राज्यलक्ष्मी खतिवडाका चार कविता
कल्पनामा डुवेको मन
अन्धकारको पर्दा भित्र खोजी हिँड्छु धेरै धन
कल्पनाको सागरमा डुबेको छ सधैं मन
बादलुले छेकी दिन्छ आएर सूर्य किरण
खुलाएर म सक्दिन लेख्न सारा विवरण
म हूँ एक अवला नारी आशिक्षित अभागिनी
चैत्रको न्याउली सँगै बन्दछु सहभागिनी
कोमल ती नारीको मनमा अशान्ति फैलियो किन?
कल्पनाको सागरमा डुबेको छ सधैं मन
कोइलीले बसन्तमा गाइ दिन्छ मिठो गीत
पंखी भए म आउँथे भेट गर्न तिमी सित
वेदनामा छटपटाउँदै वितेछ आधि जीवन
यो मनको भावनालाई के ले रोकिदियो किन?
बसन्तमा फूलेको फूल ओइलिएर झ¥यो किन?
कल्पनाको सागरमा डुबेको छ सधैं मन
बिहान पूर्वमा हेर सूर्यले लाली छाउँदा
स्वप्नाको भान झैं हुन्छ पंक्षीले गीत गाउँदा
अशिक्षित नारीको सारा मनोभावना ओइलियो
शिक्षित नारीको बासना देश विदेश फैलियो
नारीको बेदना मर्म कसले बुझ्ने सबै भन
कल्पनाको सागरमा डुबेको छ सधैं मन
आफ्नै अर्धाङ्गिनीको जुन पुरुष बुझदैन वेदना
हावा सँगै मिली जान्छ नारीको सब भावना
नारी पुरुषको भन्छन् हक छ यो बराबरी
बोले पुरुष कड्केर हुन्छन् नारी थरहरि
सूर्य विनाको दिन जस्तो हुन्छ किन यो जीवन?
कल्पनाको सागरमा डुबेको छ सधैं मन
जहाँ सम्म ती नारीमा छुट्दैन सृष्टिको भार
त्यहाँ सम्म ती नारीले खेप्नु पर्छ सव मार
पहिले प्रेम लगाउँछ नारीको दिल चोरेर
उम्कौं कसरी भन्छ सृष्टिको विज रोपेर
कोमल ती नारीको दिलमा बज्रपात गराउँछ
कि मार्छ लात निष्ठुर भै कित विष पिलाउँछ
फूल्ने फल्ने यो बेलामा सारा आश टुट्यो किन?
कल्पनाको सागरमा डुबेको छ सधैं मन।
आँसुमा डुबेको जीवन
अशिक्षित नारीको आत्मा सधैं बन्दछ काँतर
खोजी हिड्छु सधैं शान्ति मिल्दैन कहीँ आदर
चुलो चैको ढिकी जाँतो गर्छौ चलाई जाँगर
अँधेरीमा सधैं हाम्रो आँसुको बन्छ सागर
सिप हाम्रा सबै पोख्यौ करेसा खेत बारीमा
डुबेछ जिन्दगी हाम्रो दाउरा घाँसको भारीमा
पढौ विद्या दिदी बहिनी चलाई जोश जाँगर
अशिक्षाको अगाडिमा आँसुको बन्छ सागर
कलेजी धड्कदै आयो उमंग देश छाउँदै
परेलीमा झरे आँसु दुःखका गीत गाउँदै
हाँसेर बोलूँ भन्दै छु आँसुले बाटो छेक्दछ
शान्तिमा बाँचूँ भन्दै छु अशान्ति आइ जेल्दछ
अविद्याको कारणले जीवन भर दुःख खेपेर
वस्तछन अवला नारी सारा ती आँसु पोखेर
समुद्रको छाल सँगै उर्लियो आँसुको भेल
आँसुमै डुब्दछ जीवन यस्तै छ कर्मको खेल
जिल्ला भोजपुर हो हाम्रो पर्छ यो कोशी अञ्चल
वेमानी आँखाको नानी सधंै बन्दछ चञ्चल
लेक, बेसी सधैं तिम्रो यही छ एक आदर
परेलीका अगाडिमा बन्छ आँसुको सागर
हटिया भर्न जानु छ डोको र पोको बोकेर
सुशेलीमा गीत गाउँदै बस्तछौ कर्म ठोकेर
बनको मालती जस्तो नारीको जीवन ओइलियो
जीवन भर हाँस्ने रहरमा आँसुको भेल फैलियो
बोल्दछन ती मिठो बोलि कोइली कण्ठ खोलेर
मिल्यो जीवन माटोमा आँसुको रस घोलेर
कराउँदै सबै पंक्षी उड्छन हिमचुुली नाघेर
जीवन भर दुःखको यादमा आँसुको बन्छ सागर
माकुराको जाल भित्र अल्झिएको माखो सरी
अशिक्षित नारीको जीवन बित्ने नै भो यसै गरी
फूलको रसमा झुम्मिई भमरा झैं भुन्भुनाउँदै
स्वप्ना झैं बित्ने भो जीवन गीत यो गुन्गुनाउँदै
पहाडी तटमा खेल्दा छागा छहरा छ आदर
स्वप्नाको खेलमा रम्दै आँसुको बन्छ सागर।
चेलीलाई शिक्षा
चेलीवेटी सबैलाई म दिन्छु आज यो शिक्षा
लिएर जन्म पृथ्वीमा नमाग तिमीले भिक्षा
वनौ कर्मठ हे चेली गर्नु पर्दछ पौरख
शिक्षाको दीप बालेर देखाउ अव गौरब
नफस अब हे चेली माया मोह र स्नेहमा
नलेउ सृष्टिको भार तिम्रो कोमल देहमा
नलेउ अब हे चेली कुपुरुषहरुको आश
गरे कुमान्छेको संगत मिल्ने छ दुःख ह«ास
पहिले साधु विरालो झैं धर्म कर्म बताउँछ
सुखको आश देखाएर मायाको जग बसाउँछ
मायाको जालमा पारि चेलीलाई फकाउँछ
जागिरको आश देखाएर दिल्ली बम्बै कटाउँछ
निष्ठुर पुरुषको जालमा नफस अब हे चेली
आफ्नै पयर टेकेर बाँच्नु पर्छ हाँसी खेली
नवग अव हे चेली रोक बेग जवानीको
नारीमा शक्ति कति छ हेर दुर्गा भवानीको
उनकै अंश तिमी हामी बन्नु पर्दछ कट्टर
चेली बेटी मन तिम्रो बाँध्नु पर्दछ पट्टल
कुपुरुष
नगर्नु कहिल्यै विदेशको प्रतीक्षा
म दिन्छु तिमीलाई यो आज शिक्षा
चेली बेटी बेच्ने यीनै हुन शिकारी
नेपाल रित्तो पार्ने यीनै हुन भिखारी
नउम्काउँ कहिल्यै यी अपराधीलाई
यदि उम्किए मोटाउँछन देश खाई
कुनै आफ्नै श्रीमतीलाई बेच्दछन्
कुनै भान्जी बहिनी दिदीलाई बेच्दछन्
अघाउँदैन खाएर कहिल्यै घिचुवा
यीनै हुन सबै देश खाने चितुवा
चतुरो भई लौ हेर चरा तर्फ
पहिल्यै बन चेलीबेटी सतर्क
नहिता पछि दुःख पर्ने छ भारी
रुदै जान्छ जीवन ईश्वर पुकारी
विषालु यी हुन देशका कालो सर्प
छाडी विष पहिले पछि गर्छ गर्ज
कहिले उही उन्मत्त राँँँगो बनिन्छ
कहिले गाई देवी माथि खनिन्छ
कहिले यीनै बन्दछन चण्ड मुण्ड
दिनु पर्छ यिनलाईता मृत्यु दण्ड
सबै सर्पलाई यज्ञमा होम्नु पर्छ
अनि मात्रै यी दुष्टको शेखी झर्छ
कटाए विदेश चेली वेश्या गराई
विताए जीवन हाय रोई कराई
रित्तिए सवै आँसु आँखाहरुमा
विलाए सबै याद भाखाहरुमा
परियो अधम दुष्टको आज फेला
वित्यो जीवन आँखा खुल्यो यस बेला
म उम्कूँ कसरी परे जालमा
जीवन सुम्पिएँ आज यो कालमा
पर्यो दुःख खेप्नु अशिक्षित हुनाले
वित्यो अन्धकारमै जीवन यो रुनाले
कुपुरुषहरुको निको छैन चाल
अशिक्षित चेलिको गराए बेहाल
यी हुन वंश घाती कुलै सब डुबाई
दिदी,बहिनी, आमा सबैलाई रुवाई
हिँड्यौ मोज मज्जा रजाँइ गरेर
निघृणी भै हिड्दछौ के भनेर ?
सुन्दरहरैचा-६, दुलारी मोरङ
Facebook Comment