नेतृत्व हस्तान्तरणबारे प्रचण्ड : सबै मिलेर जान्छ, केही टेन्सन छैन
काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र कुनै समस्या नरहेको बताएका छन्।
सोमबार पार्टी कार्यालय पेरिसडाडाँमा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले पार्टी एकढिक्का भएर अघि बढ्ने भन्दै कुनै समस्या नरहेको बताएका हुन्।
बैठकमा उपमहासचिव जनार्दन शर्माले प्रचण्डले नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएपछि अन्य सदस्यहरुले पनि यस विषयमा धारणा राखिरहेका छन्। तर नेतृत्व हस्तान्तरणबारे सञ्चारकर्मीको प्रश्नमा प्रचण्ड भने सबै मिलेर जाने र केहि टेन्सन नरहेको जिकिर गरे।
सोमबार बैठकमा दिनानाथ शर्मा, यशोदा सुवेदी, हितराज पाण्डे, रेखा शर्मा लगायतले धारणा राखेका थिए। धारणा राख्ने क्रममा बाहिर आएजस्तो बैठकमा कुनै समस्या नरहेको र स्तरीय छलफल भइरहेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।
उनले आर्थिक विकास, आत्म निर्भर, पार्टीभित्रको श्रममा अधिकांशको जोड रहेको उल्लेख गरे। सापकोटाले नेतृत्वका विषयमा पनि सदस्यहरुले प्रश्न गरिरहेको उल्लेख गर्दै वैज्ञानिक वस्तुवादी निष्कर्ष आउने बताए।
स्थायी कमिटी बैठक मंगलबार पनि जारी रहने प्रवक्ता सापकोटाले जानकारी दिए।
Facebook Comment