राजसंस्था प्रजातन्त्रको बाधक होइन
जन आकांक्षालाई बुझ्ने, कदर गर्ने र महत्व दिनेजस्ता मानवीय गुणका कुनै पनि सद्भावपूर्ण कदम नउठाई विदेशी शक्तिको आडमा निरंकुश शासनलाई टिकाउन खोज्दा १०४ वर्षसम्म चलेको जहानीय तानाशाही राणाशासनलाई २००७ सालको जनक्रान्तिले बढारेको इतिहास हाम्रो गौरवपूर्ण इतिहास हो।
जनआकांक्षालाई हृदयगम् गरी शाही गद्यी त्यागेर स्व श्री ५ त्रिभुवनले जनताको प्रजातान्त्रिक आन्दोलनलाई साथ दिइ २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापनाको शाही घोषणाले श्री ५ त्रिभुवनलाई प्रजातान्त्रका राजपिताको स्थानमा स्थापित गर्याे।
त्यही समयदेखि राजसंस्था र प्रजातन्त्रको सम्बन्ध स्थापित भइ देशमा दिगो शान्ति र विकासका गतिविधिहरु अगाडि बढ्दै गए। राजसंस्था र प्रजातन्त्रको यो मजबुत सम्बन्ध र राष्ट्रको प्रगति र उन्नतिमा इर्ष्या गर्ने केही तत्वहरु त्यो बेलादेखि नै विदेशी शक्तिको आडमा परिवर्तित राजनीतिक व्यवस्थाभित्र प्रजातन्त्रको कृतिम मुखुण्डो लगाएर देशको उन्नति र जनताको समृद्धिमा वाधक थिए।
यसले राजनीतिक अस्थिरता बढाइ नै रह्यो। प्रजातन्त्रको संरक्षण र सम्वद्र्धनमा राजसंस्था र जनताको एकताले विदेशी शक्तिको प्रभावलाई निस्तेज पारी राष्ट्रियता र प्रजातन्त्रलाई बचाउने काम भयो। आफ्नो स्वार्थ सिद्ध गर्ने अभिष्टि बोकेका केही स्वर्थी तत्वहरु आज पनि विदेशी शक्तिकै भरमा राष्ट्रिय भावना र जनआकांक्षा विपरीत जनतालाई शोषण गर्न र शक्ति हत्याउन लागिरहेका छन्।
देशको सार्वभौमिकता, अखण्डता, स्वतन्त्रता र स्वाभिमानी चेतनामा खलल पुर्याइ आफ्नो स्वार्थसिद्ध गर्न लागिरहेका छन्। यस्तो विकराल स्थितिप्रति स्वाभिमानी देशभक्त नेपालीहरु अत्यान्तै सजगताका साथ देशघाती तत्वहरुलाई परास्त गर्न राजा, राजसंस्था र देशभक्त शक्तिहरु एकजुट हुनै पर्दछ।
प्रजातन्त्रलाई सुदृढ बनाउन र प्राप्त अधिकारलाई सुनिश्चित गर्न गहन चिन्तन गरेर अघि बढ्न सकिएन भने जनताको वलिदान खेर जान सक्छ। प्रजातन्त्रले जनतालाई अधिकार मात्र नभइ जिम्मेवारी पनि दिएको हुँदा त्यस जिम्मेवारीलाई राष्ट्रको हितमा प्रयोग गर्नुपर्छ। प्रजातन्त्रमा हरेक नागरिकहरुसँग आ-आफ्नै मौलिक हक अधिकारमात्र होइन जिम्मेवारी र अनुशासित कर्तव्य पनि रहेको हुन्छ।
यही अनुशासन र कर्तव्यको सीमाभित्र रहेर आफ्ना गतिविधिहरु सञ्चालन गर्नुपर्छ। प्रजातान्त्रिक व्यावस्थामा जिम्मेवार व्यक्तिहरु प्रजातान्त्रिक हुन सकेनन् भने देश सही गतिमा चल्न सक्दैन। जनआकांक्षालाई बुझेर ल्याएको व्यवस्थालाई नेपाली माटोमा फुलाइ राख्न राजा, राजसंस्था र सबै नेपाली जनताको साथ र सहयोग चाहिन्छ।
कसैलाई निषेध गरिने व्यक्तिगत स्वार्थ हावी भएको व्यवस्था प्रजातन्त्र नै भए पनि त्यो देशहितका निम्ति हानीकारक हुन्छ। प्रजातन्त्रका नाममा गरिने अवान्छित कृयाकलाप, गैरजिम्मेवार गतिविधि र अधिकारको दुरुपयोबाट देशमा अशान्ति मच्चाउनु, राष्ट्रिय एकतामा वाधा पार्नु स्वाभिमानी नेपालीका निम्ति राम्रो होइन।
देशमा भ्रष्टाचार र कमिसन तन्त्रलाई बढावा दिएर राष्ट, राष्टियता र राष्ट्रिय अस्तित्वसमेत धराशाही बनाउनु हुन्न। स्वतन्त्र र स्वाभिमानी नेपालीहरुको ऐतिहाँसिक प्रतिष्ठमा आँच पुर्याउनु हुन्न। यो कुनै पनि सच्चा नेपालीहरुका लागि सुहाउने कुरा होइन। देशको स्वतन्त्रता, राष्ट्रिय अखण्डता र जातीय एकतालाई बचाइ प्रजातन्त्रलाई सुदृढ पार्नु सबैको अन्तिम लक्ष्य हुनुपर्छ।
प्रजातन्त्र भनेकै प्रत्येक जनताले आफ्नो भाग्य र भविष्यको निर्माण गर्ने अधिकार आफैले पाउनुपर्छ भन्ने हो। राजनीतिक वा सामाजिक दल वा संघसस्थाबाट शोषण र दमनमा पर्नु हुँदैन र सबैले आफ्नो सीप, क्षमाता र योग्यता अनुसारका समान अवसरहरु र समान न्याय पाउनुपर्छ भन्ने नै हो। वौद्धिक श्रम गर्नसक्नेले वौद्धिक श्रम गरौँ।
शारीरिक श्रम गर्नसक्नेले शारीरिक श्रम गरौँ। आ-आप्नो क्षमता अनुसार सबैले सबैलाई सहयोग गरौँ। हेला कसैलाई नगरौँ। घृणा नगरौँ। यो विशुद्ध मनुष्योचित गुण हो। प्रजातन्त्रको मर्म पनि हो।
प्रजातन्त्र शासन प्रणालीको नाम मात्र होइन, जीवन पद्धतिको सुनौलो मार्ग पनि हो। प्रजातन्त्रमा जनतालाई सँधै जागरुक बनाइराख्न जनतामा भएको सिर्जनात्मक शक्तिलाई प्रोत्साहन गरी राष्ट्रको विकास र उन्नतिमा लगाउनुपर्छ। यसका लागि राष्ट्रियताले प्रेरित, जनआकांक्षाले पोषित र प्रजातन्त्रले निर्देशित राष्ट्रिय संगठन चाहिन्छ।
सबै नेपाली एक हौँ भन्ने दृढ मनोविज्ञान चाहिन्छ। प्रजातन्त्र शासन व्यवस्थाको उत्कृष्ट रुप भए पनि त्यस व्यवस्थामा जनताले त्यसको अनुभूत गर्न त्यसबेला मात्र सक्दछन् जब उनिहरु प्रवुद्ध हुन्छन्। वैचारिक र व्यवशाहिक सीपले युक्त हुन्छन्।
आर्थिक दृष्टिले मजबुत हुन्छन्। नैतिक तथा सामाजिक व्यवहारमा निश्कलंक र दीगो प्रजातान्त्रिक संस्थाको परम्परामा आवद्ध हुन्छन्। आम जनसमूदायले यी कुरा प्राप्त नगरेसम्म प्रजातान्त्रिक शासन व्यवस्थालाई उत्कृष्ट माने पनि व्यवहारतः त्यसले जनता, राष्ट्र र राष्टियताको समुन्नत भविष्य निर्धारण गर्न सक्दैन।
वर्तमान हाम्रो अवस्था यसरी आमुल रुपमा सुधार हुन सकिरहेको छैन। प्रजातन्त्र भनेको नेताको भाषण, पुस्तकका शीर्षक र पत्रपत्रिकाको होहल्लामा मात्र सीमित हुने कुरा होइन।
हाम्रो जस्तो अल्पविकसित देशमा रहेको गरिवी, रोग भोक अशिक्षा र शोषण हटाइ प्रत्यक नेपालीको समान आदर र कदर गर्न पवित्र दिल र पक्षपातरहित सेवासत्कार नै प्रजातन्त्रको असली रुप हो। समाज तथा राष्ट्रमा मान्छेले मान्छे भइ बाँच्न पाउने वातारण सिर्जना गर्नु नै सच्चा प्रजातन्त्रको अभ्यास हो।
एकातिर गरिब जनताको आँसु बगेको बगै छ,। उद्योग कारखाना ठप्प छन्। बेरोजगारी अथाहा छ। भ्रष्टाचारले सीमा नाघेको छ। अर्कोतिर नेताको स्वागतसत्कारमा रमाउने, नेतालाई हाइहाइ गर्ने, जिम्मेवारी र कर्तव्यको बोध नगराइ निर्विकल्प छोड्ने काम भएको छ।
यस्तो गैरजिम्मेवार परिपाटी बसालेर प्रजातान्त्रिक वातावरण पूरा गरियो भन्न सकिदैन। यही कुरा ध्यानमा राखेर हामी नेपाली सदैव जनताको उन्नति र राष्ट्रको विकासमा सक्रिय रहनुपर्दछ।
प्रजातान्त्रिक निष्ठा र प्रतिष्ठा बढाउन निरन्तरको चेतनशील प्रयत्नद्वारा देशको हित र जनताको चाहनालाई माथि उठाउन दृढ सङ्कल्पित रहनुपर्दछ। निर्दिष्ट लक्ष्य हाँसिल गर्न घोर निराशा र खतरापूर्ण अवस्थामा पनि स्थिर भइ देशसेवाको भावना लिनुपर्दछ। देशसेवाको लागि निजी भावना त्याग्न सक्नु नै सच्चा देशभक्त र प्रजातान्त्रवादी बन्नु हो।
प्रजातन्त्रको यो रमाइलो विहानीमा देशद्रोही केही तत्वहरु प्रजातन्त्रको दुहाइ दिदै विदेशी शक्तिको आडमा यो वा त्यो वहाना झिकेर मातृभूमिलाई अशान्त पार्न खाज्दै छन्। देशलाई विखण्डन गरी आप्mनो स्वार्थ पूरा गर्ने जमर्को गर्दैछन्।
यस्ताखाले घृणित कर्म गर्ने जोसुकै हुन् त्यसका विरुद्ध शान्तिप्रीय नेपाली नागरिकहरु एकजुट हुनुपर्दछ। नेपाली माटो र यसमा पोखिएको नेपाली खुन, पसिना र मिहिनेतलाई कदर गर्नुपर्दछ।
निरङ्कुश एकतन्त्रीय राणा शासनको अन्त्य भइ प्रजातान्त्रिक अभ्यास सुरु गरेको यति लामो समय वितिसक्दा पनि हाम्रो मानसिकतामा प्रजातन्त्रप्रतिको एकलकाँटे चिन्तन र प्रवृत्तिले प्रजातन्त्रलाई रुखो र विरसिलो बनाइरहेको छ।
कुनै अर्को संघ संस्था वा संगठनलाई निषेध गर्नु र आफ्नो मात्र वर्चश्व स्थापित गर्नेे चिन्तनधारा हावी हुँदै गएको छ। राजा, राजसंस्था र राजतन्त्रको विरोध गर्नु नै सच्चा प्रजातन्त्रवादी हो भन्ने भाष्य खडा गरी जनतामा भ्रम छर्ने काम भएको छ। यो खराव नियतले बसाल्न खोजिएको खराव पद्धति हो।
केही कमिकमजोरीहरु रहे होलान् तर राजसंस्था आफैमा खराव थिएन र छैन पनि। इतिहासदेखि नै प्रजातन्त्रको प्रयोग गर्दै राष्ट्र र राष्ट्रवासीको स्वाभिमानलाई उच्च पार्दै स्वतन्त्र राष्टको इज्जत, प्रतिष्ठा र स्वाभिमानी गौरवलाई विश्वमा चिनाउने काम राजसंस्थाले नै गर्याे।
प्रजातान्त्रिक निष्ठा र विचारमा सँधै दृढ र समर्पित भइरह्यो। राष्ट्रिय अखण्डता, स्वाभिमान र राष्ट्रिय एकतालाई अक्षुण राख्दै विकास, निर्माणका लागि उद्योग व्यवसाय, बाटोघाटो र कलकारखाना निर्माणको कार्यमा राजसंस्था कहिँकतै चुकेन।
देशको विकास र जनताको सेवा सुविधामा राजसंस्था निरन्तर अगाडि बढिरह्यो। लामो समयको निरङ्कुश शासनको अन्त्य पश्चात देशी विदेशी शक्तिको आम चासो र तरल राजनीतिक अवस्थामा पनि राजा महेन्द्रले सन्तुलित ढंगले आफ्नो करिव १७ वर्षको छोटो कार्यकालका बीचमा जे जति विकास र निर्माणका कामहरु गरे सायद ती इतिहासका अमूल्य र गर्भिला सम्पति थिए। राजा, राजसंस्था र जनताप्रतिको निकटताबाट नै विकासको राष्ट्रिय अवधारणा बनेको थियो।
बिचारमा असहमति हुनसक्छ। वादविवाद हुन्छ। तर्क गर्न पाइन्छ तर विरोध गर्नुपर्दाका तर्क, शैली, भाषा र तरिकाहरु शिष्ट, मर्यादित र शोभनीय हुनुपर्दछ। ऐतिहासिक घट्नाक्रमलाई गम्भीर समिक्षा गर्नुपर्छ। लोकसम्मतिको सँधै अनुयायी रहिरहने राजा, रासंस्था र जनताबीचको घनिष्ठतम् सम्बन्ध नै नेपालको स्वतन्त्रता, अखण्डता, राष्ट्रिय एकता, प्रजातन्त्र र निर्वाध सार्वभौसत्ताको मूख्य कवच हो।
युगौँदेखि उच्च संस्कार, सभ्यता, भाषा-धर्म र सँस्कृतिको विशालताले भरिपूर्ण कहिल्यै पराधीन नरहेको यो राष्ट्र आज आर्थिक, सामाजिक, धार्मिक तथा राजनैतिक उतारचढावले गम्भीर संकटमा छ। यो संकट बहुदलीय प्रजातन्त्रको स्थापना पश्चात विकसित राजनीतिक व्यवस्था र त्यसका सञ्चालकहरुको अदुरदर्शी दृष्टिकोण र बैचारिक विचलनको उपज हो।
किन यस्तो भयो ? हिजो राजसंस्था रहँदाको अवस्था र आजको वस्तुस्थितिको सही मूल्यांकन गरौं र सत्यतथ्य सार्वजनिक गरौं। एकाइसौं शताब्दीको राजतन्त्र प्रजातन्त्रका लागि, प्रजातन्त्र राष्ट्रको विकासका लागि र राजतन्त्र तथा प्रजातन्त्र नेपालको सुनौलो भविष्यका लागि भन्ने राजाका यी उद्घोषहरु कुन चाहिँ प्रजातन्त्रको विरोधको अभिव्यक्ति थिए ? कुन शब्दले राष्ट्रको हित र प्रजातन्त्रको विकासमा वाधा दिएको छ ? गम्भीर विश्लेषण गरौँ।
माटोप्रतिको माया र प्रजातन्त्रप्रतिको अपार आस्थाबाट विचलित नभइ मातृभूमिको सेवा र संरक्षणमा जुट्ने बलियो प्रतिवद्धता राजाबाट व्यक्त भएको पाइन्छ। अखण्ड राष्ट्रको बलियो जग खडा गरी इतिहासदेखि नै राष्ट्रको सार्वभौमिकता, अखण्डता र प्रजातन्त्रलाई बचाइ राख्ने राजसंस्था यो बदलिएको परिवेशमा प्रजातन्त्रको अझ उत्कृष्ट रुपबाट राष्ट्रको इज्जत बचेको र स्वाभिमान उच्च भएको हेर्न चाहन्छ।
राजा र राजसंस्थाभित्रको यो अविचलित राष्ट्रवादी चिन्तन र देशभक्तिपूर्ण भावनाबाट डराएका केही स्वार्थी तत्वहरु व्यक्तिगत रिसिवी र दलगत स्वार्थका कारण विदेशी दलालहरुको गुलाम बनी राजा र जनताको सुमधुर सम्बन्ध भत्काउन एकोहोरो प्रचारमा जुटेका छन्।
संकटको यस घडिबाट देशलाई जोगाएर नेपाल आमाले पिलाएको दूधको ऋण चुक्ता गर्नुको सट्टा आमालाई नै बेची रक्तपिपासुहरुलाई तृप्त पार्न खोज्ने देशद्रोहीहरुको निकृष्ट कर्मलाई अब कुनै पनि स्वाभिमानी नेपालीहरुले टुलुटुलु हेरेर बस्न सक्दैनन्।
राष्ट्रका शत्रुहरु चाहे ती स्वदेशी हुन् वा विदेशी, तिनीहरुको भतुवा चिन्तन, स्वार्थ र हैकमका विरुद्ध सारा नेपाली एकजुट हुनुपर्दछ। व्यक्तिगत तथा दलगत स्वार्थ र विदेशपरस्त चिन्तनलाई प्राथमिकतामा राखेर अनेक तानाबाना बुनी राष्ट्रहित विपरीतका गतिविधि मच्चाउँदै राष्ट्रविखण्डनतिर लगाउने राष्ट्रमाराहरुको कुचेष्टालाई चारैतिरबाट भण्डाफोर गर्नुपर्दछ। देशभक्त तथा राष्ट्रवादी नागरिकहरुका लागि सँघारमा खडा भएको यो नै अहिलेको ज्वलन्त आवश्यकता हो।
Facebook Comment