पेनाल्टी सुटआउटमा हार्यो रियल म्याड्रिड
काठमाडौँ । स्पेनिस क्लब रियल म्याड्रिड क्लब मैत्रीपूर्ण खेलमा इटालियन क्लब एएस रोमासँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिड पेनाल्टी सुटआउटमा पराजित भएको हो । निर्धारित ९० मिनेटको खेलमा २-२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउट बाट भएको थियो ।
पेनाल्टी सुटआउटमा रियलका मार्सेलोले पेनाल्टी मिस गरेपछि रोमा ५-४ ले विजयी भएको थियो । यस अघिको खेलमा रियलका लागि मार्सेलो र कासामिरोले एक एक गोल गरेका थिए भने रोमाका लागि एडिन डिजेको र पेरोट्टीले एक एक गोल गरेका थिए ।
यो सँगै रियलको प्रिसिजनका खेलहरु सकेको छ । प्रिसिजनमा रियलको प्रदर्शन त्यति राम्रो भएको छैन । रियलले एथलेटिकोसँग ७-३ को लज्जास्पद हार बेहोर्यो भने टोटनह्याम र बायर्नसँग पनि पराजित हुन पुग्यो । त्यस्तै आर्सनललाई पेनाल्टीमा जित्यो भने फेनेरबान्स र रेड बुललाई पराजित गरेको थियो ।
अब रियलले ला लिगा अन्तर्गतको पहिलो खेल शनिबार सेल्टा भिगोविरुद्ध खेल्दै छ । लिग सुरु हुने समय आउदा पनि रियलले अझै ग्यारेथ बेल र जेम्स रोड्रीगेजको समस्या समाधान गर्न सकेको छैन । उनीहरु दुवै जना अझै पनि रियल छोड्ने तयारीमा रहेको मिडिया रिपोर्ट आइरहेको छ ।
जिनेदिन जिदानले खेलपछि बेल र जेम्स टिमको हिस्सा भएको बताएपनि बेल र जेम्सले क्लब छोड्न सक्ने कुरा भने नकारेनन् । उनले भने, ‘कोचको रुपमा म बेल र जेम्सलाई टिममा काउन्ट गर्छु तर ट्रान्सफर विन्डो नसकिने बेलासम्म जे पनि हुनसक्छ ।’
जेम्स इटालियन क्लब नापोली र स्पेनिस प्रतिद्वन्दी एथलेटिको जान इच्छुक छन भने बेललाई बायर्न म्युनिखले इच्छा देखाएको बताइएको छ ।
Facebook Comment