…त्यसपछि फर्केनन् कामत
काठमाडौं। गत २८ असारमा आफ्नो फेसबुक पेजमा शास्त्रीय संगीतज्ञ गुरुदेव कामतले लेखेका थिए, ‘नमस्ते प्रियेजन ! भोलि गाउँ जाँदै छु । काठमाडौंमा बसेर इलाज गराउन सक्दिनँ । उतै लहानमा डायलोसिस गराउँछु । यहाँ अब शारीरिक, मानसिक र आर्थिक एकदमै कमजोर भएर भोलि जाँदै छु । अब किड्नी प्रत्यारोपणका बेला आउँछु ।’
त्यसपछि जन्मथलो हिँडेका हजारौं शिष्यका ‘प्रिय गुरु’ कामत कहिल्यै फर्केनन् । काडमाडौं डिल्लीबजार चारखालस्थित ‘गुरुदेव संगीत पाठशाला’मा अब उनको ‘आलाप’ कहिल्यै सुनिनेछैन । न त उनीवरिपरि शिष्यहरू ‘सा रे ग म प ध नी सा’ आरोह अवरोह नै गाइरहेका हुनेछन् ।
जीवनभर काठमाडौंमा संघर्ष गरेर अन्तिम समय जन्मथलो फर्किएका ६८ वर्षीय शास्त्रीय संगीतज्ञ गुरुदेव कामतको सिरहा लक्ष्मीपुर पटारी गाउँपालिका–२ मा बिहीबार बिहान निधन भएको छ । कान्छा छोरा समीर कामतका अनुसार नियमित डायलोसिसका लागि लहानस्थित रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल लैजाँदै गर्दा उनको निधन भएको हो ।
एक वर्षयताबाट मिर्गौला रोगपीडित कामतमा मधुमेहको पनि समस्या थियो । जसका कारण उनको दुवै मिर्गौलाले काम गर्न छाडेका थिए ।
भारत इलाहावाद र पश्चिम बंगालबाट शास्त्रीय संगीत अध्ययन गरेका कामत २०६१ सालदेखि डिल्लीबजारमा गुरुकुल संगीत पाठशाला स्थापना गरेर हजारौं शिष्य आर्जन गरेका छन् । कोरोनाकालमा गुरुकुल पाठशाला बन्द गरेर गाउँ फर्किएका उनले इटहरीमा संगीत प्रशिक्षण केन्द्रसमेत चलाए । त्यसपछि उनी फेरि काठमाडौं फर्किएका थिए । १५ भदौ २०१२ मा पोखरविन्दामा जन्मिएका कामतका श्रीमती, तीन छोरा र एक छोरी छन् ।
Facebook Comment