प्रेमकथाका फिल्म बनाउन अब्बल निर्देशक सुदर्शन थापा
काठमाडौं। निर्देशक सुदर्शन थापा प्रेमकथाका फिल्ममा रुचाइएका निर्देशक हुन्। फिल्म ‘मेरो एउटा साथी छ’बाट निर्देशकीय पाइला चालेका सुदर्शनका त्यसयताका फिल्म हेर्ने हो भने अधिकांश फिल्ममा प्रेमकथा झल्किन्छ। यही बीचमा उनले ‘धन्दा’, ‘प्रसाद २’ जस्ता फरक स्वादका फिल्मको निर्देशकीय जिम्मेवारी पनि लिए।
यिनै सुदर्शन यही शुक्रबारबाट फिल्म ‘रावायण’ लिएर दर्शकमाझ आउँदैछन्। फिल्म ‘धन्दा’मा थ्रिलर देखाएका सुदर्शनले ‘रावायण’मा एक्सन बेस्ड प्रेमकथा प्रस्तुत गरेका छन्।
‘म प्रेमकथाकै फिल्ममा भुलिरहेको थिएँ। जसरी बलिउड, साउथ अथवा हलिउड फिल्ममा परिवर्तन भइरहेको छ, त्यस्तो परिवर्तन म आफ्नो कथामा देखाउन चाहन्थें। नेपालमा प्रेमकथा र कमेडी फिल्म चलेको पनि धेरै समय भइसक्यो। नेपाली दर्शकले फरक स्वाद पाउनुपर्छ भन्ने लागेर अहिले एक्सन बेस्ड लभस्टोरी फिल्म गरेको हुँ’, उनी भन्छन्।
सुदर्शन फिल्म ‘रावायण’ बन्नुमा फरक कारण दिन्छन्। ‘हामीले रामायणमा रामको कथा मात्र पढ्यौं, हेर्यौ र सुन्यौ। त्यो भित्र रावणको पनि त कथा थियो होला नि। जुन कुरामा हामीले चासो दिएनौं । यो फिल्मको धार्मिक कुरासँग सरोकार छैन । अहिलेको समयमा रावणजस्तो मान्छेको कथा र प्रेम पनि छ भन्ने एंगलबाट फिल्म बनाउन खोजेका हौं। चलिरहेको फिल्मको सिद्धान्त भन्दा फरक सिद्धान्तबाट हामीले यसको दृश्यको क्राफ्टिङलाई नै परिवर्तन गरेका छौं’, सुदर्शन दाबी गर्छन्।
सुदर्शन फिल्म ‘रावायण’ हेरेपछि रावणप्रति दर्शकको हेर्ने दृष्टिकोणमा परिवर्तन हुने दाबी गर्छन् । ‘रावणबाट यो फिल्म प्रभावित छ । रावण भनेको पुरुषार्थी, शक्तिशाली, ज्ञानी, वैज्ञानिक र सबै चिजबाट भरिपूर्ण व्यक्ति हो । तर रावणले सीतालाई हरण गर्नु नै उसको गल्ती थियो । नत्र त रावणलाई सबैले मानेकै हो । रावण आफैंमा नेगेटिभ होइन । त्यसकारण उसलाई नेगेटिभ नभनौं’, सुदर्शन भन्छन् ।
फिल्मको टिजर र ट्रेलर सार्वजनिक भएपछि खास गरी नायक पल शाहको एक्सन पाटोमा प्रश्न नउठेको पनि होइन । यो कुरालाई बुझेका र सुनेका सुदर्शन यसको जवाफ अलिक फरक किसिमले दिन्छन्।
‘एक्सन गर्न २४ इञ्चको आम्र्स नै हुनुपर्छ भन्ने छैन । हामी सामान्य मान्छे हौं, यदि हामीमाथि कसैले अन्याय, अत्याचार गर्यो भने हामी एक्सनमा आउँछौं । ‘रावायण’ साधारण, लेभर मेनको कथा हो । यस्ताले पनि आफ्नो लागि कसरी लड्न सक्छ, परिस्थिति अनसार कसरी अगाडि बढ्नुपर्छ, कसरी आइलाग्नेमाथि जाइलाग्नुपर्छ भन्ने एउटा साधारण मान्छेको कथा हो’, सुदर्शन खुल्छन् ।
सुदर्शन नायक पल शाहलाई नचाउनकै लागि ‘रावायण’मा नलिएको बताउँछन् । ‘तीन वर्षको अध्ययनमा पल शाहलाई नचाउने भए म पल शाहलाई लिन्थिन होला । मैले पललाई फिल्मको प्रस्ताव गर्दा ऊ सकारात्मक थियो । टिजर र ट्रेलरमा पलको काम देखेर राम्रो र नराम्रो दुवै प्रतिक्रिया सुनें । के मान्छे कुट्नलाई ठूलै ज्यानको मान्छे चाहिने हो ? उसो भए सानो जिउ भएको मान्छेले बच्चै जन्माउदैन त ? । त्यसका लागि इच्छा शक्ति र हिम्मत ठूलो कुरा हो । मान्छे ठूलो ज्यान भएर मात्र पनि हुँदैन, हिम्मत चाहिन्छ, त्यो हिम्मत मैले पलमा देखें’, सुदर्शन भन्छन्।
फिल्म ‘रावायण’मा सिक्वेलको सम्भावना धेरै रहेको सुदर्शनको बुझाई छ । ‘रावायण’मा सिक्वेलको सम्भावना धेरै छ । अहिले घोषणा गर्न मिल्दैन । तर फिल्म हेरिरहँदा दर्शकले त्यो महशुस गर्छन्’, उनी भन्छन् ।
Facebook Comment