अध्यात्म

जोगीहरुले हाम्रै खरानी घस्नुपर्छ 

हरिप्रसाद सोडारी
१४ भदौ २०८१ ७:३८

विकारलाई हटाउने, समाजलाई मिलाउने, शास्त्रलाई पढाउने, राष्ट्रलाई जोगाउने, ईश्वरका प्रतिनिधिहरुलाई जोगी भनिन्छ। योगीको अपभ्रंश भई जोगी शब्द बन्यो।

नेपालको नाम नै नेमुनिबाट रहन पुग्यो, नेपालको आधुनिक एकीकरण गोरखनाथको आशीर्वादको ऊर्जाबाट भयो, पशुपति र बुद्ध योगी नै हुन्।तन्त्र र मन्त्र, शिक्षा र प्रशिक्षणबाट समाजलाई बचाउन नेपालीयोगीले आजपर्यन्त महनीय योगदान गरेका छन्।

उनीहरुको मुटुमा नेपाली माटो छ, उनीहरुको संस्कारमा नेपाल राष्ट्र छ, उनीहरुको कर्ममा नेपालको भविष्य घुमिरहेको छ किन कि उनीहरुले नेपालमा बनेको खरानी घसे, नेपालमा बनाएको भस्म लगाए, नेपालमै पलाएको कपाललाई जटा बनाए।

जोगीलाई हटाइदिने हो भने हाम्रो शिक्षा अपाङ्ग, समाज असभ्य, तीर्थस्थल खल्लो, संस्कृति अधुरोमात्र हुँदैन नेपाल एकीकरण हुन्थ्यो कि हुन्थेन भन्न सकिन्न। जोगी बन्न गाह्रो, पाउन दुर्लभ, चिन्न कठीन भए पनि लाभ लिन सजिलो छ। खरानी घस्दैमा, टुप्पी फाल्दैमा, गेरुवा वस्त्र लगाउँदैमा, घरपरिवार त्याग्दैमा जोगी हुँदैन।

महादेव, विष्णु र ब्रम्हाजी पहिलो जोगी एवं पार्वती, लक्ष्मी, सरस्वती पहिलो जोगिनी हुन्। दुर्गा, काली, भैरव, नन्दी, हनूमान्लगायतका कैयौँ देवीदेवता, देवगणहरु जोगी र जोगिनीको मार्गमा लागेकै कारण ईश्वरीय ऊर्जा प्राप्त गरे। जोगीले शासन गर्न, रक्षा गर्न, जोगाउन, बचाउन, संरक्षण र पालन गर्न सक्छ।

जोगी सबैका नाथ हुन्, संरक्षक र पालक हुन्। नेपालका शाह राजाहरूको लालमोहरमा ‘नाथस्य नायवी’ लेखिएको हुन्थ्यो अर्थात् आफूले नेपालमा शासन नगरेको तर गोरखनाथको नायवी चलाएको सम्झन्थे।

नेपाल देवस्थल भएकाले शासकलाई देवीदेवताको प्रतिनिधि सम्झने तथा शासकहरु सबैका अभिभावक बन्ने भएमात्र राजनीति टिक्छ। हाम्रा ऋषिमुनिहरू संसारमा रहे, विवाह गरे तर संसारी बनेनन्, परिवारमा रमाए तर मोहमा जीवन गुमाएनन्, अर्थ आर्जन गरे तर भ्रष्टाचारमा डुबेनन्।

महादेवले हिमालमा तप गरेर, विष्णु समुद्रमा योगनिद्रामा रहेर, ब्रम्हाजीले कमलमाथि ध्यान गरेर प्राप्त उलब्धी संसारलाई दिए तर आफूले लिएनन्। जोगीले पाटीपौवा र मठमन्दिर बनाएर, गुरुकुल र अन्नक्षेत्र खोलेर, संस्कार र परम्पराको प्रशिक्षण दिएर समाज र राष्ट्रको हित गरे।

जोगीले जीवन जीउने कला सिकाउँछन्, परमात्मा भेट्ने बाटो देखाउँछन्, जन्मको प्रयोजन बताउँछन्। लक्ष्य प्राप्त गर्न जोगी बन्नै पर्छ। हाम्रो भूमि, समाज र संस्कारले जोगी बन्न सिकाउँछ। व्रतबन्धमा भिक माग्न लगाई विनम्र हुने, स्वनिर्भर बन्ने, प्रमे गर्ने, समाज बुझ्ने मौका दिइन्छ।

वैदिक शिक्षाले प्रमाणपत्रमात्र होइन प्राणी, प्रकृति र परमात्मासँग जोड्न लगाउँछ। अध्ययन एवं  साधनाको अवधिभर भिक्षा मागेर, गुरुका निर्देशनअनुसार पढ्नुपथ्र्यो। बच्चाको दाँत पलाएन भने, बोली नफुटे, प्रायश्चित गर्न परे सात घरमा भिख मागेर खाने चलन छ।

शुद्ध र बुद्ध हुन, जीवन र जगत् बुझ्न, समाज र सरस्वतीको कृपा पाउन जोगी नै बन्नुपर्छ। साधना र शासनका लागि, पूजादेखि समाजसेवा गर्न जोगी (योगी)को आचारण हुनै पर्छ। बुद्ध, कन्फुसियस, महावीर, कवीरलगायतका सन्तले संसारकै संरक्षण एवं संवर्द्धन गर्न जोगी बने।

जोगी र भगवान् दुवै करुणाका खानी, सबैका अभिभावक, प्रकृतिका उपासक हुन्। सन्न्यासी बनेपछि व्यक्तिगत जीवन रहँदैन राष्ट्रको सम्पत्ति एवं भगवान्को प्रतिनिधि हुन्छ।

हाम्रा जोगीले हाम्रै गाउँमा मागे, हाम्रै बस्तीमा भिक्षाटन गरे, यहीँका दाउरामा पकाएर खाएका हुँदा उनीहरुको सोच र चिन्तनमा नेपाल र नेपाली छन्। नयाँ जोगीले बढी खरानी घस्छ भन्ने नेपाली उखान छ। खरानीले सन्न्यास, त्याग, औषधि, तन्त्र आदिसँग सम्बन्ध राख्छ। खरानी हुनु भनेको निचोडमा पुग्नु, फेरि नफर्कनु आदि अर्थ हुन्छ।

जोगीले विदेशीसँग हात फैलाउँदैन, शिर झुकाउँदैन, जनता झुक्याउँदैन, स्वार्थमा स्वाभिमान बेच्दैन। जोगी नै ऋषि बन्छ अनि उपनिषद् लेख्छ, वेदको भेद खोतल्छ, आफ्नो फेद बुझेर उभिन्छ।

महागुरु फल्गुनन्द, बालागुरु षडानन्, योगी नरहरिनाथ, डा. स्वामी प्रपन्नाचार्य, गलेश्वर बाबाजस्ता जोगीको योगदान १७ हजार मार्नेको भन्दा कम छ र ? उनीहरुले ऋषिवाद, पुर्खावाद, शहीदवादलाई मार्गचित्र बनाएकाले लक्ष्य हासिल गरे। नेपालीलाई दिए, नेपाललाई दिए।

त्रिभूवन विश्वविद्यालयदेखि नेपाल संस्कृतविश्वविद्यालयसम्म जोगीकै प्रयत्नले खोलिएको हो। भोजपुरदेखि जनकपुरसम्मका विद्यालय, पाठशाला, गुरुकुलहरु जोगीकै आडमा उभिएका हुन्। जोगीले नेपाल, नेपाली र नेपालीत्व जोगाउँछ भन्ने तथ्यलाई हामीले भुल्दा यो हविगत भयो।

भस्म (खरानी)लाई जति पोले पनि खरानी नै हुन्छ अर्थात् रूप बदलिँदैन। अपरिवर्तनशील परमात्माको ध्यान गर्दा अपरिवर्तनशील पदार्थ (भस्म) लगाएर मानसिक र शारीरिक रूपमा योग्य बन्नुपर्छ। भस्मले शरीरलाई साधना र समय अनुकूल तुल्याइदिन्छ अर्थात् गर्मी, चिसो र छालासम्बन्धी रोग आदिबाट बचाउँछ।

भस्मले जाबे (एलर्जीजस्तै), पेटमा पर्ने चुर्ना, जुका, गानुगोला आदिलाई निर्मूल पार्छ। बालीनालीमा लाग्ने विभिन्न रोग उपचारमा खरानी अचूक औषधि हुन्छ। बृहज्जाबाल उपनिषद् (५।२-१८)मा भस्मको अनेकौँ उपयोगी चर्चा छन्। भस्मले नकारात्मक तत्व, प्रतिकूल वातावरण, खण्डित मनलाई साधना अनुकूल बनाउँछ।

दीप्त्यर्थं तत्तु सङ्ग्राहं मान्यते पूज्यतेप च।
भस्मशब्दार्थ एवं हि शिवः पूर्वं तथाकरोत्।।–शिवपुराण, (विद्येश्वरसंहिता १८।६६)

अर्थात् “प्रकाशित हुन भस्म राख्ने र लगाउने गर्नुपर्छ, यसले मान्य र पूजनीय बनाउँछ। महादेवले भस्मको अर्थ प्रकाश, मान्य र पूज्य हुन्छ भन्नुभएको छ।”

बच्चाबच्चीहरूलाई लामो यात्रा गराउनुभन्दा पहिले निधारमा भस्म लगाइदिनाले भूत, प्रेत आदिले दुःख दिँदैनन्। भस्म लगाउँदा ऐठन हुँदैन, तर्साउँदैन, दुष्टात्मा देखा पर्दैन, आलस्य र दिक्दारीले छुँदैन। प्रायः नाथसम्प्रदायका साधुहरूको धुनीबाट प्राप्त भस्ममाथि नेपाली समाजको आस्था र विश्वास अधिक छ।

धुनिलाई विधिपूर्वक पूजा गरेर होम गर्ने, रोट पकाउने, साधना गर्ने हुँदा नाथ सम्प्रदायको भस्म प्रसाद मानिन्छ। भस्मलाई तन्त्र र मन्त्रको शक्तिले कवच बनाइदिन्छ। भस्मलाई यन्त्रमा राखेर जिउ बाँध्ने चलन छ। मसानघाटमा गणसहित महादेवले खरानी लगाएको आख्यानले भस्मलाई मुक्तिको प्रतीक बताउँछ।

भस्मले चिन्तन र चित्तलाई तन्दुरुस्त राख्ने हुँदा यसलाई हरेक नेपालीले धारण गर्नुपर्छ। भस्मले मुक्त हुनु, परिवर्तन नहुनु वा अटल रहनु भन्ने बुझाउँछ। हाम्रो शिर, जीउ र चिन्तनमा हाम्रै मुलुकमा बनेको राजनीतिकखरानी, शैक्षिक खरानी, संस्कारको खरानी नहुँदा समाज प्रतिदिन अराजक बन्दै गएको छ।

बुद्धले दिएको खरानी, पृथ्वीनारायण शाहले दिएको खरानी लगाउन छोडेर बेलायतको कांग्रेस, युरोपको माओ, रुसको लेलिनले दिएको अस्तुखरानी घस्दा घर न घाटको हुँदै गएका छौँ।

हामी त चिन्तन गर्नेका सन्तान हौँ, प्रसाद खानेका वंशज हौँ। प्रसादले मनमा प्रसन्नता ल्याउँछ, जीवनलाई जगाउँछ, सङ्कल्पलाई पूरा गर्छ, पापलाई नष्ट गर्दछ। तपस्वीहरूले जीवन धान्न भिक्षा मागेका, गुजरा चलाउन भस्म लगाएका होइनन्।

यसको महत्व नबुझ्नु, वैज्ञानिक रहस्य नखोज्नु, उपयोगिता नजान्नु हाम्रै दुर्भाग्य हो। नेपालमा बनेको खरानी लगाउँदा पूर्वजन्मका महापातकले छुन सक्दैन, चण्डाल भएर जन्मनुपर्दैन, भ्रष्टाचारी भएर मर्नुपर्दैन, निर बनेर टुँडीखेलमा जनताका अगाडि अपशब्द बोल्नुपर्दैन।

भस्मस्नानद्वारा भस्म लेपन गरी मनले नेपाली देवीदेवताको ध्यान गर्दा हजारौँ जनताको भोट पाइन्छ, इतिहासले सुनौलो अक्षरमा लेखेर भावीपिढीँलाई पाठ पढाउँछ। यहाँको खरानीले बुद्धिलाई मेधावी, शरीरलाई स्वस्थ, ऊर्जाशील बनाई परमात्मा प्राप्त गर्ने प्रयत्न गर्छ, पापको पहाडमा पहिरो जान थाल्छ।

भस्मले साधुसन्न्यासीको शरीर जाडोमा चिसोबाट, गर्मीमा तातोबाट, हरेक समय रोगबाट बचाई, अध्ययन र आत्मचिन्तन गर्न सहयोग पुर्‍याउँछ। भस्म धारण गर्नेको जीवन शिवस्वरूप हुन्छ, जसले भस्म लगाउँदैन त्यसको जीवन व्यर्थ छ।

भस्मकै स्वरूप हुनाले खरानी निकालेको दिनमा यात्रा गर्दैनन्, बार पारेरमात्र खरानी निकाल्नुपर्छ, खरानीमा दिसापिसाब गर्नुहुँदैन। खरानीलाई बुझ्ने नेता नेपालले अब पनि जन्माएन भने ढिलो हुने।

राजनीति विदेशीको, शिक्षा पराईको, संस्कार पश्चिमाको, भाषा युरोपको, लबाई म्लेक्षको अनि हामी नेपाली कसरी बन्ने ? खरानी विर्सेर विदेशी पाउडरमा रमाउँदा मठ, गोठ, मचान, मामा र आमासम्म गुमे तथापि हाम्रो चेत खुलेन।

उपनिषद् भुलेर उपन्यास, गुरु भुलेर माष्टर, शासक भुलेर शोसक, बारीका पाटा भनेर पार्टी, गुरु भुलेर गुट, राष्ट्र भुलेर राजनीति सम्झने अवस्थाबाट जोगिनु छ भने शासकहरुले जोगीको बाटो अवलम्बन गर्नुपर्छ। जोगी सबैको साझा हो, ज्ञानको प्रतिक हो, न्यासयको मूर्ति हो, विवेकको पुञ्ज हो।

अब नेपाली खरानी घस्नुपर्छ, नेपालीमाटोमा टेक्नुपर्छ, नेपाली चिन्तन हुनुपर्छ। अन्यथा युवाहरु पलाएन भएको, बुद्धहरुले ढुकेर राखेको खोक्रो बस्ती मात्र तिम्रो हातमा लाग्ने छ। माकुराका बच्चा जस्ता तिम्रा कार्याकर्ताले चुसेर फ्याँक्दा थाहा लाग्ने छ कि नेपाली खरानी उपचार, उपाय र उन्मूलनका लागि कति उपयोगि थियो भनेर।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *