बंगलादेशको तख्तापलट, विश्व भूराजनीति, नेपालले लिनुपर्ने नीति र सिक्नुपर्ने पाठ

शंकरप्रसाद रिजाल
२९ साउन २०८१ ७:५९

सम्पूर्ण विपक्षी दलको बहिष्कारका बीच गराएको चुनावमा ४० प्रतिशत मात्र जनताको मतबाट विजयी भएकी बंगलादेशकी प्रधानमन्त्री एवं देशप्रेमी नेतृ शेख हसिना वाजेद आरक्षण हटाउने भन्दै विद्यार्थीले सुरु गरेको आन्दोलन भड्किएपछि सेनाले दिएको ४५ मिनेटको समयमा देश छोड्न बाध्य भइन्। उनी यतिबेला भारतमा आश्रय लिइरहेकी छन्।

बेलायतमा शरण लिन खोजेपछि उनलाई बेलायतले शरण दिन अस्वीकार गरेको छ । आरक्षण कोटा काण्ड र क्रिस्चियनहरुको बढ्दो दबदबाको विरोध गर्दा बंगलादेशमा तख्ता पलट भएको छ।

करिब २० करोड जनसंख्या भएको बंगलादेशमा करिब पाँच लाख प्रदर्शनकारीका कारण देशलाई नै आन्दोलनको कुचक्रमा फसाइ दिएको छ। यो आन्दोलनको विपक्षमा रहेका करिब १५ पार्टीहरुले पनि भित्रै भित्रै साथ दिएको देखिन्छ।

किनकि उनीहरु पनि वंशीय शासनबाट दिक्क भएका थिए। आन्दोलनको प्रकृति हेर्दा यो भित्र असन्तुष्टि मात्र थिएन। त्यहाँ बाह्य र आन्तरिक शक्तिको पनि ठूलो हात थियो। बाह्य शक्ति भनेको संसारलाई आफ्नो प्रभावमा राख्न चाहने अमेरिकाले आन्दोलनलाई सहयोग गरेको कुरा स्वयं निर्वासित नेतृ शेख हसिनाले सार्वजनिक गरिसकेकी छन्।

अमेरिकी रणनीति अनुसार संसारका भर्खर उदाएका प्रजातान्त्रिक मुलुकहरुलाई आफ्नो पकडमा राखेर आइपीएस (इन्डो प्यासेफिक सिस्टम) अनुसार चीन र भारतलाई निशानाको केन्द्रबिन्दु बनाई त्यस वरपरका देशहरुलाई अप्रत्यक्ष तरिकाले ध्वस्त बनाउने र कालान्तरमा आफ्नो झोला बोक्ने नेता कार्यकर्ता र सैनिक जत्थालाई अगाडि सारेर आफू अनुकूलको निरंकुश र सैनिक शासन संचालन गराई विश्वको भूराजनीतिमा आफू अब्बल दर्जामा रहिरहने एक बलियो धुर्त नीति हो।

अमेरिका आज विश्वमा आतंक मच्चाउँदै अमेरिकाका सेता हात्तीहरु फेरि अनेक बहानामा आफरुसँग फरक मत राख्ने भारत र बंगलादेशमा आन्दोलनको मशाल बोकी दौडिरहेका छन्। यही मशालले आज बंगलादेश आन्दोलनले अशान्त बनेर राम्ररी हुर्किइरहेको प्रजातान्त्रिक मुलुककी प्रधानमन्त्री बिदेश पलायन हुनु परेको छ।

ठूलो शक्तिको बिरोध र उसको रणनीतिलाई बेवास्ता गर्दा आज बंगलादेशको त्यो हरिबिजोग भयो। बंगलादेशको सत्ताच्युतले आज बंगलादेशमात्र सखाप नभई सम्पूर्ण उत्तर भारतका प्रान्तहरु मेघालय, मिजोरम, मणिपुर र असम पनि अब ‘नो इन्डिया’ को पक्षमा उभिएर स्वतन्त्र बन्न खोजिरहेका छन् ।

हिजो शेख मुजिबुर रहमानले निर्माण गरेको बंगलादेशलाई उनैकी छोरी शेख हसिनाले शासन गरिरहेको बेला अशान्त बनाइयो । हसिनाले फेरि देसमा आर्थिक उन्नति गराई बंगलादेशलाइ एक विकासोन्मुख राष्ट्रको उचाईमा लान सफल भएकी थिइन्।

तर तथाकथित प्रजातन्त्रको नाममा आफ्नो कुरा नमान्ने र आफ्नो रणनीति बिरुद्ध जाने कुनै पनि देशहरुलाई अनेक बहानामा ध्वस्त बनाइ आफ्नो अनुकूलको सत्ता चलाउने र संसारलाई आतंकित पारी चीनको नीतिलाई चुनौती दिने अमेरिकी नीतिको परिणाम नै हो भन्नु दुईमत नहोला।

यो अमेरिकाको ‘नाङ्लो ठटाएर हात्ती तर्साउने’ रणनीति बाहेक अरु केही पनि होइन। अफगानिस्तान, सिरिया, इराक, ताइवान हुँदै युक्रेनको लडाइमा सम्पूर्ण सहयोग अझैपनि जारी राखेको अमेरिकाले रुसको अगाडि केही सीप नलागी त्याहाँबाट फेरि इन्डो प्यासिफिक रिजनको क्षेत्र हुँदै आज यी सेता हात्तीहरु दक्षिण एसियाको बंगलादेशमा पसेका छन्।

अकुत सम्पत्ति खर्च गरी आफ्नो भाडाका झोलेहरुलाई साथ लिइ आफ्नो मनोकामना पूरा गर्न आफ्नो सत्ता राज र साम्राज्यवादी नीतिलाई अगाडि सारिरहेका छन्। भारत ठूलो देश छ।

जनसंख्याको हिसाबले पनि ठूलो छ र प्रविधिको विकासले भारतलाई साधारण तरिकाले हमला गर्न नसकिने भएकाले छेउछाउका साना र भारतमुखी देशमा आतंक र बितण्डा मच्चाई सत्ताच्युत गराई भारतलाई तर्साउने र पाए उत्तरका प्रान्तहरु बिखन्डन गराई ठूलो भारतलाई सानो सानो बनाई आफ्नो काबुमा ल्याउने अमेरिकाको ठूलो रणनीति पनि भएको बुझिन्छ । दक्षिण एसियामा भारतको अति प्रिय मित्र भनेको बंगलादेश नै हो ।

यस्तो मित्रलाई परास्त गरी आफ्नो पक्षको सैनिक सरकार स्थापित गर्नु भनेको भारतलाई ठूलो झट्का दिनु नै हो । अहिले भारतको परराष्ट्र नीतिमा भारत र रुससंग बलियो सांठगाँठ रहेको र युक्रेन युद्धको बीच भारतले मध्यस्थता गर्ने भन्ने प्रस्तावले पनि अमेरिका भारतसंग चिढिएको बुझिन्छ ।

यही भारतको विचारको प्रवाह अमेरिकी रणनीतिमा मेल नखाएको हुनाले भारतको अनन्य मित्र बंगलादेशमा भित्री शक्तिको समूहले सम्पूर्ण आफ्ना समूहलाई पकडमा लिइ यो आन्दोलनको सूत्रपात भयो र यसले आखिर आफ्नो पात्र नोबेल पुरष्कार बिजेता सैनिक प्रमुख मोहम्मद युनुसलाई सत्ता सम्हाल्ने जिम्मेवारी प्रदान गरियो ।

यही मौका छोपी विपक्षी पार्टीहरु सबैले पनि शेख हसीनाको बंशाणुगत सत्तालाई अमान्य ठहर गर्दै आन्दोलमा सरिक भए र नयाँ सैनिक सत्ताको खुलेर प्रशंसा गरे । अहिलेको अशान्त बंगलादेश र सैनिक सत्ताले देशको अबस्थालाई अझ काहाँ पुर्याइ कुन भूराजनीतिको भुमरीमा जाक्ने हो र यसको नतिजा सारा बंगलाबासीहरुले कति हदसम्म खेप्नु पर्ने हो त्यो भविष्यले नै बताउने छ ।

त्यत्रो प्रजातान्त्रिक मुलुकपनि आज अन्धाधुन्ध राजनीतिको चपेटामा पर्नु भनेको प्रजातन्त्रको खिल्ली उडाउनु हो । अमेरिकाको प्रजातन्त्रको बहस पनि मिथ्या हो । आज एउटा देशमा सत्ता हडप्दा संसारका प्रजातन्त्रवादी मुलुकहरु किन नतमस्तक भएर बसेका छन ? किन कसैले यस बिषयमा केही प्रतिक्रिया ब्यक्त गर्दैनन् ?

यसरी साना भर्खर उदाएका प्रजातान्त्रिक मुलुकहरु विस्थापित हुँदै जाने हो भने भोलिको विश्व परिवेश कस्तो अवस्थामा गुज्रिन पुग्ने हो त्यो अनुमान गर्न सकिँदैन ।

नेपालले यसबाट अब पनि पाठ नसिकी गणतन्त्र आएको २० बर्षसम्मपनि अनेक बहानामा देशका जनता जनार्दनलाई आश्वासनको पोकोमात्र बाँडी देशको शक्तिको बागडोर सधैं तीन चार जना नेताकै पोल्टोमा रहने र नयाँ सोच र बिचारको प्रबाह नहुने, छिटो छिटो विकासका कार्यक्रमहरुको कार्यान्वयन र जनताहरुलाई राहत हुने कामको थालनी आजैबाट नगर्ने हो भने जनता निरीह र गरीब बन्दै जाने र यही मौका छोपी यी सेता हात्तीहरु फेरि नेपालमा प्रवेश गरी बितण्डा मच्चाइ भर्खर आएको गणतन्त्र र लोकतन्त्र पनि स्वाहा भइ देशमा उही बंगलादेशमा जस्तै निरंकुश र सैनिक शासनको बोलवाला हुने निश्चित छ ।

तसर्थ नेपाललाई यी सब अस्थिर भूराजनीतिक चपेटाबाट बचाई देशलाई स्वस्थ, प्रजातान्त्रिक र निर्भिक देशको रुपमा स्थापित गर्ने हो भने आफ्नो देशको सेनालाई खुसी गराई, भएका पार्टीहरुलाई चित्त बुझाइ, एक राजालाई यथोचित स्थान प्रदान गरी, दुई ठूला छिमेकी मुलुक भारत र चीनसँग बलियो मित्रता कायम गरी अन्य देशहरुसँग राम्रो मैत्रीभाव राखी इमान्दारीपूर्वक देशको नेतृत्व नयाँ र नौलो युवाहरुलाई सुम्पिइ देशको सत्ता संचालन गरेमा नेपालले यस्ता आन्दोलन र सत्ता परिबर्तनबाट डराउनु पर्ने अवस्था नरहने कुरा निश्चित छ ।

तर यसलाई बेवास्ता गरी आफ्नो मनोमानी ढंगले उही एक्लव्य पाराले सत्ता संचालन गरी नै रहने र चीन र भारतलाई पालै पालो चिढ्याई रहने र पश्चिमामुखी र अमेरिकामुखी बनी छिमेकी मुलुकको साझा नीतिलाई अबलम्बन गरी बस्ने र आफ्नो देशको आन्तरिक कलहलाई नसुल्झ्याउने र सधैं आन्दोलनको आयाम थपिदै जाने हो भने यही आन्दोलनले ठूलो रुप लिइ भाविष्यमा अनिश्चितता बढी देशमा यसैबाट बंगलादेशकै जस्तो ठूलो आगो बली देशमा यो सत्ता शासन च्युत भै अर्को पश्चिमा मुखी निरंकुश र सैनिक शासनले राज नजमाउलान भन्न सकिन्न ।

संसार हल्लाउने ‘डीप स्टेट’ अर्थात भित्री गुप्त रुपमा रहेको शक्तिले अब संसारमा निरंकुश बनी एक छत्र राज गर्ने अभियान बोकेर हिंडिरहेको देखिन्छ। यो अभियानमा अमेरिकाका पुर्ब राष्ट्रपति रोनाल्ड रेगनको पालादेखि संचालनमा आएको अमेरिकी विश्वसनीय संस्था ‘हेरिटेज फाउन्डेसन’को पनि यही नै विचार रहेको बुझिन्छ।

सायद यसैको आधारमा अमेरिकाका पूर्ब राष्ट्रपति तथा हाल राष्ट्रपतिमा उठेका डोनाल्ड ट्रम्पले भनेका छन् कि यसपाली उनले राष्ट्रपतिमा बिजय हासील गरे भने तत्पश्चात अमेरिकामा पुनः चुनाबको जरुरत पर्ने छैन । यस्ता निरंकुश भाष्यहरु निर्माण भइरहेकोले भोलिको विश्व राजनीतिको अवस्था झन् झन् जटिल हुँदै जाने निश्चित छ।

अतः यस्तो अवस्थालाई पहिले नै बिचार पुर्याइ अब काम नगर्ने हो भने नेपाल पनि कत्ति नै ठूलो देश हो र ? एक दिन अनेक प्रपन्च रची ती सेता हात्तीहरु बिस्तारै अनेक बहानामा नेपाल पसी सारा कुरा बुझी आफ्नो शैलीबाट नेपाललाई आफ्नो मुखमा हाली ननिल्लान् भन्न सकिन्न ।

अतः सतर्कता अपनाउन आजका नेताहरुलाई पशुपति नाथले शक्ति प्रदान गरुन् र आफैंमा पनि आमुल परिबर्तन ल्याउन भन्ने सबै राष्ट्रप्रेमी जनताको आशा र जोडदार माग रहेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *