आफूँ मरेको अनुभूति गर्दा
२०५५ साल भाद्र महिनाको पहिलो हप्ता हुनुपर्छ, शेखरजी, म, रेणु र बिनिता हामी चारजनाको टिम अत्यन्तै संबेदनशील अबस्थामा संगठनात्मक कामको सिलशिलामा ओखलढुंगाको ज्यामीरे पुगेका थियौं।
लोकिल भञ्ज्याङको ठ्याक्कै मुलबाटोमा डक्टरसाबको घरमा राति अबेर तिर पुग्यौं।भोलिपल्ट दिनभरी खोकी आउँदापनि सिरकले मुख छोपेर खोक्दै, दिनभरीको घामको रापले जस्ता तातेर रनक्क भएको रापभित्र बूइगलमा बस्यौं।
सदरमुकामबाट करिब २० मिनेटको दूरी भित्ररहेको दोहोरीलत्ता मानिसहरु सदरमुकाम ओहोर-दोहोर गर्ने अनि सेना प्रहरीपनि नियमित गस्ती गरिरहने, जिल्ला हेडक्वार्टरको सुरक्षा आर्क भित्रैको ब्यास्त मुल बाटोको जोखिमपूर्ण बसाइ हो हाम्रो त्यो बसाइ।
खोक्न, बोल्न र नियमित निष्काशनको निम्ति पनि अत्यन्तै कष्टपूर्ण र डरमर्नु हुन्थ्यो त्यतिबेला।जसो–तसो भोलिपल्टको दिनपनि बितायौं।हुनत भोलेन्द्र बानियाको घरपनि नजिकै थियो।
तर पराइ मान्छेको निगरानी भित्रै हुन्थ्यो भोलेन्द्रजीको घरपनि।रेणु र बिनितालार्ई केही दिनपछि सिधै जरायोटारको सम्पर्कमा आउन भोलेन्द्रजीकै टोलमा छाडेर काम बिशेषले म, भोलेन्द्र बानिया र कमरेड शेखर, बादल (बेदप्रसाद भट्टराई) अँधेरी रातमै च्यानम पुग्यौं।महत्वपूर्ण कामहरु सम्पादन गर्दै च्यानम थामडाँडास्थित टेकबहादुर खत्रीको घरमा महत्वपूर्ण संगठनात्मक कामहरुमा सहभागी भइ त्यहीँ बसेर भोलिपल्ट भोलेन्द्रजी घर फर्किनुभयो।
हामीचाहिँ बेलुका रातपरेपछि जरायोटार डिल्लीप्रसाद खतिवडा (डिल्ली काका) को घरमा रेनु र बिनिताको सम्पर्कको निम्ति हिड्यौं।च्यानमको पोखरी हुँदै माथिल्लो बाबियाबाट तल्लो बाबिया झन नाइटेको चौतारामा निस्किने बाटोको खोजी गरियो।तर बाटो पत्तालाउन सकिएन।चुक घोप्ट्याएजस्तै अन्धकार रात थियो।
अनि आफू कहिल्यैपनि नहिँडेकोले अन्दाजको भरमा त्यसमाथि पनि अँध्यारी रातमा बाटो पहिचान गर्न नसकेर माथिल्लो बाबिया हुँदै तत्कालीन कुशादेबी नि मा बि आसपासतिर निस्किने पहराको थाप्लोमाथिको गोरेटो बाटो लागिएछ।
जाँदै गर्दा त्यही बाटो पनि सानो अनि झन् सानो हुँदै हराउँदै गयो।दिउँसोदेखि नै जोडसँग पानी परिरहेको थियो।सोलुङ र मोलुङ दुबै खोलाहरु बेतोडले उर्लिइरहेको आबाज अनि निरन्तरको झरीले आपूुहरुले ओडेको प्लास्टिक बजेको आबाज एकहोरो रुपमा कानमा गुन्जिइ रहन्थ्यो।टर्च लाईट भएता पनि सुरक्षाको कारण बालेर हिँड्न मिल्दैन थियो।फेरि कमरेड शेखरको नेतृत्व अनि जिद्दी पनि बडो चर्को पो थियो त!
बाक्लो हुस्सु लागेको कारण भौगोलिक रुपमा कहाँ आइपुगियो? भन्ने अन्दाज पनि हुन सकेन।बेतोडले पानी परिरहेको थियो।फर्केर फेरि बाटो खोज्न पनि साथीले मान्नुभएन।प्लास्टिक ओढिएको छ।
क्रमिक रुपमा सानो हुँदै गएको त्यही गोरेटो बाटोपनि सल्लिफिर र अन्य पत्करहरुले छोपेर चिप्लो अनि पाइलानै अडिन नसक्ने अबस्थामा पुगिसकेको थियो।नाइटेको भिर अर्थात गुरुङ लडेको भिर भनेर चर्चित उक्तभिर सम्झदा जो कसैको पनि होस् हबास उड्ने भिर हो त्यो भिर! दसा बाजा बजाएर आउँदैन भन्ने गर्नुहुन्थ्यो बेला बखतमा बुढापाकाले पनि!
जसो तसो रुट गाइडको रुपमा म अघि-अघि अनि कमरेड शेखर पछिपछि हिँड्दै थियौं। टेकेको खुट्टा अचानक चिप्लिएर म लडेँ। भिरमा माथिबाट तलतिर यति तिब्रगतिमा सुल्किएर झरे कि कहिँकतै अडिन र बुट्टा-बुट्टीहरु समाउन सक्ने सम्भाबनानै रहेन। भिरको टाकुराबाट चिप्लिएको बाँसझै छिट्टो अनि झन छिट्टो पहरोमा बजारिँदै, पहरो ठाडो झर्यो जिन्दगी त!
ला! अब चोक्टा–लाम्टा छरिँदै, उच्छिट्टिएको जिन्दगीका टुक्रा टुक्रीहरु उर्लिइरहेको मोलुङखोलाको मुल्कोसँगै बग्नेभए भन्ने लाग्दा लाग्दै, बाँच्ने आशा मरिसकेको भएता पनि करिब १५० मिटर जति तल पुगेर एउटा सानो कोप्चोमा ड्याम्म बजारिएको मात्र थाहा छ मलाई।
माथिबाट उछिट्टिएर जोडले बजारिँदा म बेहोस भएछु ।धेरै समय पछि खै कतिबेला हो कुन्नी? शेखरजीले बिबशजी… भनेर बोलाएको मधुरो आबाज कानमा ठोक्कियो र अरु धेरै पटक ठोक्किइरहयो। तैपनि सेन्स( दिमाग ) खुल्न अर्थात फ्रेश हुनसकेन। फेरि बेहोस भएछु।
कमरेड शेखर एबं रितले मलाई बोलाउँदै-बोलाउदै, टेक्न सकिने ठाँउमा पैताला अड्याउँदै, अनि कँही कतै बुट्टा-बुट्टिहरुमा झुण्डिँदै त कतै चिप्लिँदै, मलाई बोलाउँदै, घुम्दै क्रमशः नजिकै आएर बोलाउँदा सुनिएको केही टठिलो आबाजले मेरो पनि हल्का होस खुलेछ अनि झसङ्ग ब्यूँझिएछु।
तर शरीर चलाउन वा हल्लाउन अनि बोल्नपनि सकिन। बाँच्न चाहिँ बाँचिए छ तर ज्यान सद्देचाहिँ छैन होला! ज्यान घाइते मात्र हैन नमिट्ठोपाराले जिन्दगीभरिको निम्ति अपांग भयो। यति लडिसकेपछि यसरी बाँच्नु भन्दा त बरु यो धुकधुकी अघिनै सिद्धिएको भए हुन्थियो नि भन्ने लाग्यो। लड्दै गर्दा धेरैबेरसम्म त होसमै थिएँ। तर जोडसँग बजारिँदा शरीरलार्ई ठूलै धक्कापरेर बेहोस भएको हुनुपर्छ।
तैपनि ज्यान हल्लाउने कोसिस गरें तर पिटिक्कै हल्लिएन। हल्लाउन पनि सकिन। जति प्रयास गर्दापनि चल्न सकिन। उत्तानो परेर लडेको यो शरीर एक्कासी ढाड तातो भएको अनुभूति भयो। देब्रे हातको कुइनो चलाउन, हल्लाउनै नहुनेगरी दुख्यो। म ब्युँझदा पुरै शरीरपनि सुन्निएर कोलजस्तै भैसकेको रहेछ।
अर्को हातले बल्लबल्ल यसो छामेँ। हातको कुइनो फुटेर हड्डी बाहिर उछिट्टिएछ। दुबै खुट्टामा गहिरा चोटहरु लागेछ। ढाड,पाता, त्यस्तै छ। नली खुट्टापनि रगताम्य छन्। जोडसँग बजारिँदै झर्दा, पहराले थाइ, ढाड, गर्दन र टाउको चिथोरेर क्षत-बिक्षत भइसकेछ।
टाउको पनि जोडसँग दुखिरहेको थियो। हात,खुट्टा, ढाड, गर्दन, टाउको अनि जताततैबाट भल्भली बगिरहेको, रगतको आहालमा डुबिसकेको कारणे ज्यानलाई तातो भएको रहेछ। अझ करङको हालत के छ? के मेरुदण्ड ब्याक बोन सकुशल छ त? मुख्य कुरा त टाउको र ढाड हो। यदि सकुशल नै भए शरीर किन चल्दैन? किन यसरी फुट्ला झैं गरि टाउको दुख्छ? यस्तै-यस्तै प्रश्नहरु आँफैसँग गर्दै, अर्धचेतको जिन्दगी, जिउँदो लासझैं लडिरहेँ।
एबं प्रकारले रगत बगिरहेको छ। सास फेर्नै हुँदैन,उकुस-मुकुस भइसक्यो। लामो सासफेर्न पाए, केही क्षणको निम्ति मात्र भएपनि कत्ति आनन्द हुन्थ्यो होला नि!
आवाजले चाहिँ पुरै होस खुलेछ। हल्का आँखा च्यातेर वरिपरि पल्याक-पुलुक्क हेर्न खोजेँ। त्यतिकैमा अलिक मापथ धिपधिप लाइट बलेजस्तो लाग्यो।
शेखरजीले फेरि बोलाउनु पनि भयो। जबरजस्ती हजुर भनेँ। मेरो जिन्दगीभरी कानमा गुन्जिएका अनगिन्ती आबाजमध्य त्यो बेला कमरेड शेखरले नजिकैबाट प्रष्ट बुझिनेगरी बिबशजी भनेर बोलाएको आबाज साँच्चि नै नयाँ जीवनको आशा बोकेर मेरो कानमा ठोक्किएको अमृत समानको ध्वनितरंग पनि थियो।
हल्कासहज मात्र लागेन कि अबचाहिँ बाँचिन्छ होला भन्ने नयाँ जीवनको झिनो आशको त्यान्द्रो सल्बलाई रह्यो मेरो मानसपटलमा। मेरो आबाज सुनेपछि उहाँलाई पनि साथी जिउँदै रहेछ भन्ने लागेर असाध्य खुशी लाग्यो रे। मेरो धुमिल आबाजको दूरी पहिचान गर्दै शेखरजी नजिकै आएर सोध्नुभयो, के भयो कमरेड? अब के मात्र भएन र कमरेड? ज्यान त पुरै झिरिप्प भयो नि।
चोक्टा बनेर मोलुङको भेलसँगै बग्नबाट जोगिएता पनि पहरोमा नराम्रोसँग बजारिएर केही धुकधुकी र मधुर आबाज मात्र त बाँकि छ। झण्डै यो धुकधुकी पनि नरहेको! उहाँले उठ्नुस भन्नुभयो। ज्यान हल्लिन त मान्दैन। रौं जत्तिपनि हल्लाउनै हुँदैन कसरी उठ्नु र? एकछिन नचलाउनुस् है, भन्दा भन्दैपनि साथीले दुबैहातले प्रेमपुर्वक तानेर उठाउन खोज्नुभयो तर पुरै शरीर भरीका घाउहरु दुखेर मलाई असैह्य पीडा भयो।
उसै-उसै अत्यन्तै खरो भयो। म त फेरि बेहोस भएछु। ममाथि अत्यन्तै गह्रौं चिजले थिचेजस्तो अनि कालो अँध्यारो शून्यताभित्र सास रोकिएर छट्पटाइरहे जस्तो, शून्यताभित्र तिब्र बेगमा बत्तासिँदै ओरालो झर्दैगरे जस्तो, गहिरो सपनाको अर्कै संसारभित्र बिलिन भइसकेजस्तो,नौरंगी सपनासहित गहिरोसँग धेरैबेरसम्म बेहोस भएछु।
शेखरजी आत्तिएर निरन्तर बोलाइरहनु भएछ। निकैबेर पछि पुनः ब्यूझिँएछु। होस खुलेछ। अनि फेरि उठाउन खोज्नु भयो तर सकिन। मध्यरात भैसक्यो।शरीर उठाउन त के हल्लाउनपनि सकिन। शेखरजीको ब्यागमा भएको गाम्छा च्यातेर कस्न मिल्ने ठाउमा कसेर अर्थात ब्याण्डेज गरेर रक्तश्राब रोक्ने कोसिस गरियो।
जताततै रगतमै हात डुब्थ्यो।म आफू रक्तअल्पताको बिरामी पनि हो। मानव शरीरमा सरदर कति लिटर रगत हुन्छ र? अब त रगत पनि केनै पो बाँकि होला र? सम्झेर डर पनि लाग्यो। तर अबस्था चाहिँ अत्यन्तै नाजुक भइसकेकै थियो। ब्याग पनि छैन। शेखरजी पहरो ठाडो झोला खोज्न जानु भयो।
ब्याग झोला त च्यात चुतभएर माथि पहरोतिरै पो झुण्डिएछ। प्लास्टिक पनि छैन। त्यो अबस्थाको घाइते शरीर झरीमा एकहोरो भिज्दा जाडो नहुने कुरै भएन। जाडोले काँपिरहेको शरीर कापेर हल्लिदा पनि बेहोस हुने गरी पीडा भइरहयो। शेखरजीले आफ्नो प्लास्टिक ओढाइ दिनु भयो। अब म सम्पर्कमा पुग्न सक्ने अबस्था भएन।
बल्ल-बल्ल उठाएर थेग्दै घिसार्दै जसोतसो, मुस्किलले नाइटेको चौतारासम्म त पुर्याउनु भयो तर ज्यान रौं जतिपनि हल्लाउन मिल्दैन। चौतारा नजिकै नरबहादुर कटुवाल दाइको घर छ। त्यो हाम्रो सेल्टर पनि हो। उहाँकोेमा बस्दा सुरिक्षित हुन सकिन्छ। साथीहरुसँग भोलि सम्पर्क गरौंला भन्दापनि शेखरजी मान्नुभएन।
म हिँड्न सक्दिन तपाईंमात्र जानुस् भन्दा पनि झनै मान्नु भएन। त्योभन्दा बढी बोल्नपनि सकिन। छन त तितेभित्तामा थुप्रैघर र हाम्रो निम्ती सेल्टरहरु पनि थिए। नरबहादुर दाइको नजिकै श्याम कटुवाल दाइको घरपनि थियो। तर साथीको ढिपी अगाडि मेरो आग्रहको केही चलेन।
कोही कोही साथी त कति जिद्दी हुन्छन् भन्ने कुराको नमुना पनि हुनुहुन्थ्यो शेखरजी! बरु ब्यागपनि आफैंले बोकेर, मलाई अँगालोमा बेरेर ओरालोमा जबर्जस्ती घिस्याउन लाग्नुभयो। ब्यागमा खोजतलास गर्दा एक चक्की सिटामोल भेटियो।
कोमामा पुगिसकेको ज्यान अनि असैह्य दुखाइको कारणले अन्धकार रातमा पनि बिजुली चम्किएझैं गरी आँखाबाट आगोका ज्वालाहरु निस्किरहेका थिए। कोमामा राखेर हाइडोजको पेनक्लियर चलाउनुपर्ने अबस्था भइसकेको बिरामीलाई सामान्य सिटामोलको एउटा चक्किले मात्र के नै पो हुन्थ्यो र? अँइ अँइ गर्दै, घरी घरी रुँदै, मुर्छा पर्दै,घण्टौंपछि मुस्किलले सोलुङ खोलासम्म त झरियो।
जोडसँग बजारिँदाको पीडाले हुनुपर्छ, टाउको पनि फुट्ला झैं गरी असाध्य दुख्यो। शरीर पुरै सुन्निएको छ। आफ्नै टाउको र शरीर आफैंलाई गह्रौं भारी भइरहेको थियो। सोलुङ खोलामा पनि खपिनसक्नु गरि ठूलै बाढी आएको थियो। म आँफू मुस्किलले एउटा ढुंगामा थचक्क बसेँ अनि नजिकैको सम्भाबित इलाकाको लोकेसन देखाउँदै, शेखरजीलाई खोलामा बाँसको अस्थाइ पुल-फड्के खोज्न पठाएँ।
हल्का हुस्सु खुल्यो। पहिले शेखरजीलार्ई वारि-पारि गर्न लगाएँ र मैले हेरें। किनकी मेरो अबस्था अनुसारको ब्यालेन्समा छ कि छैन? दुई वटा बाँस तेरर्स्याएर एउटा मुस्किलले समाउन मिल्ने गरी बनाएको लचकदार काम चलाउ फड्के मात्र रहेछ। तर अपांग मैत्री हुँदैहैन। जबर्जस्ती फड्के भित्र पसियो।
खुट्टा चाल्न पनि मिल्दैन, हात चलाउन पनि मिल्दैन। घिस्रिँदै–घिस्रिँदै बल्ल बल्ल बीचतिर त पुगियो, तर अब त घिस्रिन पनि सकिन। खोलाको मुल्कोले बाँस छोइसकेको थियो। खोलाको मुल्को माथि अडिन पनि सकिन।
अब के गर्ने? अर्को संकट आइसक्यो। त्यत्रो भिरबाट मुस्किलले बँचेको धुक-धुकी, अब खोलाको मुल्कोमा बग्ने भयो नि कमरेड! शेखरजी अगाडिबाट तान्न त खोज्नुहुन्छ नि बिचरा! म आफैं असुन्तलित भइसके।
केहीबेर आँखा बन्द गरेर सकेजति बल गरेर बाँस समातेर फड्केको बीचमा बसिरहेँ। अब कि त जसरी भएपनि पारि पुग्नुपर्यो कि त मर्नुनैपर्ने भयो। अब रुँदै रुँदै मुस्किलले प्रतिसेन्टिमिटरको गतिमा घस्रँदै घस्रँदै निक्कैबेरपछि मुस्किलले पारि पुगेर थचक्क बसेँ।
जरायोटारको डिलमा निस्कन अब बाटो त धेरै छैन नि! तर असाध्य गाह्रो भइरहेको छ! पुरै शरीरमा नमिट्ठो दर्द छ। रगत त कति बग्यो कति? अब त ताकत पनि सिद्धिसकेछ। पाइला चाल्नै सकिँदैन।
गफ,तर्क र कुतर्क गरेर जनयुद्ध र योद्धालार्ई धारेहात लगाउँदै, गाली गरेको भरमा मात्र व्यवस्था परिबर्तन हुने, अनि गणतन्त्र आइहाल्ने हैन रहेछ नि प्रीयजनहरु! त्यतिबेलाको त्यो अबस्थामा हाम्रो शेखरजी त रुनु भयो।
माओबादी जनयुद्ध र योद्धाहरुको बारेमा विभिन्न नकारात्मक कोणबाट टीका-टिप्पणी र व्याख्या विश्लेषण गर्ने र जनयुद्धलार्ई गाली गर्ने मेरा प्रिय मित्रहरुले, आफू एकछिन त्यो बेलाको बिबश र शेखर बनेर कल्पनामात्र गरिदिनु भयो भने पनि गणतन्त्रको सारलाई त्यहीँ भेट्टाउनुहुने थियो।
अनि त्यसको मर्मलाई बुझ्न सहज हुने थियो भन्ने मेरो बिनम्र अपिल पनि हो। म आफूले बिबेक र धर्यता नगुमाइकन, धेरै सहेर, अझ बढी आत्मा बिश्वास र साहस नगुमाएर मात्र बाँचेको हो जस्तो लागिरहेको छ। त्यति बेलाको त्यो हरिबिजोग दृश्यलाई पुनः कल्पना मात्र गर्दा जुनकुनै बेलापनि आङ सिरिङ हुन्छ र शरीरको केमिकल नै परिबर्तन हुन्छ मेरो आजसम्म पनि।
पाइला चाल्यो कि चक्कर लागेर उठ्नै नसक्नेगरी ढल्दै, त फेरि उठेर दुई–चार पाइला चाल्दै, अनि फेरि मुर्छित हुँदै, गणेश पण्डित दाइको घर ठाडो हुँदै, आधा घण्टाको पुरै बाटो करिब ५–६ घाण्टालगाएर, रुदै–रुँदै बल्ल डिल्ली काकाको दलिनमा पुगेर यो अर्धमृत ज्यानलार्ई जबर्जस्ती बिसाइयो। उसै उसै खरो भइरह्यो।
अलिकति थुक जम्मागरेर थुकनिले पछि थोरै साहस-तागत जम्मा भयो। अनि बल्ल काकालाई उठाएर मुस्किलले भित्र पसियो। थप बोल्न सकिन र मिलेन पनि। अबस्था हेरिसक्नु थिएन। मेरो अनुहार र शरीरको त्यो दृश्य देखेर बिनिता र रेणुसँगै काका काकिपनि रुन लाग्नुभयो। काकाले पानी तताउनु भयो। मैले रुचेसम्म मनतातो पानी पिएँ। अनि बल्ल लामो सास फेर्न सकेँ। सास फेर्न सकेकोमा केही क्षण ज्यादै खुसी लाग्यो अनि आनन्द पनि।
च्यातिएर धुजा-धुजाभएर रगतको फाल्सामा लपेटिएका कपडालार्ई च्यातेर÷काटेर डिस्फोज गरियो। कपडा खोलेपछि त झन् सबैजना आँत्तिनु भयो। रेनु, बिनिता, काका,काकी, शेखरजी सबैजना भएर सम्भव भएसम्म, कपडाको झुम्रोले पैताला देखि टाउकोसम्म् जमेर कट्कटीएको रगत पुछेर घाउहरु सफा गरिदिनु भयो।
म हिरिक्क-हिरिक्क हुँदै, धेरैपटक मर्दै बाँच्दै भएँ। गोली लागेर घाइते हुनु र उसै लडेर घाइते हुनुको पीडा उस्तै उस्तै भए पनि प्राप्त हुने सहानुभूती फरक फरक नै हुने गर्दछ हुन त। तर दुखाइ तर पीडा चाहिँ असैह्य उस्तै।
ओ हो! झन् विभिन्न फौजी मोर्चामा गोली र बमले शरीर क्षत–बिक्षत भएर असैह्य बेदनामा मर्दै, बाँच्दै गरेका मेरा प्रीय कमरेडहरुलाई सम्झिए मैले। त्यो अबस्थामा झन कति पीडा र छट पटी हुन्थ्यो होला?
कमरेड मलाई पानी खुवाइ दिनु न भनेर पानीको घुट्को पनि निल्न नपाउँदै, छटपटाउँदै जीवन लिला त्यागिसकेका ती हजारौं शहीदको अन्तिम छटपटीलाई सम्झिँदै आफ्नो मन बुझाउने अनि दर्द सहनगर्ने कोसिस गरेँ। सामान्य चेतना र सहज बिबेकले सोच्न र कल्पना सम्मपनि गर्न सक्दैन नि,ती बीभत्स दृश्यलाई! बास्तबमा दश वर्षीय जनयुद्धको सजीव यथार्थता त्यही थियो। यो तितो सत्य हो।
त्यसको केही महिना पश्चात् संगठानत्मक जिम्मेवारिलाई पूरा गर्नेक्रममा कमरेड बादल, कमरेड शेखरको छद्म नामले परिचित बेदप्रसाद भट्टाराइकाे पनि ०५५ सालको अन्तिमतिर सप्तरीमा हत्या भयो। मेरो आधी भन्दा बढी रगत बगेता पनि आधी बाँचेको जिन्दगीलाई थेग्दै, घिसार्दै आफ्नो अभिभावकीय भूमिका पूरा गर्नु हुने कमरेड शेखरले यो मुलुकमा परिबर्तनको निम्ति आफ्नो पूरै जीवन बलिदान गरिसक्नु भएको छ। म अत्यन्तै ऋणी छु। कमरेड शेखरलगायत ती महान अमर शहीदप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु।
ताकि अब उहाँले मेरो घाउ कहिल्यै पनि दुखाउनु हुने पनि छैन। बरु उहाँ र अरु हजारौं योद्धाको बलिदानको पीडाले मेरो छात्ती निचोरिँदा पटक–पटक बल्झिरहने मुटुुभित्रको घाउचाहिँ पलपल दुखिरहने छ निरन्तर!
धिक्कार छ ती आत्मालाई,जसले जनयुद्ध र क्रान्तिकारी योद्धाहरुलाई धारेहात लगाउँदै, व्यवस्था बदल्ने जसपनि आफै्रलिन खोज्दछन्, अनि योद्धाहरुलाई आतंककारीको बिल्ला भिराउँछन्।
युगान्तकारी परिबर्तनको बाहक सशस्त्र जनयुद्धलाई अपराधिकरण गर्न खोज्दैछन्। जनयुद्धको क्रममा योद्धाद्वारा दृढतापूर्बक सामाना गरिएका त्यस्ता हज्जारौ कारुणिक दृश्यहरुलाई पुनः स्मरण गरिदिनुहुन अपिल गर्दछु, अनि मात्र बल्ल गणतन्त्रको वास्तविक मर्मलार्ई नजिकबाट बुझ्न सक्नुहुन्थ्यो कि!
काकाले सिटामोल खोजेर ल्याउनु भयो। सिटामोल त खाएँ तर मेरो बुझाइमा अत्याधिक रक्तश्राब र शरीरमा ठूलो दख्खल परेको कारण राति नै मर्नसक्ने सम्भाबना पनि थियो। सुतेकै बेला सुतेको सुत्यै हुन पनि सकिन्थ्यो। मलाई त्यही अनुभूति भइरहेको थियो। तर पनि मैले कालसँग सम्झौता गरिसकेको चाहिँ थिइन।
काकीले दूध तताइदिनु भयो। एक कप मनतातो दूध र बेसार पिएर मुस्किलले तलामाथि उक्लिएर मकैका घोगामाथि सुतियो। शेखरजी पनि नजिकै अर्को गुन्द्रीमा सुत्नुभयो। तर जे होस् भोलिपल्टसम्म आफूलाई आफूले जीवितै पाएँ। तर उठ्न त के सकिन्थ्यो र!
भोलिपल्ट स्थानीय स्वास्थ चौकीमा औषधि लिन पठाइयो। गाँउका डाक्टरले बेटाडिनमात्र दिएर पठाएछन्। अन्य औषधिको लागि बिरामी आफैं जानुपर्ने रे! त्यही बेटाडिनले पुनः घाउ सफा गरियो।
एवं रितले एकहप्ता जति काका-काकीको न्यानोमाया र उचित स्याहार सुसारपछि ज्यान ओर्किन फर्किन सक्नेसम्म भयो। तर शरीरमा अत्याधिक असर परेको र अत्यधिक मात्रामा रगत बगेको कारण हात खुट्टाहरु चलाउन र उठ्न चाहिँ सकिएन। इलाका हेल्थपोष्ट रामपुरबाट थप औषधि मगाएर घसियो।
केही समयपछि पुष्करजीलगायतको टिम सम्पर्कमा आयो। टिममा पैसा पनि रहेनछ र थिएन पनि। ८-९ सय पैसा बोकेर खारबेशीबाट टेकबहादुर खत्री भाइलाई साथी लिएर लैनोपाडाकै शैलीमा मिसन अस्पताल तिर लागियो।
गाँउमा मेरोबारेमा गाइँया-गुइँया हल्ला भइसकेको भएता पनि जस्तो सुकै खतरा मोलेरै भएपनि मिसन अस्पताल जानुको बिकल्पै थिएन। त्यतिबेला मैले युद्धमोर्चामा घाइते योद्धाहरुको उपचारमा कृयाशील भइरहने अत्यन्तै साहसी योद्धा डाक्टर नर्मन बेथुनलाई सम्झिए। उहाँको अभावको महशुस गरेँ। उहाँको उपस्थितिको कल्पना गरेँ। तर त्यो बेलाको मेरो नर्मन बेथुन म आफैं थिए।
त्यो बेला गाँउमा बिजुली, यातायात, संचार केही पनि थिएन। कात्तिके, तोरीस्वारा हुँदै ढुस्केको उकालोमा फेरि थुप्रै पटक मुर्छा परियो। ज्यान त अझै तंग्रिसकेको रहनेछ। शरीरमा शक्तिनै छैन। टेकबहादुर भाइले कहीँ बोक्दै, कहीँ घिसार्दै त कहीँ कतै हुत्याउँदै जसोतसो मिसन अस्पताल पुर्यायो।
बेड भर्नागरेर तुरुन्तै अप्रेसन गरिहाल्नु पर्ने डक्टरको सुझाव आयो। अब जुनसुकै खतरा मोलेरै भएपनि सदरमुकाम बजार पुग्नै पर्ने चाप र बाध्यता पनि आयो। पुनः मुस्किलले बजार पुग्यौं। भाइकाजी श्रेष्ठ सर, सचनाराज भण्डारी दिदी, तिर्थ सुवेदी कमरेडलगायत अरु थुप्रै आत्मीय मनसँग भेटघाट अनि तत्कालीन समसामयिक बिषयहरुमा छलफलपनि भयो।
त्यो बेला तत्कालीन नेकपा एमालेको पंक्तिभित्र चर्चित माहाकाली सन्धीलगायतको प्रसंगले पार्टी बिभाजनको अबस्थामा थियो। तिर्थजीहरुले जनयुद्धलाई नजिकबाट माया अनि सहयोग पनि गर्नुहुन्थ्यो। बजारभित्रका सम्पूर्ण आत्मीय मनसँगको त्यो महत्वपूर्ण भेटघाटसहित गाँट्ठी कुराको मेसोमिलाएर पुनःअस्पतालमै फर्किएँ बेडमा लम्पसार परें। मैले अत्यन्तै अभावको त्यो बेला कार्लमार्क्सको जीवनी सम्झिए।
यो दुनियालाई बदल्ने द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकबादी मार्क्सबादी दर्शनको सृजनाकै क्रममा, कुपोषणको कारण बिरामी भएर आफ्नो मुटुको टुक्राभन्दा प्यारो सन्तानको मृत्यु हुँदा समाधिसम्म लैजाने कपडा कात्रो समेत किन्न नसकेर आफूले लगाइरहेको पुरानो कोटमा बच्चाको शव लपेटेर समाधिमा पुरपार पार्नु परेको घटनाले मेरो भावनालाई नजिकबाट छोएको छ।
त्यो अबस्थालाई सम्झिँदा मेरोपनि मुट्टु निचोरिन्छ।यद्यपि मार्क्सबाद अत्यन्तै अभाबको बीचबाट प्रतिपादित आधुनिक बिज्ञान हो, दर्शन हो। म त्यो अवस्थासम्म पुगिसकेको थिइन्। तर अबस्था भने दयनीय र भयाबह पक्कै थियो।
यो जिन्दगी सयौं पटक अस्पताल पुग्नु परेको भएता पनि पुरै शरीर बेहोस बनाएर अप्रेसन गर्नुपरेको यो पहिलो पटक थियो। बिदेसी महिला डक्टरको नेतृत्वमा अप्रेसन सकिएपछि म पुरै होसमा आएको भएता पनि त्यो रात त्यहीँ बसियो।
केही दिन अस्पताल मै बस्नुपर्छ भन्ने डाक्टरको सुझाब भएपनि सुरक्षाको कारण भोलिपल्ट प्लास्टर गरेर कक्रक्क बनाएको हात झुण्ड्याउँदै, त्यहाँबाट जबर्जस्ती आफ्नै बाटो लागियो। हर्कपुर पुग्ने आँट आएन। बरुणेश्वरको लामिडाँडामा लालबहादुर कार्कीको घरमा पुगें।
लालबहादुर कार्की अर्थात् त्यो इलाकाको एक्लो बामपन्थी योद्धा। छोराहरु हेम कार्की, दिप ब.कार्की, रबिश कार्की, छत्र(सिबी ) कार्की र छोरी गिता कार्की लगायत आफ्ना सबै छोराछोरीलार्ई कम्युनिष्ट आन्दोलनमा निरन्तर लागिरहन प्रेरणा दिइरहनुहुने लालबहादुर कार्की।
उमेरले तीनबीस बसन्तहरु पार गरिसकेको भएता पनि आस्था र बिचारको हिसाबले लामिडाँडामा निर्भिकतापूर्वक ठिङ उभिएको एउटा सतिसाल जस्तै हुनुहुन्थ्यो। आन्दोलनलाई असाध्य माया गर्दै, हुर्काएको पनि हो त्यो परिवारले। गिता कार्की ओखलढुंगा जिल्लाको सशक्त महिला नेतृपनि हुनुहुन्थ्यो।
प्राय मलाई त्यहाँका छिमेकी र गाँउलेले पनि चिन्दथिए। तर म भूमिगत रुपमै बसेँ। अचानक कसैले देखे वा थाहा पाइहाले भनेपनि आमाले मेरो भदाहा हो मुलखर्क पात्लेबाट आएको। मोरो बिरामी भएर आएको रहेछ भनेर छिमेकीार्ई झुक्याउँदै ,प्रसंग मोड्नुहुन्थ्यो छिमेकीले पनि पत्याए झैं गरेर ए! भन्थे।
त्यही दिनदेखि मैलेपनि उहाँलार्ई सधैं फूपू भन्ने गरेको छु। आफ्नै छोरा-छोरीलाई जस्तै गरी फुपूको न्यानो माया र उचित स्याहार सुसारसहित करिब १४–१५ दिनको बसाइपछि। ज्यान केही तंग्रिएको जस्तै लाग्यो।
सुरक्षाको हिसाबले पनि अब योभन्दा बढी समय एकै ठाँउमा बस्नु हुँदैन थियो। अब चाहिँ नलडी मोलुङ पारी पुग्न सक्छु भन्ने लाग्यो अनि बिदा मागेँ मैले। बुबा र फुपुले पनि मन अँमिलो बनाउँदै, बिदाइका हातहरु हल्लाउनु भयो।
मैले पनि बिदाइको हात हल्लाउँदै, ओरालो लागेँ। झुपडी र बस्तीसँग गाँसिएको कतिधेरै प्रगाढ बर्ग प्रेम थियो त्यो? नाप्ने कुनै इकाइ भेट्न सकेको छैन मैल । व्यवस्था परिबर्तन गर्नेक्रममा जनयुद्धको अग्रमोर्चामा लड्ने योद्धाहरुको जत्तिकै भूमिका, ती योद्धालाई हर हमेसा सुरक्षा प्रदानगर्ने, भोक, तिर्खा, थकाइलाई नजिकबाट देख्ने अनि योद्धाहरुलाई पराइ आँखाबाट छल्न आफ्नो काख-पोल्टोमा लुकाइरहने ती सम्पूर्ण आमा बुबाहरुको पनि उत्तिकै भूमिका र सहभागिता रहेको कटु यथार्थतालार्ई गणतन्त्रले कहिल्यै पनि भुल्नु हुँदैन। जनयुद्धको क्रममा त्यो भूमिका निर्बाह गर्नुहुने सम्पूर्ण आमा बुबाहरुलाई हृदयदेखिनै नमन।
घाइते हात झुण्ड्याउँदै, म खारबेसी झरेर पुर्ख्यौली टोल-छिमेकमा संगठनात्मक अभियानमा कृयाशिल रहिरहेँ। र, केहीसमय पछि फलोअपमा पुनःअस्पताल पुगेँ। शरीर पुरै थिलोथिलो र धुलोपिट्ठो भएको कारण रिकोभर हुन थप समय त लाग्नेनै थियो। डाक्टरको सुझाब अनुसार आधुनिक प्रबिधि र सुबिधा सम्पन्न अस्पतालमा गएर थप उपचारको जरुरी थियो।
नेपालीहरुको महान चाड दसैं नजिकै आइसकेको थियो। टिम सम्पर्क भएपछि ज्यानलार्ई होलबडी उपचारको लागि काठमाडौं नै पुग्नुपर्ने भयो। त्यतिबेला खर्चको ज्यादै अभाव थियो। त्यस्तै ११÷१२ सय पैसा बोकेर काठमाडौं पुगियो।
कम खर्चमा प्रभाबकारी उपचारको निम्ति जनाताको प्रिय अस्पताल वीर अस्पताल नै मलाइ पनि उपयुक्त लाग्यो। छापामार शैलीमा वीर अस्पताल पुगेर बरिष्ठ फिजिसियन डाक्टर बुलन्द थापालाई आफ्नो समस्याको बारेमा जानकारी गराएँ। एक आपसमा अन्तरंग छलफल गर्यौं।
डाक्टर बुलन्द थापा, डा.जीवन केसी, डा.जबि शाह, पदमराज कैनीलगायत डाक्टरको टोलीले स्रोत, साधन, प्रविधि, भावना र आत्मीयतासहित पुरै शरीरको मोटामोटी भौतिक उपचार गर्यो।
उपचार सकेर दशैंमा शहरतिरै बरालिँदै, दशैंपछि लगत्तै, पार्टीको चौथो बिस्तारित बैठकको भाव र योजना सम्प्रेषणको क्रममा तत्कालीन पार्टीको पूर्वी ब्यूरो इन्चार्ज यानप्रसाद गौतम कमरेड आलोकको प्रमुख आतिथ्यतामा सम्पन्न, सोलु-ओखलढुंगा, सिन्धुपाल्चोक-दोलखाको संयुक्त बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन दोलखा जिल्लाको जुँगु पुगेँ। अनि कार्यक्रम सकिएपछि संगठनको योजनामा टिमसँगै निरन्तर कृयाशिल भइरहें।
Facebook Comment