सुनाखरी, देशैभरिको सपना
अर्किड अर्थात सुनगाभा/सुनाखरी फूल सुन्दर मात्रै होइन यो बहुउपयोगी पनि छ। यसलाई जोगाउनु मात्रै होइन कि फैल्याउनु पनि पर्छ भनेर लगभग २५वर्ष अधिदेखि आर्किड संसारमा पसेर आर्किड जोगाउने संग्राममा लागेकी आर्किड योद्धा प्राडा विजया पन्तको आर्किड संग्राम र यसको महत्वबारे यो सानो लेखमा संक्षिप्त प्रकाश पार्न कोशिस गरिनेछ।
प्राध्यापक डक्टर विजया पन्त जब बिहान सबेरै उठ्छिन् सूर्यका कलिला किरणको साथमा चियाको चुस्किीसँगै सुनाखरीका सुुन्दर फूल र बिरुवासँग रमाउन र मुस्कुराउन पुग्छिन्। उनको घरको कम्पाउण्ड भित्र केही फलफूलका रुख र विरुवाहरु छन्। हरेक रुखमा सुनाखरी फूलका विरुवा टाँसिएका छन्।
कुनै झ्याम्म हरिया भएर शोभायमान देखिएका हुन्छन् भने कुनै मनमोहक सुन्दर फूलेका सुनाखरी फूलहरु ढकमक्क मुस्कुराएका हुन्छन्। यिनै मुस्कुराएका सुन्दर सुनाखरीसँग प्राडा विजया पन्तको मुस्कान सहितको सुभबिहान सुनाखरी, सुभप्रभात सुनगाभा,गुडमर्निङ अर्किड सुरु हुन्छ।
सुनगाभा हरियोमाथिको हरियो हो। किनभने सुनगाभा हरिया रुखमा नै टाँसिएर बढ्ने हुर्कने,हरियो भएर झ्याम्मिने र फुल्ने फूल हो। यिनै सुनगाभामा रमाएर रस चुस्न आएका मौरी, भँवरा आदि हेर्दै रमाएकी विजया जब कुनै फूलेको सुनाखरी देख्छिन् उनको खुशीको सीमा नै हुँदैन।
किनभने सुनाखरीका विरुवा बनाउन हुर्काउन र फूल्ने अवस्थासम्म बनाउन उनले धेरै मेहनत र प्ररिक्षण गरेको हुन्छ। यी सुनगाभा याने सुनाखरी फूलहरुलाई यो अवस्थामा ल्याउन उनी र उनको टिमले टिस्युकल्चर प्रविधिको विकासबाट सफल भएका हुन्।
आफ्नो प्रविधि र अनुसन्धान सफल भएकोमा को खुशी हुँदैन र। प्राडा. विजयामा पनि यो लागू हुन्छ। विजयका घर कम्पाउण्डका रुखमा बढेका, फूलेका मध्येका सुनाखरीहरु टिस्युकल्चर प्रविधि मार्फत, विकसित गरिएका पनि छन्।
प्राडा विजया पन्तको घर कम्पाउण्ड भित्र मात्रै अर्किड याने सुनाखरी हरियाली र ढकमक होइन। उनको कार्यलय त्रिविवि केन्द्रीय वनस्पति विभाग तथा त्रिवि कम्पाउण्ड भित्रका रुखहरुमा पनि यसरी नै सुनाखरी हरियाली भएर झ्याम्मझुम्म र ढकमक फूलेका हुन्छन् विभिन्न सिजनमा।
प्राध्यापक डा. विजया पन्त त्रिभुवन विश्वविद्यालय वनस्पति शाश्त्रमा प्राध्यापन गर्छिन्। उनी वनस्पति विभागमा सकृय पनि छन्। उनी जहाँ हुन्छिन् अर्किडसँग हुन्छिन्। उनी जहाँ डुल्छिन् कतै कुनै रुखमा अर्किड टाँसिएका छन् कि भनेर हेरेकी हुन्छिन्।
उनका आँखाहरु हरेक रुखतिर तानिएका हुन्छन्। किन त उनी यसरी सुनगाभामा हुरुक्क भएकी हुन् त ? के छ त सुनगाभा याने सुनाखरी फूलमा ? यो यति सुन्दर फूल भएर मात्रै उनी यसमा आकार्षित भएकी हुन या अरु कारण पनि छन् ? अब यतातिर प्रवेश गरौं।
त्रिभुवन विश्वविद्यालय वनस्पति विभागमा समेत भएको कारणले पनि उनको विभिन्न वनस्पतितिर ध्यान आकर्षित हुनु स्वभाविक नै हो।
सुनाखरी वा सुनगाभा फूल नेपालमा संकटग्रस्त वा लोपउन्मुख वनस्पति मानिएको छ। एकतिर यो प्राकृतिकरुपमा बिउबाट विरुवामा रुपान्तरण हुने प्रकृया लामो र केही जटिल भएकोले पनि यो फैलन लामो समय लाग्छ।
अर्कोतिर यसको व्यापक तस्करी हुने भएकोले जरैसँग उखेलेर अवैध किसिमले बेच्ने गिरोहहरु सकृय भएकोले पनि यो वनस्पति लोपउन्मुख र संकटग्रस्त भएको छ। यसको अलावा बाटोघाटो बनाउँदा,शहर बसाउँदा,जङ्गल फँडानी हुँदा, वनजंगलमा आगलागी हँुदा समेतको कारणहरुले गर्दा यो मासिएर जाने खतरा तीब्र भएर गएको हो।
वातवरणीय सन्तुलन राख्न र औषधीय गुण समेत भएको सुन्दर सुनाखरी फूल जोगाउनुपर्छ र जगाउनुपर्छ भन्ने मान्यता राखेर सुनाखरी प्रेमी प्राध्यापक डा.विजया पन्त सुनाखरीको जंगलमा पसेको पनि लगभा २५ वर्ष भन्दा बढि भएको छ भनेर माथिनै उल्लेख छ।
यो अवधिमा प्राडा. विजया पन्तले टिस्युकल्चर प्रविध मार्फत लोपउन्मुख संकटग्रस्त सुनाखरी वा सुनगाभा फूलको उद्धार गर्ने अभियानमा लागेकोले यो अभियानले सफलता पाएमा सुनाखरी देशैभरीको उनको नारा,सपना सफल भएर नेपाल सुनाखरी वा सुनगाभामय हुनेछ।
किन सुनाखरी नेपालभरी, किन नेपाल सुनगाभामय र यसले के लाभ दिन्छ नेपाललाई भन्ने सवालमा छलफललाई लैजाऔँ। प्राडा.विजया पन्त नेपालकी एकजना स्थापित अर्किड याने सुनगाभा विज्ञ भएको यथार्थता धेरैलाई थाहा नभएको हुनसक्छ।
किनभने प्राडा विजया पन्त नामको प्रचारमा भन्दा पनि कामको सफलतामा केन्द्रीत हुने व्याक्तित्व हो। यसको पुष्टि उनलाई अर्किड विश्वले गरेको विश्वास र सम्मानले गर्दछ। अन्य कतिपय मुलुकले अर्किडबाट के कस्तो कसरी लाभ लिएका छन् त्यता लागौं र त्यताको उदाहरणबाट सिकेर नेपालतिर फर्कौ।
प्राडा.विजया पन्त बिबाह लगत्तै पति डा.वशन्त पन्तसँगै उच्च अध्यायनको लागि जापान गएकी थिइन्। डा. वशन्त पन्त न्युरो सर्जरीमा पियचडी गरेर नेपाल फर्किए। त्यसरी नै जैविक प्रविधि विषयमा जापानबाट पियचडी गरेर नेपाल फर्केपछि विजया त्रिविविमा प्राध्यापन गरिरहेकी छन्।
उनी नास्टमा प्राज्ञको रुपमा पनि आफ्नो वैज्ञानिक विज्ञताको सेवा दिइरहेकी छन्। अझ यो भन्दा माथि प्राडा.विजया पन्त वोल्र्ड एकेडेमी अफ साइन्सेसको मनोनित फेलो भएको पनि तीन वर्ष बितेको छ।
यो एसियाले पाउने पाँचओटा कोटामध्ये एकमा प्राडा विजया पन्त मनोनित हुनु उनको मात्र सम्मान नभएर नेपाली वैज्ञानिक र नेपालको नै सम्मान हो। यसको अलावा प्राडा विजया पन्तले अर्किड विशेषज्ञको रुपमा विभिन्न मुलुकमा भएका अर्किड सम्मेलन र अनेक अन्तराष्ट्रिय जैविक सम्मेलनमा गरी १५० वटा भन्दा बढीमा सहभागीता जनाएकी छन्।
जहाँ उनले धेरै कार्यपत्रहरु,पेपरहरु प्रस्तुत गरेकी छन् या सम्मेलनमा सारगर्भित मन्तव्य पनि दिएकी छन्। प्राडा. विजय पन्तका विज्ञान सम्बन्धीका अनेक अन्तराष्ट्रिय जर्नलमा १२५ भन्दा धेरै महत्वपूर्ण लेख तथा अनुसन्धानात्मक पेपर पनि प्रकाशित भएका छन्। उनका संयुक्त लेखनका (Medicinal Orchids of Nepal -2013_ / A treasure Trove of Orchids in Central Nepal -2016) नामका दुई पुस्तक प्रकाशित भएका छन्।
उनले ८० भन्दा बढी विद्यार्थीहरुका पी.यच.डी.तथा मास्टर डिग्रीका लागि थेसिसमा र पियचडीका लागि सोधकार्यमा सुपरिवेक्षण गरेकी छन्।
प्राडा.विजया पन्त विश्व अर्किड सम्मेलनमा अर्किड विज्ञको रुपमा एसिया,अष्टे«लिया,युरोप अमेरिकाका धेरै देशहरुमा सहभागिता दिएकी छन्। केही वर्ष अघि नेपालमा अर्किड सम्बन्धिको महत्वपूर्ण सम्मेलको सफलताको साथ सम्पन्न गराएकी थिइन्। उनले केही महिना अधि मात्र अर्किडको विश्व सम्मेलनमा भाग लिन ताइवानमा गएकी थिइन्।
ताइवानले अर्किडलाई धेरै महत्व दिएको रहेछ। ताइवानले अर्थतन्त्रको एउटा महत्वपूर्ण हिस्सा अर्किडलाई बनाएको रहेछ। ताइवानमा अर्किडको करोडौँको व्यापार हूँदो रहेछ। अर्किडको व्यापार मात्र होइन अर्किड टुरिजम् पनि ताइवान्को अर्थतन्त्रको महत्वपूर्ण हिस्सा भएको रहेछ।
ताइवान्ले विश्वका अर्किड प्रेमीहरुको लागि एउटा गन्तव्यको रुपमा स्थापित र विकसित गरेको रहेछ। त्यहाँको सरकारले अर्किडको उत्पादन र विकासमा प्राथमिकताको साथ सहयोग र प्रोत्साहन दिने गरेको पनि रहेछ।
त्यस्तै चीनले अर्किडलाई औषधिको लागि प्रयोग गरेको रहेछ र चीनमा अर्किडको ठूलै माग रहेछ। त्यस्तै थाइल्याण्ड लगायत विश्वका कयौं देशमा पनि अर्थतन्त्रको महत्वपूर्ण हिस्सा ओगटेको रहेछ अर्किडले। यी केही प्रतिनिधि नाम मात्रै हुन् ,आर्किडलाई महत्व दिएर अर्थतन्त्रमा जोड्ने अन्य धेरै देशहरु छन्। विश्वमा अर्किड प्रेमीहरुको ठूलै हिस्सा र सञ्जाल छ।
नेपालमा अर्किड याने सुनगाभाको अवैध चोरी निकासीको कारणले यो वन जङ्गलमा अप्राप्य भएर गइरहेको अवस्थामा प्राडा विजया र टीमले अन्नपूर्ण रिसर्च सेन्टरको सहकार्यमा टिस्युकल्चर प्रविधि मार्फत महत्वपूर्ण सुनगाभाका विरुवा उत्पादन गर्न सफल भएको कारणले अब नेपालमा सुनगाभा अप्राप्य हुने अवस्थाको अन्त्य भयो भन्दा अत्युक्ति नहोला।
किनभने अब नेपालसँग प्राडा.विजया पन्त र अन्नपूर्ण अस्पतालद्वारा सञ्चालित अन्नपूर्ण अनुसन्धान केन्द्र छ, जसले टिस्युकल्चर प्रविधि मार्फत सयौँ सुनाखरीका विरुवा उत्पादन दिई उमार्न थालेको छ।
प्राडा विजया पन्त सुनाखरी नेपालभरि-को अभियान चलाउने योजनामा छिन्। अनेक अनुसन्धानले सुनाखरीले वातवरणीय सन्तुलनमा ठूलो भूमिका खेल्दो रहेछ भन्ने पुष्टि भएको छ। यसले जीव र वनस्पति वीचमा जीवित सम्बन्ध बनाइरहन सकारात्मक योगदान दिइरहेको हुने रहेछ।
जति सुनाखरी उति मौरी वरिपरी ,जति मौरी उति मह याने हनी,जति हनी उति आम्दानी। बहुउपयोगी सुनाखरीलाई मौरी पालन याने मह उत्पादनमा समेत जोड्न चाहन्छिन् प्राडा. विजया पन्त। सुन्दर सुनाखरी मार्फत उनी नेपालमा फूल पर्यटनको केन्द्र बनाउन चाहन्छिन्।
विश्वभरका अर्किड लभरहरुको आकर्षण र गन्तव्यको केन्द्र बनाउन चाहन्छिन् उनी नेपाललाई। अर्किड रोप्नलाई कुनै जमिन र गमलाको खाँचो पर्दैन। हरेक रुख यसका लागि जमिन र गमला हुन्। अर्किड अैँजेरु जस्तै अरु रुखमा टाँसिएर जिउने र फूल्ने फूल हो। अर्किडले रुखबाट पोषण मात्र लिदैन रुखलाई पोषण पनि दिन्छ ।
ऐंजेरुको जस्तो शोषण मात्र गदैँन। त्यसैले सुनाखरी देशैभरि सबै किसिमले उचित छ। सौन्दर्यको हिसाबले होस् कि वातवरणीय सन्तुलनको हिसाले होस् या आर्थिक समृद्धिको हिसाबले होस्। जंगलमा रहेका सुनाखरीलाई बचाएर मात्र राख्न सके पर्यटकमा आकर्षण बढाएर पर्यटन विकासमा ठूलै योगदान दिन्छ।
अझ यो भन्दा पनि महत्वको विषय अर्किडमा क्यान्सर प्रतिरोधि औषधीय गुण भएको प्राडा. विजयाको अनुसन्धान केन्द्र अन्नपूर्ण अनुसन्धान केन्द्रमा अनुसन्धान गरी उनका पीयचडी सोधार्थीले पत्ता लगाउन सफल भएको अवस्था छ।
यो सुनगाभाको एउटा प्रजातिको अनुसन्धानले यो परिणाम दिएको हो। अन्य अनुसन्धानले यस्ता अनेक सकारात्मक परिणाम नदिएला भन्न पनि सकिदैन। यो अनुसन्धानले खासगरी क्यान्सर प्रतिरोधि औषधि विज्ञानको क्षेत्रलाई नेपालले नयाँ उपहार र उचाई दिने प्रवल सम्भावना देखाएको छ।
प्राडा विजया पन्तले गोरखा,इलाममा र बुद्ध जन्मभूमी लुम्बिनीमा अर्किडका विरुवा लगेर रोपेकी छिन्। लुम्बिनीका हरेक रुखमा अर्किड ढकमक भएर त्यहाँ घुम्ने हरेक पर्यटकको मनमा एकैपटक शान्ति र आनन्द दियोस् भन्ने उनको चाहना रहेछ। हरेक पालिकाहरुले सुनाखरी देशैभरि कार्यक्रममा जोडियुन्।
हरेक सरकारी कार्यलयका कम्पाउण्डका रुखहरु अर्किडमय होउन्। हरेक सामुदायिक वनहरुले अर्किडलाई बचाएर व्यवसायिक उत्पादनमा जोडुन्। अर्किडको फैलावटसँगै मौरी पालनलाई पनि प्रोत्साहन गरुन्।
हरेक उपभोक्ता सदस्यहरुलाई घरघरमा मौरी घरघरमा सुनाखरी अभियानमा जोड्न सकेमा घर वरिपरिको वातवरणलाई मनमोहक बनाएर किसानलाई आम्दानी दिने र धनी बनाउनेमा सहयोग मिल्छ।
अर्किडलाई व्यवसायिक बनाउन सकिन्छ। सुनाखरी र माहुरीलाई जोड्न सकिन्छ। टिस्युकल्चर प्रविधिबाट याने अर्किडका कोशिकाबाट लाखौं विरुवा उत्पादन गर्ने सफल प्रविधि अन्नपूर्ण अनुसन्धान केन्द्रले विकास गरेर उत्पादनमा ल्याएको छ।
अन्नपूर्ण अनुसन्धान केन्द्रले टिस्युकल्चर प्रविधिबाट तयार गरेका सुनाखरीका विरुवाहरु बिक्रीमा समेत राखेको छ। जंगलका रुखमा टाँसिएर मात्रै बढ्ने फूल्ने सुनगाभा टिस्युकल्चर प्रविधिबाट गमलामा पनि हुर्कने र फूल्ने परिणाम आएकोले अन्नपूर्ण रिसर्च सेन्टरको सम्पुर्ण टिम खुसी भएको पाइयो परिक्षण सफल भएकोमा। अब सुनाखरी जंगल भरि घरवरिपरी रुखदेखि गमलाभरी हुने आधार तयार भएको छ।
काठमाडाैंका मेयर बालेन शाहले अर्थात काठमाण्डौँ महानगरपालिकाले दसहजार अर्किडका विरुवा मागेको रहेछ। महानगर पालिकाभरी सुनाखरी योजना सफल भयो भने भानुभक्तको अलकापुरी कान्तिपुरी बालेनको सुनाखरीको कान्तिपुरी नगरी हुनेछ। यसले सुनाखरी नेपाल भरिको अभियानलाई सहयोग पुग्दछ।
केही महिना अघि अमेरिकाबाट अर्किड प्रेमी समुह डा.विजया पन्तलाई भेट्न र अर्किड सम्बन्धि अध्यायन,अवलोकन गर्न नेपाल आएको थियो। यस्ता समुह तथा विद्यार्थीका समुह लिएर उनी धेरै पटक सुनाखरी खोज्दै अनेक वन जंगल चाहरेकी छन्।
स्थानीय बासिन्दालाई यसको महत्व र संरक्षणको लागि जनचेतनामुलक सन्देश दिएकी छिन्। भविश्यमा यस्ता अनेक देशका अनेक समुह अर्र्किड र सुनाखरी नेपालभरिको नारा र योजनबारे अध्यायन गर्न नेपालमा आउने सम्भावना बलियो भएर गएको छ।
सन् २०२६मा अर्किडको अन्तराष्ट्रि सम्मेलन गर्ने जिम्मा सुनाखरीमा धेरै चासो दिएर यसको संरक्षणमा दिएको योगदानको मूल्याङ्कन गरेर अन्नपूर्ण अनुसन्धान केन्द्रलाई दिएको रहेछ। यसको सफलताको जिम्मेवारी प्रमुखको हैसियतले प्राडा. विजया पन्तको काँधमा आएको छ। निश्चय नै यो नेपालको लागि गौरवका विषय हो।
यसलाई सफल बनाउन सरकार तथा सम्बधित मन्त्रालयले प्राडा विजया पन्तलाई सहयोग गर्नु पर्दछ। उनको अनुसन्धानलाई सहयोग गर्नु पर्दछ। अर्किड सम्मेलनमा आउने प्रतिनिधिहरुलाई नेपालका प्रमुख पर्यटकीय स्थलको भ्रमण गराएर नेपालको पर्यटन प्रवर्धनमा लाभ लिन पर्यटन मन्त्रालय तथा पर्यटन विकास बोर्ड चनाखो हुनुपर्दछ।
अरु मुलुकले अर्किडबाट के कसरी लाभ लिएका छन् भनेर अर्किड विश्वमा घुमेकी र डुबेकी प्राडा विजया पन्तबाट नेपाल सरकारले धेरै सिक्न सक्छ। उनीसँग समन्वय र सहकार्य गरेर उनको सुनाखरी नेपालभरिको कार्यक्रम या अभियानलाई सफल बनाएर सुन्दर नेपाललाई सुनाखरी मार्फत अझ सुन्दर बनाउन नेपाल सरकार लागि पर्नु पर्दछ।
सुनाखरी सुन्दरताको प्रतीक मात्र होइन समृद्धिको आधार पनि हो भन्ने मान्यतामा प्राडा विजया पन्त ढुक्क छन्। राष्ट्रिय योजना आयोगले सुनाखरी देशै भरि को योजना बनाएर सरकारलाई दिनुपर्छ।
प्राडा विजया पन्त र उनका धेरै विद्यार्थीहरु अर्किडमा गरेको खोज,अनुसन्धान र हासिल गरेको उपलब्धि बापत अनेक राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कार आदिबाट सम्मानित भएका छन्।
अहिले वल्र्ड एकेडमी अफ साइन्सको फेलोमा मनोनित भएर नेपालकै सम्मान बढाएकी प्राडा विजया पन्त जस्ताहरुको क्षमता र विज्ञतालाई राष्ट्रको हितमा कसरी सदुपयोग गर्नुपर्छ भनेर राज्यले जान्नु पर्दछ।
Facebook Comment