कथाः म यहीँ मर्न पाऊँ

खेमराज पोखरेल
१९ साउन २०८१ ७:२२

कुसे औँसीको दिन थियो। बिहानै उठेँ। फेसबुकमा बुवाको राम्रो फोटो पोस्ट गरेँ। कमेन्टहरू आए।

“आफू अमेरिका बस्छ अनि आमाबाबुलाई बुढेसकालमा एक्लै छोड्छ। माया गरेजस्तो गरेर फेसबुकका भित्तामा पितृभक्त हुन्छ” यो एउटा कमेन्ट थियो। कमेन्ट गर्ने मान्छेलाई म चिन्छु। राम्रोसँग चिन्छु। उसले पनि मलाई चिन्छ।

केही वर्ष पहिले उसले मलाई भनेको थियोः “अमेरिका लगि दिनुन दाइ, यहाँ त बिचल्नी हुने भो, पार्टीमा लागेको त नेता मात्रै हसुर्छन्, कार्यकर्ता त हिस्स बुढी खिस्स हरिया दाँत”

मैले भनेथेँः “हुन्थ्यो नि हुनत। यसो स्याट टोफेल गर न। स्टुडेन्ट भिसामा आऊ। उता गएपछि हेल्प गरुँला”

उसले भनेथ्योः “समुद्रको बाटोबाट ६ महिना लगाएर मेक्सिको हुँदै बिनाभिसामा पनि अमेरिका जान पाइन्छ रे नि त”

मैले उसलाई यो काममा सहयोग गर्न सकिनँ। सायद ऊ यसैकुराले मसँग रिसिएको हुनु पर्छ भन्ने मैले लख काटेको छु। र मेरा हरेक स्टाटसमा ऊ निगेटिभ प्रतिक्रिया लेख्छ।

ऊ नेपालमै छ। उसका बाबुआमा ऊसँगै छन्। तर मलाई पक्का पक्की थाहा छ, उसले बाबुआमालाई राम्रोसँग पालेको छैन। हो उसको घर मेरो मावली गाउँमै छ। अघिल्लो पल्ट नेपाल गएको बेला मावली गाउँ घुम्न निस्केको थिएँ। उसका बाबुआमालाई भेट्न गएको थिएँ। सुगरफ्री डाइजेस्टिभ बिस्कुट कोसेली लगेको थिएँ। मैले परिचय दिएपछि उहाँहरूले एकदम खुसी भएर भन्नुभएको थियोः

“ए मचानघरे हरिचन्द्रका भान्जा पो रहेछन् यी बाबु त। लौ कस्तो लायकदार। मैले त यत्रो चिचिलोमा देखेको। अम्रिकामा भएर पनि बाबुआमाको राम्रो सेबा गरेका छौ अरे बाबु। मान्छे राखिदिएका छौ अरे। पैसैको त रहेछ नि यो संसार। हाम्रो लट्ठुलाई पनि पढाउन धेरै बल गरेँ। पढेन। छौँडीका पछि लागेर सबै बिगार्यो। आफैँ बिग्य्रो। कुखुरा पाल्छु भनेर सबै बिल्ट्यायो। अहिले मलाई सरकारले दिएको बृद्धभत्ता ले भनेर रोड्याइँ गर्छ”

“काम गर्नुहुन्न र भाइले ?” मेरो प्रश्न थियो।

बुढा फेरि उदाश देखिएका थिए र भन्दै थिएः “बाउ बाजेको छाला पनि बेचि सक्न आँट्यो। एक रुपियाँको उपती छैन। पार्टीमा लागेको छु भन्छ। उसका जहान छोराछोरी पनि मेरै भत्ताले पाल्नु परेको छ। यसले त बाबु मर्नु न बाँच्नु बनायो। यसो मिलाएर उतै अम्रिकातिर लगिदिनु न बाबु”

पहिलेदेखि नै उसले मेरा पोस्टहरुमा यस्तै बेगलकाँटे प्रतिकृया लेख्ने गरि आएको छ। तर अहिले मैले टाउको दुखाइनँ। ऊसँग रिस पनि उठेन।
उसलाई प्रत्युत्तर फर्काएँः “हार्दिक आभार, अनि भाइ आफ्ना आमाबा राम्रैसँग पालेका छौ होला के र”

तर पनि यो कमेन्टले मलाई भाबुक बनायो। र मैले आफैँलाई आफैँभित्र खोतलेँ।

०००००

म सायद छ वर्षको हुँदो हुँ। मेरो बाबा मलाई भन्नु हुन्थ्योः “बेटा डाक्टर बन्नु पर्छ”।

मलाई भने भानुभक्तीय रामायणको लय हालेर गाएको “एकदिन नारद सत्य लोक पुगिगया लोकको गरूँ हित भनी” भन्ने श्लोक मन पर्थ्याे।

बाबा एकोहोरो मलाई डाक्टर बनाउन लाग्नु भएको थियो। मेरो सबै विषयको छनौट बाबाले नै गर्नु हुन्थ्यो। मैले कस्तो खानु पर्छ, कस्तो लाउनु पर्छ, कस्तो बोल्नु पर्छ बाबाकै तजबिज हुन्थ्यो। लाउन खानको कमी थिएन। म बाबाको आज्ञाकारी छोरो थिएँ। मैले एकदिन बाबालाई सोधेको थिएँः “बाबा, यो डाक्टरी किन पढ्ने ?”

बाबाले अलि रिसाएर उत्तर दिनुभएको थियोः “नाथे, कस्तो तुएत्रोजस्तो कुरा गर्छ यो त ? डाक्टरले पैसा लुँँड्याएको देखेको छैनस् ?”

मेरा स्कुलका सरहरू पनि बाबालाई उक्साइदिन्थेः “चन्द्रकान्त बाजे, यो हजुरको छोरो त अलि जोड गर्यो भने डाक्टर बन्छ। तर अलि विज्ञान र हिसाब मन पराउँदैन यसले”

भोलिपल्ट मलाई ट्युसन पढाउन बिएस्सी मास्टर हाजिर भइहाल्थे।

बाबाले बरु भोजभतेर, समाज, आफन्त, सबै छोड्नु भयो होला। तर मलाई छोड्नु भएन। एस.एल.सी.पछि विज्ञान पढ्न म बाध्य थिएँ। आइ.एस्सी.पछि बाबाले मलाई सरकारी कोटामा डाक्टरी पढ्न प्रवेस परीक्षा दिन सँगै लिएर काठमाडौँ जानु भयो। मैले जानी जानी बिगारेँ। म खुसी थिएँ कि अब मैले डाक्टरी पढ्न पर्दैन। मेरा बाबासँग त्यत्रो पैसा तिरेर डाक्टरी पढाउन सक्ने हैसियत थिएन। गाउँको जग्गा जमिन त हो।

म फेल भएँ। बाबाले मलाई भारतको पटना लिएर जानु भयो। तिनताक नेपालमा निजी मेडिकल कलेज थिएनन्। पटनामा दसलाख आइ.सी.मा मेरो कुरो मिलाउनु भयो। म एम.बि.वि.एस.मा भर्ना गरिएँ।

भर्ना भएर हामी बाउ छोरा घर आयौँ। बाबुआमा राति कोठामा ठूलै स्वरले बोलेको सुने। आमा भन्दै हुनुहुन्थ्योः

“बाह्रबिघे नै बन्धकी दिनु भयो। अब केले भात खाने ? भोलि त्यो पिउसोले पढेन भने त हामी घरका न घाटका हुन्छौँ हजुर”

बाबा जवाफ दिँदै हुनुहुन्थ्योः “कुरा गर्छेस् बुढी, त्यो मेरो छोरो हो। त्यसले कुलपुर्खाको नाक राख्छ। उसलाई पढाउने मास्टरले पनि ऊ सजिलै डाक्टर हुनसक्छ भनेका छन्। त्रिकालदर्शी ज्योतिषी विरोपाध्येले पनि उसलाई पढ्यो भने डाक्टर बन्न सक्छ भनेका छन्। छोरो डाक्टर बनाएर जोरिपारीलाई देखाउन परेन ?, डाक्टर मात्र हुन दे, त्यसले उकास्छ क्या त्यो बाह्रबिघे, पैसाको त फ्याउरी लाउँछ”

०००००

पटना मेडिकल कलेजमा भर्ना भएर पढिरहँदा मभित्र एउटा उकुसमुकुस जन्मि रहन्थ्यो। मैले बिनाबित्थाँमा जानीजानी इन्टरान्स बिगार्नाले बाह्रबिघे धान खाने खेत नै बाबाले बन्धकी बेचनु भयो। त्यो मेरो दोष थियो। म पढ्न थालेँ। एनाटोमी पढ्दा बाबाको अनुहार अगाडि आउँथ्यो। बाह्रबिघेमा लहलह फलेका धानको याद आउँथ्यो। बाह्रबिघेको धान आफ्नै घर अगाडिबाट अर्काले लगेको कसरी हेर्नु हुन्छ होला। मैले दिनरात एक गरेँ। म अब पक्का एम.बि.बि.एस. पढ्न थालेँ। मेरो उद्धेश्य बाह्रबिघे खेत निखन्नु थियो।

एम.बि.बि.एस.को प्रमाणपत्र बाबाको हातमा राखिदिएको थिएँ। बाबाको अनुहार गर्वले उज्यालो भएको थियो। तत्काल नै बाबाले आमालाई बोलाउनु भयो र भन्नु भएको थियोः

‘हेर त बुढी, मेरो छोरो डाक्टर भयो। तँ भन्थिस् नि पिउसो। हेर् त”

आमाले पनि सगौरव जवाफ दिनु भएथ्योः “मेरो पनि त छोरो हो नि हौ”

०००००

मैले जागिर खोजेँ। पाइएन। निजी अस्पतालमा बल्लबल्ल बाबाले नै भनसुन गरेर जागिर पाएँ। बाबाले भन्नु भयोः “क्लिनिक खोल”

मैले क्लिनिक पनि खोलेँ। तर आम्दानी भएन। बाबा उदाश देखिन थाल्नु भयो। बाबाले एकदिन भन्नु भयोः

“यस्तै तालले कहिले लगानी उठ्छ ?, भन्नु मात्र डाक्टर रहेछ। पं. दण्डपाणीले एउटै पुरान भनेर कुम्ल्याउँछन्। अरु डाक्टरले त पैसा सोहोर्नै भ्याउँदैनन् भन्छन् त। तँचाहिँ किन यस्तो ?”

मैले भनेथेँः “बाबा, डाक्टर पनि अलि पुरानो हुनुपर्छ। एम.डी. पनि खोज्छन् अचेल मान्छे। फेरि खान लाउन पुगेकै छ। ठिकै छ नि। होला नि त कुनै दिन, फेरि डाक्टर भनेको त सेवा हो नि बाबा”

बाबाले भन्नु भयोः “लाछी कुरो नगर। तेरो मामाको जेठानको सालोले एम.डी. नै गरेको र’छ। तर केही खालो सारेन अरे। बरु पढ्न भनेर अम्रिका भासिइ। पैसो त उता पो छ रे त, बाह्रबिघे उकासेकै छैनस्। आँगनको अगाडिबाटै धान लैजाँदा मन कटक्क हुन्छ”

म अमेरिका एम.डी. गर्न हानिएँ। साह्रै ठूलो मिहिनेत गरेर एम.डी. पनि गरिसकेँ। म नेपाल आएको थिएँ। बाबाले एउटी एम.बि.बि.एस. सकेर जागिर खाँदै गरेकी केटीसँग मेरो बिहे गरिदिने बताउनु भयो। बिहे भयो। बिहेमा झन धेरै खर्च भयो।

एकदिन बाबाले भन्नु भोः

”बाबु अमेरिका नै जा। दुलही लिएर जा। पैसा कमाएर मात्र आइज है बाबु। नेपालमा त खोई नेताले नै सिध्याइ सके। अब यहाँ बसेर हाम्रो व्यवहार चल्दैन। कमसेकम त्यो बाह्रबिघे खेत उकासी दे र यो ठाउँमा एउटा सबैको भन्दा ठूलो पककी घर बनाइ दे। छोरो डाक्टर छ भन्छन्, अलि मान मर्यादा, कुल घरानको इज्जत पनि राख्नु पर्यो, एकपल्टको जुनी हो शानले बाँच्नु पर्यो नि बाबु”

म एकतमासको भएको थिएँ र भनेको थिएँः

“बाबा, म एक्लो छोरो। हजुर पनि बुढो भइसक्नु भएको छ। आमा त झन् रोगी हुनुहुन्छ। म नेपालै बसेँ भने अलि हेरचाह हुन्छ नि”

“देश नखाको छोरो र हिलो नखाको गोरु काम लाग्दैनन् बाबु। अझै म काम गर्न सक्तै छु। भातै पकाएर खाने काम त हो नि। तेरी आमा पनि त्यति त गरि हाल्छे। खनखाँचो मान्छे पनि पाइन्छन्। त्यही पनि उहिलेको जस्तो दुःख कहाँ छ र ?”

म मेरी श्रीमती लिएर अमेरिकातिर हानिएको थिएँ। थाइ जहाजमा थिएँ। तर मैले चुरे पहाड सम्झेर आँसु झारेको थिएँ। आफ्नै घर आँगन सम्झेर विह्वल भएको थिएँ। हिमाल हाँसेको दृश्य दिमागभरि आइरहेको थियो।

०००००

संयोग थियो सायद। हामी दुवैैले रेसिडेन्सी सक्यौँ। जागिर पनि पायौँ। काम नगरी खान पाइने देश छोडेर आएका थियौँ। तर यहाँ काम। उफ, काम। यति काम गर्यौं कि दुई वर्षमा बाह्रबिघे खेत उकास्यौँ। बाबालाई रोजा घर बनाइदियौँ। हाम्रा पनि छोरा छोरी जन्मिए। हामीले पनि घर किन्यौँ। र हामी सेटल्ड भयौँ। अहिले मेरो पनि बडेम्माको घर छ। जहान पिच्छेका महँगा गाडी छन्। नाम चलेका डाक्टर भएका छौँ। बाउआमालाई पनि पैसा पठाइदिन पुगेको छ।

र यति गरेर जीवनलाई हेर्दा म त यति भासिएको छु कि न तल जान सकिन्छ, न माथि। बैँकको किस्ता तिर्ने जीवन भएको छ अहिले। मेरा जीवनबाट पहाड हराएको छ। हिमाल हराएको छ। तराईका लहलह फलेका पँहेलपुर धानको शौन्दर्य हराएको छ। गाउँ हराएको छ। सहर हराएको छ। आफन्त हराएका छन्। छोरा छोरी पनि हराएका छन्। र म नियमित व्यस्त छु। यति व्यस्त छु कि अमेरिकामै रोजा गाडी हाँकिरहेको हुन्छु र एकटुक्रा पाउरोटी टोक्दै पनि हुन्छु”

०००००

र म त्यो फेसबुके कमेन्टले अहिले स्तब्ध भएको छु। नेपाल नगएको पनि ५ वर्ष भएछ। बाबा यसै साल बैसाखमा ८५ लाग्नु भयो। आमा यही असारमा ८० कट्नु भयो। रोगी हुनुहुन्छ। मैले पैसाको खाँचो थाहा पाएसम्म गरेको छैन। काम गर्ने मान्छे पनि राखिदिएको छु। तर मलाई लागिरहेको छ के मैले कर्तव्य निर्वाह गरेँ ?
र मैले समय निकालेर बाबालाई फोन गरेँः

“बाबा, अब म नेपाल आउन सम्भव छैन। हजुरहरू अमेरिका आउनु। बस्नै आउनु। म कागज लिएर हजुरहरूलाई लिन आउँछु”

०००००

बाबा आमाको ग्रिनकार्डको कागज लिएर म सिकागो एयरपोर्टमा उभिएको छु। म ज्यादै खुसी छु। यस मानेमा खुसी छु कि धेरै वर्षपछि नेपाल जाँदैछु र बाबुआमालाई सधैँका लागि अमेरिका नै ल्याउँदै छु। मेरो यो निर्णयमा मेरी रमाको पनि सहमति छ।

आखिर उनी पनि बाबुआमाको स्याहार गर्ने नेपाली संस्कृतिमा जन्मिएकी हुन्। हुर्किएकी हुन्। एम.बि.बि.एस. त उनले पनि नेपालबाटै गरेर आएकी हुन् नि। छोरा छोरी अमेरिकन भए पनि ग्य्रान्डफा आउने भनेर खुसी भएका छन्। मेरो घर घडेरी नै १० एकड छ। कम्पाउन्डभित्र एउटा पान्चायनको मन्दिर बनाइदिएको छु।

नजिकै झर्ना बनाइदिएको छु। जति रोपे पनि पूmल रोप्ने ठाउँ छ। बगैचा छ। मेरो घरसँगै जोडिएर सार्बजनिक वन छ। बगैँचामा निगालो पनि छ। याने एउटा सभ्रान्त अमेरिकनले उपभोग गरिरहेको सुबिधा सबै छ। बाबा आमालाई एउटा लेटेस्ट मर्सिटिज किनि दिएको छु। कतै घुम्न जानको लागि पटके डाइभरको पनि व्यवस्था गरिदिएको छु।

०००००

ओ हो यो काठमाडौँको एयरपोर्ट। उफ, पहिले आउँदाभन्दा झन् बदत्तर पो भए छ। यता उता काम गरिरहेका नेपाली कर्मचारी वा आगन्तुक वा त्यहाँ देखिने नेपालीहरुको अनुहार हेरेँ। कागतीको रस निकालेको जस्तो छ। कठै यो पाशुपत क्षेत्रमा खोई मान्छेको आभा ? या त मान्छेले भुडी पल्टाएका छन्, या त सिकुटे।

खानेबेलामा बाहिर निकालेजस्तो। म सटासट बाहिर निस्केँ। एउटा राम्रो गाडी बसुन्जेलसम्मका लागि भाडामा लिएँ। जानु थियो जनकपुर याने मेरो घर। सिन्धुलीको बाटो लाग्यो भाडाको गाडी। यो यात्रा मेरो पहिलो थियो। मैले बाटो कटनी सोधेँः

“कति घन्टामा पुगिन्छ भाइ जनकपुर ?”

ऊ शौम्य देखिन्थ्यो। हाँसेरै उत्तर दियोः “खुरकोटमा बाटो बिग्रेको छ सर। त्यो जाम काट्न पाइयो भने ६ घन्टामा पुगिन्छ सर नत्र ९ घन्टा पनि लाग्न सक्छ”
“जापानले बनाएको बाटो भन्थे त भाइ, त्यो पनि भत्क्यो त ?”

“सर ठूलो गाडी चलाउन नपाइने नियम छ तर टक, टिपर र बससमेत पुलिसलाई घुस खुवाएर चलाइ हाल्छन्। अनि के टिक्थ्यो त हजुर”

०००००

घर पुगेँ।

आमालाई ढोग गरेँ। गाउँका मानिसहरु पनि म जाने बित्तिकै आइहाले। मलाई देखेर चकित भए। बुधना काकाले भनि हालेः “आरो, इतिनी सा छोट्का बौवा तनिक लम्बा भगेल है, तनिक उज्रो भगेल है। और जेहिना के तेहिना है यी बबुवा”  (अहा, यति सानो देखेको बाबु अलि अग्लो हुनुभएछ, अलिकति गोरो पनि। र अरु जस्ताको त्यस्तै यो बाबु त)।

घरकै आँगनबाट बाबालाई हेरेँ। बाह्रबिघेको पुच्छारको गह्राको आलिमा बाबा उभिनु भएको थियो। काँधमा कोदालो थियो। लुङ्गीलाई दोबारेर लाउनु भएको थियो। लुङ्गीको छेउबाट ह्वाङ्लाङे टाटे कट्टुको तल्लो भाग प्रष्टै देखिन्थ्यो।

मधेसको कमिज लगाउनु भएको थियो। शिरमा भने ढाका टोपी थियो। बाबा पनि घर आउँनु भयो। मैले बाबाको हिलै भएपनि खुट्टैमा ढोगेँ। बाबा भन्दै हुनुहुन्थ्योः “आ पर्दैन, खुट्टा हिलै छ”

मलाई थाहा छ बाबा काइदाकानुनको पारखी हुनुहुन्छ। गाउँका कस्का छोरा सहरबाट आएर आफ्नो बाआमालाई खुट्टामा ढोग्दैनन्, बाबालाई कण्ठै हुन्थ्यो। बाबालाई रिस उठ्यो भने भनि हाल्नु हुन्थ्योः “छँडुल्लाहरु, दुई चार अक्षर के पढे, के एउटा जागिर खाए, सुकुलगुन्डा भइहाल्छन्। आफूलाई जन्म दिने बाउआमाका खुट्टा छुँदा पनि पाप लाग्छ जस्तो गर्छन् ए”

०००००

गाउँभरिका मानिसहरु आउने क्रम जारि रह्यो। हुँँदा हुँदा पल्लो गाउँबाट पनि मानिसहरु आउन थाले। उनीहरु बाटोमा कराउँदै हिँड्थेः
“चल रे सोमन्तिया, चन्द्रकान्तके बेटा एले है, ऊ त अम्रिकामे बड्का डाक्टर भगेल है”

ओहो कस्तो सभ्यता होला। अमेरिकामा त पल्लो घरकोले पनि डाक्टर भनेर चिन्दैन होला। यहाँ त खर्लप्प टोलै उर्लिएको छ। स्वाभाविक आत्मीयता छ।

०००००

राति मैले बाबा आमाको पेपर देखाएँ। कम्प्युटरको स्क्रिनमा अमेरिकाको घरको फोटाहरु देखाएँ।

“यो तपाईँहरूको कोठा”

“यो मन्दिर, यो नुहाउने झरना, तातोपानी चिसो पानी, यो गाडी, यो डाइभर”

म बुझिरहेको छु बाबा ध्यान दिइरहनु भएको छैन। तर पनि हेर्दै हुनुहुन्छ। एकमहिना पछिको टिकट लिएको थिएँ। बाबा आमालाई गाडीमा हालेर सम्भव भएका तीर्थस्थल घुमाएँ। अब मेरा बाबा आमा अमेरिका बसाइँ सर्दै जाने कुराले गर्दा गाउँमा एकप्रकारको नरमाइलो भएको थियो। फेरि भेटिने हो होइन भन्ने लागेर होला टाढाटाढाबाट आफन्तहरु भेट्न आइरहनु भएको थियो।

म अनुभूत गरिरहेको छु कि बाबा खुसी हुनुहुन्न। गुवालीमा बाँधेको सिलेबी गाईलाई घरि न घरि सुम्सुमयाउनु हुन्छु। घाँस पराल हाल्नु हुन्छ। बाबालाई देख्ने बित्तिकै सिलेबी गाई ड्वाँ गरेर कराउँछ। बाबा हिँडेको बाटो हेरिरहन्छ।

बाँसको झ्यांग, घरभन्दा केही परको पोखरी र त्यसका डिलमा लहरै सुसाइरहेका ताडीका रुखहरु हेरिरहनु हुन्छ।

राति घरका मान्छे मात्र थियौँ बाबाले भन्नु भयोः “रे बौवा, नगए हुन्न ? गएकै त हो। हेरेकै त हो। देखेकै त हो मान्छे र गाडीको सहर। र फेरि यो यत्रो सृष्टि त्यसै नासिन दिनु त ?”

मैले बाबालाई गौर गरेर हेरेँ। दम भएको छ। अलिकति हिँड्दा स्वाँस्वाँ गरिरहनु भएको छ। तेज मात्र छ, बल छैन। तृष्णा मात्र छ, भोग छैन। आत्मीयता मात्र छ, पहुँच छैन। माया छ, काया छैन। चाहना छ, तर समय थिएन। र पनि बाबा लुकाइरहनु भएको थियो। राम्रो औषधी गरे अझै केही वर्ष उहाँ ठिकठाक हुने सम्भावना थियो।

आमालाई हेरेँ। आमा त त्यसै पनि रोगी। थरथर काम्दै खाना पकाइरहनु भएको थियो। अनुहारभित्रको मुजाभित्र पनि पोतो लागेको थियो। खासमा भन्ने हो भने औषधीकै भरमा हुनुहुन्थ्यो। उमेरगत कारणले चाहेर पनि नियमित औषधी सेवन गर्न सक्नु हुन्थेन। म एकलो छोरो। न दिदी, न बहिनी।

र म अमेरिकामा यस्तो अवस्थामा थिएँ कि म चाहेर पनि आउन सक्ने थिइनँ। मैले सबैकुरा छर्लंग पारेँ। र छिमेकी, आफन्त, सबैको जानु पर्छ भन्ने सुझाव रह्यो। मेरा बा भन्दा पनि जेठा महतो ठूलाबाले यहाँसम्म भनिदिनु भयोः

“यी संसार एकदिन छोड्के जाइके है, नेपाल आ अम्रिका एकेटा बात है, एकेटा पृथ्वी माता। धियापुता जते ल्याजेते ओत ज्या परते, कि करवे त चन्द्रकान्त बाबु”

(यो सन्सार एकदिन छोडेर जानु पर्छ, नेपाल भन्नु र अमेरिका भन्नु एउटै कुरा हो। एउटै पृथ्वीमाता हुन्। जहाँ छोराछोरीले लैजान्छन्, त्यहाँ जानु पर्छ, के गर्नु त चन्द्रकान्त बाबु)

महतो ठूलाबाले पनि भनिदिएपछि बाबा यो कुरामा अलि गल्नु भयो। टिकटको दिन नजिक आयो। म बाबाको गति हेरिरहेको थिएँ। आउने मान्छे बधाई दिन्थे। उहाँ बाँसको झ्यांगमा टोलाएर हेर्र्नु हुन्थ्यो।

बाह्रबिघेको पुछारको गरो उहाँलाई खुवै प्रिय थियो। लुरुकान्तलाई अह्राइ पराइ गर्दै हुनुहुन्थ्यो। जाने दिन आयो। सुटकेस तयार थियो। आँगनमा गाडी पनि तयार थियो। बाबा एकाएक छिमेकी जिवछ साहसँग कराउन पो थाल्नु भयोः

“रे जीवछवा, नै जेबे हम। हमरा यतै मर देही। हम मैर जेबे त फेँक देही कमलामे। नै करविही यतेक काज ?” (ए जीवछ बाबु, म जान्न। मलाई यहीँ मर्न देऊ। म मरे भनेँ कमलामा फ्याँकी दे। गर्न सक्तैनस् यति काम ?)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *