‘डेडिकेटेड र ट्रंक लाइन महशुल उठाउन छोडेर अनावश्यक तर्क गरियो’

डिसी नेपाल
२१ साउन २०८१ १७:०९

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले डेडिकेटेड र ट्रंक लाइन महशुल उठाउन छोडेर अनावश्यक तर्क गरिएकामा आपत्ति प्रकट गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै पूर्वऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रीसमेत रहेका सांसद बस्नेतले संसद्को सार्वजनिक लेखा समितिमा पछिल्ला दिनमा भइरहेको बहस तर्कसंगत नभएको बताए।

महशुल उठाउन पाइँदैन भनेर नेपाल विद्युत् प्राधिकरणलाई भृकुटी कागज कारखाना बनाउन खोजिएको हो ? भन्ने प्रश्न गर्दै सांसद बस्नेतले पटक पटक अदालतले आदेश दिएको र विभिन्न निकायले निर्णय गरेका आधारमा थप छुट महशुल उठाउन खोजिएको बताए। उनले लोडसेडिङको समयमा २० घण्टाभन्दा बढी बिजुली प्रयोग गर्ने उद्योगले थप महशुल तिर्नुपर्छ भन्ने सामान्य विषयलाई नजरअन्दाज नगर्न र छुट नदिन आग्रह गरे। सांसद बस्नेतले सरकारमा बसेर प्रश्न मात्रै गर्ने तर कुनै निष्कर्ष नदिने छुट कसैलाई नभएको स्पष्ट पारे।

प्राधिकरणको सञ्चालक समितिको बैठकमा फरक मत राखेका आधारमा सञ्चालक समितिका सदस्यहरुलाई कारवाही गरिएकामा सांसद बस्नेतले गुनासो गरे। ‘सरकारले कुन आदेश गर्‍यो र कुन आदेश सञ्चालक समिति सदस्यले उल्लंघन गरे ? फरक मत राखेको आधारमा कारवाही गर्दैजाने हो भने लोकतन्त्रको योभन्दा मजाक अरु हुनै सक्दैन’, उनले भने। संविधान संशोधनको विषय गलत मनसायका साथ आएको सांसद बस्नेतको आरोप थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *