पृथ्वीनारायण छात्रवृत्ति र गोरखा संग्रहालय स्थापनामा डा. अहिराज

खगेन्द्रराज सिटौला
२० साउन २०८१ ८:१२

डा.राजेश अहिराज तत्कालीन २ नम्बर हालको मधेस प्रदेशमा प्रमुख भएर गएका थिए। उनलाई प्रदेश प्रमुखको जिम्मेवारी तत्कालीन प्रधानमन्त्री केपी ओली सरकारले गरेको थियो।

यद्यपी डा. अहिराज कुनै दल निकट नभएर स्वतन्त्र नै रहेका सचेत बौद्धिक नागरिकको हैसियतमा नै उनले यो पदको जिम्मेवारी पाएका थिए। उनीभन्दा अघि पनि र उनीभन्दा पछि पनि अनेक प्रदेश प्रमुखहरु पदमा आए पनि पद गुमाए पनि। तर उनको जस्तो चर्चा अरु कसैले पनि कमाएनन्।

डा. राजेश अहिराजको चर्चा उनको पद बहालीसँगसँगै चुलिएको थियो। यसको मुलकारण हो उनले देशलाई चिने, देशको गरिमालाई चिने, राष्ट्रिय एकताको आधारलाई, चिने, राष्ट्रनिर्माण र एकीकरणको ऐतिहासिक आवश्यकतालाई चिने।

यसैले उनलाई सञ्चार क्षेत्रमा चर्चित बनाएको हो। पदमा रहँदा पनि र पदमा नरहदा पनि उनलाई चर्चित बनाइरहने माध्यम भएको छ उनी निरन्तर पृथ्वीनारायण शाहमा जोडिरहनु पनि एक हो।

डा.राजेश अहिराज प्रदेश प्रमुख भएर पदमा बहाल हुँदै गर्दा उनले आफ्नो कार्यकक्षामा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ठूलो साइजको तस्बीर राख्न लगाए। जसले राष्ट्रियस्तरका सञ्चार माध्यममा चर्चा बटुलेको थियो।

पहाडे सत्ताले अझ गोरखाको शाहवंशीय सत्ताले मधेसमाथि भेदभाव र अत्यचार थोपारेको भाष्यलाई जबरजस्ती तराई मधेसमा स्थापित गरिएको बेलामा पृथ्वीनारायण यताका सबै शाह राजामा घृणा बढाउने दल र नेताको बाहुल्यता भएको स्थानमा प्रदेश प्रमुखले गणतन्त्रको सत्तामा एकजना श्रीपेच ओढेको राजाको तस्बीर कार्यकक्षामा राख्नु प्रदेश प्रमुख डा. राजेश अहिराजको लागि साँच्चै चुनौतीपूर्ण कार्य थियो। तर उनको देशभक्तिको सामु यस्ता चुनौतीहरु माटाका फुलौरा बने।

केन्द्रीय सत्तामा अथवा भनौ संविधान निर्माण गर्ने राजनीति शक्ति नेपाली कांग्रेस, माओवादी, एमालेलगायत दलहरु पृथ्वीनारायणको जन्मदिनको बिदा फाल्ने वा सालिक ढाल्ने भएको, तराईमा अर्थात दुई नम्बर प्रदेशमा पहाडे बिरोधी राजनीति धार बलियो भएको बेलामा एकजना पहाडे “सामन्ति” राजाको तस्बिर राख्नु गणतन्त्रिक सत्ताले नियुक्ति दिएका प्रदेश प्रमुख डा. राजेश अहिराजको लागि चानचुने चुनौती थिएन।

उनीसँग पृथ्वीनारायण शाहलाई हरेक नेपालीले सम्झनुपर्ने र सम्मान गर्नुपर्ने बलिया तर्क भएकोले उनलाई कुनै दबाबले पनि रोक्न सकेन। उनले आफ्नो कार्यकक्षामा मात्रै यो तस्बीर राखेनन् कि अन्य प्रदेश प्रमुखलाई पनि पृथ्वीनारायणको तस्बीर कार्यकक्षामा राख्न भनेर उपहार पनि दिए।

केहीमा त आफैंले भित्तामा सजाइदिए पनि। उनको एउटै तर्क छ नेपाल जोगिनुपर्छ नेपाल जोगाउन नेपालीको मनमनमा पृथ्वीनारायण सजिनुपर्छ। उनी प्रदेश प्रमुखमा जति बसे राम्रै काम गरेर बसे।

प्रदेश प्रमुखबाट बाहिर आएपछि पनि पृथ्वीनारायण शाहलाई युवा, किशोर विद्यार्थीको माझमा लिएर जाने कार्यलाई उनले निरन्तरता दिइरहे। उनले आफ्नो जन्मदिनको उपलक्षमा खुसी मनाउने माध्यम पृथ्वीनारायणलाई नै रोजे।

डा. राजेश अहिराज आफ्नो जन्मदिन पृथ्वीनाराणसँग मनाउँछन्, पृथ्वीनारायणसँग रमाउँछन् र पृथ्वीनारायणलाई लिएर विद्यार्थी माझमा जान्छन्। उनी आफ्नो जन्मदिनको दिनमा विद्यार्थीलाई पृथ्वीनारायण शाहको तस्बिर अंकित कपी बाँढ्छन्।

कपीको कभरमा पृथ्वीनारायणको तस्बीर र देश सबै जातको साझा फूलबारी हो भन्ने उक्ति लेखिएको हुन्छ। उनले विगत दश वर्ष देखि यस्ता कपीहरु सयौंको संख्यामा विद्यार्थीहरुमा वितरण गरिसकेका छन् गरिरहेका छन्।

माथि नै भनियो उनले बाँड्ने कपीको अग्र भागमा “नेपाल सबैको साझा फूलबारी हो” भन्ने राष्ट्र निर्माता पृथ्वीनारायण शाहको उक्ति साथमा तस्बिर राखेका छन् भने पृष्ठ भागमा आफ्ना राजनीति विचार राखेका छन्।

उनले आफ्ना चारवटा विचार राखेका छन्। जो यस प्रकार छन्- “एक देश दुई दल र तीन प्रदेश को नीतिमा देशलाई अघि बढाउने” “अंगीकृत नागरिकलाई राजनीतिक अधिकार नदिने” “आरक्षण खारेज गरी सवलीकरणको माध्यमले संरचनाहरु साझा बनाउने” र “नेतालाई नीति बनाउने काममा मात्रै सदुपयोग गर्ने”।

डा. राजेश अहिराज पृथ्वीनारायण शाहलाई रचनात्मक र सहयोगात्मक किसिमले विद्यार्थीहरुलाई पृथ्वीनारायण शाहसँग जोड्ने अभियानमा लागेका छन्। उनले क्याम्पसमा पृथ्वीनारायणको नाममा छात्रवृत्ति राख्ने अभियानमा सकृय भएका छन्।

उनले दुईवटा क्याम्पसमा पृथ्वीनारायण शाहको नाममा छात्रवृत्ति अक्षय कोष स्थापना गराएका छन्। उक्त कोष स्थापना गर्ने योजना उनैले अघि सारेको हो। उनले २०८० साल माघ २५ गते सप्तरीको कञ्चनपुर रुपनगरमा रहेको रुपनगर क्याम्पसमा एक लाख एघार हजार रुपैयाँको राष्ट्रनिर्माता पृथ्वी छात्रवृत्ति कोष स्थापना गरेका छन्।

उक्त कोषमा अन्यहरुलाई पनि सहभागीता जाहेर गराउन प्रोत्साहित गरेका छन्। उक्त कोषमा एक करोडको छात्रवृत्ति कोष बनाउने उनको योजना छ। जे जति रकम जम्मा हुन्छ त्यसको व्याजले छात्रवृत्ति दिने उनको योजना र कार्यक्रम छ। उक्त क्याम्पसका क्याम्पस प्रमुख दीपक गजुरेल छन्।

क्याम्पस प्रमुखले दिएको जानकारी अनुसार विभिन्न महानुभावको योगदानमा अहिले छात्रवृत्तिको कोषमा चारलाख बढी जम्मा भइसकेको छ। दीपक गजुरेल आफैंमा पृथ्वीनारायणको योगदान र विचारको उच्च मूल्यांकन गर्ने बौद्धिक व्याक्तित्व भएकोले यो सामुदायिक क्याम्पसले पहिलो पृथ्वीनारायण शाहको नामको छात्रवृत्तिको शिलन्यास गर्ने ऐतिहासिक अवसर प्राप्त गर्न सफल भएको हो।

त्यसरी नै डा. अहिराजले बर्दियाको बबै मल्टिपल क्याम्पस गुलरियामा पनि एकलाख एक हजारको पृथ्वीनारायण छात्रवृत्ति कोषको स्थापना गरेका छन्। उक्त क्याम्पसमा धेरै विद्यार्थीहरु अध्यायनरत छन्। यहाँ पनि अन्य दाताहरु खोजेर छात्रवृत्ति कोष बढाउने योजनामा डा. अहिराज तथा क्याम्पस परिवार लागेका छन्।

यस क्याम्पसमा पनि एककरोड भन्दा बढीको नै छात्रवृत्तिकोष पुर्‍याउने योजना छ। लक्ष बामोजिम प्रगति हुन सकेमा गरिब तथा जेहन्दार विद्यार्थीहरु निश्चय नै लाभवान्ति हुनेथिए। साथै राष्ट्रनिर्माता पृथ्वीनारायणको नाममा स्थापित छात्रवृत्तिबाट लाभवान्ति हुन पाउनु विद्यार्थीको लागि पनि गौरवको विषय हो।

साथै यस्ता छात्रवृत्तिबाट विद्यार्थीहरुले लाभ लिन सक्छन्। यसले क्याम्पसमा विद्यार्थीको आकर्षण बढाउन सहयोग पनि हुन्छ। अर्कोतर्फ विद्यार्थीहरुलाई राष्ट्रनिर्माता पृथ्वीनारायणलाई सम्झन र सम्मान गर्न विद्यार्थीलाई प्रेरित पनि गर्दछ। यस्तो छात्रवृत्तिको सकारात्मक मूल्यांकन गर्छन् क्याम्पस प्रमुख वीरेन्द्र लम्साल। भविश्यमा यो छात्रवृत्ति कोषमा रकम थपिएर जानेमा उनी विश्वस्त छन्।

डा. राजेश अहिराज यस्तो छात्रवृत्ति अन्य क्याम्पसहरुमा पनि स्थापित गर्ने योजनामा छन्। सकेसम्म सबै प्रदेशका कुनै न कुनै क्याम्पसमा स्थापना गर्ने सोचमा छन्। यो सजिलो त होइन तर असम्भव भने होइन। आर्थिकको सवाल छ। कहीँ धन छ मन छैन कहीँ मन छ धन छैन।

तर पनि जहाँ इच्छा त्यहाँ उपाय भन्छन्। डा. राजेशको अभियानले धन भएका सबैलाई आकर्षित गर्न सकेमा उनको यस्तो अभियानले सार्थकरुप लिन सक्नेछ। उनी राष्ट्रनिर्माताको अलावा अन्य विभूतिहरुको नाममा पनि यस्ता छात्रवृत्ति राख्ने योजनामा छन्। कामना गरौं उनका यस्ता योजनाले सफलता हासिल गरोस्।

डा.राजेश अहिराजले बर्दियामा केही मुसलमान अगुवाहरुलाई भेटेर मुसलमानले नेपाल एकीकरणमा दिएको योगदानबोरे सम्झाए। मुसलमानहरुलाई नेपाल एकीकरणमा मुसलमानको योगदानबारे जानकारी नै रहेनछ।

उनले दिव्य उपदेश देखाएर पृथ्वीनारायणले मुसालमानहरुको योगदान सम्झिएको पढेर पनि सुनाए पछि मुसलमानहरु पनि नेपाल एकीकरणमा आफ्नो योगदानप्रति गर्ववान्ति भए। त्यसपछि अगुवा मुसलमानहरुले स्थानीय मदरसाहरुमा पृथ्वीनारायण शाहको तस्बिर,नेपालको झण्डा र दिव्य उपदेश राख्ने निर्णय गरेका छन्।

र सबै मदरसाहरुले कार्यन्वयनमा पनि ल्याएका छन्। नेपालीलाई नकरात्मक धारमा भड्काउने विभाजन गर्ने भन्दा यसरी सकारात्मक धारमा हिडाउने प्रयाश जहिल्यै पनि स्तुत्य हुन्छ। जन्मदिनको दिनमा विद्यार्थीलाई वितरण गर्न तयार गरेका पृथ्वीनारायण शाहाको तस्बिर भएको कपी पनि डा. अहिराजले मदरसाहरुमा गएर धेरै विद्यार्थीहरुमा वितरण गरेका छन्।

मधेस आन्दोलन ताका पहाडेमाथि घृणा बढाउने कुरा गर्नेहरु र मधेसबाट पहाडेहरुलाई खेद्नु पर्छ भन्नेहरु नेपाली एकतालाई कमजोर बनाउने बाह्य षडयन्त्रका हतियार हुन् भन्ने बुझेका डा.अहिराज अनेक समुदायमा एकतामा जोड दिने अभियान चलाउन पनि थाले।

मधेसी समुदायमा पनि नेपाल एकीकरणप्रति गौरव जागोस्,नेपाल एकीकरणमा तराइमा बसोबास गर्ने समुदायको पनि योगदान खोजियोस् भनेर उनी निरन्तर लागेका छन्। यसैमा बढोत्तरी होस् भनेर उनी पृथ्वीनारायणलाई तराईमा लैजान लागेका छन्।

डा. राजेश अहिराजले तराईमा गोरखा संग्राहलय स्थापना गराउनको लागि सकृय भएर लागेका छन्। उनले गोरखा संग्राहलय स्थापना गराउनको लागि गोरखामा पुगेर गोरखा संग्राहलयलाई तराईमा पनि स्थापना गर्न डा. राजेश अहिराजले निवेदन दिएको मात्र होइन कि तराईमा गोरखा संग्राहलय स्थापना गराउनको लागि उनले आफ्नो नाममा रहेको आठ कठ्ठा जग्गा दिने बाचा पनि गरेको छन्।

उनी गोरखा संग्राहलयको नाममा आठ कठ्ठा जग्गा राजिनाम पास गर्न तयार भएर बसेका छन्। उनले गोरखा संग्राहलयमा पेश गरेको प्रतिवद्धतापत्रमा गढीमाई नगरपालिका ४ स्थित सुन्दरपुर (संग्रामपुर) क्षेत्रमा गोरखा संग्राहलय स्थापना गर्न उक्त आठ कठ्ठा जग्गा पास गरिदिने त्यही प्रतिवद्धता पत्रमा छ।

यो पत्र उनले २०७९ साल चैत्रमा बुझाएका थिए। उक्त आठकठ्ठाको हालको मन्दीमा पनि करोड भन्दा माथिको मूल्यांकन हुन्छ। यसरी केलाउँदा डा.राजेश अहिराज पृथ्वीनरायणको योगदान र विचार र नेपाली जनताको एकताको लागि सबैभन्दा धेरै लगानी गर्ने पहिलो नेपाली नागरिक पनि भएका छन्।

डा. अहिराजको उद्देश्य तराईमा गोरखा संग्राहलय स्थापना गराएर तराईका जनतालाई नेपाल एकीकरण,विचार र योगदानमा पृथ्वीनारायणसँग एकाकार गराएर नेपाली राष्ट्रियता बलियो बनाउने नै हो।

उक्त गोरखा संग्राहलयमा पृथ्वीनारायणको सालिक स्थापना गर्ने र नेपाल एकीकरणसँग सम्बन्धित वस्तुहरुको श्रव्यदृश्य सामाग्रीहरु राखी सर्वसाधरणलाई नेपाल एकीकरणसँग सम्बन्धित विषय वस्तुको जानकारी दिइरहने योजना नै हो डा.राजेश अहिराजको। उक्त स्थानमा गोरखा संग्राहलय स्थापनार्थ जग्गा दान मात्र होइन आर्थिक दान पनि गर्ने प्रतिवद्धता जाहेर गरेका थिए उनले।

रौतहटमा गोरखा संग्राहलय स्थापना गर्ने र त्यहाँ नेपाल एकीकरण अभियानमा योगदान गर्ने मधेसी,मुस्लिम,दलित र महिलाको योगदान झल्कने सामाग्रीहरु,पनि उक्त ग्यालेरीमा राख्नुपर्ने सुझाव र योजना पनि डा.राजेश अहिराजले अघि सारेका थिए।

वास्तवमा डा. अहिराजको योजना बमोजिम तराईमा गोरखा संग्राहलय स्थापना गर्ने हो भने त्यो संग्राहलय नेपालका तराइबासी र पहाडबासीको मिलन केन्द्र मात्र नभएर एउटा चल्तिको पर्यटकीय केन्द्र पनि हुनेछ। उक्त केन्द्रमा नेपालका मात्र होइन कि भारतका पनि धेरै पर्यटक आकर्षित हुनसक्छन्। अझ त्यसलाई आध्यात्मिक केन्द्रमा पनि विकसित गरिनुपर्दछ।

नेपाल एकीकरण अभियानमा आध्यात्मिक शक्तिको पनि ठूलै योगदान छ। पृथ्वीनारायण शाहले गोरखनाथ गोरखकालीको शक्ति र आशिर्वाद प्राप्त गरेर नेपाल एकीकरणममा सफल भएका हुन्।

यसलाई पनि जाहेर गर्न तराई रौतहटमा गोरखनाथ र गोरखकालीको मन्दिर स्थापना गरेमा त्यो एउटा प्रख्यात आध्यत्मिक केन्द्र र पर्यटन केन्द्र पनि हुने छ। साचो अर्थमा नेपाल र नेपालीलाई जोड्ने र नेपाललाई सुदृढ गराउने नेपाल सुदृढिकरणको एउटा केन्द्र पनि हुनेछ।

तराईमा गोरखा संग्राहलय स्थापना गराउने डा. राजेश अहिराजको योजना र सकृयता आफैमा नेपाल सुदृढीकरण र तराई पहाडलाई जोड्ने अभिययान हो। यस्तो स्तुत्य अभियानलाई सबैले साथ दिनुपर्दछ।

डा. राजेश अहिराज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको नाममा जनस्तरबाट छात्रवृक्ति स्थापना गर्ने पहिलो नेपाली नागरिक भएका छन्। त्यसरी नै नेपाल जोड्ने पृथ्वीनारयणमा सबै नेपाली जोडिनुपर्छ भनेर गोरखा संग्राहलय तराईमा पनि स्थापित गर्नुपर्छ भन्ने पनि पहिलो नेपाली नागरिक भएका छन्। उनले बढाउन चाहेका यस्ता सकारात्मक कामलाई सबैले साथ सहयोग दिनुपर्दछ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *