माओवादीभित्रको अन्तरसंघर्ष तत्कालका लागि साम्य, जनार्दनको प्रस्ताव पार्टीले समेट्ने

डिसी नेपाल
३२ साउन २०८१ १३:५५

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा(माओवादी केन्द्र)को गत शुक्रबारदेखि सुरु भएको स्थायी समिति बैठक बिहीबार सम्पन्न भएको छ। बैठकमा उपमहासचिव जनार्दन शर्माले राखेको नेतृत्व पुस्तान्तरण सहित हस्तान्तरणको लिखित प्रस्तावले अन्तरसंघर्ष निकै चर्किएको थियो।

अहिले शर्माको प्रस्तावलाइ समेटेर आगामी केन्द्रीय कमिटी बैठकमा छलफलका लागि पेश गर्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिबद्धता जनाएपछि जारी अन्तरसंघर्ष अल्पकालीन रुपमा साम्य भएको छ।

बैठक सकिएपछि अध्यक्ष प्रचण्डले उपमहासचिव शर्मा र आफूबीच कुनै असहमति नरहेको र पार्टीलाई एकताबद्ध गराएर लैजाने बताएका थिए। उनले पार्टी विभाजन नहुने जिकिर गर्दै सबैलाई समटेर अघि बढ्ने जानकारी दिएका थिए।

माओवादी स्थायी समिति सदस्य गणेशमान पुनले पनि तत्कालका लागि अन्तरसंघर्ष साम्य भएको बताउँछन्। उनले उपमहासचिव शर्माले उठाएका कतिपय नीतिगत विषयमा आगामी केन्द्रीय समिति बैठकमा छलफल गर्दै जाने सहमति भएको जानकारी दिए।

उनले डिसी नेपालसँग भने, ‘उपमहासचिवज्यूको सबै प्रस्ताव होइन, कतिपय विषय आगामी केन्द्रीय समिति बैठकलगायत अन्य पार्टीका संरचनामा पनि छलफल गर्ने र त्यसलाई समेट्ने अध्यक्ष कमरेड र उहाँ(शर्मा)बीच सहमति भएको छ।’

स्थायी समिति सदस्य पुनका अनुसार शर्माले राखेको लिखित प्रस्तावका सबै विषय हुबहु केन्द्रीय समिति बैठकमा नलगेर उनले उठाएका नीतिगत र सैद्धान्तिक विषय प्रचण्डले आफ्नो राजनीतिक प्रस्तावमा समेटेर छलफल गर्ने सहमति भएको हो।

विगतदेखि पार्टीमा एकछत्र राज गरेका अध्यक्ष प्रचण्डलाई नेतृत्व छाड्न उपमहासचिव शर्माले चुनौती दिएपछि पदाधिकारी बैठक निकै पेचिलो बनेको थियो।

अहिले शर्माको लिखित प्रस्तावलाई आगामी केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले समाबेश गरी पेश गर्ने सहमति गरेर उनको असन्तुष्टि साम्य पारिएको हो।

उपमहासचिव शर्माले पदाधिकारी बैठकमा विशेष महाधिवेशनको माग गर्दैं नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने प्रस्ताव पेश गरेका थिए। गत वर्ष विधान सम्मेलन र त्यस अघिको आठौं महाधिवेशनदेखि नै शर्मा अध्यक्ष प्रचण्डप्रति असन्तुष्ट थिए।

आठौं महाधिवेशनमा महासचिवको प्रबल दाबेदार रहेका शर्मालाई प्रचण्डले उपमहासचिवमा थन्क्याएर महासचिव देव गुरूङलाई बनाएका थिए।

महासचिवमा शर्माकै प्रतिस्पर्धी मानिने अर्का उपमहासचिव वर्षमान पुनको पनि दाबी रहेपछि प्रचण्डले तेस्रो व्यक्ति गुरुङलाई महाधिवेशन सकिएको करिब एक वर्ष पछि महासचिव बनाएका थिए।

त्यस यता नेतृत्वप्रति असन्तुष्ट रहेका शर्माले गत वर्ष सम्पन्न विधान अधिवेशनमा समेत आफ्नो ९ बुँदे पुरक प्र्रस्ताव पेश गर्दैै नेतृत्व चयन लोकतान्त्रिक विधिबाट चयन गर्नुपर्ने प्रस्ताव राखेका थिए।

उनले पार्टीका सम्पूर्ण जनवर्गीय संगठलनई स्वायत्त बनाउनुपर्ने उनको माग थियो। उनको यिनै प्रस्तावले रुष्ट बनेका प्रचण्डले त्यस पछिको कार्यविभाजनमा समेत कुनै जिम्मेवारी नदिएर उपमहासचिव शर्मालाई भूमिकाविहीन बनाएका थिए।

पार्टीको कार्यविभाजनप्रति असन्तुष्टि जनाउँदै शर्माले त्यतिबेला पनि लिखित रुपमै केन्द्रीय कार्यालयमा असहमति जाहेर गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *