सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वमा नयाँ सरकार गठन हुँदै
काठमाडौं। सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ। प्रदेश प्रमुख नजिर मियाँले दिएको आज साँझ ५ बजेसम्मको लागि नयाँ सरकार गठनको समयसीमा भित्र नयाँ सरकार गठन हुन लागेको हो।
केन्द्रमा कांग्रेस एमालेको समीकरणमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाउने सहमति भएको थियो। सोही अनुसार एमालेको समर्थनमा आज कांग्रेसले मुख्यमन्त्रीमा दाबी पेस गर्नेछ।
सुदूरपश्चिम प्रदेशमा ५३ जना प्रदेशसभा सदस्य छन्। मुख्यमन्त्रीलाई बहुमत पुराउन २७ सांसद आवश्यक पर्छ। आज साँझ सम्म यी दुई दल बाहेक नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन गर्ने जनाइएको छ।
मुख्यमन्त्रीमा कांग्रेसबाट तीन जनाको दाबी रहे पनि संसदीय दलका नेता कमलबहादुर शाह नै मुख्यमन्त्री बन्ने सम्भावना बढी देखिएको छ।
त्यहाँ प्रकाश देउवा र बहादुरसिंह थापा पनि मुख्यमन्त्रीका आकांक्षी रहेपछि कांग्रेसले अहिले बिहान ११ बजे संसदीय दलको बैठक आह्वान गरेको छ।
उक्त बैठकले उम्मेदवारको विषयमा ठोस निर्णय गर्नेछ । बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम पनि टुंगाे लगाउने छ।
Facebook Comment