समृद्धिको लागि सम्भावनाको खोजी गरौं
नेपाल सम्भावनै सम्भावनाको देश हो। यहाँ धेरै संभावना छन् खोज्न र रोज्न जान्नु पर्दछ। र, सम्भावनालाई समृद्धिको लागि व्यवसायमा तान्न जान्नु पर्दछ।
उत्पादन, बजार, आम्दानी, व्यवसाय श्रमिक आदि इत्यादि सबै सम्भावना केलाउने र जमेर व्यवसायमा लाग्ने हो भने व्यक्ति, समुदाय र राष्ट्रले समृद्धि हसिल गर्न धेरै समय खेर फाल्नै पर्दैन। यस्ता केही सम्भावनाको खोजी गरौं जो व्यवसायिक किसिमले सफल हुन सक्छन्।
अथवा यस्ता व्यवसाय र उत्पादका सफलताका उदाहरणहरु खोजी गरौं जसले सफलता हासिल गरेका छन् जो अरुका लागि प्रेरणादायी बन्न सकून्। आज हामी यस्ता केही सम्भावनाको खोजी गरौं केही सफलताका कथाहरुबाट प्रेरणा लिऔं। हरेक सम्भावनाको खोजी हरेक सफलताको गर्भधान हो। संभावना र सफलताको एक अर्कामा अन्योन्याश्रित सम्बन्ध छ।
विदेशमा जाउँला नि धन कमाई ल्याउँला भन्ने खालका गीतलाई बदलेर स्वदेशमै बसी काम गरौंला यही छिट्टै धनी बनौंला भन्दै गाउनु भनेको नै नेपाल भित्र नै सम्भावनाको खोजी हो स्वदेशमा बस्ने स्वदेशमै व्यवसाय बनाउने स्वदेशमै कमाउने रमाउने भनेको नै स्वदेश भित्रका अनेक सम्भावनाहरुको खोजी हो।
र सफलताका सकारात्मक उदाहरणहरु पस्केर विकल्प नेपालमा पनि छन् है भनेर उद्घोष गर्नु हो। कतिले सम्भावनाको खोजी गरेका छैनन् भने कतिले भेउ पाएका छैनन्। निजी क्षेत्र पनि गम्भीर भएर लागेको छैन भने सरकारले पनि यस दिशामा खासै काम गरेको पाइँदैन।
कम्तिमा पनि सरकारले नागरिकहरुलाई अनेक सम्भावना देखाउन सक्थ्यो। अनेक बाटो देखाउन सक्थ्यो। तिमी यो व्यवसाय गर तिमीलाई बजार खोज्ने काम हाम्रो भनेर सरकारको भूमिका कहिल्यै सहयोगी भएको पाइएको छैन।
सरकार नागरिकहरुमा सम्भावना र सपनाको भारी बोकेर प्रवेश गर जसले नागरिकहरुको जीवनमा परिवर्तन ल्याउन सकोस् र ती परिवर्तनमा देश रमाउन सकोस्।
सानो लगानीले धेरै फाइदा लिन सकिने सम्भावना बोकेका के व्यवसाय होलान् नेपालमा ? सरकारसँग यस्ता प्रश्नको जवाफ दिन सकिने जवाफ बैंक हुनुपर्दछ। सरकारले यस्ता सम्भावनाको प्रसस्त अध्ययन गरेको हुनुपर्दछ। सरकारले यस्ता क्षेत्रमा पर्याप्त अनुसन्धान गरेकै छैन।
वास्तवमा अनुसन्धानमा सबभन्दा कम खर्च गर्ने देशमा शायद नेपाल नै होला। अरु विकसित देशले समृद्धिको आधार अनुसन्धानलाई बनाएका छन्। पर्याप्त अनुसन्धान नगरी कसरी सकारात्मक परिणाम निस्कन सक्छ? बजार लिन सक्ने, फाइदा दिन सक्ने लगानी नडुब्ने व्यवसाय र उत्पादनका सही जानकारी नपाएर धेरै मानिसहरु क्षमता हैसियत भएर पनि लगानी गर्न सकेका छैनन्।
सम्भावनाको खोजी गर्ने जनसाधरणलाई सही समयमा सही सल्लाह दिने सरकारको निकाय भएमा धेरै मान्छेहरु व्यवसायी भएर जाने थिए। सम्भावनाको खोजी गर्ने काम आफैंमा सफल व्यवसायको पूर्वाधार हो।
तसर्थ पनि सम्भावनाको खोजी गर्ने कामलाई सबैले प्राथमिकताको साथ महत्व दिएको खण्डमा मात्र आर्थिक समृद्धिका फाँटमा सफल व्यवसाय रम्न र जम्न सक्छ। राजनीति वा सरकारी अधिकारी, सम्पन्न आफ्नै स्वार्थको मात्र रोटी सेकाउने सम्भावनाको खोज गर्ने भए भने चाहिँ कुनै पनि सम्भावनाको ढोका उघ्रँदैन।
नेपालमा कृषि क्षेत्रमा मात्रै यति धेरै सम्भावना छन् कि व्यवसायिक किसिमले पकेट क्षेत्र बनाएर अलग अलग किसिमले खेती गर्ने हो भने हो भने आर्थिक अवस्थामा गम्भीर फेर बदल आउन सक्छ। कृषि क्षेत्रका केही प्रतिनिधिमूलक सम्भावना बारे छलफल चलाउन सकिन्छ।
जसको खेतिले देश र जनताको हित र जित एकैपल्ट हुन सकोस्। यस्ता केही बालीको सम्भावना उत्पादन बजार र व्यवसायबारे केही चर्चा गरौं। नेपालको जलवायु माटो यस्तो छ जहाँ काँस, घाँस बाँस जेको पनि व्यवसायिक खेती गर्न सकिन्छ। यहाँ बाँसको व्यवसायिक खेतीको सम्भावनाको सानो चर्चा गरौं।
गाउँघरमा बाँस सम्बन्धी एउटा भनाइ चल्तीमा छ-बाँस सबैको भलो बन्दैन खाली हलो।’ यसबाट पनि थाहा हुन्छ कि बाँस बहुउपयोग बनस्पति हो। अब यसको व्यवसायिक सम्भावनाबारे केही जानकारी हासिल गरौं।
बाँसको व्यवसायिक सम्भावना बारे चर्चा गर्दा दुई कुरामा हेक्का राख्नै पर्दछ। पहिलो हो नेपालमा पहाडदेखि तराईको जुनसुकै भागमा पनि बाँसको खेती गर्न सकिन्छ। अर्थात् बाँसको लागि सबै क्षेत्र उर्वरा छ। दोस्रो हो अर्ब भन्दा बढी जनसंख्या भएको नेपालको उत्तर छिमेक चीनमा बाँँस, बेतले बनेका सामानको ठूलो बजार छ।
हामीले पनि ढाँचा ढर्रा छोडेर सरकारी अफिसमा बाँसबेतका कुर्सी प्रयोग गर्ने हो भने बाँसको खेती र उद्योगको राम्रो सम्भावना देखिन्छ। व्यापक बाँस, बेतको खेती गर्ने हो भने पहिरो तथा भूक्षयलाई पनि रोकथाम गर्न सहयोग मिल्छ। अर्कोतिर बाँसबाट सामाग्री उत्पादन गर्दा कार्वन उत्सर्जनमा समेत उल्लेख्य सन्तुलनमा पनि सहयोग मिल्दछ।
अन्तर्राष्ट्रिय गुणस्तरको मिनरल वाटर नै उत्पादन गरेर बेचेमा पनि नेपालले पानीबाट पनि धेरै कमाउन सक्छ। यतातिर खासै ध्यान गएजस्तो देखिएन। भटमासको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय माग र बजार त्यतिकै बलियो छ। नेपालको अधिकांश पहाडी क्षेत्रमा भटमासको राम्रो उत्पादन गर्न सकिन्छ।
किसानले राम्रो दाम पाउने आधार निश्चित गरेमा यस्ता धेरै कृषिबालीबाट धेरै उत्पादन र आम्दानी बढाउने सम्भावना जतााततै छ। इलामको एउटै उद्योगबाट वर्षमा असीहजार कि छुर्पी अमेरिकामा निर्यात गर्छृ। यो इलामको उद्योग हो।
गुणस्तरीय प्रांगारिक मल हालेर सामुहिक तरकारी खेती गरेर नेपाली किसानले खाडीका देशमा तरकारी निर्यात गर्ने सम्भावना छैन र? नेपाली युवाहरुमा माटोसँग सम्बन्ध जोड्ने होइन कि सम्बन्ध तोड्ने प्रवृति बढिरहेको छ। हामीले सही नीति बनाएनौं कि सही नेता जन्माएनौं सोच्ने बेला आएको छ। मरुभूमीको इजरायलले के भन्ला यस्तो उर्वरा भूमी नेपाललाई?
नेपालमा चामल मात्र करोडांैको आयत भै रहेको छ भारतबाट। जवकि केही दशक अगाडिसम्म नेपालबाट भारतमा निर्यात हुन्थ्यो। यसले पनि जाहेर गर्दछ कि नेपाल चामलको राम्रो बजार भएको देश हो। बजार मात्र होइन कि उत्पादनको राम्रो आधार भएको पनि देश हो।
धान उत्पादनको लागि चाहिने उब्जाउ जमिन पनि छ, पानी पनि छ र श्रम शक्ति पनि छ तर पनि चाहे जस्तो उत्पादन लिन सकेको छैन नेपालले? उत्पादन र बजारको यति धेरै सम्भावना भएको खाद्य वस्तुमा नेपाल आत्मनिर्भर मात्र होइन कि निर्यातक देश नै भएको हुनुपर्दथ्यो निकै वर्ष अडाडि नै। के यो सम्भावनाले सम्बन्धित सबैको ध्यान तान्नु पर्ने होइन र?
चामल मात्र होइन खसी बोका राँगा भैंंसी माछा आदि पनि त्यसरी नै कारोडौंका नेपालमा आयत भएको पाइएको छ। त्यो पनि भारतबाट नै। के यी सबै नेपालमा नै उत्पादन गरेर नेपाल कै आवश्यकता पूरा गरेर करोडौं नगद बाहिर जानबाट रोक्ने सम्भावना छैन र?
१२ घण्टा भन्दा बढी विदेशमा जोखिम मोलेर काम गर्ने नेपाली युवाहरु आफैं मालिक आफैं नोकर भएर आफ्नै व्यवसाय आफ्नै मुलुकमा आफ्नै लागि काम गरेमा यो सबै सम्भावना छ। सरकार तथा वित्तीय संस्थाहरु सहयोगी र उनीहरुमा देशभित्रै काम गर्ने सकारात्मक सोच भएमा यो सबै संभव छ।
फिनल्याण्डले जंगलको व्यवसाय गरेर नै आफ्नो देशलाई धनी देशमा गणना गराउन सफल भएको छ। केही दशक अघिसम्म नेपाललाई हरियो वन नेपालको धन भनिन्थ्यो। अहिले त नेपालमा वन धेरै नै मासिएर गएको छ।
कतिपया पुराना रुख विस्थापित गरेर ती रुखबाट पनि आम्दानी लिन सकिने सम्भावना पनि छ। त्यसपछि व्यवस्थित तथा वैज्ञानिक किसिमले नयाँ जंगलको खेती पनि गर्न सकिने सम्भावनाबारे पनि जाँचपड्ताल गर्दा पनि राम्रै होला। के हरियो वन नेपालको धन भन्ने पहिलेको चर्चित भनाइलाई अहिले वनको खेती गरेर व्यवहारबाटै प्रमाणित गर्ने सम्भावना छैन र? यो पनि एउट सम्भावना हो।
यी त केही प्रतिनिधिमुलक संभानाका चर्चा गरिएको हो। यस्ता धेरै सम्भावनाहरु हाम्रै वरिपरि निदाएर बसेका होलान्। नजानेका होलान् थाहा नपाएका होलान्। यिनलाई खोतल्ने र सम्भावना देखेमा अघि बढाउने हाम्रै हातमा छ।
सरकार पनि व्यवसायी पनि विज्ञ पनि र आम जनसाधरण पनि एक भएर लागेको अवस्थामा यसबाट धेरै सफलता हात लाग्न सक्छ। चीनलाई के दिन सक्छौं भारतलाई के दिन सक्छौं दक्षिण एसिया पश्चिम एसिया, दक्षिण पूर्वी एसिया वा युरोपमा अमेरिकामा नेपालले के पठाउन सक्ने सम्भावना छ।
अध्ययन अनुसन्धान गहिरिएर गरेमा नयाँ संभाननाहरु उजागर भएर जान सक्छ। ती सम्भावना माथि उभिएर नेपालले नयाँ सिराबाट उत्पादनको थालनी पनि गर्नसक्छ। आशा गरौं नेपाल एक ढिक्का भएर सबै सम्भावनाको खोजीमा लाग्ने र जाग्ने छ। सबैमा चेतना भया।
Facebook Comment