ओलम्पिकमा पदक जितेपछि खुसीले उफ्रिँदा खेलाडीको काँधको हड्डी भाँचियो

काठमाडौं । जारी पेरिस ओलम्पिकमा पदक जितेपछि खुसीले उफ्रिँदा एक खेलाडीको काँधको हड्डी भाँचिएको छ । मोल्दोभाका जुडो खेलाडी आदिल ओस्मानोभसँग दुर्घटना भएको हो ।
उनले कास्य पदक जितेका छन् । पुरुष ७३ केजी तौल समूहमा उनले इटालीका म्यानुएल लोम्बार्डोलाई पराजित गर्दै पदक जितेपछि खुसीले उफ्रिए । उनी खुशीले उफ्रिँदा उनको काँधको हड्डी फुट्यो र उनी नराम्ररी घाइते भए। उनले आफ्नो बायाँ हातले आफ्नो घाइते काँध समातेर अन्य पदक विजेताहरूसँगै पोडियम पुगेका थिए ।
पछि उनले खुलासा गरेअनुसार उनलाई पेरिस ओलम्पिक अघि नै आफ्नो काँधको शल्यक्रिया गर्न सल्लाह दिइएको थियो । उनले भने, ‘हो, यो धेरै गाह्रो थियो र वार्म-अपको समयमा मलाई समस्या भयो । तर त्यसपछि पनि मैले पदक पाएँ। मसँग खेलबाट पछि हट्नुको विकल्प थिएन।’
आफ्नो पदक दिवंगत बुवालाई समर्पण गर्दै उनले भने, ‘उहाँ आफैंले ओलम्पिकमा पुग्ने सपना देख्नुभएको थियो । पैसाको अभावमा उहाँ सफल हुन सक्नुभएन । उहाँको एउटा सपना ओलम्पिकमा पुगेर पदक जित्ने थियो । आज त्यो सपना पूरा भएको छ ।’
Facebook Comment