जुम्लाका छ हजार ६६५ घरधुरीमा विद्युत् पहुँच
जुम्ला।, जुम्लाका आठ वटा स्थानीय तहका करिब छ हजार छ सय ६५ घरधुरीमा विद्युत्को पहुँच पुगेको छ। यहाँको पातारासी गाउँपालिकाबाहेक यहाँका अन्य पालिकाका छ हजार छ सय ६५ घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको विद्युतीकरण पुगेको नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख रामआशिष शाहले जानकारी दिए।
जिल्लाको तिला गाउँपालिका–८ र ९ मा केन्द्रीय लाइनको विद्युत् विस्तार हुने सकेकोे छैन। बाँकी सबै वडाका घरधुरीमा विद्युत्को पहुँच पुगेको छ। त्यस्तै सिञ्जा गाउँपालिका–३ मा रहेको नराकोट बजारमा विद्युत्को लाइन पुगेको छ भने बाँकी वडामा पुग्न सकेको छैन। हिमा गाउँपालिका–२ र ६ बाहेक अरु सबै वडाका घरधुरीमा विद्युत् लाइन पुगेको प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख शाहले बताए।
यहाँको कनकासुन्दरी गाउँपालिकाको–३, ५, ६ र ८ वडामा विद्युत्को लाइन पुगिसकेको छ। तातोपानी गाउँपालिका–४ बाहेक बाँकी अरु सबै वडामा तातोपानीमा राष्ट्रिय प्रसारण लाइनको पुगेको छ। गुठीचौर गाउँपालिकाभित्र छ वटै वडामा विद्युतीकरणको काम तीव्र गतिमा भइरहेको छ।
जिल्लामा कूल जनसंख्याको अहिलेसम्म ५४ दशमलव ६७ प्रतिशत नागरिक केन्द्रीय विद्युत् सेवाको पहुँचमा पुगेको प्राधिकरण जुम्ला वितरण केन्द्रले जनाएको छ। यहाँका ग्रामीण क्षेत्रसम्म विद्युतीकरण गर्न प्राधिकरण लागिपरेको छ। यो वर्ष केन्द्रीय कार्यालयबाट नयाँ विद्युत् विस्तारका कार्यक्रम आएपछि काम अगाडि बढ्ने जुम्ला वितरण केन्द्रले जनाएको छ। पातारासी गाउँपालिकाको–१ गडीगाउँमा रहेको चुकेनी जलविद्युत् आयोजनाको नौ सय ९८ किलोवाट विद्युत् लाइनमार्फत जिल्लाभर अहिले विद्युत् सेवा सञ्चालन भएको प्राधिकरण जुम्ला वितरण केन्द्रले जनाएको छ।
Facebook Comment