु उत्साहित र उत्प्रेरित भए।

यो वर्ष बाघ कै बासस्थानमा समेत संरक्षण साझेदारहरु संरक्षणको साझा छातामुनि गोलबद्ध भएर मनाएको सन्देशमूलक बाघ दिवस उस्तै सभ्य भब्य संरक्षणमय र प्रशंसायोग्य थियो।

बाघ दिवसलाई शिर पुच्छर नियाल्दा निष्कर्ष प्राप्त भयो- बाघ तेब्बर बढाएर नेपालले अन्तर्राष्ट्रिय ख्याती कमायो। बाघ राष्ट्रिय गौरव हो। बाघ पर्यटन, बाघ कुटनीतिमार्फत समृद्धिमा पुग्ने काम बाँकी रह्यो।

पंक्तिकारलाई दिवस सभ्य, भव्य र संरक्षणमय लाग्नुमा केही बिशेष कारणहरु थिए-

दिवसमा ब्यस्त समयको बाबजुद बाघका खाँटी अभिभावक प्रधानमन्त्री उपस्थित हुनु र संरक्षण संकल्प गर्नु संरक्षणकर्मीहरुलाई ठूलो उत्साहको कुरा थियो। वन तथा वाताबरण मन्त्री र आयोजक निकुञ्ज बिभागका डिजिको सानदार संरक्षण प्रस्तुति र रोडम्यापले सहअस्तित्वमार्फत समृद्धिको गन्तब्य स्पष्ट पारेको थियो।

आयोजकले मञ्चमै बाघ, बाघको बासस्थान र बाघसँग दैनिक मिलिजुली बस्ने समुदायलाई सानदार प्रस्तुत गरेको थियो। हलभित्र संरक्षण साझेदारहरुको सम्पर्क, सुसम्वन्ध, समन्वय र सहकार्यको सुवास आइरहेको थियो।

हरेक प्रस्तुतिले दर्शकमा सकरात्मक भाव र संरक्षण उर्जा भरिरहेको थियो। संरक्षण प्रतिबद्धता बोकेर बाघ संरक्षण र समृद्धिको महान पबित्र अभियानमा होमिन सरोकार सबैलाई हौसला दिइरहेको भान हुन्थ्यो।

जब कि गत बर्ष बाघ समस्या हो, चुनौती हो र बाघ सिकार गरेर समृद्धिमा पुग्न सकिन्छ भनेर प्रमुख अतिथि वन तथा वाताबरण मन्त्री डा.बीरेन्द्र महतो बाघ जस्तै गर्जेपछि दिवस खल्लो र झल्लु भएको थियो।

अन्तर्राष्ट्रिय सन्धी सम्झौताको खिल्ली उडाइएको थियो। प्रशासन, कर्मचारी, बाघविज्ञ, संरक्षण साझेदार संघ संस्थाहरुलाई एकमुष्ट गाली दिएर रातोपिरो खुर्सानी जस्तो बनाइएको बितन्डा थियो। बाघको घोर निन्दा र अपमान!

बाघले केन्द्रसँग खोजेको अभिभावकत्व र संरक्षकत्व यही हो। स्थानीयसँग खोजेको मेलमिलाप र सहअस्तित्व पनि त्यही हो। समुदायलाई सुम्पिइएको स्वामित्व समुदायको स्वस्फूर्त सहभागिताबाट झल्केको थियो। संरक्षण साझेदार संघ संस्थाले दर्शाएको बाघको अपनत्व कदरयोग्य थियो।

बाघको पहिलो घेराको प्राक्टिकल सुरक्षाकर्मी नेपाली सेनाका निकुञ्ज निर्देशकको पूर्णकालीन सहभागिता संरक्षण प्रतिबद्धताको बिम्ब थियो। सायद संरक्षण सुदृढीकरणको आतुर पनि हुँदो हो।

केन्द्रदेखि स्थानीय तहसम्म बिद्यार्थीहरुको उत्साहजनक सहभागिताले जुनियर रेञ्जर्सको डट्कारो माग, बाघको स्वामित्व ग्रहणको गहिरो इच्छाशक्ति र स्वस्थ भविष्यलाई स्वस्थ प्रकृति र पृथ्वीको उत्कट चाहना दर्शाउँदथ्यो। अथवा, अग्रजको प्रकृति दोहन र विनासप्रति अविश्वास र वाल खबरदारीको आकांक्षा प्रकट भएको भान हुन्थ्यो।

मेरो यो आलेख बाघ दिवसको समीक्षा र बाघ संरक्षणको चासो चिन्तामा केन्द्रित हुनेछ।

बाघ तेब्बरको उपलब्धि

हाम्रो अन्तर्राष्ट्रिय कबोल दोब्बर मात्र सीमित हुनुपर्ने थियो। १२१ बाघलाई २४२ देखि २५० पुर्‍याएको भए बिश्व सामू गरेको प्रतीज्ञा पूरा भइहाल्थ्यो। तर बाघ बढेर ३५५ पुग्यो। विना योजनाको हचुवा कबोल र मुढे बलको बाघ संरक्षणको परिणाम पनि अप्रत्याशित र अकलल्पनीय हुने नै भयो। जे भयो अति राम्रो भयो।

यो अकल्पनीय नतिजालाई समस्या भनेर अतिरंजित गरिएको भाष्य दूर्भाग्यपूर्ण छ। यो नतिजाका फाइदा र संन्देश असंख्य छन्। केही मुख्यलाई बुँदागत रुपमा प्रस्तुत गर्नुपर्दा-

-नेपाल बाघको उर्बर भूमि हो।

– नेपालीको प्रकृति प्रेम, प्रकृतिपुजा, सहअस्तित्व शक्ति, सहनशीलता र धैर्यता अद्भूत धेरै छ। दुर्गामाताको बाहन बाघ नेपाली धर्म, संस्कृति, विश्वास र शक्तिको प्रतीक हो। आम नेपालीको मुटु हो।

– नेपाल आफ्नो कबोल र संकल्पप्रति दत्तचित्त, एकाग्र छ। नेपालीमा असीमित तागत् र महाशक्ति निहीत छ। बाघको नजिताले त्यही सत्य प्रमाणित गर्दछ।

-बिकृति र नियोजित संचार भ्रमले उचाल्ने पछार्ने छिन्नभिन्न नगर्ने हो भने बाघ र समुदाय दुबै लक्ष्मण रेखाभित्र शान्त, स्थिर, खुशी–सुखी र जितैजितको प्राकृतिक सन्तुलनमा रमाईरहेका छन्।

-राष्ट्रिय सेनाको लगातार ५० वर्ष भित्री घेराको सुरक्षा पाउने नेपालका बाघ विश्वकै भाग्यमानी बिशिष्ट र सर्बोच्च प्राणी हुन्। अन्य सुरक्षा निकायहरु र समुदायको दोश्रो सुरक्षा घेरा उस्तै सशक्त छ। सर्बोच्च पद प्रधानमन्त्रीदेखि सबै तह र दूरदराजका जनतासम्म सहभागी संरक्षण संरचनाले अति बिश्वसनीय र धेरै पत्र-पत्रको सुरक्षा कवचभित्र यो राष्ट्रिय गौरवको प्राणीलाई युग-युगसम्म संरक्षण गरिछाड्ने दृढ संकल्प बोकेको चित्र आफैंमा बिशिष्ट र गर्विलो छ।

– बाघको यो विशिष्ट संरक्षण मोडलप्रति विश्व आकर्षित र हर्षित छ।

बिचौलियाको बक्र दृष्टि र संचार भ्रम

बाघको आवस्यकता, महत्व, राष्ट्रिय गरिमा र प्राकृतिक गुरुत्वलाई तिलाञ्जली दिएर बिचौलिया बाघको बासस्थान निजीकरण गर्न न्वारनदेखिको बल झिकेर  लागेको सत्य अब गुप्त छैन, घाम जस्तै छर्लङ्ग छ।

बिचौलियाको सपना र निशाना अब खुद्रा हात्तीवन, चन्द्रागिरि होइन, थोकमा संरक्षण क्षेत्र र बाघको अधिनस्थ क्षेत्र (कोर एरिया) कब्जा गर्नु हो। पहिलो गाँसमा बिश्व प्रख्यात र विश्व सम्पदा चितवन राष्ट्रिय निकुञ्ज र अन्नपूर्ण संरक्षण क्षेत्र हत्याउनु हो।

स्थानीय समुदायलाई दास बनाएर आफू मालिक बन्नु हो। निकुञ्जमा तैनाथ राष्ट्रिय सेनालाई प्राइभेट सेना बनाएर निःशुल्क सेवा लिनु र शान मान उचो बनाउनु हो। यही हुँइयाको पछाडि सत्ता, सरकार, प्रशासन, संचार कालो पट्टी लगाएर हिँडिरहेको हुनाले फिल्डमा सेना-समुदाय दिग्भ्रमित भएको छ।

मन्त्रालय, विभाग र समुदाय विभाजित बिखण्डित छ। संरक्षण साझेदार संघ-संस्थाहरु चेपुवामा परेर दिशाहीन, ओजहीन, श्रोतविहीन अवस्थामा पुगेका छन्। सर्वत्र बिचौलियाद्वारा संचालित राजनीतिकरण छाएको छ, हावी छ। संरक्षण नैतिकता खरिद भएर खुइलिएको र मरेको छ।

तसर्थ, बाघ अरुलाई होइन ती बिचौलियालाई समस्या भएको छ। बाघ नभए बाघको बासस्थान दलहरुले वनाएका कृत्रिम कथित् भूमिहीन, सुकुम्बासी मुक्त कमैयालाई बाँड्ने राजनीतिक प्रपञ्च छ, र कसले बांड्ने भन्ने दाउ धार लगाएर बसेको दुर्भाग्य छ। वन जंगल मासेर भोट बढाउने यो गुप्त योजना आत्मघाती छ, अक्षम्म छ। बिश्व संरक्षण समुदायबाट नेपाललाई काढ्ने हटाउने कुनियतउन्मुख छ।

पर्दा पछाडिका यी मूल स्वार्थहरुको एकमुष्ट कृत्रिम रुप हो मानव-बाघ द्वन्द्व। बर्दियाले यो बर्ष मिहेनत गरेर मानव-बाघ द्वन्द्व शून्यमा राख्यो। झापाको बाहुनडांगीले मानव-हात्ती-द्वन्द्व शून्यमा राखेको ५ बर्ष नाघ्यो। दिनहुँ बाघ र हात्ती झेल्ने तर मिलेर बस्ने ती असल नमूना पाठहरुको किन प्रचार प्रसार हुँदैन?

सर्पको टोकाईबाट बर्षेउनी मृत्यु हुने तीन हजार बढी पीडित हुन् वा आकासमा दुर्घटनाग्रस्त ६९ जहाज र ३९ हेलिकोप्टरबाट ज्यान गएका ९४१ निर्दोष यात्रु हुन् वा गुणस्तरहीन सडक दुर्घटनाबाट ६ बर्षमा ज्यान जानेहरुको १४ हजार र घाइते २९ हजारको संख्या होस् वा प्रदुषणले प्रतिवर्ष ज्यान लिने ४२ हजार र राजधानीमा मात्र मृत्युवरण गर्ने ५ हजार बढीको भयाबह चित्रणमा सरकार र संचारको ध्यान जाँदैन तर बाघको छिट्पुट् घटना, त्यो पनि ९८ प्रतिशत बाघ आक्रमण उसकै वासस्थानभित्र हुँदा, त्यसलाई बढाई चढाई कोलाहल समाचार वनाईन्छ। दुर्भाग्य, उद्देश्य उल्टो छ कालो छ। समग्र प्रकृतिबिरोधी छ।

बाघ बढी भयो र हाम्रो बाघ क्षमताबहनमा भ्रम सृजना गरेर सत्ता सरकार, सेना, समुदाय सबैलाई दिग्भ्रमित पारिएको छ। जब कि भारतको जिम् कर्बेट र काजिरंगामा प्रति सय बर्ग किमि १४ र १३ बाघ अटाएका रमाएका छन् भने नेपालको बर्दिया, चितवन र पर्सामा त्यति क्षेत्रफलमा बाघको संख्या भर्खरै ७, ४ र १ पुग्दैछ। कसरी यहाँ बाघ बढी भयो ? हो ब्यवस्थापन र संरक्षण नपुग्दा बाघ बाहिर निस्कन बाध्य भएको हुनसक्दछ। त्यसको सजिलो उपचार छ।

राष्ट्रिय स्वाभिमानको अपमान

बाघ तेब्बर हुनु आकासको जुन नेपालमा झार्नु सरह हो। अकल्पनीय उपलब्धि हो। बिश्वलाई चमत्कार पारेको जादु हो। बिश्वलाई आकर्षित वनाएको र बाघ हेर्न नेपाल जानुपर्दछ भन्ने हुट्हुटी चलाएको सुखद् र गौरवशाली समाचार हो।

अझ बिपन्न तर संस्कृति र आतिथ्यताका धनी समुदायका आँगनमा बाघ हेर्न पाइने सुवर्ण अवसर पर्यटकहरुको दुबै हातमा सुनको लड्डु जस्तो भएको थियो। नेपाल जस्तो सानो र गरिब मुलुकमा ३५५ बाघ हुनु भनेको हीराको खानी हुनु हो। बिश्व लोभ्याउने, डाक्ने, बाघ देखाउने र तृप्त पारि घर पठाउने जादुगर हीरा!

तर संचार भाष्य उल्टो र पर्यटनको जरा काट्ने करौती भइदियो, कि नेपालमा बाघ समस्याग्रस्त छन् र मान्छे मार्न खप्पीस छन्। निकुञ्ज ताक्ने तस्करहरुले कुनियतले रचेको र संचार खरिद गरेको यो भाष्यले राष्ट्रिय पर्यटन मारेको छ। राष्ट्रिय बदनाम गराएको छ।

सफलता तीन गुना-हात लाग्यो शुन्ना

बाघ बढाएर गल्ती भएछ भन्ने लज्जाबोध र हीनताबोधले ग्रसित छ अहिले हिजोको महाशक्ति फिल्ड। केन्द्र राजनीति ग्रहणले स्यालजस्तो निरीह हुँदा पनि जीउ-धन परिवार नभनी अहोरात्र फिल्डमा खट्टिने फ्रन्ट लाईन संरक्षणकर्मीहरु बाघ जस्तै महाशक्तिशाली थिए।

आफ्नो गाँस-बास काटेर बाघलाई दिने र बाघले आक्रमण गर्दा झन् सशक्त संरक्षणकर्मी हुने भदै थारु जस्ता थुप्रै त्यागी स्वयंसेवी संरक्षणकर्मीहरुको त्याग र रगतले बढेका बाघहरु समाज र देशलाई बरदान थिए। समृद्धिका बाहक थिए।

अहिले तिनको जाँगर र अदम्य साहसमा करौती लगाइएको छ। फलतः बिचौलियाको एउटा गोलीले फिल्डका सबै शक्ति र संभावनाहरुलाई ठहरै पारेको प्राणहीन अवस्था छ।

हुनुपर्ने थियो स्मार्ट व्यवस्थापन र संरक्षण। किनभने तेब्बर बाघलाई स्वभाविकरुपमा तेब्बर राम्रो ब्यवस्थापन र तेब्बर सुरक्षा बृद्धि गर्नुपर्ने थियो। आहार पानी व्यवस्थापन बासस्थान ३ गुना बढाउनु पर्ने थियो। जुन बिलकूल सजिलो थियो।

तीनगुना शान्ति सुरक्षा बढाउन संरक्षणकर्मीलाई श्रोत साधन सम्पन्न बनाउन जरुरी थियो। नेपाल प्रहरी र सीमा सुरक्षामा तैनाथ सशस्त्र प्रहरीको अबैध ब्यापार अनुगमन र नियन्त्रण क्षमता बढाउनासाथ सुरक्षा घेरा कसिलो, मजबुत् र ४ गुना शक्तिशाली हुने थियो।

कोभिड्ले छिन्नभिन्न संरक्षण टिमलाई बाघको कार्यकारी बिभागले साझा संरक्षण छातामुनि गोलबद्ध गरेर परिचालन गर्न सकेको भए कृत्रिम मानव – बाघ द्वन्द्व उही बेला निमिट्यान्न पार्न सकिन्थ्यो।

उर्जावान स्थानीय युवाहरुको संजाल (सिबिएपियु) लाई संस्थाकरण, सबल, सक्षम वनाएको भए त्यो अर्को रामबाण रक्षाकवच हुने थियो र कथित् द्वन्द्वलाई शून्यमा झार्ने थियो।

चुनौती र सुझाव

चुनौती बाघ होइन बिचौलियाको जाल झेल हो। सत्ता सरकार संचारलाई दिग्भ्रमित् बनाउने बिचौलियाको जालमा परेर सत्ता र संचारले बाघको बासस्थानलाई कतै झन् बिभाजित बिखण्डित र कब्जा गर्ने ध्येय नराखून।

गरिब समुदायले घर घडेरी रगतसँग साटेर रक्षा गरेको बाघको घर कतै खोसेर घरानालाई नसुम्पिउन्। जलवायु परिबर्तनलाई अनुकूलन गर्न बाघ खप्पीस छ। नेपालको हकमा जलवायु परिवर्तन र प्राकृतिक बिपद् कृत्रिम हो र मूलतः मानव सृजित हो। र, यसको उपचार बाघ फष्टाएको स्वस्थ वनजंगल, हरित नेपाल र हरित समृद्धि हो।

तसर्थ यी कृत्रिम चुनौतीलाई पन्छाएर, दिमागबाट उखेलेर व्यवस्थापन र संरक्षण सुदृढीकरणमा सरोकार सबै एकजुट हुन जरुरी छ-

पहिलो, प्रधानमन्त्री र वन तथा वातावरणमन्त्री भ्रममुक्त हुन बिचौलिया र दलालहरुसँग दूरी बढाएर बिज्ञहरुको कम्पास र पदमार्गमा अर्थपूर्ण, शोभायमान र सुरक्षित यात्रा गर्न जरुरी छ। बाघको कार्यकारी डिजि बिचौलियाको होइन बाघको दूत र सच्चा संरक्षक भएर चट्टानी अडान लिई उभिन जरुरी छ। प्रकृति संरक्षणलाई अराजनीतिक राख्ने संकल्पले ९० प्रतिशत विकृति स्वतः समाधान हुनेछ।

दोश्रो, संरक्षण टिमबिल्डिङ र टिमवर्क दिगो र नमूना संरक्षणको रामबाण मन्त्र हो। टिम वनाउने र परिचालन गर्ने प्रमुख दायित्व डिजिको हो। विना धक र ढिलाई संरक्षण साझेदारहरु सबैलाई गोलबद्ध गर्न डिजिको गतिशील नेतृत्व जरुरी छ। सीमा सुरक्षामा तैनाथ सशस्त्र प्रहरी बललाई संरक्षण टिमको अभिन्न अंग वनाउन बिलम्ब भईसकेको छ। वर्तमान संरक्षण अपूरो र खुँडो छ।

तेश्रो, हिजो सशस्त्र द्वन्द्व पछिका खाली निकुञ्ज भर्ने र शून्य शिकार सम्म पुग्ने नेपाली सेनाले भ्रममुक्त भई हिजोको “गर नत्र मर” रोड्म्यापमा दरो खरो उभिएर चोरी शिकार र छिट्पुट् हुने मानव-बाघ द्वन्द्व दुबैलाई शून्यमा झारिछाड्ने संकल्प गर्न जरुरी छ।

यसको लागि निकुञ्ज भित्र कानुनले निषेध गरेको अवैध घुसपैठ् शून्यमा झार्नु पर्दछ। सँगसँगै व्यवस्थापनले निकुञ्जभित्र मनग्गे आहार पानी र शान्तिको व्यवस्था गरेर बाघलाई कोर एरियामा खुशी सुखी राखिदिनुपर्दछ।

३ प्रतिशत बृद्ध र अशक्त बाघलाई रेडियो कलर गरि प्रभावकारी अनुगमन अथवा खोरमा होईन प्राकृतिक उद्धार केन्द्रमा राखेर नियन्त्रणमा लिने असल अभ्यासको थालनी न असम्भव छ न पर्लय। केवल इच्छाशक्ति भए पुग्दछ।

चौथो, स्थानीय सरकार र समुदाय सचेत भई बाघको स्वमित्व लिन र संरक्षणमा स्वस्फूर्त सहभागी हुन जरुरी छ। विचौलियाको बाघ र बाघ धनी निजी बनाउने, दास वनाउने र नाफा एक्लै कुम्ल्याउने जाल ध्वस्त हुने गरि भत्काउन जरुरी छ।

पाचौं, गरिबको आँखा अगाडि महँगो बाघलाई दिगो रक्षाकल्याण सम्मान गर्न कठिन र अशोभनीय हुन्छ। तसर्थ, राजधानी र सहर केन्द्रित समृद्धिलाई पहिला र अनिवार्य बिपन्न गाउघरमा पु¥याउन जरुरी छ। समृद्धिले मात्र बाघ र मान्छे दुबैलाई दिगो जितैजित्को खुशी र सुख दिइरहने छ।

छैटौं, भ्रष्टाचारजन्य कुशासनले अन्तर्राष्ट्रिय र राष्ट्रिय संरक्षण संघ संस्थाको ओज, तेज, विश्वसनीयता खुइलिएको खस्केको छ। विश्व संरक्षण समुदायको पत्यार, विश्वास, सहयोग धरापमा परेको छ। त्यसको एकमात्र रामबाण उपचार सुशासन हो। हरित सुशासन प्रारम्भ विन्दु हुनुपर्दछ।

सातौं, बाघ कुटनीति कर्णप्रिय नया भाषा हो। राष्ट्रिय कुटनीति धुलिसात् भएको र ओज् तेज् झरेर बिश्वमञ्चबाट मातृभूमि एक्लिएको अवस्थामा बाघ उपहार लोकरिज्याई मात्र हो। बाघको दुरुपयोग, दल र व्यक्तिको स्वार्थसिद्धि र राष्ट्रिय स्वाभिमानको खिल्लीउडाई हो। पहिला सुशासन, स्वभिमान कायम, समृद्धि र त्यसपछि मात्र बाघ कुटनीति शोभायमान हुनेछ।

आठौं, वाताबरण पत्रकार र संचार माद्यमहरुले भ्रम चिरेर बाघको शक्ति र समृद्धिको सकरात्मक सन्देश प्रवाह गरिदिन जरुरी छ।

नबौं, बाघ र प्रकृतिप्रेमी न्यायमूर्तिहरुले बाघलाई अन्तिम न्याय दिन र बाघ संरक्षणलाई न्यायिक प्राथमिकतामा राखिदिन जरुरी छ।

दशौं, बाघबिज्ञ, वाताबरणबिद् र संरक्षणकर्मीहरु संरक्षण छातामुनि अटल र गोलबद्ध भई संरक्षणको आदर्श अनुसार आजीवन बाघको रक्षा कल्याण सम्मानमा समर्पित हुन जरुरी छ।

उपसंहार
अन्त्यमा, दुर्गा माताको शक्ति देशको पनि शक्ति हो। ईतिहासको कालखण्डमा चारकोसे झाडी हुँदा बाघ र खतरा बासस्थान पहिलो रक्षा घेरा थियो। आज खुम्चिएको बासस्थानमा भएपनि बाघले झण्डै आधा सीमानाको रक्षाकवच गरेको छ।  बाघ हाम्रो बिशिष्ट पहिचान र गौरव हो।

गरिबी र सुरक्षाको धेरै पत्रहरु बाघको चाहना, शान्ति र खुशी होईन। बाघको चाहना समृद्धि र शान्ति हो। सरकार र समुदायको लगानी अशुलउपर गराई छिटो दिगो शान्ति र समृद्धि दिन बाघ आतुर छ। समृद्धिको अचानो (बाहन) आफू भएर क्यामरामा बेचिन तयार छ।

पर्यटकहरुको आँखामा टाँसिएर मन मुटु तृप्त पार्न प्रतीक्षारत छ। बाघ नहेरि नहुने सुबिधाबाट कोही नेपाली नागरिक बञ्चित नहून्। ३ करोड नेपालीले बाघ अनिवार्य र निःशर्त हेरुन, पढून बुझून्। बाघको नैतिकता, स्वाभिमान, साहस र धैर्यता जस्ता नेतृत्वगुण सिकून्।

भोलि, बिश्व नेपालको बाघ हेर्न लालायित होस्। “बाघ कहाँको नेपालको हेर्नु” भन्ने बिश्व मान्यता र बिश्व सन्देश फैलियोस्। नमूना सहअस्तित्व र बाघ र समुदाय दुबै बराबर खुसी सुखी त्यो मान्यताको शर्तनामा हो। जुन सजिलै हासिल गर्न सकिन्छ।

बिश्व बाघ दिवस र बाघ सप्ताह -२०२४ (२०८१) दुवैलाई शुभकामना !




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *