किन हुन सकेन नेपालको बिकास?
बिकास समाजको सभ्यता हो, जहाँ समाजको हरेक विषय विकासमा निहीत रहेको हुन्छ। यो बिकासले नै समाजलाई सभ्य बनाउँछ। मध्य युगेको इतिहास हेर्ने हो भने बिकासको शृंखलाले हजारौं पटक संसारमा फट्को मारिसकेको छ। मानिसको दूरावस्थाबाट आज समाज कति सभ्य र सुसंस्कृत भएको छ भनेर विश्व साइकल यात्री पुष्कर शाहलाई जति कसलाई थाहा होला?
विश्वको बिकाश हेर्ने र देख्ने आँखा हाम्रै नेपालमा रहेका छन्। ती पुस्कर शाह हाम्रो देशका अत्यन्त गौरवशाली पात्र हुन्। विश्वलाई देख्ने आँखा र घुम्ने शरीर, मन र हात खुट्टाहरु कम महत्वका छैनन्। तर यही विश्वलाई देख्ने र बिश्व भ्रमण गर्ने व्यक्तित्व आज ओझेलमा परेका छन्।
विश्वमा तेरौं-चौधौं शताब्दीमा पनि विकास नभएका होइनन्। अनेकौं पुरातात्विक भीमकाय र पूर्ण कलाकारिताले सजिएका संरचनाको बिकासका धरोहर यो संसारमा जीवन्त भई रहेका छन्। ठूलठूला बिशाल दरबार इसाई, हिन्दु मुसलमान र जैन धर्मका मठ मन्दिर कम महत्वका छैनन्।
ग्रीकको सभ्यता र इजिप्टको पिरामिड, युरोपको भ्याटिकन दरबार र सहर, युरोपका ठाउँ ठाउँमा रहेका इसाई चर्चका दरबार र मुस्लिम देशमा रहेका जामे मस्जिद, मक्का मदिना, भारत दिल्लीको ताज महल, लालकिल्ला, फतेहपुर शिकरी, लखनौंको भुलभुलैया, इरानको जामे मस्जिद, चीनको ग्रेटवाल र हिन्दुहरुको काशी बिश्वनाथ मन्दिर, भारत गुजरातको सोमनाथ मन्दिर र अन्य भारतका अजन्ता इलोरा, खाजुराओ मन्दिर, मधुराईको मन्दिर रामेश्वर मन्दिर, बद्रिनाथ मन्दिर, बनारसका असंख्य मठ मन्दिर र नेपालका विभिन्न मठ मन्दिर र देवालयहरु सबै सभ्यताको बिकासका प्रतिबिम्बहरू हुन्।
नेपालमा पनि पहिलेको पालामा बिकास प्रशस्तै भएका थिए। सयौं दरबार, हजारौं मठ मन्दिरको निर्माण एक बिकासका प्रतिबिम्ब नै हुन्। तीन चार पुस्ता अगाडिका बिकास हेर्ने हो भने आ-आफ्नो देशको बिकासका पूर्वाधार आ-आफ्नै शैलीमा सजिएका छन्।
त्यसमा पनि युरोपको बिकास र अमेरिका, बेलायत, रुस, चीन, फ्रान्स, नर्वे, साउदी अरेबिया, कुवेत, कतार, बहराइन, जर्मन, इरान, उत्तर कोरिया स्वजीट्जरल्याण्ड आदि देशको बिकास उदेक लाग्दा छन्। संसारमा बिकासको संरचनाले सीमा पार गरिसकेको छ।
चन्द्रमामा बस्ती बसाल्ने जस्ता बिकासका काममा आज संसार लागेको छ। मरुभूमि जस्तो देशमा सुन्दर महल, सडक संजाल सम्पूर्ण देशको झिलिमिलीको निर्माण हेर्दा र देख्दा यो पृथ्वी कहीँ स्वर्ग जस्तो त छैन? भन्ने भान हुन्छ।
तर नेपाल देश यस्तो छ, जो विश्वकै उत्कृष्ट प्रकृतिको देन भइकन पनि विकासले गति लिन सकेको छैन। हरेक क्षेत्रमा दीगो बिकास बृहत्तर रुपमा हुनु पर्नेमा बिकासको गतिमा नेपाल बल्ल बामे सर्दैछ। सन् १९८३ मा युएनओद्वारा गठित ब्रूटलेन्ड कमिसनले ल्याएको दीगो बिकास र हाम्रो साझा बिकासको भविष्यको अवधारणा कहाँ गयो?
पर्यावरण, सामाजिक संरचना, आर्थिक उन्नतिमा विकास किन हुन सकेन? जनताका आधारभूत आवस्यकताको बिकास किन हुन सकेन? यो कसको गैरजिम्मेवारपनका कारण यस्तो भयो? यसको मूल्यांकन भोलिका पिँढीले अबस्य गर्ने नै छन्। प्राकृतिक रुपमा यति सम्पन्न मुलकु भइकन यसको सदुपयोग गर्न किन सकिएन?
पर्यटन क्षेत्रलाई मात्रै प्रवद्र्धन गर्ने हो भने त्यसले देशको अर्थतन्त्रलाई ठूलो टेवा पुर्याउँछ। यति सुन्दर र सानो मुलुकलाई विश्वकै आकर्षक बनाउन सकिन्छ। तर मुलुकको नेतृत्वकर्ताले त्यसतर्फ ध्यान दिएको देखिँदैन। राजनीतिक अस्थिरता, कुशासन र भ्रष्टाचारका कारण देशको विकास हुन नसकेको हो।
हाल विश्वमाप्रति सेकेन्ड तीन जनाको दरले जनसंख्या वृद्धि हुँदापनि जनसंख्या वृद्धिको हिसाबले यहाँ उत्पादनमा वृद्धि, खानेपानीको ब्यबस्था, उद्योग ब्यबसायको बिकास, शिक्षा स्वास्थ र पर्यावरणको बिकास अझै हुन सकेको छैन।
समयको दौरानमा लाखौंले पढे होलान्, लाखौंले बिदेशमा आँखा लगाए होलान्, संसार हेरे देखे होलान्। तर पनि नेपाल जस्ताको तस्तै छ। यहाँका जनताको आधारभूत आवस्यता ज्यूँका त्युँका छन्। यति सम्म कि ५० सौं वर्षदेखि चलिआएको राजनीतिको पनि बिकास र सुदृढ नभई झन् झन् धारासायी बन्दै गइरहेको छ।
राजनीतिमा यहाँ सिद्धान्त बेचिएको छ। को कांग्रेस, को कम्युनिस्ट, को पञ्च, को तटस्थ, छुट्याउनै गाह्रो भएको छ। राष्ट्र राष्ट्रियता, धर्म र संस्कृतिको बिचलन भएको छ। यो के भएको हो? बिकासको नाममा सदियौंदेखि अन्धाधुन्ध लुटको खेतीको बिकास भने अत्याधिक मात्रामा सीमा नै नाघी बिकास भएको छ।
सयौं राजनीतिक दलहरु भृकुटी मण्डपको जुत्ता चप्पलको पसल जस्तो खोलिएका छन्। घर घरमा पार्टी कार्यालय खोलिएका छन्। रात दिन कार्यकर्ता घरको दालभात खाई पार्टी कार्यालयमा आफ्ना अमूल्य समय बिताउँदछन्।
२-४ वर्षमै कुन्नि कसरी हो, आलेशान महल बनाउँछन्। मोटर गाडी चढी हिँड्छन्। कुनै पनि बिकासका परियोजना कुनैपनि ब्यबस्था र प्रधानमन्त्रीको समयमा पूरा नभई त्यसमाथि सधैं लूटको खेती बन्दै जानु र बिकासका आयोजना बिदेसीको इच्छामा बन्न जानु, ठेकेदारीको मनपरी, परियोजना प्रमुखको फितलोपना, नियमको भद्दापन, कमिसन र घुसको जगजगीको कारण नेपालमा बिकासको गतिमा ह्रास आयो।
थोरै व्यक्तिहरुले मात्र मोज गरी करोडौं जनताहरु अभाभ मै बाँचिरहेका छन्। समस्त राजनैतिक ब्यबस्था बहुला कुक्कुर जस्तै टोक्दै हिँड्ने भएको छ। देशका नेताहरु एकले अर्कालाई बिहानदेखि बेलुकासम्म सत्तो सराप गरी दिन बिताइरहेका छन्।
समस्टीगत रुपमा नेपालको बिकास गर्ने खुबी, योग्यता, कलाकारिता र कुशलता कसैमा पनि रहेन। सारा नेताहरु सिद्धान्त बेची आफूमात्र ठूलो बनी हिँडिरहेका छन्। सारा नेताहरु टिठ लाग्दो व्यक्तित्व, अनुहार र बोली बोकी हिँडेका छन्।
कार्यान्वयन भन्दा चर्को भाषणमानै आफ्नो सारा जीवन र समय बिताइरहेका छन्। चुनावको बेला फेरिपनि गरिब जनतालाई झुक्याउन कांग्रेस र माओबादी दुई फरक राजनीतिक पार्टीहरु मिलेर गठबन्धन गरी चुनाव लड्ने र फेरि गठबन्धन गरी सत्तामा रझाँइ गर्ने भन्दा गतिलो सोच पार्टीहरुमा देखिएन।
देशमा अर्थतन्त्र डामाडोल हुँदा पनि राजनीतिक नेता देशै भरी १७ अरब बराबरको रकम भ्यू टावर निर्माणमा खर्चिएको बिषय बस्तु सुन्दा एउटा अर्थविदले यसलाई सहजै पचाउन सक्तैनन्।यस्ता क्रियाकलापले देश पचासौं बर्षदेखि गुज्रिरहँदासमेत नेतामा गाम्भिर्यता देखिँदैन
दूरदर्शी नेतृत्वको अभावमा नेपालले आफ्नो मौलिक पहिचान, दिगो विकास गर्न सकिरहेको छैन। परराष्ट्र नीतिको जथाभावी प्रयोग, धर्म संस्कृतिको ह्राशको बिकास भने चुलीमा पुगेको छ। इमान्दार व्यक्तिहरु चिच्याई रहेका छन्।
यहाँ इमानको कदर छैन। पानी पानी भएको देशमा पन्ध्र बर्षदेखि पानीको हाहाकार छ। सरकार निजी रुपमा पानी ब्यापारको बिकास गरिरहेको छ।्र धाराका पाइप फुटेर सडकमा पोखिएको पानी थापेर जनताले निर्वाह गर्नु परेको छ।
महँगीले जनताको ढाड सेकिएको छ। बिद्यार्थी राजनीतिमा झण्डा बोकेर सडकमा उफ्रिरहेका छन्। पढेका र पढ्न नपाएकाहरू आफ्नो जीवनयापनका लागि बिदेसिनका लागि बाध्य छन्। जनताहरुको टाउकोमा ऋणका भार दिनानुदिन थपिँदै गएको छ
संसारका अविकसित देशहरु आज धेरै बिकसित भइसके। आत्मनिर्भर बने। विकासले ब्यापक फड्को मारिसकेको छ। तर नेपाल नै त्यस्तो एउटा देश हो जहाँ कहिले कुनै बिषयको दीगो बिकास भएन। खाल्डो खन्ने र त्यही खाल्डो फेरि पुर्ने काम मात्र भएको छ। नयाँ रुप र नयाँपनको बिकास यहाँ कुनैपनि देखिँदैन।
Facebook Comment