वर्तमान सरकारले देश र जनतालाई केन्द्रमा राखेर काम गरिरहेको छः प्रधानमन्त्री ओली
काठमाडौं। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले देश र जनतालाई केन्द्रमा राखेर काम गरिरहेको बताएका छन्।
मंगलबारबाट पार्टी कार्यालय च्यासलमा सुरु एमाले पोलिटब्यूरो बैठकमा ओलीले देश र जनतामा केन्द्रीत भएर सरकार अघि बढेको बताएका हुन्। त्यस्तै ओलीले माओवादी अध्यक्ष प्रचण्डको अभिव्यक्ति सत्ताबाहिर निस्कनुको पिडा मात्रै भएको धारणा राखेको पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। बैठकमा पार्टी महासचिव शंकर पोखरेलले निर्णायक राष्ट्रिय शक्ति निर्माणका सन्दर्भमा वार्षिक कार्ययोजना प्रस्तुत गरेको गौतमले बताए।
वार्षिक कार्ययोजनामा मूलत–पार्टीको सदस्यता नविकरण, विस्तार, अभिलेखीकरण, पार्टी कमिटीका नियमित अधिवेशन, पार्टी कमिटीको मूल्यांकन लगायत समावेश गरेका छन्। त्यस्तै सरकार र जनप्रतिनिधिहरुको प्रभावकारी परिचालनका साथै जनता र राष्ट्रका पक्षमा वर्तमान सरकारले गरेका कामहरुलाई जनस्तरमा पुर्याइने समेत योजना रहेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए।
यसैगरी, कार्ययोजनामा पार्टी प्रवेश गरेकालाई तीन महिनाभित्र कमिटीमा जिम्मेवारी दिइने, पार्टीको केन्द्रमा एक र सातै प्रदेशमा पार्टी स्कूलका स्थायी संरचना खडा गर्ने, अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने समेत उल्लेख रहेको गौतमले बताए। कार्ययोजनामाथि बुधबार सदस्यहरुले धारणा राख्ने र आवश्यक निर्णय लिइने एमालेले जनाएको छ।
Facebook Comment