कानुनअनुसार दलमा आबद्ध हुन नपाउने राष्ट्रियसभा अध्यक्ष पार्टीभित्र गुट चलाउन सक्रिय
काठमाडौं। राष्ट्रियसभाका अध्यक्षले पार्टीको संलग्नता छाड्नैपर्ने संवैधानिक प्रावधान छ । तर, अहिलेका राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले भने पार्टीको भन्दा पनि संकीर्ण गुटको क्रियाकलापमा सक्रियता बढाएको पाइएको छ । दाहाल राष्ट्रिय सभा सदस्यमा माओवादीबाट निर्वाचित हुन् ।
नाताले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भाइ पर्ने नारायण दाहालको निवास यतिवेला माओवादी केन्द्रको गुटको अखडा बनेको छ । उनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग केही विमति राख्नेका विरुद्ध सक्रियतापूर्वक लाग्न गुटका नेता कार्यकर्ताहरूलाई निर्देशन दिएको उनीसँग भेटेर फर्किएका कतिपय माओवादी केन्द्रका नेताहरुले बताउने गरेका छन् ।
उनका प्रमुख स्वकीय सचिव विष्णु सापकोटा जुगलले त हालै भएको परामर्श वैठकमा पार्टी पुनर्निर्माणका लागि पार्टीका उपमहासचिव जनार्दन शर्माले राखेको लिखित मतप्रति आपत्ति जनाउँदै यस्तो मत राख्नेलाई यो पार्टीमा बस्ने नैतिक अधिकार कहाँ छ? भनेर प्रश्न गरेका थिए ।
लिखित मतमा उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्षको नेतृत्वमाथि नै प्रशन उठाउँदै नेतृत्व परिवर्तन सम्मको प्रस्ताव गरेका थिए । त्यसपछि भाइ दाहालले आफूले पनि शर्माका विरुद्ध अराजनीतिक तर्क राख्न थालेका छन् र यसरी तर्क राखेकालाई आफ्नो निवासमा आफैं भेट्न बोलाउने गरेका छन् ।
पार्टीको सिन्धुली जिल्ला कमिटीको वैठकले संघीय सांसद राजन दाहालले पार्टी कार्यालयसहित बाहिर समेत गरेको आर्थिक अनियमितता र राजनीतिक अराजकताका विरुद्ध कारवाहीको निर्णय गरेको छ। पार्टीको विधिमा ल्याउन उनलाई दवाव परेपछि नारायण दाहाल उनलाई पनि आड दिन पुगेका छन्।
विभिन्न गलत क्रियाकलापमा जोडिएको भन्दै बागमती प्रदेशले सिन्धिलीको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइवाका बारेमा छानबिन समिति बनाइरहेका बेलामा नारायण दाहालकै निर्देशनमा माओवादीनिकट पत्रकारको संगठन प्रेस सेण्टर बागमतीको वैठक सोही पालिकामा राखेको प्रेस सेण्टर बागमतीका एक सदस्यले नाम नबताउने शर्तमा बताए ।
माओवादीको बागमती प्रदेशका पूर्व अध्यक्ष समेत रहेका नारायण दाहालले खासगरी यो प्रदेशमा गुटबन्दी गरिरहेका छन्। उनले सिन्धुली, नुवाकोट, रामेछाप, चितवन, मकवानपुरसहित सबैजसो बागमती प्रदेशका जिल्लामा गुट चलाइरहेका छन् ।
Facebook Comment