नियात्रा

अलामो किल्लामा दुई घन्टा

खेमराज पोखरेल
२९ भदौ २०८१ ७:५८

म अचेल अमेरिकाको टेक्सस राज्यको सान एन्टोनियो सहरमा बसेको छु। यो कुरा गर्ववोध होइन, परिवेशीय सूचना मात्र हो। यो बसाइ स्थायी पनि होइन, अस्थायी पनि होइन।

अस्थायी जीवन बोकेका हामी, के स्थायी-के अस्थायी? परिवेशीय झोँकाले उडाएको परिवेश त हो रहेछ स्थायी र अस्थायी पनि। यही स्थायी र अस्थायी सोचभित्र घुम्दो रहेछ जिजीविषा। अहिले यत्ति बुझौँ। म जीवनलाई यसरी नै बुझ्दै छु।

अहिले एउटा संयोगलाई सम्झिरहेको छु। कुनै एकदिन म मेरा भिनाजु शिवजी उपाध्यायलाई भेट्न अस्टिन गएको थिएँ। कुरै कुराको सिलसिलामा उहाँले भन्नुभएथ्यो ः ‘कृष्ण, अलामो गयौ?’

मेरो घरायसी नाम कृष्ण हो। र आफन्तमा यही नामले पुकारिन्छु।

त्यो बेला मैले ‘गएको छैन’ भन्ने अर्थमा मुन्टो हल्लाएँथेँ।

अनि फेरि भन्नु भएथ्योः ‘अरे तिमी हिस्ट्रीको प्रोफेसर, अनि आएको ६ महिनासम्म पनि सान एन्टोनियोमै बसेर अलामो नगएको!’

भिनाजुका कुराले त घच्चीकै तनाब दिएथ्यो मलाई। मनले उचालिएर अलामो पुगिहाल्ने हतार त गरेथ्यो बिचरा। तर समय न हो। अमेरिका पुगेका मान्छेले बुझ्छन् कि समय मिलान अमेरिकामा निकै चुनौतीको कुरा हो। नेपालमा भए फुर्सदै फुर्सद।

अलिकति पैसाको जोहो गरेर टिकट काट्यो -पुगिहालिन्थ्यो। भाषा आफ्नो हुन्थ्यो। पब्लिक साधनमा पहुँच र अपनत्व हुन्थ्यो। तर के गर्ने नेपालको आफ्नो लुर अमेरिका आएपछि लल्याक-लुलुक भइहाल्दो रहेछ।

नेपालमा ‘सर’ भनेर नमस्ते खान अभ्यस्त भएका म जस्ता बूढा प्रोफेसरको पाइन निकालिहाल्छ अमेरिकाले। हो त्यस्तै भयो मलाई पनि। आफ्नो लुर नभएपछि घुर्‍यान पनि टाढा भनेझैँ भएथ्यो।

मनभित्रका जिजीविषाहरू सबै त कहाँ पूरा हुन्छन् र ! यो अलामो पनि एउटा रहर न रहेछ। जुन हजारौँ रहरका रहमा हराउन पनि सक्थो। किनकि हजारौं रहरहरू त यसै पनि हराएकै छन्, उसै पनि हराएकै छन्।

तर अहँ, मेरो सबालमा यो अलामो किल्ला त्यो जिन्दगीको भासे रहमा हराएन। समयले अनुमति दियो। र आज सन २०१९ को सेप्टेम्बर महिना, म श्रीमती तथा छोरी-ज्वाइँसँग अलामो जान पाइला उचालेको छु।

यतिञ्जेल मलाई थाहा भइसकेको छ कि संसारका कोही पनि मान्छे अमेरिकाको टेक्सस राज्य घुम्न पुगेको छ भने ऊ निसन्देह अलामो किल्ला पुग्छ नै। अलामो किल्ला अमेरिकाका टेक्सनहरूको वीरताको इतिहास हो। अलामो चर्च किल्ला टेक्सनहरूको स्वतन्त्रताको प्रतीक हो।

गाडीबाट एक घण्टाजति सरर गुडेपछि हामी अलामो किल्लामा लाइनको पुछारमा गएर उभिएका छौं। लाइन निकै लामो छ। जुन महिनाको टेक्ससको तप्तता छ। तर लाइन छिटोछिटो सरिरहेको छ। लाइनमा उभिएका एकले नचिनेका अर्कालाई छुँदैनन्।

यही बेला मलाई राजविराजको राज सिनेमा हलमा टिकट काट्दा भिडले थिचेर झन्डै मारेको र टिकट काट्ने दुलोमा हात अड्किएर पञ्जाको छाला खुइलिएको संस्मरण ताजा भएर आएको छ। फेरि सोचिरहेको छु नेपालमा भए यस्ता जाबा लाइन अनेकन बहानामा उछिनेर पुगिन्थ्यो। फेरि लाइनलाई नटेर्नु नेपालमा त बहादुरी हो नि।

अँ त लाइन सभ्य छ। त्यसो त कुनै जोडी अँगालो मारेर किस गरिरहेका पनि छन् नि। भित्र पस्दै गरेका र बाहिर निस्कँदै गरेका मान्छेहरूका पहिरन विविध छन्। किनकि पहिरन भनेको त्यो व्यक्तिको स्वतन्त्रता भन्ने कुरो बुझेको देश भएकाले नेपालमा जस्तो क्वार्र परेर कसैले हेरिरहेको छैन। त्यो एउटा स्वाभाविक प्रकृया हो। नेपालमा भए त्यो पहिरनबाट देखिएको दृश्यलाई दिमागका अव्यक्त कुण्ठामा कविले काव्य लेखेर वाहवाही पाउने थिए।

पहिले म सोचिरहेको थिएँ कि अलामो किल्ला भनेपछि त्यो कहीँ दूर–दराजमा होला। ठूलो क्षेत्रफलमा समेटिएको होला। तर अलामो किल्ला त सान एन्टोनियोको डाउन टाउनको मध्य भागमै रहेछ। किल्लाको गेटमै मान्छे भित्र जाने र बाहिर आउने बराम छन्। खचाखच छन्। लाइन सभ्य छ। होहल्ला छैन। कोलाहल छैन।

म ओल्लो डाँडाबाट पल्लो डाँडामा उन्मुक्त रूपले ‘ए ………….काइँला’ भनेर एक बिहानको बाटोमा कराएर सन्देश प्रवाह गर्ने संस्कृति अनुकुलको मान्छे, तर यहाँ त लाग्दथ्यो मान्छे छैनन्। बाहिर फोटो खिचिरहेथे। भित्र खिच्न नपाइँदो रहेछ। गाइड चाहिने भए पैसा लाग्ने रहेछ। नत्र फ्री। तपाईँ नेपाली हुनुहुन्छ भने बुझिहाल्नु भयो होला, हामीले गाइड लिएनौँ।

सामुन्नेमा खण्डहर देखिने एउटा घर छ। त्यसको अगाडिपट्टि अलामो किल्लामा सहादत प्राप्त गर्ने वीरहरूको नामावली सङ्गमरमरमा लेखिएको ठूलो ढुङ्गे बोर्ड छ। ईँटाले छापिएको चौडा आँगन छ। र, हामी त्यही बाटो भएर लाइन लाग्दै मूल घरतिर पसेका छौँ। पस्तापस्तै एउटा ठूलो बैठकजस्तो कोठा देखिन्छ।

त्यसमा अलामो युद्धमा प्रयोग भएका हतियारको प्रदर्शनी राखिएको छ। अलामो किल्लाको र त्यहाँको युद्धको डमी बनाएर राखिएको छ। भित्र मान्छे कुँडुलो परेर आइरहेका छन्। गइरहेका छन्। गाइड लिएर भित्रिएकाहरू भने अलामोको डमीनजिकै गाइडको छडीले देखाएको विन्दुमा अलामोको इतिहास खोज्दै छन्।

त्योसँग जोडिएरै एउटा क्युरियोको दोकान देखिएको छ। र, त्यसमा अलामोसँग सम्बन्धित चिनोहरू काइदा काइदाका छन्। मोल मोलका छन्। थरि थरिका छन्। हामी त्यो कोठाबाट बाहिरिएका छौँ। बाहिर ठूलो चौर छ, जहाँ अलामोका कमाण्डर सहिदहरूका सालिकहरू छन्।

सालिकको शिलामा उनीहरूको योगदान लेखिएको छ। त्यसको पूर्वपट्टि एउटा टिनको छाप्रो छ। त्यसको एकाछेउमा रेस्टरुम, त्यसको अर्को छेउमा रेस्टुरेन्ट, त्यसको अर्को छेउमा फेरि अलामोको चिनोको दोकान छ।

यसैको बिचमा एउटा निकै ठूलो टिभीले अलामो किल्लाको डोकुमेन्ट्री देखाउँदै छ। त्यो डोकुमेन्ट्री पटकपटक देखाएको देखाएै गरिने रहेछ। मान्छेहरू आइरहेछन्। डोकुमेन्ट्री हेरिरहेछन्। हामी पनि त्यहाँ खाली भएका कुर्सीमा बसेर, कोही उभिएर त्यो डकुमेन्ट्री हेर्न थालेका छौँ।

संयोग, हामी पुगेपछि पुन डकुमेन्ट्री सुरु भएको छ। स्क्रिनमा अलामोको नक्सा देखाइयो। यसको हालको क्षेत्रफल ५ एकड रहेछ (२१७८०० वर्ग फिट)। स्क्रिनमा तल सम्बत देखियो सन १७१६। स्पेनका रोमन क्याथोलिक मिसिनरीहरूले त्यो क्षेत्रमा प्रवेश गरे। सोही सालदेखि रोमन क्याथोलिक चर्च बनाउन सुरु गरे।

हेर्दा हेर्दै एउटा चर्चको निर्माण भयो। सन १७१८मा भवन पूरा भयो। टिभीको स्क्रिनमा एउटा मान्छे बुझिने अङ्ग्रेजीमा विस्तारै विस्तारै अथ्र्याइ पनि रहेको छ, यो चर्च स्प्यानिस रोमन क्याथोलिकहरूको चर्च थियो, किल्ला पनि थियो।

दृश्यमा यो चर्चमा रोमन क्याथोलिकहरूले क्रिस्चियन धर्म लिएका अमेरिकी इन्डियनलाई प्रशिक्षण दिँदै गरेको देखियो। सायद यो रोमन क्याथोलिक ब्राण्डको इसाइकरणको अभ्यास थियो टेक्ससमा। र पछि बन्दुक अनि शासन गर्ने प्रपञ्च थियो।

यो बेला नेपालका त्यही समयका राजा पृथ्वीनारायण शाहले आफ्ना दिव्योपदेशमा भनेका कुरा सम्झिएँ। र, इसाईलाई निकाला गरेको पनि सम्झना आयो।

टिभी स्क्रिनमा भएका घटनाको वर्णन टिभीकै एउटा स्वरले भन्दै पनि छ,

“स्प्यानिस रोमन क्याथोलिक मिसनरीले सन १७४४ सम्म यो चर्चको माध्यमबाट ३०० भन्दा बढी अमेरिकन इन्डियनहरूलाई क्रिस्चियन बनाइसकेका थिए। र यही बेला यो चर्चलाई मोटो पर्खाल लगाएर किल्लाको रूप दिए। स्प्यानिसहरूको यो गतिविधिबाट टेक्सस सरकार सशंकित भयो। र सन १७९३ मा स्प्यानिस मिसिनरीलाई ब्यान्ड गरियो। त्यसपछि यो किल्लाको नाम स्प्यानिस भाषामा कपासको बोट भन्ने अर्थमा अलामो राखियो।”

हामी स्क्रिन हेर्दै छौँ। अलामो किल्लामा टेक्सन सेना र मेक्सिकोको सेनाका बिचमा युद्ध हुनथाल्यो। यो युद्ध भइरहन्थ्यो रे। अलामो किल्ला पटक पटक युद्धस्थल भएको थियो रे।

यसै बेला स्क्रिनमा सन १८३५ देखायो। मेक्सिकन सेनासँग टेक्ससका सेनाले वीरतापूर्वक लडिरहेका थिए। रगतका आहालहरू देखिन्थे। हाहाकार र ठूलो होहल्ला भइरहेथ्यो। सैनिकहरू पुर्लुक-पुर्लुक ढलिरहेथे।

टिभीको स्वर शालिन शब्दमा अथ्र्याउँदै थियो,

‘सन १८३५ मा मेक्सिकन सेनाले टेक्सन सेनासँग पराजित भएर आत्मसमर्पण गरेकाले अलामो किल्लामा टेक्सन सेना बस्न थाले। मेक्सिकन सेना फिर्ता भएपछि टेक्सनले अब युद्ध सकियो भन्ने ठानेका थिए।

त्यसकारण थोरै सेना मात्र अलामो किल्लामा थिए। तर १८३५ कै फेबु्रअरी महिनामा स्यान्टा अन्नाको नेतृत्वमा मेक्सिकन फौजले अलामो किलामा आक्रमण गर्यो। यो युद्ध १३ दिनसम्म भयो।’

यता स्क्रिनमा देखाइँदै थियो। अचानोमा राखेर मेक्सिकन सेनाले टेक्सन सेनालाई काट्दै थियो। रगतको आहाल बगेको थियो। हेर्दा विभत्स देखिन्थ्यो। त्यहाँ हेर्न बसेका मानिसहरूको अनुहार दुःखी र मलिन थियो। एकजना टेक्सन हेनरी बर्नेल मात्र भाग्न सफल भए। बाँकी सबैलाई त्यही किल्लामा स्वहा पारियो। किल्लालाई मेक्सिकन सेनाले पुरै घेरेका थिए। स्क्रिन हेर्ने सबैको मन स्तब्ध भएको थियो।

फेरि त्यो टिभीको स्वर स्क्रिनमा भन्दै थियो,

‘यसपछि टेक्सन सेनाले मेक्सिकोको सेनालाई अलामोबाट भगाउन ठूलो तयारी गरे। यो किल्ला टेक्सनहरूको लागि जीवन-मरणको सवाल थियो। टेक्सन सेनाको नेतृत्व स्याम ह्वीस्टनले गरेका थिए।

फलस्वरूप सन १८३६ को अप्रिल २१ मा टेक्सन सेनाले मेक्सिकन सेनालाई परास्त गरी सेनापति स्यान्टा अन्ना लाई कैद गर्यो। यसपछि मेक्सिकोबाट टेक्सस सदाको लागि स्वतन्त्र भयो। र रिपब्लिक अफ टेक्सस हुन पुग्यो। सन १८४९ मा टेक्सस संयुक्त राज्य अमेरिकामा गाभियो।’

मान्छेहरू खुइय गर्दै छन्। म यो क्रुर युद्धलाई संसारका क्रुर युद्धसँग कल्पना गर्दै छु। इतिहासका निरङ्कुसताहरू कस्ता डर लाग्दा र विभत्स हुने होला ? म नेपालको इतिहासका क्रुर घटना सम्झँदै छु । कोतको पटाङ्गिनीमा नेपालका भारदारहरू काटिँदा कस्तो भएथ्यो होला ?

राजदरवार हत्याकाण्डमा मारिएको दृश्य कति भयानक थियो होला ? के गर्ने नेपालको कोत, भण्डारखाल जस्ता घटनाहरू भएको ठाउँको बारेमा पनि नेपालीलाई नै जानकारी छैन। अमेरिकामा आइपुगेर भए पनि एउटा विभत्स तर टेक्सनको लािग वीरताको इतिहास बोकेको यो अलामोको भ्रमण गर्दा मन भने नेपालकै हत्या काण्डहरूमा पुगिरहेको छ।

भारतको क्रुर कालकोठरीको घटना पनि दिमागमा आइरहेको छ। मान्छेले मान्छेलाई सभ्यता निर्माण गर्ने, अधिकार स्थापना गर्ने र शासन चलाउने यात्रामा वलीदान दिएका संसारभरका योद्धाहरूको संस्मरण भयो। र नमन गरेँ।

यता टिभीको स्वर सन १८३६ को भिषण युद्ध र टेक्सनहरूको वीरताको बयान गर्दै छ र त्यो अलामो किल्लाको इतिहास बताउँदै छ,

‘टेक्सस अमेरिकामा गाभिएपछि अलामो क्षेत्र वेवारिसे हुन थाल्यो। निजी मान्छेलाई बेच्न थालियो। तर सन १८९५ मा अदिना इमिला दे जभाला र क्लारा द्रिसकोल नामका दुई बहिनीहरूले अलामो बचाऊ अभियान सुरु गरे।

टेक्सनको वीरताको र जीतको इतिहास बोकेको अलामो किल्लाको संरक्षण गर्न सरकारका सामू चौतर्फी दबाब दिन थाले। फलस्वरूप सन १९०५ मा टेक्ससको व्यवस्थापिकाले विधेयक पास गरेर अलामोका बाँकी अवशेष लियो।

फलस्वरूप सन जुलाई २०१५ मा रिभर वाकसहित यो अलामो युनेस्को विश्व सम्पदामा सूचिकृत भयो। उनै दुई बहिनीलाई ‘डटर अफ टेक्सस’ भनी इतिहासले उनीहरूको सम्मान गर्‍याे।’

म भने अमेरिकाको त्यो युगमा सरकारी जग्गा बेच्ने जग्गा दलालले ढौँटरी मारेको युग रहेछ भन्ने ठान्दै छु। अहिले हाम्रो नेपालमा ठ्याक्कै त्यही उपक्रम भइरहेकोप्रति साह्रै धेरै चिन्ता लाग्यो। बालुवाटार सुरक्षित नभएको आफ्नै आँखाले देख्नुपर्दै छ। जग्गा दलाल सल्बलाएको युगमा बाँचिरहेछ नेपाल।

नेपालले ‘डटर अफ टेक्सस’ जस्तै वीराङ्गनाहरू खोजिरहेछ। नेपालीहरूले खुकुरीको धारमा ज्यान राखेर जोगाएका यस्ता ऐतिहासिक किल्लाहरू, नेपाली इतिहास बोकेका गढ र गढीहरू अलपत्र परेका छन्। नेपालीलाई नै ती किल्ला, गढको पत्तो छैन भने विदेशीलाई त्यस्ता किल्लामा भ्रमण गराएर सुको कमाउने योजना आउन त शताब्दी नै कुर्नु पर्ने होला।

उफ ! म एकोहोरिएँ छु। किनकिन मन नेपालै पुग्छ यो बेला। कुनै कुरा राम्रो देख्दा ‘यो कुरा नेपालमा भए हुने’ भन्ने सोच आइहाल्छ। तर यही बेला स्क्रिनको स्वर भन्दै थियो, ‘यो अलामो किल्लामा प्रतिवर्ष ३ मिलियन मान्छेले भ्रमण गर्छन्।’

डोकुमेन्ट्री सकिएको छ। टेक्सन नागरिक त रुँदै छन्। मान्छे फेरि आइरहेका छन्। डोकुमेन्ट्री फेरि सुरुभएको छ। हामी बाहिर निस्किएका छौँ। अलामो किल्लाको युद्धपश्चात जस्तो रूप भएको थियो, त्यस्तै संरक्षण गरिएको छ। उनै भत्किएका पर्खाल, गोलीले प्वाल पारेका भित्ताहरू, उही झ्याल, उही ढोका।

भित्र हेर्दा लाग्दथ्यो यो त्यही युगको खण्डहर हो। इतिहास सुरक्षाको त्यो चेत कसले दियो होला अमेरिकनलाई ? जवकी हाम्रो नेपालमा मात्र नभएर दक्षिण एसियामा नै पुराना कुरा भत्काएर नयाँ बनाउने लहड नै चलेको हुन्छ। हाम्रो धरहरा जतिपल्ट भत्क्यो, त्यतिपल्ट नयाँ बन्यो। पुरानो इतिहास मारियो।

यहाँ एकछिन उभिएर कल्पिएँ, इतिहास जोगाउन खप्पीस छन् पश्चिमा। इतिहास मार्न खप्पीस छन् नेपाली। पुराना सालिक भत्काउँदै नयाँ मान्छेका सालिक बनाएर क्रान्तिकारी हुने देशमा म के भनूँ ?

गेटबाट बाहिर निस्किएका छौँ। मन अमिलो भएको छ। नजिकैको कफीसपमा कोलम्बियन डार्क रोस्ट कफी एक–एक प्याला लिएर घर फर्केका छौँ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *