सहकारी संस्था समुदाय लक्षित हुनुपर्छ : प्रमुख दाहाल
चितवन। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सहकारी संस्थाहरु समुदाय लक्षित हुनुपर्ने बताएकी छन्। भरतपुर ९ स्थित त्रिपुरेश्वर सहकारी संस्थाको १३ वार्षिकोत्सवको अवसरमा खाद्य उद्योग भवनको उद्घाटन तथा खाद्य गोदामको शिलान्यास गर्दै प्रमुख दाहालले स्थानीय सरकार र सहकारी समुदाय केन्द्रित भएर काम गर्नुपर्ने उल्लेख गरिन्।
‘अहिले सहकारीमा समस्या देखिएको छ, उनले भनिन्, ‘सबै सहकारीहरुले मर्म विपरित काम गरेका छैनन्। यही समयमा राम्रो पनि सहकारी छन् भन्ने सन्देश दिन आवश्यक छ।’
प्रमुख दाहालले कृषिको क्षेत्रमा महानगरले धेरै काम गर्दै आएको र यस वर्ष सिँचाईको क्षेत्रमा काम गर्न लागेको बताइन्।
नारायणी लिफ्ट सिँचाईलाई हिउँदमा पनि सञ्चालन गर्ने गरी बजेट विनियोजना गरिएकाले अब थप काम अघि बढ्ने उनको भनाइ थियो।
यस्तै महानगरका उपप्रमुख चित्रसेन अधिकारीले सहकारीको जननी जिल्ला भरतपुरले सहकारी र समुदायसँगको सहकार्यको सन्देश देशभर प्रवाह गर्नुपर्ने उल्लेख गरे।
सहकारी आर्थिक विकासको मेरुदण्ड भएकाले यसलाई जगदेखि नै बलियो राख्ने कार्य सबैको भएको उनको भनाइ थियो।
सहकारीले सञ्चालन गरेको खाद्य उद्योगको मिलमा धान निःशुल्क रुपमा कुटाइने जनाइएको छ। ढुटो छोड्दा प्रतिकेजी एक रुपैयाँका दरले रकम फिर्ता गर्ने गरेको छ। अन्य खाद्यान्न कुटनी र पिसनीमा पनि स्थानीय मिलमा भन्दा कम दररेट कायम गरिएको छ।
त्यस्तै तोरी पेल्दा पिना छोड्नेलाई प्रतिकेजी पाँच रुपैयाँ दिने र पिना लानेलाई प्रतिकेजी ८ रुपैयाँ लिने गरेको सो संस्थाको दररेटमा उल्लेख गरिएको छ। तोरीको तेल, पिना र अन्य खाद्यान्न किन्दा पनि अन्य स्थानीय मिल र पसलमा भन्दा सस्तोमा किन्न पाइन्छ। तोरी तेल प्रति लिटर ३ सय ४०, धानको ढुटो प्रतिकेजी ३५ रुपैयाँमा विक्री वितरण गरिएको सहकारीका अध्यक्ष वेदप्रसाद सापकोटाले बताए।
संस्थाका सदस्यलाई पिना प्रतिकेजी ३५ रुपैयाँ, गैर सदस्यलाई ३८ रुपैयाँमा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । एक पटकमा ५० केजीसम्म पिना किन्न पाइन्छ ।
सहकारीले सञ्चालन गरेको मिलमा कुटनी, पिसनी र पेलानी लगायत खाद्यान्न किन्दा सस्तो र भरपर्दो भएपछि स्थानीयको आर्कषण बढेको छ ।
Facebook Comment