सोमपालले आउट गरेका थिए विष्फोटक ब्याट्सम्यान, त्यही जितपछि फाइनल पुगेको थियो हक्स
काठमाडौं। ग्लोबल टि–२० लिगको उपाधि विनिपेग हक्सले जितेको छ । नेपाली खेलाडी सोमपाल कामी आबद्ध यो टिमले उपाधि जित्दा एकतर्फ नेपाली फ्यान खुसी छन् भने अर्कोतर्फ सोमपालले भने खेल्न नपाएकोमा दुखी पनि छन् । सोमपालले यो पूरै लिगमा एक खेलमा मात्र प्लेइङ ११ मा खेल्न पाए । उनको त्यही खेलको प्रदर्शन पनि निराशाजनक रह्यो ।
सोमपालले अगष्ट ३ मा भएको एडमन्टन रोयल्सविरुद्धको एक खेलमा मात्र प्लेइङ ११ मा परेर खेल्ने मौका पाएका थिए । यो खेलमा सोमपालको बलिङले लय समाउन नसक्दा उनले मात्रै २ ओभर बलिङ गर्न पाए । त्यही २ ओभरमा पनि उनले ३३ रन दिँदै १६.५ को इकोनोमीमा निकै महंगा सावित भए । अलराउण्डरको पहिचान बनाएका उनले ब्याटिङमा पनि ५ बलमा मात्रै १ रन बनाउँदै फ्यानलाई निराश पारे । त्यसपछि उनी कुनै पनि खेलमा प्लेइङ ११ मा परेनन् ।
त्यसपछिका खेलमा सोमपाल प्लेइङ ११ मा नपरेपछि नेपाली फ्यानले खेलप्रति खासै चासो दिएनन् । तर, धेरै नेपाली फ्यानलाई थाहा नहुन सक्छ विनिपेग हक्सलाई फाइनल पुर्याउन सोमपालले निकै महत्वपूर्ण योगदान दिएका थिए । ब्राम्पटन वुल्भसविरुद्ध दोस्रो क्वालिफायरको खेलमा सोमपाल १२ औं खेलाडीको रुपमा मैदान छिरेका थिए । यसरी सब्स्टिच्युटको रुपमा जाने खेलाडीले फिल्डिङ मात्र गर्न पाउँछन् । सब्स्टिच्युटको रुपमा मैदान छिरेका सोमपालले वुल्भसका निकै खतरनाक ब्याट्सम्यानलाई आउट गर्न क्याच लिएका थिए ।
वुल्भसका पाकिस्तानी विष्फोटक ब्याट्सम्यान शाहिद आफ्रिदीको क्याच सोमपालले नै लिएका थिए । क्याट आउट हुनु ठिक अघिका २ बलमा आफ्रिदीले लगातार २ छक्का हानेका थिए । उनी १५ बलमै ३२ रन बनाएर क्रिजमा थिए । त्यतिबेला वुल्भसको इनिङको अझै ८ बल बाँकी थियो । यस्तो अवस्थामा पल भान मिकिरनको बलमा आफ्रिदीलाई सोमपालले आउट गराएका थिए ।
Facebook Comment