श्वेता खड्काको प्रश्न : उहाँलाई गर्ने मायाको मापन पत्रकारको कलमले कसरी गर्न सक्छ ?
काठमाडौं। नेपाली चलचित्रका चर्चित अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भएको पाँच वर्ष पुगेको छ। २०७१ साल साउन २५ गते श्रीकृष्णको निधन भएको थियो।
श्रीकृष्णको निधन भएको पाँच वर्ष पुग्दा श्रीमती श्वेता खड्का हाल बेल्जियम पुगेकी छन्। स्वर्गीय पतीको सम्झनामा स्थापित श्वेताश्री फाउण्डेसन मार्फत बनिरहेको माझी बस्तिको लागि आर्थिक स्रोत जुटाउन श्वेता बेल्जियम पुगेकी हुन्।
उनले त्यहाँबाट फेसबुकमा एउटा लामो भावुक स्टाटस पोष्ट गरेकी छन्। जुन स्टाटस् आफू र परिवारले स्वर्गीय श्रीकृष्णलाई भुल्दै गएको भन्नेहरुप्रति लक्षित छ। साउन २५ गते एक अनलाइन मिडियामा प्रकाशित लेखप्रति उनको भनाइ लक्षित देखिन्छ ।
स्वर्गीय श्रीकृष्णसंगको तस्वीर सहितको स्टाटस मा उनले भनेकी छन्, –‘आफ्नो आत्मीय मान्छेलाई सम्झन कुनै बिशेष अवसर वा दिन चाहिँदैन । म त उहाँलाई हरेक पल, हरेक क्षण र हरेक दिन सम्झिरहेको हुन्छु ।’
उनले यसवर्ष पुण्य तिथि साउन २९ गते परेको जनाउँदै कसैको भावनामा ठेस लाग्ने खालका समाचार सम्प्रेषण नगर्न आग्रह गरेकी छन्। श्रीकृष्णको निधन तिथिअनुसार श्रावण शुक्ल चतुर्दशीको दिन भएको थियो । हिन्दू परम्परामा तिथिअनुसार वार्षिक पुण्यतिथिको संस्कार गरिन्छ ।
उनले अगाडि लेखेकी छन्, –‘चक्कु, खुकुरी, तलवार र काँडाहरु भन्दा पनि तिखो धार भनेको शब्दहरु नै हुन् । हतियारको धारले शरीरमा चोट पुर्याउँछ । जसको उपचार पनि सजह छ तर शब्दको धारले सिधै मन र मस्तिष्कमा चोट पुर्याउँछ, जसको उपचार कठिन छ ।’ उनले आफूले स्वर्गीय पतिलाई गर्ने मायाको मापन कुनै पत्रकारको कलमले गर्न नसक्ने बताएकी छन्।
उनको स्टाटस् भाषिक शुद्धताबाहेक जस्ताको जस्तै उल्लेख गरिएको छ :
मैले के गुमाए र के पाएँ ? त्यसको हिसाबकिताव गर्ने हो भने यो उमेरसम्म आईपुग्दा जति पाएको छु त्यो भन्दा धेरै कुरा गुमाएको छु ।
सबैभन्दा सर्वश्रेष्ठ कुरा, मैले मेरो आत्मिय ब्यक्ती गुमाएको छु । जसको भर्पाइ कुनै धन–सम्पत्ति वा सफलताले गर्न सक्नेछैन । मेरा प्रेमी, पती, मित्र र अभिभावकको भूमिका निर्वाह गरेर मलाई सिनेमाको जगतमा पाइला चाल्न सिकाउने ति ब्यक्ती जसलाई मैले भौतिक रुपमा सदासदाको लागि गुमाएको मेरो जिन्दगीको सबैभन्दा कालो त्यो दिनलाई सम्झनमा भन्दा पनि बिर्सन चाहन्छु । तर कुनै न कुनै माध्यमबाट त्यो कालो दिनलाई सम्झाइदिने अनि खाटो बस्न लागेको घाउमा नुन चुक छरिदिने प्रयासहरु भई नै रहन्छन ।
श्वेता खड्काले हाँस्नु हुँदैन, श्वेता खड्का आँशुमा नै डुबेर बस्नुपर्छ भन्नेहरुको जमात पनि राम्रै देखेको छु । तर त्यो जमातलाई थाहा छैन, पिंडा दबाएर हाँस्न कति कठिन छ भनेर । उहाँले भौतिक रुपमा संसारबाट बिदा लिएको त्यो दिनमा धार्मिक मूल्य र मान्यतालाई आत्मसाथ गर्दै तिथी अनुसार (नकी गते अनुसार ) कर्मकाण्डको विधी पुरा गर्ने गरेका छौ । अतः यसपाली उहाँको ५ औ पुण्य तिथी आगामी २९ गते परेको छ । जनै पुर्णिमाको एक दिन अगाडि । आफ्नो आत्मिय मान्छेलाई सम्झन कुनै बिशेष अवसर वा दिन चाहिँदैन । म त उहाँलाई हरेक पल, हरेक क्षण र हरेक दिन सम्झिरहेको हुन्छु ।
धार्मिक रितिरिवाज र परम्परालाई आत्मसाथ गर्ने कुरा भने अलग रह्यो जसलाई तिथी अनुसार नै कर्मकाण्ड गर्ने प्रचलन छ । तर वास्तविक कुरा नबुझी कसैको भावनामा ठेस लाग्ने खालका समाचार बनाएर सम्प्रेशण गरिनु कहाँ सम्मको जायज हो ? चक्कु, खुकुरी तलवार र काँडाहरु भन्दा पनि तिखो धार भनेको शब्दहरु नै हुन । हतियारको धारले शरीरमा चोट पुर्याउँछ । जसको उपचार पनि सजह छ तर शब्दको धारले सिधै मन र मस्तिष्कमा चोट पुर्याउँछ, जसको उपचार कठिन छ ।
कलमको माध्यमद्वारा शब्द कोरिरहँदा त्यो शब्दले कसलाई र कुन हदसम्म प्रहार गर्छ भनेर नसोँच्नु कतिसम्मको लापर्वाही होला ! यसरी बुझ्दै नबुझी समाचार प्रकाशित गर्दा कस्को मनमा के चोट पर्छ भन्ने ख्याल नगर्नु र जस्को बारेमा समाचार बनाएको हो त्यो ब्यक्तिसंग कुनै किसिमको संवाद, छलफल वा सत्यतथ्य के हो त्यसको खोजतलास नगरी हचुवाको भरमा समाचार लेख्नुलाई कस्तो किसिमको पत्रकारिता भन्ने ? कसैको भावनासंग खेल्ने अधिकार कोही कसैलाई छैन ।
मैले मेरा स्वर्गिय पतिलाई गर्ने मायाको मापन कुनै एउटा पत्रकारको कलमले कसरी गर्न सक्छ ? जो ब्यक्ती आफ्नो मुटुमा बसेको हुन्छ त्यो ब्यक्तिलाई भुल्न चाहेर पनि भुल्न सकिँदैन । चोखो मायालाई न त भुल्न सकिन्छ न त त्याग्न नै ! मैले मेरा पतिबाट प्राप्त गरेको असिम मायालाई यो जनममा त पक्कै भुल्न सक्ने छैन किनकी हाम्रो माया अटुट छ, चोखो छ अनी निस्वार्थ छ । माया र सम्झनाको तौल हुँदैन, आकार हुँदैन अनि सिमा पनि हुँदैन ।
मेरा स्वर्गिय पतीप्रतिको मेरो प्रेम बुझ्नलाई कोमल हृदय चाहिन्छ । मायाको अर्थ बुझ्नेहरुले मात्र मेरो भावनालाई बुझ्न सक्छन । अतः मेरो मुटुमा बाँचिरहेका, मेरो ओंठमा हाँसिरहेका, मेरो हरेक पाइलाहरुमा छाया बनेर मसंगै हिंडिरहेका अनि मेरा हरेक सफलताहरुमा रमाइरहेका मेरो जीवनसाथी अझै पनि मेरो मन र मस्तिस्कमा जिवितै छन् र सदा सदा जिवित रहनेछन । माया र प्रेमलाई औपचारिकताको माध्यमबाटै सबै सामु दर्शाउनुपर्छ भन्ने सोचलाई म कदापी मान्दिन । प्रेमका बनावटी शब्दहरु कोरेर कृतिम आत्मियता दर्शाउनेहरुले यदि श्रीदादालाई साँच्चिकै माया गर्छन् भने उनै दादाको नाममा बनिरहेको माझी बस्तीमा जाउन र आफूले सकेको सहयोग गरेर उहाँप्रती सच्चा श्रद्दान्जली दिउँन । हैन भने मनगढन्ते कथा रचेर कसैको प्रेम, भावना र विश्वासमाथि खेल्ने अधिकार कोही कसैलाई पनि छैन ।
यतिखेर म मेरो स्वर्गिय पतीको सम्झनामा स्थापित श्वेताश्री फाउण्डेसन मार्फत बनिरहेको माझी बस्तिको लागि आर्थिक स्रोत जुटाउन बेल्जियम आईपुगेको छु । तर मेरो अनुपस्थितिमा केही अनलाईन मिडियामार्फत म र मेरो स्वर्गिय पतीबिचको प्रेमलाई ‘जोक’ बनाउने प्रयास गरेको पाएँ क्रिपया यस्तो घिनलाग्दो खेल नखेलिदिनुहुन म हार्दिक अनुरोध गर्दछु ।
Facebook Comment