शेख हसिनाविरुद्ध हत्याका दुई नयाँ मुद्दा दर्ता, अहिलेसम्म ८४ वटा मुद्दामा एफआईआर

डिसी नेपाल
१७ भदौ २०८१ १४:०८

काठमाडौं । बंगलादेशमा कोटा सुधार आन्दोलनका क्रममा दुई बीएनपी कार्यकर्ता सहित तीन जनाको हत्या गरेको आरोपमा बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिना र उनका पूर्व क्याबिनेट मन्त्रीहरू विरुद्ध दुई नयाँ हत्याको मुद्दा दर्ता गरिएको छ।

यी दुवै मुद्दा शुक्रबार ढाका अदालतमा दर्ता भएका थिए। हसिनाविरुद्ध दर्ता भएका विभिन्न मुद्दामा यी नयाँ मुद्दा हुन्। सरकारी जागिरमा आरक्षण प्रणालीको विरोधमा विद्यार्थीहरूले गरेको व्यापक विरोधपछि हसिना अगस्ट ५ मा आफ्नो पद छोडेर भारत गएकी थिइन् ।

‘डेली स्टार’ अखबारले जनाएअनुसार यी दुई मुद्दासँगै हसिनामाथि हत्याको आरोपमा ७०, मानवताविरुद्धको अपराध र नरसंहारको आरोपमा आठ र अपहरणका तीन मुद्दासहित ८४ मुद्दा दर्ता भएको छ ।

बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का मतिउर रहमानले अगस्ट ४ मा पार्टी कार्यकर्ता जुल्कार हुसेन (३८) र अञ्जना (२८) को मृत्युको विषयमा किशोरगञ्जमा मुद्दा दायर गरेका थिए।

मुद्दाको विवरण अनुसार विरोध प्रदर्शनका क्रममा अवामी लिगका नेताहरूले विद्यार्थी र बिएनपी कार्यकर्ताको जुलुसमा लाठी र धारिलो हतियारले आक्रमण गरेका थिए ।

बिएनपीका केही कार्यकर्ताले नजिकैको खोरमापटारी क्षेत्रमा रहेको जिल्ला अवामी लिग नेताको घरमा शरण लिएका थिए जहाँ उनीहरूलाई हसिना नेतृत्वको पार्टीका कार्यकर्ताहरूले बन्धक बनाएर आगो लगाइदिएपछि हुसेन र अञ्जनाको मृत्यु भएको थियो ।

यस मुद्दामा हसिना, पूर्व सडक यातायात तथा पुल मन्त्री ओबैदुल कादेरसहित ८८ जनालाई आरोपी बनाइएको छ । मुन्शीगञ्जमा २२ वर्षीय युवकको मृत्युको दोस्रो नयाँ मुद्दा दर्ता भएको छ । अगस्ट ४ मा सहरको सुपरमार्केट क्षेत्रमा विद्यार्थीको नेतृत्वमा भएको विरोध प्रदर्शनका क्रममा उनको गोली हानी हत्या गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *