ककनी गाउँपालिकाद्वारा सञ्चालित सीप विकास तालिम सम्पन्न, प्रशिक्षार्थीहरुलाई प्रविधि हस्तान्तरण

डिसी नेपाल
१९ साउन २०८१ १०:४७

नुवाकोट। ककनी गाउँपालिकाले सञ्चालन गरेको सीप विकास तालिमकाे समापन गर्दै तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रविधि हस्तान्तरण गरिएको छ।

गरिबी निवारणका लागि लघु विकास कार्यक्रम अन्तर्गत ककनी गाउँपालिकाले सञ्चालन गरेको एक महिने मोटरसाइकल मर्मत सम्बन्धी तालिम र सात दिने बेमौसमी तरकारी खेती तालिमको बिहीबार समापन गर्दै सहभागीहरुलाई प्रविधि हस्तान्तरण गरिएको हो।

ककनी गाउँपालिकाको वडा नं ३ मा सञ्चालित उक्त सीप विकास तालिमको गाउँपालिका अध्यक्ष सुमन तामाङले समापन गर्दै तालिममा सहभागी भएकाहरुलाई प्रविधि समेत हस्तान्तरण गरिएको थियो।गाउँपालिका अध्यक्ष तामाङले तालिममा सहभागीहरुलाई मोटरसाइकल मर्मत र तरकारी खेतीका लागि आवश्यक सामग्री प्रदान गरेका थिए।

गाउँपालिका अध्यक्ष तामाङले तालिममा सहभागीहरुलाई प्रविधि हस्तान्तरण गर्दै सिकेको सीपलाई व्यहारमा उतारेर स्वाबलम्बी  बन्न आग्रह गरे। उनले सिकेको सीपलाई प्रयोग गर्दै सीपयुक्त जनशक्ति बन्न तालिममा सहभागीहरुलाई शुभकामना समेत दिए।

अध्यक्ष तामाङले तरकारी खेतीको प्रचुर सम्भावना रहेको वडा नं ३ मा तालिममा सहभागीहरुलाई हस्तान्तरण गरिएको सामग्रीलाई प्रयोगमा ल्याएर अधिकतम फाइदा लिन आग्रह गरे। उनले यस प्रकारको तालिम आगामी दिनमा सबै वडामा विस्तार गरिने पनि प्रतिबद्धता व्यक्त गरे।

यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिठ्ठुमाया तामाङले वडा नं ३ मा मोटरसाइकल मर्मत स्थल नहुँदा समस्या भएकाले अब त्यो समस्याको अन्त्य हुने बताइन्। उनले वडा नं ३मा मोटरसाइकल मर्मत सेन्टरको अत्यन्त आवश्यक रहेकाले सीकेको सीप जीवनोपयागी हुने विश्वास व्यक्त गरिन्। उनले तरकारी खेती तालिम लिएका सबैले कृषकले पनि तालिमबाट प्राप्त सीपलाई दैनिक जीवनमा उपयोग गर्न आग्रह गरिन्।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खम्बाराज राईले राजधानी नजिकै रहेको वडा भएकाले उत्पादित कृषि उपज सजिलै खपत हुने भएकाले सम्भावना रहेको बताए। उनले मोटरसाइकल मर्मत र बेमौसमी तरकारी खेतीका लागि हस्तान्तरण गरिएका सामग्रीको सदुपयोग गरि आर्थिक उपार्जन गर्न आग्रह गरे।

ककनी गाउँपालिका सामाजिक शाखा प्रमुख सुनिल आचार्यले यो कार्यक्रमबाट आधुनिक कृषि प्रणालीलाई सहयोग पुर्‍याउने हुँदा प्रदान गरिएको स्रोत र साधनको उच्चतम प्रयोग गर्न अग्रह गरे । उनले हस्तान्तरण गरिएका सामग्री प्रयोगमा नल्याई जथाभाबी गरेमा राज्यको लगानी दुरुपयोग हुने हुँदा गाउँपालिकाकाे तर्फबाट समय-समयमा अनुगमन गरिने बताए। सदुपयोग गरेको पाइएमा आगामी दिनमा यस्ता कार्यक्रम अन्य वडामा पनि थप गरिने जनाए।

यस्तै कार्यक्रममा बोल्दै ककनी गाउँपालिका वडा नं १ का वडा अध्यक्ष पदमबहादुर बलामीले यस्ता कार्यक्रमले कृषकमा कृषि योग्यता बढाउने हुँदा उत्पादनमा समेत बृद्धि गराउने भएकाले अन्य वडामा समेत विस्तार गर्न समाजिक विकास शाखासँग आग्रह गरे।

गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडाअध्यक्ष लगायतको उपस्थिति रहेको कार्यक्रममा तालिममा सहभागीहरुले सिकेको सीपलाई व्यवहारमा उपयोग गर्दै उद्यमी बन्ने प्रतिबद्धता जनाएका थिए। गाउपालिका अध्यक्षको अध्यक्षता र उपाध्यक्षको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन उद्यम विकास सहजकर्ता निरु लामाले गरेकी थिइन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *