दुई दलीय अवधारणा एमाले महासचिव शंकर पोखरेलको निजी धारणा

शरद रिजाल
६ भदौ २०८१ १२:२३

काठमाडौं। नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले मुलुकलाई दुई दलीय शासन प्रणालीमा लैजानुपर्ने सार्वजनिक बहस सुरु गरेका छन्।

उनले अस्थिरताको मूल कारक बहुसंख्यक साना दलहरु भएकाले त्यसलाई निरुपण गर्न बलियो राष्ट्रिय शक्तिका रुपमा दुई दलीय शासन प्रणाली अबलम्बन गनुपर्ने वकालत गर्दै आएका छन्।

अन्य विकसित देशको उदाहरण दिँदै उनले धेरै दल अस्थिरताको कारक भएकाले बलियो राष्ट्रिय शक्तिका रुपमा दुई दलीय अभ्यासमा जानुपर्ने तर्क महासचिव पोखरेलको छ।

तर, महासचिव पोखरेलले सार्वजनिक रुपमा प्रकट गरेको उनको मत पार्टीले संस्थागत रुपमा स्वामित्व लिइ सकेको छैन। यस बारेमा एमाले अध्यक्ष केपी शर्मा ओलीले कहीँकतै पनि सार्वजनिक रुपमा पोखरेलको धारणाप्रति सहमति जनाएका छैनन्।

तथापि कम्युनिष्ट पार्टीमा भावी उत्तराधिकारीका रुपमा मानिने महासचिव पदमा आसीन पोखरेलको अभिव्यक्ति एमालेको संस्थागत धारणा त होइन? भन्ने प्रश्न समेत राजनीतिक वृत्तमा उठेको छ।

एमालेले पाँचौं महाधिवेशन यता अंगीकार गर्दै आएको पथप्रदर्शक सिद्धान्त जनताको बहुदलीय जनबाद (जबज)  हो। यसले प्रतिस्पर्धालाई स्वीकार गरेको छ।बहुसंख्यकहरु बीचको प्रतिस्पर्धामार्फत श्रेष्ठता हासिल गरेर राजकीय पदमा पुग्नु नै जबजको मूल ध्येय हो। यो जबजमा स्पष्ट ढंगले उल्लेखित छ।

यता, एमालेकै नेताहरुले सार्वजनिक रुपमा पोखरेलले व्यक्त गरेको धारणा उनको निजी अभिव्यक्ति भएको बताइरहेका छन्। एमालेका उपाध्यक्ष युवराज ज्ञवाली पनि जबजको मर्म बहुलवादी खुला समाज भएकाले त्यसले दुई दलीय प्रणालीलाई पूर्णतया अस्वीकार गरेको बताउँछन्।

निर्वाचन प्रणालीमार्फत जनताले आफ्नो अभिमतद्वारा दुई वटामात्रै राजनीतिक शक्तिलाई स्थापित गरेको अवस्थामा बाहेक अन्य परिस्थितिमा बाध्यकारी रुपमा दुई दलीय प्रणाली लागू गर्ने प्रयत्न जबजको मर्मविपरीत हुने उनले प्रष्ट्याए।

‘जनताको जनमतबाट दुईवटामात्रै राजनीतिक शक्ति स्थापना गरिएमा त्यो अन्यथा भएन’, उनले भने, ‘तर बाध्यकारी रुपमा दुई दलीय व्यवस्था संवैधानिक तवरले लागू गरिनु भनेको जबजको मर्मविपरीत हाे।’

एमालेमा पोखरेल जबजका व्याख्याता पनि हुन्। उनलाई जबजका प्रतिपादक तत्कालीन महासचिव मदन भण्डारीको उत्तराधिकारीका रुपमा पनि पार्टीभित्र चित्रित गरिन्छ। तथापि उनै पोखरेलले पश्चिमा मोडेलको दुइ दलीय अवधारणा नेपालमा लागू गर्नुपर्ने बताइरहँदा यो विषय अहिले सर्वाधिक चर्चामा रहेको छ।

साना पार्टीलाई विस्थापन गर्ने गरी थ्रेस होल्ड बढाउनुपर्ने तर्क पनि महासचिव पोखरेलको छ। उनले प्रदेश र केन्द्रमा हाल कायम गरिएको थ्रेस होल्डको अनुपात थप बढाउनुपर्ने बताइरहेका छन्।

तर, महासचिव पोखरेलले प्रकट गरेको दुइ दलीय अवधारणालाई एमालेले हालसम्मै पार्टीमा छलफल समेत चलाएको छैन। उनको धारणालाई एमालेले संस्थागत स्वामित्व नलिएको उपाध्यक्ष ज्ञवाली प्रष्ट्याउँछन्।

‘जबजको मर्म बहुदलीय व्यवस्थाको आधारमा चल्ने हो, दुई दलीय व्यवस्थाबारे संस्थागत निर्णय पार्टीमा भएको छैन।’, उपाध्यक्ष ज्ञवाली भन्छन्, ‘दशौं महाधिवेशनले जबजलाई नै निरन्तरता दिएकाले त्यो उहाँको व्यक्तिगत धारणा हो। ’

जबजले बहुदलीय व्यवस्थालाई स्वीकार गरेको एमालेका नेताहरु सार्वजनिक रुपमा बताउँदै आइरहेका छन्। दुई दलीय व्यवस्थाको वकालत जबज विरोधी अभिव्यक्ति भएको एमालेका नेताहरुको सार्वजनिक स्वीकारोक्ति छ।

यो पनि पढ्नुस्

जबजविरोधी दुई दलीय शासन प्रणालीको पक्षमा एमाले महासचिव शंकर पोखरेल




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *