अमेरिकाले सत्ता खोसेको शेख हसिनाको आरोपको अमेरिकाले आधिकारिक जवाफ दियो
काठमाडौं । अमेरिकाले बंगलादेशमा शेख हसिनाबाट सत्ता खोस्नुमा आफ्नो भूमिका रहेको आरोपलाई कडाइका साथ अस्वीकार गरेको छ। अमेरिकाले यसलाई हल्ला मात्र भनेको छ ।
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसकी प्रेस सेक्रेटरी करिन जीन पियरेले भनिन्, “यसमा हाम्रो कुनै संलग्नता छैन। हालैका घटनाहरू (बंगलादेशमा सत्ता परिवर्तन) मा अमेरिकी सरकारको हात रहेको कुनै पनि रिपोर्ट गलत हो। सबै हल्लाहरू हुन्।”
उनले भनिन्, “यो विकल्प बंगलादेशका नागरिकहरूले आफैंले रोजेका हुन्। बंगलादेशका जनताले त्यहाँको सरकारको भविष्य निर्धारण गर्नुपर्छ भन्ने हाम्रो विश्वास छ। मैले कुनै पनि आरोपमा सत्यता छैन भनेकी छु र पछि पनि यही भनिरहनेछु ।”
यसअघि शेख हसिनाले आफ्नो सरकारको पतनमा अमेरिकाको हात रहेको आरोप लगाएकी थिइन् । हसिनाले सेन्ट मार्टिन टापु अमेरिकालाई नदिएका कारण आफूलाई विस्थापित गरिएको बताएकी थिइन् ।
उनका अनुसार उनले सेन्ट मार्टिन टापु दिएको भए अमेरिका बङ्गालको खाडीमा आफ्नो प्रभुत्व कायम गर्न सक्षम हुने थियो । उनले बंगलादेशी नागरिकलाई कट्टरपन्थीको भ्रममा नपर्न आग्रह गरेकी थिइन् । शेख हसिना हाल भारतमा छिन्।
आफ्ना नजिकका सहयोगीहरूमार्फत पठाइएको सन्देशमा हसिनाले भनेकी थिइन्, ‘मैले शवको जुलुस हेर्नु नपरोस् भनेर राजीनामा दिएँ। उनीहरू विद्यार्थीको शवमाथि चढेर सत्तामा आउन चाहन्थे तर मैले त्यसो हुन नदिन प्रधानमन्त्री पदबाट राजीनामा दिएँ ।’
सन्देशमा उनले अगाडि भनेकी थिइन् ‘यदि मैले सेन्ट मार्टिन टापुको सार्वभौमसत्ता संयुक्त राज्य अमेरिकालाई समर्पण गरी बंगालको खाडीमा उसको प्रभुत्व स्थापित गर्न दिएको भए म सत्तामा रहन सक्थें। म मेरो देशका जनतालाई आग्रह गर्दछु, कृपया कट्टरपन्थीहरूको भ्रममा नपर्नुहोस्।’
बंगलादेशका विद्यार्थीहरूले आरक्षणको विरोधमा केही महिनादेखि प्रदर्शन गरिरहेका थिए। जुन यति बढ्यो कि प्रधानमन्त्री शेख हसिनाले अगस्ट ५ मा राजीनामा दिनुपरेको थियो । त्यसपछि उनले पनि देश छोडिन् ।
हसिनाले देश छोडेपछि सेनाले अन्तरिम सरकार गठनको घोषणा गरेको थियो । नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई अन्तरिम सरकारको प्रमुख सल्लाहकारमा चयन गरिएको छ ।
Facebook Comment