माओवादीलाई २०६४ सालकै अवस्थामा ल्याउने अभियान सुरु गरेका छौंः प्रचण्ड
बाँके। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीलाई २०६४ सालकै अवस्थामा ल्याउने अभियान सुरु गरेको बताएका छन्। माओवादी केन्द्र बाँकेद्वारा आज यहाँ आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले आफ्नो पार्टी नेतृत्वको सरकारले जनहितमा गरेका कामले जनतामा माओवादी केन्द्रप्रति विश्वास बढाउने काम गरेको उल्लेख गरे।
अध्यक्ष प्रचण्डले २०६४ सालमा माओवादीलाई नेपाली जनताले ठूलो विश्वास गरेर समर्थन गरेको तर पार्टीभित्र देखिएका विभिन्न विकृति र जनताबाट टाढिने प्रवृत्तिले गर्दा जनसमर्थन घटेको बताए। उनले आफ्नो नेतृत्वको सरकारले छोटो समयमा भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक न्याय तथा विकासका लागि धेरै उदाहरणीय काम गरेकाले पार्टीप्रति जनतामा फेरी विश्वास र समर्थन बढ्दै गएको बताए।
अध्यक्ष प्रचण्डले सुशासनसँगै सामाजिक न्यायको क्षेत्रमा मिटरब्याजको समस्या समाधान गरिएको, हजारौँ नागरिकताविहीनले नागरिकता पाउने व्यवस्था मिलाइएको र देशबाहिर तथा देशभित्र रहेका लाखौँ श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरेर नयाँ आशा जागृत गरिएको स्पष्ट पारे। अध्यक्ष प्रचण्डले बाँके मधेशी, मुस्लिम र थारु बाहुल्य जिल्ला भएकाले पार्टीको कार्यकारी भूमिकामा मधेशी, मुस्लिम र थारु समुदायका अगुवालाई स्थापित गर्न जिल्ला नेतृत्व तथा केन्द्रबाट खटिएका नेतालाई निर्देशन दिए।
प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा, नेतृ पूर्णाकुमारी सुवेदी र पम्फा भुषाल, लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलबहादुर केसी, पार्टीका नेता बलदेव शर्मा, महेश्वर गहतराजलगायतको उपस्थिति थियो।
Facebook Comment