नेपालमा लुटिएको लोकतन्त्र

शंकरप्रसाद रिजाल
४ भदौ २०८१ ११:२९

बि.स. १९०३ देखि सुरु भएको जंगबहादुर राणाको लुटिएको सत्ताले नेपाल १०४ वर्षसम्म राजनीतिबाट धेरै टाढा बस्नु पर्यो। जंगबहादुर राणाको शासनदेखि मोहनशमशेर राणाको प्रधानन्त्रीत्व कालसम्ममा देश पूर्णतया एकतन्त्रयी जहानिया राणा शासनले चल्यो।

त्यत्रो १०४ वर्षसम्म चलेको एकतन्त्रीय राणा शासनमा सम्पूर्ण राज्यको सत्ता राणाहरुकै पकडमा रही सत्ता केन्द्रित हुन पुग्यो। राणाहरु लुटिएको सत्तामा झन् लुट मच्चाई रहेका थिए। राजाहरु असल खराब जे भएपनि नाम मात्रका थिए।

सत्ताको राजनीतिलाई बन्द कोठाभित्र थुनी आफ्नै स्वार्थ सिद्धका निम्ति मुखको भरमा शासन चलाउने गर्दथे र, सम्पूर्ण सत्ता लुटिएको अवश्थामा थियो। गरीब खान नपाउने र शिक्षाको उज्यालो नभेट्याएका जनता यो लुटिएको सत्ताबाट थरथर कामेर आफ्नो जिबिकोपार्जन गर्ने काममा उनीहरुको सारा जीवन व्यतित भयो।

त्यस बखत नेपाल संसारको विकास र अर्थ राजनीतिबाट अलग थियो। राणाहरु लुटिएको शासनमा ठूला ठूला महल खडा गरी यश आराममा मग्न थिए र भित्रभित्रै सत्ता फेरि लुटिइने डरले हत्या हिंसाको सहारा पनि लिने गर्दथे। सधैं सत्ताको लोलुपताले र भोग बिलासले देशको बिकास ठप्प हुन पुगेको थियो।

यसरी गुज्रिँदै गएको यो लुटको सत्तालाई थाम्न नसकी नेपालमा बि.स. १९९२ देखि भित्रभित्रै राणा बिरोधी आन्दोलन सुरु भइसकेको थियो। तर यो कुरा थाहा पाएर १९९७ मा बिरोधी मध्ये ४ जनालाई गोली ठोकी र झुन्ड्याई मार्ने काम राणा सरकारले गर्यो। जसमा गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र दशरथ चन्द थिए।

र उनीहरु आज नेपालको अमर सहिदमा दर्ज भएका छन्। तर लुटको खेती कहिलेसम्म हुने हो र! आन्दोलन चर्किंदै गयो। यो सत्तालाई फाल्न नेपालका नेताहरु भारत पसे र योजनाबद्ध रुपमा र भारतको सहयोगमा आन्दोलन गरी आखिर राजा त्रिभुवनको नेतृत्वमा २००७ सालमा राणा शासन फालेर प्रजातन्त्रको उदय भयो।

र देशको सत्ता जनताको हातमा आयो। जनताका छोरा मातृकाप्रसाद कोइराला देशका प्रथम प्रधानमन्त्री बने। देश अध्याँरोबाट उज्यालोमा परिणत भयो। तर सबै बनेका जनताका प्रधानमन्त्री भारतमुखी भएकाले देशमा स्वदेशी प्रजातन्त्रको अभ्युदय हुन सकेन। प्रधानमत्री पटक पटक फेरिन थाले। कहिले मातृका कोइराला बने भने कहिले टंकप्रसाद आचार्य त कहिले सुबर्ण शमशेर प्रधानमन्त्री बने।

आखिर २०१५ सालमा फेरि जननिर्बाचित प्रधानमन्त्री बिपी कोइराला बने। तर देशभित्र लुट मच्चिन थाल्यो। देशमा भ्रष्टाचार मौलाउन थाल्यो। सारा नेताहरु भारत परस्त बनेर भारतकै इसारामा देश चल्न र लुट्न थालियो।

यो बेदनालाई सहन नसकी बाध्य भएर राजा महेन्द्रले फेरि जननिर्वाचित प्रधानमन्त्रीलाई अपदस्थ गरी देशमा नयाँ आफ्नै शैलीको पञ्चायती व्यवस्थाको सुरुवात गरे। राजा देशप्रेमी र इमान्दार भएकाले उनको शासनमा देशमा निक्कै बिकास भयो।

राजमार्गहरु बने, उद्योग कलकारखाना निर्माण भए। कृषिमा उन्नति भयो। परराष्ट्र नीतिमा ब्यापक सुधार आयो। नेपाल संयुक्त राष्ट्रसंघको सदस्य बन्यो।

त्रिभुवन विश्वविद्यालयको स्थापना भयो। स्कुल कलेज स्थापना भए। प्रज्ञा प्रतिष्ठानको निर्माण भयो। भुमि सुधार भयो। नेपालको विकास क्षेत्र विभाजन भयो। धान चामल निर्यात हुन थाल्यो।

परराष्ट्र नीतिमा असंलग्न परराष्ट्र नीति अपनाइयो र संसारले यसको प्रशंसा खुबै गरे। जे होस् देशले आफ्नो बिकासको बाटो कोरिसकेको थियो। आखिर राजनेता श्री ५ महेन्द्रको २०२८ सालमा निधन भयो।

त्यसपछि सत्ताको हस्तक्षेप नभई सत्ताको हस्तान्तरण राजा वीरेन्द्रमा गयो र सत्तामा कलह, झैझगडा नभइ शान्तसाग राजसत्ता चलिनै रहेको थियो। तर देश भित्रै रहेका स्वार्थी नेताहरुको सत्ता लोलुपताले देशमा भित्रभित्रै अन्योल छाउँदै गयो र व्यवस्था फेर्ने र आफू सत्तामा जाने होडबाजी चल्यो र यसले तीब्र रुप लियो।

राजाले तुरुन्तै २०३५ सालमा जनमत घोषणा गरे। तर पुरानो व्यवस्थालाई सुधारिएको अवस्थामा ल्याई सुधारिएको पञ्चायती व्यवस्था देशमा लागू भयो। तर देशका लुटेरा नेताहरुलाई यसले पनि चित्त बुझाउन सकेन र २०४७ सालमा बनाइएको संबिधानमा राजा आफैं संबिधान अन्तर्गत रहे र संबिधान भन्दा माथि कोही पनि रहेनन्।

देश लुटिएको थिएन। बिदेसस्को प्रभाव परेपनि राजा त्यसमा कहिल्यै झुकेनन्। देशको एकताका बिन्दु भएर बसे। तर लुट्ने प्रबृत्ति भएका नेताहरुलाई यसले पनि चित्त बुझेन। भित्रभित्र आन्दोलन चर्किरहेको थियो। संबैधानिक राजतन्त्रमा जनताबाट नै प्रधानमन्त्री बन्ने गर्थे र लुटको धन्दा राजाको अगाडि कम हुन्थ्यो।

यो सत्तालाई हटाउन र राजतन्त्रनै फाल्न बिदेशीको चलखेलमा नेपालमा माओवादीको आन्दोलन सुरु भयो। दश बर्षको सशस्त्र युद्धमा देश अचानक ठूलो राजनैतिक र आर्थिक संकटमा पर्न गयो। आखिर २०६२-०६३ देखि नेपालमा राजतन्त्रको अवशान भयो र राजाको सत्ता ढालेर नेपालमा गणतान्त्रिक शासनको नयाँ थालनी भयो।

राजाको ठाउँमा नाम मात्रको राष्ट्रपति र उपराष्ट्रपति बने र प्रधानमन्त्री उही ‘लुटेरा’ पार्टीका नेताहरु पालै पालो हुँदै गए र नया शासनको नाममा देशमा अपार भ्रष्टाचार बढ्यो। अनेक काण्डहरु गरी सारा नेताहरुले अकुत सम्पत्ति आर्जन गरे र आफ्ना आसेपासे र नातेदारलाई अकुत सम्पत्ति कमाउन लगाइ देशलाई कंगाल बनाए।

शिक्षा बेचे,स्वास्थ्य बेचे, उद्योग बेचे, कारखाना बेचे र गणतन्त्रको फोस्रो नारा दिइ देशलाई ऋणको पहाड बोकाए। नेपाली जनतालाई कमाउन बिदेश पठाए। जनताको पसिना लुटे र देशलाई फेरि अन्धकारको मार्गमा धकेले। यहाँ लुट्ने काम बन्द भएको छैन।

२०६२-०६३ देखि चलेको गणतान्त्रिक शासनमा दर्जनौं प्रधान्मन्त्री बने भने सयौं मन्त्रीहरु र मुख्यमन्त्री बने। तर यो २०-२१ वर्षमा देशमा कुनै तात्विक विकास भएको देखिँदैन।

लोभमा फसेका उही पुराना पार्टीका नेताहरुले आआफ्नो शक्ति अनुसारको सम्पत्ति आफ्नो र आफ्ना छोरा नातिसम्मको लागि कुम्ल्याइसकेका छन्। आफ्ना स्वार्थका अनेक कुराहरु जोडी अनेक बहानामा सत्ता लुट्ने काम अझ सम्मपनि चलेकै छ।

देशमा पार्टीहरु भएपनि सबै मिलीजुली गरी सत्ता हस्तान्तरण नगरी लुटी कहिले कसको पोल्टामा त कहिले कसको पोल्टामा पारी देशमा आएको भनिएको प्रजातन्त्र, गणतन्त्र र लोकतन्त्रमा लुट मच्चाइ रहेका छन्।

प्रजातन्त्र, गणतन्त्र र लोकतन्त्रमा चुनावद्वारा सत्ता हस्तान्तरण र पुस्तान्तरण हुनु पर्नेमा बिभिन्न शक्तिको आडमा सत्ता हत्त्याउने र राजनीतिमा आफ्नो दुनोमात्र सोझ्याउने परिपाटीले ठूलो स्थान लिन थाल्यो र हरेक नयाँ सत्तामा उत्सव समारोह मनाउने र आफ्ना आसेपासेलाई मन्त्री, सचिव, राजदूत, महाप्रबन्धक बनाई अकुत सम्पत्ति आर्जन गरी देशको अर्थतन्त्रलाई कंगाल बनाउने काम तिब्र गतिमा बढ्दै जानुलाई लुटतन्त्र नभने अरु के भन्ने?

पचासौं वर्षदेखि उही पुरानै नेताहरुले मिलीझुली सत्ता राज जमाई आएकाले यसलाई लुटिएको सत्ता न भने अरु के को संज्ञा दिने? गणतन्त्र र लोकतन्त्र भएपनि देशलाई यिनै नेताहरुले बारम्बार लुटी आफ्नो र आफ्नो पार्टीको पोषण गरिरहेका छन् चाहे कांग्रेस होस्, चाहे एमाले होस् र चाहे माओवादी निकन नहोस्। देशको हितलाई प्रभाब पार्ने काम यी पार्टीहरुबाट भएको देखिँदैन। यहाँ लुट्ने र लुटाउने काम हरेक क्षेत्रमा भइरहेको छ।

कसैलाई बिश्वास गर्ने ठाउँ कतै छैन। चप्पल लगाएर हिँड्ने सारा नेताको आज ठूला ठूला महल बनेका छन् भने गरीबको झोपडी हेर्न यहाँ ठूला ठूला भ्युटावर बनेका छन्। कुनै आधारभूत आवस्कताको परिपूर्ती गरिएको छैन। राम्रा इमान्दार मानिसहरुलाई पाखा लगाउने काम भइरहेको छ।

सबै राजनीतिक पार्टीको रंग र सिद्धान्त एकै भएको छ। को कांग्रेस, को कम्युनिष्ट छुट्याउन गाह्रो छ। कारण सबै मिलेर देशलाई लुटिरहेका छन्। यो लुटको शासन न भए के हो त? चाहे प्रजातन्त्र होस्, गणतन्त्र होस् वा लोकतन्त्र नै किन नहोस्।

समष्टिगत रुपमा भन्ने हो भने यहाँ सबै कुरामा लुट्ने काम भइरहेको छ। के यो राणा शासन भन्दा फरक छ र? आज राष्ट्रको सम्पूर्ण गति हेर्दा विश्व हाँसिरहेको छ। खोइ देशमा राष्ट्रबादी नेता, खोइ देशमा लि कुआन यु जस्ता नेता, खोइ देशमा नेल्सन मण्डेलाजस्ता नेता, खोइ देशमा सी जिन पिंग र पुटिन जस्ता नेता र खोइ देशमा पृथ्वीनारायण शाह जस्ता राजनेता जसले आफ्नो देशलाई धेरै बिकासको उचाईमा लान सके। देशले खोजेको नेता यस्तै हुन् जो आफ्नो देशको लागि मरिमेटुन्। रागट्र निर्माणमा समर्पित बनुन्।

अतःआजको लुटतन्त्रलाई सम्हाल्न देशलाई एक नयाँ राजनेताको अत्यन्त आवश्यकता परेको छ, जसले यो लुटलाई जरैदेखि उखेली फालोस् र राष्ट्रको समष्टिगत निर्माणमा एउटा नयाँ खाका बनाइ राष्ट्रलाई एउटा नयाँ दिशा निर्देश दिन सकोस्। राष्ट्र औ अन्तर्राष्ट्रिय जगतमा नेपालको नाम सधैं उँचा राख्ने काम गरोस्। आज सम्पूर्ण तीन करोड जनताको आशा, इच्छा र खोज यही नै रहेको छ।

त्यसकारण आजका पार्टीका जल्दाबल्दा नेताहरुले यो लोकतन्त्रमा सत्ता हत्त्याउने होइन, बरु समयानुसार सबै बुद्धि र इमान भएका नेतालाई मौका दिइ सत्ता पुस्तान्तरण र हस्तान्तरणको काममा लाग्नुपर्छ। यसैबाट नै नेपालको वर्तमान र भविष्यको उज्यालो किरणको आशा गर्न सकिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *