फिल्म ‘रावायण’ बारे के भन्छन् पल शाह?
काठमाडौं। टेलिभिजनमा ‘रामायण’ नहेरेका दर्शक कमै होलान्। रामको चरित्रलाई उतारिएको यो टेलिफिल्म सबैको लोकप्रिय टेलिफिल्ममा पर्छ। नायक पल शाहले पनि यो सिरियल बच्चै हुँदादेखि हेरेका हुन्। रामको चरित्रलाई नजिकबाट नियालेका यिनै पल फिल्म ‘रावायण’मार्फत ‘रावण’ चरित्रमा दर्शकमाझ आउँदैछन्।
यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘रावायण’मा उनी रागव र कान्छा नाम भूमिका अर्थात दोहोरो भूमिकामा देखिँदैछन्। ‘मलाई रावायण शब्द नै मनपरेको थियो। रामायण त बच्चैदेखि हेर्दै आएको हो। रावायण चाहिँ रावणको कथा हो। मलाई सुदर्शन दाइले रावणको कथा सुनाउँदा कस्तो होला त भनेर कथा सुनाउनुभयो। फिल्ममा एउटा क्यारेक्टरले दुईवटा चरित्र अर्थात नेगेटिभ र पोजेटिभ चरित्र निभाउनु पर्ने थियो। एकै व्यक्तिले दुई चरित्र निभाउनु पर्ने भएपछि मलाई निकै चाख लाग्यो’, पल भन्छन्।
फिल्मको टिजर र ट्रेलरमा पललाई दाह्री जुँगा गेटअपमा निकै आक्रामक देखाइएको छ। उनकै भनाइमा यो लुक्स कान्छाको हो, जो न्यायका लागि आक्रामक हुन्छ। ‘कान्छा तराई बेसको पात्र हो। उसको घर जनकपुरमा छ। बच्चैदेखि उसको बाबुआमा छैन । बाबुलाई नै कान्छाले मार्छ। आमालाई बाबुले गरेको वितण्डा देखेर बाबुलाई मारेर ऊ जनकपुर पुगेको हुन्छ । उसलाई त्यहाँको जमिन्दारले पालेर राख्छ। रागव क्यारेक्टर चाहिँ पाइलट हुन्छ’, पल आफ्नो भूमिका बारे खुल्छन्।
निर्देशक सुदर्शन थापाले पललाई ‘रावायण’को चरित्र बारे सुनाउदा उनलाई आफूले गर्न सकिन्छ र जस्तो भान भएको रहेछ। ‘मैले दाईलाई ‘तपाईंले गलत तपाईंले गलत कास्टिङ पो गर्नुभयो कि ?’ भनेर सोधें । किनकी यस्तै क्यारेक्टरका लागि अरु पनि कलाकार छन् । तर उहाँले ‘तिमीले गर्न सक्छौं’ अनि वर्कसपमा पनि कान्छाकै लागि मेहनत गर्यौ’, उनले भने ।
पलले फिल्मका लागि ‘रावण’को चरित्र र आनीबानी बारे अध्ययन गरेका रहेछन् । बाल्यकालमा हेरेको ‘रामायण’को ‘रावण’ सम्झँदै कलिउयुगको रावण बन्न उनले रावणको क्यारेक्टरको अध्ययन गरेका हुन् । ‘त्यो बेलाको सीताको कतिपय आनीबानी पुजासँग मिल्थ्यो । सीताले गर्न खाजेको, भन्न खोजेको कुरा पुजाले फिल्म गरेको छ । रामायणकै चिजहरु हामीले किताबबाट खोजेर युट्युबाट हेरेर के के हुनसक्छ भन्ने कुरा फिल्ममा राखेका छौं’, पल भन्छन् ।
फिल्ममा ‘लभर ब्वाई’को छवि बनाएका पलले ‘रावायण’मा चरित्रकै लागि उनले देखेका र चिनेका दाजुहरुसँग केही समय संगत गरेका रहेछन् । फिल्म ‘पुजार सार्की’को सुटिङका क्रममा पोखरामा चिनेका दाजु उमेरका मानिसहरुसँग घुलमिल हुने प्रयास गरेका थिए ।
‘मलाई गुण्डाको हिसाबले हाँस्न आउँदैन थियो । उसको शैली, खाने, बोल्ने, हिँड्ने तरिका सबै कुरा फरक नै थियो । त्यसका लागि देखिरहेको र चिनिरहेको दाईहरु हुनुहुन्छ । ती दाईहरुसँग पनि हिँडे । पुजार सार्कीको सुटिङको क्रममा पोखरामा थिएँ । त्यहाँका दाईहरुसँग पनि हिँडे । म वीरगञ्जमा २ वर्ष तराई टिभीमा टेक्निसियन भएर काम गरेको थिएँ । त्यो बेला पनि त्यहाँको रहनसहन हाउभाउ आउँथ्यो मलाई । भोजपुरी रहसहसन पनि थाहा थियो । मेरा साथीहरु सिराहा पनि धेरै भएकाले त्यहाँ गइरहन्थे । त्यहाँ देखिरहेको हुन्थें । साथीका दाईहरु पनि कान्छाको चरित्र जस्तै थिए । त्यसकारण पनि क्यारेक्टरमा ढाल्न मलाई असहज भएन । तर डर चाहिँ के थियो भने रागव क्योक्टर गरेर कान्छा गर्दा गाह्रो हुन्थ्यो भन्ने थियो,’ पल भन्छन् ।
फिल्ममा क्यारेक्टर चेन्ज गर्दा पललाई निकै गाह्रो भएको रहेछ। ‘नेगेटिभ वाला दृश्य गरिरहँदा एकै छिनमा पोजेटिभ गर्दा मुडदेखि गेटअप सबै परिवर्तन गर्नुपर्ने हुन्थ्यो । परिवर्तनको समय र अर्को क्यारेक्टर भित्र पस्दा निकै गाह्रो हुन्थ्यो’, उनी भन्छन् ।
फिल्ममा दोहोरो चरित्रको संवाद सबैका लागि अर्को गाह्रो अनुभव रहेको पल ठान्छन्। ‘सिंगल फ्रेममा दुईजनाको संवाद छ भने त्यो जस्तो गाह्रो केही रहेनछ । एउटा सिन ओके गर्न हामीले चार टेक खिच्नुपथ्र्यो । एक्सन पार्टमा रियाक्सन लिन गाह्रो हुन्थ्यो। कान्छाले रागवलाई हिर्काउँदा, कुटाइ खाँदा त्यही स्टाइलमा लड्नु पर्यो । आधा घण्टा पछि फेरी रागव बन्नुपर्यो । रागव बनेर कान्छालाई हिर्काउँदा आवेग देखाउनुपथ्र्यो। त्यो एक्सप्रेसनहरु ग्रहण गर्न गाह्रो भयो । मेरो सहायकले मेरो एक्सप्रेसन बिग्रिएला कि भनेर हेरिरहन्थे । म एउटा जोनबाट अर्को जोनमा आउँदा एक्सप्रसेसन बिग्रन सक्छ भनेर म सम्झाइरहन्थें’, पल फाइट दृश्य सम्झन्छन् । आफ्ना लागि ‘ड्रिम क्यारेक्टर’ भएकाले पनि ‘रावायण’को चरित्रले आफूलाई एक स्टेप माथि ल्याउनेमा उनी ढुक्क छन् ।
फिल्ममा एक्सनको दृश्य पलका लागि निकै गाह्रो भएको रहेछ । ‘एक्सनको तालिम लिएर तीन चार दिनसम्म निरन्तर ४० डिग्रीको तापक्रममा फाइट गर्दा कति गाह्रो होला’, पल भन्छन् ।
Facebook Comment