राखेपमा पेश्की लिने काम नगर्ने प्रवृत्ति अन्त्य गरिने दावी

डिसी नेपाल
२६ साउन २०७६ २२:३७

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले खेलकुद भौतिक पुर्वाधार निर्माण तथा योजना सम्बन्धी आइतबार गोष्ठी आयोजना गरेको छ । सो गोष्ठीले भौतिक पूर्वाधार निर्माण समयमा नै सम्पन्न गर्नका लागि योजना बाँडफाँड र जवाफदेहिताको विषयमा छलफल गरेको थियो । १३ औं सागको भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर निर्माण कार्य अगाडि बढाउने बताइएको छ ।

गोष्ठीको उद्घाटन युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा सुनार (विश्वकर्मा) ले गरेका थिए । उनले राखेपलाई आर्थिक रुपमा पारदर्शी रुपमा अगाडि बढाउने बताए । ‘सुशासन र संस्थागत विकासमा अबको राखेपले नयाँ मोड लिने छ ।’ उनले भने, ‘अब कर्मचारीको दरबन्दीको समस्या हल भैसकेको छ ।’

उनले अपेक्षाकृत लगानी प्राप्त नभएका कारण सिमित साधन स्रोतमा नेपाली खेलकुद अगाडि बढेको बताए । उनले प्रदेश र स्थानीय तहमा भौतिक पूर्वाधार निर्माण हुने र ती पुर्वाधार गुणस्तरीय र समयभित्र नै सम्पन्न गर्नका लागि गोष्ठी कोशेढुंगा सावित हुने बताए ।

सदस्य सचिवल रमेश सिलवालले नीति र योजना बनाएर काम गर्ने परिपाटिको विकास गर्न लागेको र आम जनसमुदायमा खेलकुदलाई हेर्ने दृष्टिकोण सकारात्मक बनाउने बताए ।

उनले तोकिएको मिति भित्र काम सम्पन्न गर्नका लागि कार्य विभाजन गरेर अगाडि बढ्ने योजना बनाएको बताए । उनले विगतमा राखेपमा पेश्कि लिएर फछ्र्यौट नगर्ने परिपार्टी रहेको बताउँदै भने, ‘विगतमा राखेपमा केहि बदमासी भएको देखियो । पेश्की लिन र समयमा पछ्र्यौट नगर्ने परिपाटी रहेछ, अब यसको अन्त्य गर्नुपर्छ । मेरो कार्यकालमा पेश्किी घट्छ बढ्दैन ।’

उनले आर्थिक प्रशासनमा शुसासन कायम गरेपछि खेलकुदको छवि राम्रो हुने धारणा व्यक्त गरे । ‘स्वच्छ प्रशासन, पारदर्शिता, नीति नियममा काम गर्नुपर्छ । राष्ट्रिय ढुकुटीको दोहन गर्न पाइदैन । त्यस्तो गर्ने व्यक्तिको नाम सार्वजनिक गरिने छ ।’

राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनाले आर्थिक पारदर्शीतामा खेलकुद संघहरुलाई ल्याउने यस अघि पनि राखेपमा आफ्नो संयोजकत्वमा बनेको पेश्की फछ्र्यौट समितिले कार्य गरेर प्रतिवेदन बुझाएको बताए । उनले योजनाबद्ध रुपमा काम गर्दै नेपालको खेल क्षेत्रलाई समृद्ध बनाउने तयारी शुरु भएको बताए ।
महालेखा परिक्षक दामोदर पुडासैनीले खेलकुदमा बर्षेनी बेरुजु बढिरहेको बताए । ११ सय ७४ जनाको नाममा बेरुजु रहेको बताउँदै भने, ‘यो कसैको पनि हितमा छैन । आर्थिक ऐन नियम विपरित जाने कोहि पनि बचेका छैनन् र कसैले पनि बचाउन सक्दैन ।’ उनले शुरुमा नै खरिद योजना बनाएर कार्यन्वन गर्न सुझाव समेत दिए । उनले देशमा ४० प्रतिशत खर्च असरामामात्र हुनु विडम्बना भएको बताए । उनले खेलकुद भौतिक पुर्वाधारको परफमेन्स अडिट टोली खताइएको र चैतसम्म संसदमा प्रतिवेदन पेश गर्ने बताए । ‘भौतिक पुर्वाधारको अवस्था कस्तो छ ? कति अपुग छ । भएर पनि त्यसलाई उपयोग गरिएको छैन कि रु लगायतको विषयमा अडिट हुन्छ’, उनले भने ।

अर्थमन्त्रालयका उपसचिव मोहनसिंह बस्नेतले असारको अन्तिममा रकामान्तरण गर्ने कुराको अन्त्य गर्नुपर्ने बताए । उनले स्विकृत कार्यक्रममा ध्यान केन्द्रित गरेर काम गर्न आग्रह गर्दै भने, ‘सार्वजनिक खरिद ऐन संशोधन भएको छ । यसले काम गर्न थप सहज बनाएको मैले विश्वास लिएको छ । अब भदौ १५ भित्र टेन्डर आव्हान गरेर समयमा काम हुनेमा विश्वास छ ।’

कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुख भोजराज पौडेलले अन्तिम महिनामा बढि खर्च गर्ने परिपाटीको अन्त्य गर्नुपर्नेमा जोड दिए । ‘कार्यक्रम स्वीकृत भैसकेर आइसकेकोले अब साउन महिनाभित्र तयारी गरेर, भदौ महिनामा ठेक्का पट्टाको सूचना आव्हान गरेर असोजभित्र सम्झौता गरिसक्नुपर्ने छ’ उनले भने,‘यसले समयमा नै तोकिएको लक्ष्य हासिल गर्न सहयोग गर्ने छ ।’

उनले दोस्रो चौमासिकको रकम माग गर्दा पहिलो चौमासिकको प्रगतिका ५० प्रतिशत कार्य भएको हुनुपर्ने बताए । उनले आर्थिक बर्ष समाप्त हुनु अघि २५ गतेभित्र खातापाता बन्द गरिसक्नुपर्ने नत्र पेमेन्ट नहुने समेत जानकारी दिएका थिए । गोष्ठी सोमबार सम्पन्न हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *