कलाकार प्रमोद अग्रहरी फिल्म ‘रावायण’मा ‘आलम’ चरित्र लिएर दर्शकमाझ आउँदै
काठमाडौं। कलाकार प्रमोद अग्रहरी यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘रावायण’मा ‘आलम’ चरित्र लिएर दर्शकमाझ आउँदैछन्। निर्देशक सुदर्शन थापा निर्देशित यो फिल्ममा सुदर्शनसँग प्रमोदको ‘चंखे शंखे पंखे’ पछि दोस्रो सहकार्य हो।
फिल्ममा प्रमोदले मुस्लिम समुदायको प्रतिनिधित्व गरेका छन्। ‘मसँग सुरुमा सम्झौता हुँदा ‘काल्का’ चरित्रको लागि भएको थियो। त्यो चरित्रका लागि सबै लुक्स बनाएँ, तर पछि उहाँहरुबीच के भयो को नि, मलाई काल्का भन्दा आलमको क्यारेक्टर गर्नुपर्यो भन्नुभयो। सुदर्शनजीले ‘त्यो क्यारेक्टर गर्ने कोही पनि क्यारेक्टर मैले भेटिनँ’ भनेपछि मैले त्यसमा सहमति जनाएँ। सुदर्शन मेरो मिल्ने साथी पनि हो । हाम्रो कमै भेट भए पनि एकअर्का प्रति रेस्पेक्ट छ’, प्रमोद भन्छन्।
उनले आफू पछि हटेर कुनै राम्रो चरित्र बन्छ भनेर आफू अर्को क्यारेक्टरमा गएको खुलाए। ‘मेरो लागि काल्का, आलम अथवा सबै क्यारेक्टर स्क्रिनमा आउँछन् भने पावरफूल नै लाग्छ। निर्देशकले त्यो क्यारेक्टरलाई कसरी पोट्रे गर्छ, त्यो क्यारेक्टरले के बोल्न खोजिरहेको छ, समाजमा त्यसले के भन्न खोजिरहेको छ भन्ने कुरा देखाउन सकियो भने त्यो पावरफूल मान्छु। चाहे उसको दृश्य एउटा मात्र होस् या फिल्मभरी नै’, प्रमोदको भनाइ छ।
प्रमोद हिमाली अथवा पहाडी चरित्रमा आफूलाई दर्शकमाझ देखाउन चाहन्छन्। तर उनकै भनाईमा यस्तो स्क्रिप्ट अहिलेसम्म उनको हातमा परेको छैन। ‘मैले मधेसी क्यारेक्टरमा धेरै भेरिएसनमा काम गरेको छु। एउटा खलपात्रमा यति धेरै भेरिएसनमा कसैले काम गर्यो होला भन्ने मलाई लाग्दैन। जो मान्छे एउटै क्यारेक्टरमा फरक-फरक काम गर्न सक्छ भने त्यो त झन् मेरा लागि चुनौती र रमाइलो कुरा हो’ प्रमोद भन्छन्, ‘उहाँहरुले मलाई जहिल्यै तराईकै क्यारेक्टरमा दिइरहँदा चित्त बुझेको छैन। मलाई पहाड, हिमालको क्यारेक्टर गर्न मन लाग्छ । आफूलाई प्रयोग गर्न मन लाग्छ । तर मेकरले त्यो रिस्क लिन खोज्नुहुन्छ भन्ने मलाई लाग्दैन।’
Facebook Comment