कांग्रेस केन्द्रीय समिति बैठकः चुनावअघि गठबन्धन नगर्ने महामन्त्री थापाको प्रस्ताव पारित

दिपा पौड्याल
१६ भदौ २०८१ २०:५२

काठमाडौं। नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकले चुनाव अघि गठबन्धन नगर्ने महामन्त्री गगन थापाको प्रस्ताव पारित गर्ने निर्णय गरेको छ।

आइतबारको बैठकले गत फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा सम्पन्न महासमितिको बैठकका विभिन्न प्रस्ताव पारित गरेको  पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

गत साउन २३ देखि सुरु भई आज सम्पन्न केन्द्रीय समिति बैठकले उपसभापति पूर्णबहादुर खड्काद्वारा प्रस्तुत ‘नीति–प्रस्ताव’, महामन्त्री  थापाद्वारा प्रस्तुत ‘सांगठनिक प्रस्ताव’ र महामन्त्री विश्वप्रकाश शर्माद्वारा प्रस्तुत ‘समसामयिक राजनैतिक प्रस्ताव’ उपर महासमितिको बैठकमा बृहत् छलफलबाट प्राप्त सुझावका आधारमा आवश्यक परिमार्जन गरी सर्वसम्मत पारित गरेको हो।

पार्टीको महासमिति बैठकमा उपसभापति खड्काको राजनीतिक प्रस्तावमा सबैको सहमति भए पनि महामन्त्रीद्वयको प्रस्तावले कांग्रेसमा तरंग आएको थियो।

महामन्त्री थापाले आगामी निर्वाचनदेखि कसैसँग पनि गठबन्धन गर्न नहुने र अर्का महामन्त्री विश्वप्रकाश शर्माले नेताहरु एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटकभन्दा बढी सांसद बन्न नपाउने प्रस्ताव अगाडि सारेको विषयले कांग्रेसमा विवाद बढाएको थियो।

सभापति शेरबहादुर देउवाले दुवै महामन्त्रीका प्रस्तावलाई परिमार्जित गरेर पारित गर्न चाहेका थिए। महामन्त्री शर्माले अगाडि सारेको प्रस्तावमा सभापति देउवा सहमत हुन नसके पनि अर्का महामन्त्री थापाको प्रस्ताव भने आइतबारको बैठकले पारित गरेको हो।

महामन्त्री शर्माले अगाडि सारेको प्रस्ताव पारित भएमा देउवाका लागि अब प्रधानमन्त्री हुने बाटो बन्द हुने भएकाले त्यसको विपक्षमा उभिएका हुन्। अर्का महामन्त्री थापाको प्रस्तावमा पनि सभापति देउवाले चुनावमा गठबन्धन गर्ने विषय नीतिगत नभएर पार्टीको रणनीतिक योजना भएकाले यसलाई अहिले नै निर्णय गरेर जान नहुने पक्षमा रहेका थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *