कविता : म राष्ट्रिय गान गाउनै सक्तिन
आँगनमा
नानीहरु रोइरहेको बेला
नानीहरुलाई
पंक्तिबद्ध बनाएर
‘लेफ्ट राइट’ को
आडम्बरी कवच भित्र
झण्डा सलामको
कोर्के हातहरु हल्लाउँदै
म
राष्ट्रिय गान गाउनै सक्तिनँ।
मुलुकमाराहरु
गम्भीर नभइरहेको बेला
अबोध नानीहरु
कसरी गम्भीर हुन सक्छन्?
गम्भीर हुनु पर्नेहरु
अगम्भीर देखिन्छन्
विचरा नानीहरु
श्रीमान गम्भीर भनि रहेछन्
नानीहरु !
जसलाई
फूलका कोपिला भने हुन्छ
तिनीहरुकै थाप्लोमा
राष्ट्रियता थोपरेर
‘लेण्डुप दोर्जेहरु’
अर्राष्ट्रिय बन्दै गइ रहेछन्
म
राष्ट्रिय गान गाउनै सक्तिन।
सिंगोे मुलुक
अबन्नति भइ रहेको बेला
उन्नतिका
थोत्रा बिगुलहरु बजाएर
नानीहरलाई दिग्भ्रमित पार्दै
जयजयकारको
अर्थहीन डम्फू ठटाउँदै
म
राष्ट्रिय गान गाउनै सक्तिन।
अकालमै
मान्छेहरु मरिरहेको बेला
नानीहरु
कसरी चिरायूको कामना गर्न सक्छन्?
चिरायू हुनु पर्नेहरु
अल्पायूमै मारिन्छन्
विचरा नानीहरु
नजानेरै ईश्वर पुकारी रहेछन्।
हे ईश्वर!
प्रजा कति फैलनु पर्ने हो?
जवाफ देउ!
तिम्रा कथित भक्तजनहरु
साधु विराला भइरहेछन
म
राष्ट्रिय गान गाउनै सक्तिन।
मलाई अराजक घोषणा गर
तिम्रो कानुनको चौघेरा भित्र
म अटाउँन चाहन्न
ओ महाशय!
मलाई असंबैधानिक बनाउ
छातीमा ‘प्लेकार्ड’ टाँग
तिम्रो शहर भरी झ्याली पिटाउ
र
मलाई घिसार्दै यातना शिविरमा लैजाउ
मलाई कोलाहल मन पर्छ
म केही नाराहरु सहित
तिम्रो सडकमा पछारिएको छु
मलाई कटबाँसका लाठीहरुले ‘मार्च’ गर
र
शरीर भरी नील डाम बनाउ
म हातमा मशाल बोकेर
राँके भूत जस्तै
यो मौन सडकमा आएको छु
आवाजहरुलाई विष्फोटित गराउन
सावधान !
समयलाई बन्धक नराख
म समय सँग पौठे जोरी खेली रहेको छु
मेरो नागरिकता हराएको छ
म अनागरिक भएको छु
मलाई सम्झौता पत्रमा हस्ताक्षर गर्न लगाउ
क्षति पूर्तिको रंगीन ‘कार्ड’ देखाएर
ट्रकमा कोच
र
सीमा कटाउ
शरणर्थी शिविरहरुमा
म संग केही ढुंगाहरु छन्
म सँग केही काला कपडा छन्
म खतराको ‘ओभरकोट’ ओडेर
अदालत आइरहेको छु
होसियार!
‘इजलास’ सुरक्षित राख
मलाई थाहा छ
एउटा अस्वीकृत जमात
मेरो पछि पछि आइरहेको छ
म तिनीहरु कै पक्षमा बहस मच्चाई रहेछु
मेरो मुखमा पट्टी बाँध
पाता कसेर लडाउ
मध्य रातमा ‘क्रश’ मा टाँग
ओ महाशय !
अहिले त मेरो हातमा ‘‘ग्रिनेड’’ छ
मलाई अराजक घोषणा गर ।
सुन्दरहरैंचा-६, दुलारी, मोरङ
Facebook Comment