‘चीन भारतको एक नम्बर शत्रु’
नयाँ दिल्ली (बीबीसी) । भारतको सत्तारूढ भारतीय जनता पार्टी (बीजेपी) का एक सांसदले ‘चीन भारतको एक नम्बरको शत्रु’ भएको बताएका छन् । जम्मू–कश्मीरलाई दिइएको विशेष मान्यता भारतले खारेज गरेपश्चात चीनले जनाएको प्रतिक्रियापछि सांसद राकेश सिन्हाले त्यस्तो बताएका हुन् ।
बीबीसी हिन्दी रेडियोसँगको कुराकानीमा सिन्हाले पाकिस्तानलाई विश्वको कुनै पनि इस्लामिक मुलुकको समर्थन नरहेको दाबी पनि गरे । भारतले आफ्नो आन्तरिक मामिलामा संयुक्त राज्य अमेरिका, रुस, पाकिस्तान वा चीन कसैलाई पनि हस्तक्षेप गर्न नदिने उनले बताए । भारतीय संविधानको धारा ३७० बारे चीनको प्रतिक्रियालाई लिएर सांसद सिन्हाले चीन विस्तारवादी देश भएको आरोप लगाए । चीन भारतको असल मित्र कहिल्यै हुन नसक्ने उनको भनाइ छ । सिन्हाले भने, ‘चीन केही वर्ष पहिलासम्म कश्मीरका मानिसहरूलाई विशेष भिसा दिन्थ्यो । चीनको त अरुणाचलमाथि पनि दाबी छ । उसले त सिक्किममाथि पनि दाबी गरिरहेको छ ।’
‘यदि चीनको विस्तारवादलाई हामीले मान्यौँ भने भारतका कैयौँ भाग उसलाई दिनुपर्ने हुन्छ’, उनले भने, ‘चीनसँग हाम्रो आर्थिक र कूटनीतिक सम्बन्ध छ तर हामी पूर्ण रूपमा स्पष्ट छौँ कि चीन विस्तारवादी हो र चीन भारतको कहिल्यै असल मित्र हुन सक्दैन । यदि भारतको एक नम्बरको कोही शत्रु छ भने त्यो चीन हो ।’ कश्मीरसम्बन्धी पछिल्लो विवादलाई लिएर पाकिस्तान संसारभरि एक्लिएको सिन्हाले दाबी गरे ।
उनले भने, ‘धारा ३७० भारतको आन्तरिक मामिला हो । कूटनीतिक दृष्टिकोणले भारत अहिले राम्रो स्थितिमा छ भने पाकिस्तान अलग्गिएको छ । विश्वको कुनै पनि इस्लामिक देश पाकिस्तानसँग उभिएको छैन ।’ सांसद सिन्हाले भारतको सम्प्रभुता र अस्मिताको विषयमा सबै दलहरू एकमत रहेको र त्यसबारे ‘सबै मिलेर प्रतिकार गर्ने’ बताए ।
यद्यपि संसारभरि धारा ३७० को चर्चा केही ‘भारतीयहरूको दुष्प्रचारका कारण भइरहेको’ उनले बताए । उनी भन्छन्, ‘धारा ३७० को प्रावधान एउटा अस्थायी व्यवस्था थियो जसलाई कांग्रेस सरकारले स्थायी बनाउने प्रयास ग¥यो ।’ उत्तर प्रदेश र बिहारजस्ता भारतका राज्यमा धारा ३७० को व्यवस्था नभएकै कारण ती राज्यमा विकासका साथै समानता देखिएको सांसद सिन्हाको तर्क छ । सन् १९४८ देखि २०१९ सम्म दुई–तीनवटा परिवारले मात्रै जम्मू–कश्मीरको राजनीति सम्हालेको सिन्हाले बताए ।
तीन तलाक र जम्मू–कश्मीर मुद्दापछि मोदी सरकारको आगामी प्राथमिकतामा समान नागरिक संहिता र राम मन्दिर भएको सिन्हाले बताएका छन् । राम मन्दिरबारे उनले भने, ‘त्यो मुद्दा सर्वोच्च न्यायालयमा अहिले विचाराधीन छ । आशा छ त्यसबारे छिट्टै निर्णय हुनेछ ।’ उनले थपे, ‘हाम्रो घोषणापत्रमा स्पष्ट रूपमा लेखिएको छ कि त्यहाँ राम मन्दिर थियो र हामी राम मन्दिर बनाउन चाहन्छौँ । तपाईँले चाहे त्यसको जसरी पनि व्याख्या गर्नुहोस् तर म चाहिँ एक वाक्यमा भन्छु – त्यहाँ केवल मन्दिर नै बन्नेछ ।’
Facebook Comment