नेपाली आकाशमा ४१औं हेलिकोप्टर दुर्घटना
काठमाडौं । मानवीय क्षति हुनेगरी नेपाली आकाशमा बुधबार भएको यो एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना ४१औं ठूलो दुर्घटना हो । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यसभन्दा अघिल्लो हेलिकोप्टर दुर्घटना २७ असोज २०८० मा मनाङ एयरको हेलिकोप्टर भएको थियो ।
मनाङ एयरको सो हेलिकोप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटनाग्रस्त भएको थियो । केही वर्षअघि नुवाकोटको यही क्षेत्रनजिकै ककनी र बेल्कोटगढी नगरपालिकाको सिमाना बेतिनी जंगलमाथिको पहाडमा फिस्टेल एयरको हेलिकोप्टर दुर्घटना भएको थियो ।
नेपालमा पहिलो हेलिकोप्टर दुर्घटना २७ डिसेम्बर १९७९ मा भएको थियो । त्यसबेला भीभीआईपी उडानको हेलिकोप्टर रसुवाको लाङटाङमा दुर्घटना भएको थियो । सो दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो ।
अहिलेसम्म हेलिकोप्टर दुर्घटनामा सबैभन्दा ठूलो मानवीय क्षति २३ सेप्टेम्बर २००६ मा ताप्लेजुङको घुन्सामा भएको थियो । सो हेलिकोप्टर दुर्घटनामा २४ जनाको ज्यान गएको थियो ।
यसरी धेरैपटक भइरहेका हेलिकोप्टर दुर्घटनामा पूर्वपर्यटनमन्त्री रवीन्द्र अधिकारी, यती एयरलाइन्सका सञ्चालक आङछिरिङ शेर्पा, वातावरणविद् डा. हर्कराज गुरुङलगायतको ज्यान गइसकेको छ ।
Facebook Comment