एम्बुलेन्स खरिद कार्यक्रम कार्यान्वयन गर्न प्रदेश सरकारसँग सांसद श्रेष्ठको माग

काठमाडौं। बागमती प्रदेश सभाका सांसद तथा बागमती प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले एम्बुलेन्स खरिद कार्यक्रम कार्यान्वयन गर्न प्रदेश सरकारसँग माग गरेका छन्।
सांसद श्रेष्ठले सिन्धुलीको चियाबारी–खुर्कोट सडक खण्ड दुर्घटनाको उच्च जोखिममा रहेको भन्दै दुर्घटनामा परेकाहरुलाई उद्धार तथा उपचारमा सहजता ल्याउनका लागि एम्बुलेन्स खरिद गर्नु आवश्यक रहेको बताए।
उनले आफु प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्री हुँदा एम्बुलेन्स खरिदका लागि आर्थिक वर्ष २०८१÷०८२ को बजेटमा रेडक्रस शाखा सिन्धुलीलाई एम्बुलेन्स खरिद गरी सेवा सञ्चालन गर्न ३३ लाख रुपैयाँ बजेट विनियोजन गरेको भन्दै यशाशिघ्र एम्बुलेन्स खरिद कार्यक्रम कार्यान्वयन गर्न आग्रह गरे ।
उनले बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रीलाई एम्बुलेन्स खरिद कार्यक्रम कार्यान्वयनका लागि ध्यानाकर्षण गराए ।
सवारी दुर्घटनाका न्युनिकरणका लागि गृहमन्त्रीलाई सुझाव
सांसद श्रेष्ठले सवारी दुर्घटना न्युनिकरणका लागि अवलम्वन गर्नुपर्ने उपायहरुको सन्दर्भमा संघीय सरकारका गृहमन्त्रीलाई सुझाव समेत दिएका छन् । उनले साँगाभञ्ज्याङ नाका हुँदै उपत्यका प्रवेश गर्ने सवारी साधनका चालकहरूलाई साँगाभञ्ज्याङमै स्पीड चेकिङको बारेमा जानकारी गराउन सुझाव दिएका छन् । त्यस्तै अन्य नाकाहरूको हकमा पनि उपत्यका प्रवेश गर्नु अगावै सवारी चालकहरूलाई जानकारी गराउनुपर्ने उनको भनाई छ ।
सांसद श्रेष्ठले ट्राफिकले सडक बिचको वा छेउछाउको झाडीमा लुकेर स्पीड चेक गर्न बन्द गर्नुपर्नेमा जोड दिए । त्यसरी चेक गर्दा चालकको मनमा एकप्रकारको त्रास सिर्जना हुने र चालकको ध्यान सवारी साधनमा भन्दा ट्राफिकतिर हुने भएकाले दुर्घटना हुनसक्ने उनले बताए । त्यसैगरी, स्पीड चेकिङका लागि अत्याधुनिक प्रबिधिहरूको प्रयोग गर्नुपर्ने उनले बताए ।
श्रेष्ठले प्रबिधिको युगमा मानिसलाई ट्राफिकिङ गर्न लगाएर ट्राफिक समस्या समाधान नहुने भन्दै उपत्यकाको ट्राफिक समस्या समाधान नहुनुको कारण प्रबिधिको प्रयोग गर्न नसक्नु भएको बताए ।
Facebook Comment