सरकारका काम परिणाममुखी बनाउने प्रयासमा कांग्रेस

डिसी नेपाल
३ भदौ २०८१ १०:२८

काठमाडौं। सत्तारूढ दलको प्रमुख घटक नेपाली कांग्रेसले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूसँग महिनाको दुईपटक छलफल गर्ने भएको छ। नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा कांग्रेसका दुई राज्यमन्त्रीसहित १२ मन्त्री छन्।

ओली नेतृत्वको वर्तमान सरकारमा सहभागी भएपछि कांग्रेसले शनिबार पहिलोपटक पार्टीबाट मन्त्री बनेकाहरूसँग छलफल गरेको थियो। पार्टी सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा शनिबार साँझ ५ बजेदेखि राति १० बजेसम्म छलफल भएको थियो।

बैठकमा दुई उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा पनि सहभागी थिए। देउवा निवासमा कांग्रेसबाट मन्त्री र राज्यमन्त्री सबै बैठकमा सहभागी थिए।

बैठकमा अहिलेसम्म गरेका कामकाज, कार्यमूलक योजना र पार्टीसँगको समन्वय लगायतका विषयमा छलफल भएको थियो। सबै मन्त्री र राज्यमन्त्रीहरूले आफूले मन्त्रालय सम्हालेपछि गरेका कामबारे एक-एक गरी पार्टीका शीर्ष पदाधिकारीहरूलाई ब्रिफिङ गरेका छन्।

पार्टी र मन्त्रीहरूको समन्वय बढाउनका लागि छलफल भएको जानकारी दिँदै बैठकमा सहभागी एक मन्त्रीले भने, ‘मन्त्रीले गर्ने कार्य पार्टीसँग समन्वय नगरी भइरहेको बेलाबेलामा कुरा उठ्दै आएको हो। पार्टीसँग समन्वय गरेर प्रभावकारी कार्य गर्ने विषयमा कुरा भयो।’

बैठकले हरेक १५ दिनमा एकपटक पार्टी र मन्त्रीको छलफल गर्ने निर्णय भएको छ। मन्त्रीहरूले बधाई लिँदा सिंहदरबार र मन्त्री निवासमा समेत भिडभाड हुने गरेको भन्दै आलोचना भएको थियो।

कामकाज सुरु नगर्दै धेरै भाषण गर्ने गरेको भन्दै मन्त्रीहरूको आलोचना भएपछि पार्टीका शीर्ष नेताहरूले मन्त्रीहरूलाई काममा ध्यान दिन निर्देशनसमेत दिएका थिए। साउन २९ गतेको प्रतिनिधिसभा बैठकमा बोल्नुभएका पार्टी महामन्त्री गगन थापाले मन्त्रीहरूलाई काममा ध्यान दिन आग्रह गर्दै भनेका थिए, ‘खादामाला लगाउने र बधाई थाप्दैमा साउन महिना बित्यो ।

मन्त्रीहरूले दिनहुँजसो यो गर्छु, त्यो गर्छु भनेर भाषण गर्ने होइन, काम गरेर देखाउने हो। मन्त्रीजीहरूको इच्छाशक्ति भयो, नियत राख्नुभयो भने काम हुन्छ। भदौ एक महिना हाम्रा मन्त्रीजीहरूले नबोल्ने र उद्घाटन नगर्ने व्रत लिइदिनुस्।’

त्यसपछि पनि मन्त्रीहरूको कार्यशैली नफेरिएपछि कांग्रेसले आफ्ना १२ जना मन्त्रीलाई बोलाएर छलफल गरेको हो। मन्त्रीहरूका कार्यशैली सुधार गर्दै काममा केन्द्रित हुन आग्रह गरिएको उपसभापति धनराज गुरुङले जानकारी दिए।

सरकारमा पठाएका मन्त्रीहरूले काम गर्न नसक्ने हो भने संसद्का दुई ठूला दल कांग्रेस र एमाले मिलेर बनेको सरकारले झन् जनतामा निराशा ल्याउन सक्ने भएकाले समयमै काममा ध्यान दिन कांग्रेसले मन्त्रीहरूलाई निर्देशन नै दिएको छ।

कांग्रेसभित्र पार्टीसँग समन्वय नगरी मन्त्रीहरूले काम गर्ने गरेकोमा पनि बेलाबखत असन्तुष्टिका स्वर सुनिँदै आएका छन्। साउन २३ गतेदेखि २८ गतेसम्म सानेपामा चलेको केन्द्रीय समिति बैठकमा पनि केन्द्रीय सदस्यहरूले मन्त्रीहरूलाई पार्टीसँग समन्वय गरेर मात्रै अघि बढ्न सुझाव दिएका थिए।

कांग्रेसबाट मन्त्री हुनेहरूमा उपप्रधानसहित सहरी विकास प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र वन तथा वातावरण ऐनबहादुर शाही छन्।

दुई राज्यमन्त्रीमा रुपा विक र पूर्णबहादुर तामाङ छन्। विकले वन तथा वातावरण र तामाङले ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीको जिम्मेवारी पाएका छन्। कांग्रेस र एमालेबीच गत असार १७ गते राष्ट्रिय सहमतिको सरकार गठनसहित सात बुँदे सहमति भएको थियो। उक्त सहमतिअनुसार असार ३० गते ओली प्रधानमन्त्री नियुक्त भएका थिए भने त्यसको भोलिपल्ट कांग्रेसका १० जनासहित २२ जना मन्त्रीहरूले शपथ लिएका थिए।

यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नागरिकको चाहनाअनुसार काम गर्न आफ्नो पार्टीका मन्त्रीहरूलाई निर्देशन दिएका छन्।

शनिबार आफ्नै निवास बूढानीलकण्ठमा पदाधिकारी र सिनियर नेतासहित १२ जना मन्त्रीसँग छलफल गरेका सभापति देउवाले नागरिकको चाहनाअनुसार दैनिक १८/२० घण्टा काम गर्न निर्देशन दिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकको बारेमा जानकारी दिँदै मुख्य सचिव पौडेलले भने, ‘सभापतिले सिनियर नेतासहित सरकारमा सहभागी कांग्रेसका १० मन्त्री र दुई राज्यमन्त्रीलाई छलफलका लागि बोलाउनुभएको थियो। मन्त्रीहरूले मन्त्रालयमा बेहोर्नुपरेको समस्या र गर्नुपर्ने कामका विषयमा जानकारी गराउनुभयो। उहाँहरूले नतिजा दिनेगरी काम गर्ने प्रयत्न गरिरहेका छौँ भन्नुभएको छ। सभापतिले आम नागरिकको इच्छा र चाहनाबमोजिम सुशासन कायम गर्ने र भरोसा हुनेगरी काम गर्न निर्देशन दिनुभएको छ। दिनरात नभनी आवश्यक पर्दा १८/२० घण्टासम्म काम गर्न सभापतिको निर्देश छ।’

सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले गुनासो नसुने आफूलाई जानकारी गराउन मन्त्रीहरूलाई निर्देशन दिएका छन्। निजीनिवास बूढानीलकण्ठमा मन्त्रीहरूलाई बोलाएर काम गर्दा समस्या भए प्रधानमन्त्री ओलीलाई गुनासो गर्न तर प्रधानमन्त्रीले पनि कुरा नसुने आफूलाई जानकारी गराउन निर्देशन दिँदै भने, ‘काम ढुक्कसँग गर्नुहोस्। काम गर्दा केही समस्या भए प्रधानमन्त्रीसँग समय लिएर संवाद गर्नुस्। प्रधानमन्त्रीले कुरा नसुने र सुन्न नचाहे मलाई आएर भन्नु। म कुरा गर्छु।’ शनिबार नै प्रधानमन्त्री ओलीलाई भेट्न सभापति देउवा बालुवाटार पुगेका थिए। सो क्रममा संविधान संशोधन, सरकारका साझा न्यूनतम कार्यक्रमलगायत विषयमा संवाद भएको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका थिए।

हिमालय टाइम्स दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *