कविता : हुँडारहरुको गाईजात्रा!

डिसी नेपाल
२८ साउन २०८१ १०:५७

-अचेल
हुँडारहरुको गाईजात्रा अचाक्ली भएको छ।
एक हुल हुँडार गाउँबाट शहर पसे
शहरको रंग-रुप र जवानी
हिसाब गरिगरि अपहरण गरे
एक हुल बाठा हुँडारहरु जंगलबाट
सिधैं अमेरिकाको
लसएन्जलस र बाल्टिमोरमा
बसाइँ सरे।

उतैको पराई आफ्नो बनाएर
अमेरिकी साम्राज्यवादको विरुद्धमा
सहिदको रगतसँग साटिएको क्रान्तिलाई
उतै पुर्‍याएर बिसर्जन गरे।

अर्को हुल हुँडार
शहरको केन्द्र
देशको सन्दुक सिंहदरबार पसे
गर्नुपर्ने काम भन्दा नगर्नुपर्ने काम धेर गरे
हुँडारहरुको अत्याचारले
गरिबीको जाँत्तोमा पिसेका
हुँदाखाने नहुँदा नखाने जनताको
दिनचर्या जताततै खतरै-खतरा
अति भयो हुँडारहरुको गाईजात्रा।

हुँडारहरु…..
खोक्दै,टोक्दै,लुछ्दै-लखेट्दै
कतै मुन्टो छिनाउँदै
कतै म जिँउदैछु भन्दाभन्दै
जिउँदै खाल्डोमा पुर्दै
कतै मन्दिर तोड्दै
मन्दिरको मूर्तिमा पिसाब फेराउँदै
कतै रुद्री र चण्डी पाठ गर्ने
पण्डित पुत्रलाई
गाईको रगत पिलाउँदै
क्रान्तिका राजमार्गमा
देशको मुहार,जनताको दैनिकी फेर्न
रगतको खोला बगाउँदै
एकपछि अर्को
अमानवीय कर्म गर्दै
कुदिरहे अनवरत बौलाहा हुँडारहरु
जनताको आकांक्षा र सपनाहरूमा
बिषाक्त स्वार्थको गंगाजल छर्कँदै
मुन्टोमा झुण्ड्याएर बडेमानको खत्रा
हुँडारहरुको अकल्पनीय गाईजात्रा।।

देशबाट युवा खेदे मात्रै होइन
युवाहरुलाई दामासाहीमा बेचे
युवा बेचेर आएको पैसाले
तिनका आवश्यकता पूरा गरे।
नपुगेकोमा
हराभरा ऎलानी बनपाखालाई प्लटिङ गरे
सन्धी र सम्झौताको नाउँमा
आफ्नै गाउँ-घर हुँदै बग्ने खोलानाला
अन्तै कतैको मालिकको चरणमा सुम्पिए
-हिजो
शहर पस्दा हेर्दै घिनलाग्दो।
जुम्रा र लिखाले धरी बेवास्ता गर्ने
हुँडारहरु……..
-आज
आठ-दस गज पर सम्म मगमगाउने अत्तर घस्दै
टल्केको गाडीमा सयर गर्छन्
झुपडीको कथा बेचेर
कोलोनिको महलमा विश्राम लिन्छन्
गरिबीको पटकथा बेचेर
सुनको ब्यापार गर्छन्।
जुगले रुप फेरे
सम्बन्ध ले रंग फेरे
बिश्वास र सत्यता पुलमुनिको पानी बनेर बगे
जताततै,यत्रतत्र-सर्बत्र
बाठा हुँडारहरुको गाईजात्रा।

पाँचखाल-११,काभ्रेपलान्चोक
हाला-लिमासोल,साईप्रस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *