चिकित्सा शिक्षाको प्रवेश परीक्षाको नतिजामा भएको त्रुटी छानबिन गर्न सरकारलाई निर्देशन
काठमाडौं। चिकित्सा शिक्षा आयोगले लिएको प्रवेश परीक्षाको नतिजा प्रकाशनमा भएको त्रुटीका बिषयमा १० दिनभित्र छानबिन गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ।
सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले शिक्षामन्त्री र आयोगका पदाधिकारीसँग छलफल गर्दै नतिजा प्रकाशनमा भएको त्रुटीका बिषयमा छानबिन गरि प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो। समिति सभापति अम्वर बहादुर थापाले विद्यार्थीको भविष्यसंग जोडिएको चिकित्सा शिक्षाको एकीकृत प्रवेश परिक्षाको नजिता प्रकाशनका देखिएको कमजोरीको १० दिनभित्र छानबिन गरि तथ्य कुरा बाहिर ल्याउन निर्देशन दिएको जानकारी दिए।
त्यस्तै आगामी दिनमा मेरिट प्रणालीमा कुनै पनि सम्झौता नगरि आम नागरिक र सम्बन्धी व्यक्तिहरुको विश्वास जित्ने गरि आवश्यक सुधार गर्न पनि आयोगलाई निर्देशन दिएको उनले बताए।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मन्त्रालयले यस विषयमा आवश्यक छानविन गर्ने बताए। उनले नजिता आएपछि आफु निरन्तर आयोगसँग छलफलमा रहेको भन्दै समस्या हल गर्ने उल्लेख गरिन्। नतिजाप्रति आएका गुनासाहरुको दायित्व आफ्नो निकायले लिने उनले बताइन्। उनले आयोगलाई स्वतन्त्र ढंगले काम गर्नका लागि कमि हुन नदिएको र कुनै हस्तक्षेप नगरेको जिकिर गरिन्।
त्यस्तै आयोगका उपाध्यक्ष डा अञ्जनी कुमार झाले रोल नम्बरको आधारमा नजिता प्रकाशन गर्दा गल्ती कमजोरी भएको स्वीकार गरिन्। समान नम्बर लिएर आएको समूहमात्रै नजिता फरक परेको भन्दै छानबिनका लागि आयोग तयार रहेको उनले बताइन्।
बैठकमा समिति सदस्यहरुले चिकित्सा शिक्षाको परिक्षामा ठूलो त्रुटी भएको भन्दै छानबिनको माग गरेका थिए। रोल नम्बर एउटा विद्यार्थीको र प्राप्तांक अर्को विद्यार्थीको भई झण्डै तीन हजारभन्दा बढी विद्यार्थीको नतिजा परिवर्तन आएको भन्दै विद्यार्थीहरु समेत आन्दोलित छन्। उनीहरूले ओएमआर सिट हेर्न पाउनुपर्ने, उत्तर पुस्तिका हेर्न पाउनुपर्ने र प्रश्नपत्रको सेट हेर्न पाउनुपर्ने माग गरेका छन्।
Facebook Comment