प्रधानसेनापतिः ताबेदार कि गेमचेन्जर कमाण्डर?

नेपाली सेनालाई नयाँँ नेतृत्व प्राप्त भएको छ। लामो इतिहास भएको विराट संगठन उही हो। तर संगठन भित्रका फौज नयाँँ छन्। पिरामिडको जग र संगठनको मूल खम्बा (तागत) मानिने सिपाहीहरु द्वन्द्वपछि भर्ना भएको पुस्ता हो।

त्यो अवधि भनेको परिवर्तन, सुधार र समृद्धिको सपना, आश्वासन बाँडिएको संबेदनशील समयको बेला थियो। जुन आज हात लाग्यो शून्यमा झरेको दुर्भाग्य छ। नयाँँ नेतृत्वलाई उच्च आकांक्षा बोकेको यो तागतलाई ब्यबस्थापन गर्नु छ।

राष्ट्रिय हित, राष्ट्रिय सुरक्षा र राष्ट्रिय परिवेश उस्तै नाजुक छ। राजनीतिक, आर्थिक, सामाजिक, कुटनीतिक क्षेत्र चरम निराशाजनक छ।
राष्ट्रिय एकताको माला चुँडिएपछि मुलुकमा बिभाजन र बिखण्डनका बिषबृक्षहरु झाँगिएका छन्।

राष्ट्रिय मेलमिलाप, सद्भाव, सहिष्णुता, अनुशासन, धैर्यताको सुन्दर छानो भत्किएको छ र आम जनतामा छाएको निराशा, तनाव, पीडा अहिले आक्रोशमा परिणत भएको अवस्था छ। त्यसको सोझो असर सिपाहीहरुमा परेको छ।

आम निराशा र आक्रोशले माइतीघरमा लगातार जम्मा भएर सिंहदरबारलाई घेराकस् गरिरहेका छन्। खोई हाम्रो सुन, नुन, पानी भनेर मागिरहेका छन्।

उखु किसान, मिटरब्याजी, सहकारी पीडित, चुरे पीडित, भ्रष्टाचार विभेद, असमानता, अन्याय पीडितको लगातार आन्दोलनले बंगलादेशको भयानक रुप धारण गर्दै छ। अथवा, “सेना आउ देश बचाउ” भन्ने बिन्दुमा पुग्ने चरम निराशा नजर आइरहेको छ।

अन्तर्राष्ट्रिय परिवेश तीब्र बदलिँदो छ। कोभिड-१९ को धक्का, आर्थिक मन्दी र शक्ति सन्तुलनका नयाँ आयामहरुले क्षेत्रीय र बिश्व युद्धका नयाँ बादलहरु मडारिरहेका छन्।

तेश्रो बिश्व युद्धको वार्निङ सिठ्ठी बजिसकेको छ। त्यो भन्दा ठूलो र भयावह बिश्व युद्ध जलवायु परिवर्तनले पर्लयका सिठ्ठीहरु फुकेर हैरान छ। बाह्य हस्तक्षेप नाँगो र फुक्काफाल छ।

मानव सिर्जित र भ्रष्टाचारजन्य बिपदले फौज हैरान छ। आफैं उच्च जोखिममा छ। प्रधानन्यायाधीश र प्रधानसेनापति घर जाने मौकामा चौका हान्न देशका निकुञ्ज, आरक्ष र संरक्षण क्षेत्र तथा त्यहाँ भएका नदीनालाको मुहान हिमालै समेत तस्कर र मालिकलाई बुझाउने संशोधित कानुन पारित भएको दुर्भाग्य छ।

नेपाली सेनाले प्रजातन्त्र र गणतन्त्रलाई बफादार भई सलामी तथा मलजल गरेको र सुशासन एवं समृद्धिको प्रतीक्षा गरेको ३५ वर्ष नाघ्यो। तर, उल्टो कुशासनको गुलामी सलामी र मलामी लाछी सेना भएको टिप्पणीको अन्तर्यमा के छ खोज्नु बुझ्नु पर्ने बेला आएको छ।

अन्तर्राष्ट्रिय सन्धी, महासन्धी, संकल्पको विपरीत बिश्व सम्पदा, राष्ट्रिय पुँजी र जनताको नासो मास्ने हत्याउने राष्ट्रघाती कानुन आँखा चिम्लेर पास गरेका छन् संसद, राष्ट्रियसभा र राष्ट्रपतिले। जुन सम्मानित सर्वोच्च अदालतको अन्तिम न्यायको प्रतीक्षामा छ।

बिज्ञहरुको शब्द सापटी लिँदा मुलुक असफलउन्मुख अथवा तीव्र पतनको बाटोमा छ। सिपाही, समय, परिवेश, चुनौती नयाँ नयाँ छ। मुलुक हाँक्ने नेतृत्व र नारा उही पुरानै।

नेपाली सेनाले प्रजातन्त्र र गणतन्त्रलाई बफादार भई सलामी तथा मलजल गरेको र सुशासन एवं समृद्धिको प्रतीक्षा गरेको ३५ वर्ष नाघ्यो। तर, उल्टो कुशासनको गुलामी सलामी र मलामी लाछी सेना भएको टिप्पणीको अन्तर्यमा के छ खोज्नु बुझ्नु पर्ने बेला आएको छ।

चुनौतीको चाङ माथि खडा आम जनताको आस्था र बिश्वासको धरोहर नेपाली सेनालाई कसरी अगाडि बढाउने भन्ने जटिल अभिभारा आएको छ ४५ औं प्रधानसेनापतिलाई।

भविष्यको परिकल्पना

आगामी २ बर्षमा मुलुकमा उथल पुथल हुने छ। र, मुलुकको बागडोर सम्हाल्न सेनाको सहयोग अपरिहार्य हुने छ। त्यो अनपेक्षित र बाध्यात्मक अवस्थाको पूर्वानुमान गरेर नेतृत्वले आफू र आफ्नो संगठनलाई तयारी अवस्थामा राख्नुपर्दछ।

पूर्व तयारी

नेतृत्व प्राप्त गर्न ठूलो सकस भयो। संगठनलाई गलाउने थकाउने नंग्याउने दुष्प्रयास भयो। नयाँ बर्ष प्रारम्भसँगै सरल रेखामा सिधा हिँड्ने र अन्तर्राष्ट्रिय रोजाई र उच्च मागको बिश्व प्रशिद्ध सेनालाई प्रश्रव पीडा र ऐंठन हुने गरी दुःख दिइयो। यो सिलसिला चलेको ३० बर्ष भए ता पनि यो बर्षको मिडियाबाजी र राजनीतिक ग्रहणले सीमा नाघेको महशुस भयो।

प्रश्रव पीडा सहेर खेपेर बेहोरेर नेतृत्वमा पुगेका प्रधानसेनापतिले गर्नैपर्ने कामलाई बुँदागतरुपमा प्रस्तुत गर्दछु-

पहिलो : आफू हिजोका कपोकल्पित, भ्रामक, झुट, आरोपहरुबाट मुक्त हुने। हीनताबोध माथि गौरवबोधका साथ खडा भएर बिनम्रतापूर्वक कठोर कमाण्ड गर्ने। आन्तरिक, व्यवस्थापन मजबुत बनाउने। अर्काको सूचनामा बहकिने होइन, आफ्नो सूचनाको थैली दरो बाँधेर बिश्लेषण क्षमता, अपरेशन, तालिम बन्दोवस्ती, चुस्त दुरुस्त बनाउने।

सपना, कल्पना र नाराले आन्तरिक व्यवस्थापन मजबुत हुँदैन। आफ्नो आचरण, नैतिकता र त्यागले मात्र संगठन शीघ्र टल्किन्छ, चम्किन्छ।

यसको लागि दुश्मन पहिचान गर्न जरुरी छ। दुश्मन आफैंभित्र, आफ्नै निवासमा र आफ्नै कार्यालयमा हुन्छ। बिचौलिया र दलाल छ्याप्ट्याप्ती भएको मुलुकमा ती बिभिन्न आबरणमा आइ छाड्छन्। चाकडीमार्फत नेतृत्वको देवत्व गर्दै अन्तिममा डस्न र निरीह निकम्मा बनाउन ती च्याम्पियन हुन्छन्। तसर्थ, ती दुश्मनबाट बच्न जरुरी छ।

अहिले नगरे कहिले गर्ने र शक्तिमा हुँदा किन नगर्ने भन्ने स्वार्थ र अहंकारसँग जोगिन नेतृत्वले लक्ष्मण रेखा कोरेर संगठन र मातृभूमिलाई शिरमा राख्नुपर्दछ। नेतृत्वको नयाँ र पहिलो परिवार ८२ हजार फौज हो। ३ बर्षको अग्राधिकार र बिशेषाधिकार त्यो फौजलाई छ।

सेनापतिले आफ्नो परिवार, नाता-कुटुम्ब, इष्टमित्रलाई नम्रसाथ त्यागेर वा अवकाश पछिको समय तिमीहरुलाई भनेर पूर्णकालीन समय दिने आफ्नो पहिलो परिवार (संगठन) लाई हो। त्याग त्यहाँबाट शुरु हुन्छ।

संगठन उठाउन, चम्काउन र मातृभूमिलाई काँध थाप्न ३ वर्ष समयावधि कम हो। तर त्यसलाई दोब्बर बनाउन सकिन्छ। ७ घण्टाको आराम समय बाहेक बाँकी पूरै समय संगठनको खातिर लगाउनु पर्दछ। निष्ठावान भएर अतिरिक्त समय (ओभर टायम) सेवा गर्नै पर्दछ।

सैनिक मूल्य, मान्यता, मर्म र धर्म पनि त्यही हो। सिपाहीले घर परिवार त्यागेर २४ घण्टा डिउटी गर्दा सिपाहीको सक्कली अभिभावक संरक्षक प्रधानसेनापतिले संगठनलाई १६ घण्टा समय किन नदिने?

नेतृत्वलाई यो परीक्षणकाल हो। नजिकै दशै तिहार छठ पर्व छन्। नेतृत्वले सिपाहीकोमा पुग्ने, चिन्ने, सुन्ने र सँगै चाड मनाउने महत्वपूर्ण अवसर हो त्यो। सानो त्यागको यो परिणाम र प्रभाव दीर्घकालीन हुन्छ। सानदार र आजीवन गर्वयोग्य हुन्छ।

चेनअफ कमाण्डले हेरेको, स्टाफले हाँकेको र प्रक्रियाले घिटिघिटी चलेको संगठन र आफू सक्रिय भै प्रत्यक्ष कमाण्ड गरेको संगठन आसमान फरक हुन्छ। अहिले संगठनले खोजेको सक्रिय नेतृत्वको प्रत्यक्ष कठोर कमाण्ड हो।

ठिक यहाँ म ती पूर्व सैनिक नेतृत्वहरुको स्मरण र सम्मान गर्न चाहन्छु। कसैले जंगलबाट ब्यारेक फिर्ता भएको फौजलाई “ब्याक टू बेसिक” तालिममा हालेर घोलेर पुनः ब्यावसायिक लयमा फर्काए। नत्र झुक्याएर पछाडिबाट हान्ने र भाग्ने आतंककारी हमलाले संगठनलाई स-सानो टुकडीमा छरेर गैर-सैनिक- ग्यारिजन बनाइ सकेको थियो।

कसैले ३ वर्ष श्रीमती छोराछोरीलाई छेउमा आउन नदिएर पूर्णकालीन समय संगठनलाई दिए। चाडवाड, शनिबार छुट्टी सिपाहीसँग मनाए। सिपाहीको भान्छामा सिपाहीसँग खाना खाने सुन्दर रीति बसाए। इण्टेलिजेन्स, अपरेशन, तालिम, बन्दोवस्ती, कल्याणकारी सुधार गरे। जनसम्पर्क सु-सम्बन्ध, समन्वय, सहकार्यको असल अभ्यास गरे।

कसैले राजनीतिक शरण र विदेशीसँग उठबस गरे खुट्टा भाँचिडिने कडा आदेश दिएर संगठनलाई अराजनीतिक र विशुद्ध ब्यावसायिक राख्न देन दिए।
कसैले हप्ताको १ दिन अनिवार्य साइकल चलाएर वातावरण संरक्षणमा योगदान दिए। महाभूकम्पमा आफैं खटेर प्रत्यक्ष कमाण्ड कन्ट्रोल गरे र ठूलो जन-धनको क्षति हुनबाट बचाए।

कसैले त्यही असल अभ्यास कोभिड-१९ महामारीमा दोहोर्‍याएर संकटकालीन अवस्थाबाट राज्यलाई उद्दार गरे।

कसैले आफू लुरुलुरु सिंहदरबार नकुदेर जनप्रतिनिधि र सरकारलाई जंगी अड्डामा स्वागत र आतिथ्यता गरेर सैनिक गतिविधि अद्यावधिक गराए। सेनाको नमूना लोकतान्त्रिकरण र समाबेशीकरण प्रष्ट्याए।

प्रथम दोश्रो बिश्वयुद्धको सहभागितादेखि प्राचीनकालीन लडाइहुँदै खम्पा अपरेशनमा सेनापतिहरुले गरेको प्रत्यक्ष कमाण्डको दीर्घकालीन प्रभाव र प्रतापले हो नेपाली सेना आजसम्म एकढिक्का र सशक्त रहेको।

तर, अहिले फुटाउ र शासन गर दुश्मनले राज्यका सम्पूर्ण संयन्त्र तथा न्यायालयलाई समेत ध्वस्त पारिसेको अवस्थामा अब प्रहार गर्ने सेनालाई हो, र हिलो छ्याप्ने, सेना घटाउ भन्ने, नेतृत्व चयन राजनीतिक निर्णयबाट हुनुपर्दछ भन्ने हवाई फायर शुरु भइसकेको छ। राजदूतको ललिपप देखाउने र सिस्नामा सुताउने भद्दा गद्दारी खेल पुरानो भइसकेको छ।

म प्रधानसेनापति हुन्न, जेष्ठलाई देउ र संगठनको परम्परा नतोड भन्ने स्वाभिमान र नैतिवान जनरलहरुलाई उच्च सम्मान छ। तिम्रो राजदूत तिमी नै खाउ भन्ने प्रधानसेनापतिहरुको त्यागलाई सलाम र सम्मान छ।

यस्ता गौरवमय परम्परा भएको गरिमामय संगठनमा ती गौरवहरु कायम राख्न पनि त्यागपूर्ण कठोर प्रत्यक्ष कमाण्ड चाहिएको महशुस भएको हो।

दोश्रो : सेनाको मेरुदण्ड कल्याणकारी योजनाको प्रभावकारिता र पारदर्शीताको कसी र ऐनाबाट भूपू र वर्तमानले नेतृत्वको मूल्यांकन गर्ने हो।

आत्मरतिमा रमाउने चाकडी गर्ने, सिन्को नभाँच्ने र झारा टारेर समय बिताउने नेतृत्वले कल्याणकारी डुबाउने भएकोले त्यहाँ साहसिक, स्पष्ट, सिजर्नशील र प्रतिबद्ध नेतृत्व चयन गरेर आफ्नो प्रत्यक्ष निगरानीमा कल्याणकारीलाई संचालन गर्न जरुरी छ।

२४ घण्टा पेट्रोलपम्पहरु संचालन गरेर सेवा दिने काम प्रारम्भ होस्। सैनिक स्कूल, कलेजहरु र अस्पतालहरु उत्कृष्ट, बिशिष्ट र सेन्टर अफ एक्सिलेन्स बनाउन पहल लिइयोस्।

तेश्रो : म यो गण, यो बेसिक, यो जात, यो क्षेत्रको र कम्फोर्ट जोन र गुटगत संकीर्णतामा नअल्झिएर नेपाली सेना, नेपाल राष्ट्र, विश्व शान्ति सेनाको साझा बिश्वासयोग्य सशक्त प्रधानसेनापति हुँ भन्ने गौरवभाव ओठमा होइन, आचरण र ब्यबहारमा देखाउन जरुरी छ।

चौथो:  संगठनलाई अराजनीतिक, व्यावशायिक र एकढिक्का राख्न हदैसम्मको त्याग र कठोर कमाण्ड होस्। राजनीतिक र बिदेश सम्पर्क, सम्बन्ध, समन्वय सहकार्यको लगाम नितान्त आफ्नो हातमा मात्र होस्।

र, अतिरिक्त समय दिएर भएपनि अराजनीतिक र तठस्थ संगठनका शुभेच्छुक, सहयोगी, राष्ट्रिय थिंक ट्यांक जमात, संचारकर्मी, न्यायमूर्ति, राष्ट्रप्रेमीहरुलाई स्वागत, आतिथ्यिता, अन्तरक्रिया गर्न नेतृत्वको तन मन ध्यान समय सदुपयोग होस्।

किनभने यो तनावपूर्ण संकटको घडीमा नेतृत्व र संगठन आइसोलेसनमा जानु हुँदैन, अथवा, अरुलाई पठाउनु हुँदैन। यो सुशासन टिमबिल्डिङको ट्रयाक टू पहल पनि हो।

पाचौं : अन्य सुरक्षा निकायहरुसँगको सुमधुर सम्वन्ध, समन्वय र सहकार्यको वातावरण अझ प्रगाढ र आत्मीय होस्। किनभने, संकटग्रस्त मुलुकलाई उद्धार गर्ने युनिफाईड फोर्स यही हो।

द्वन्द्वकाल र बिपद्कालको युनिफाईड शक्तिले अब एक ढिक्का भएर मुलुकलाई अन्तिम उद्दार गर्न आफ्नो सम्पूर्ण तागत एकीकृत र केन्द्रिकृत गर्न जरुरी छ। त्यसको पहिलो शर्त सामूहिकरुपमा उपस्थित भएर सैनिक नेतृत्वले सरकारसँग सुशासन माग गर्नु हो।

राजनीतिक नेतृत्व जस्तो सुरक्षा निकायहरुका नेतृत्व जनआक्रोशका सिकार  (टार्गेट) नहून। कुशासनसँग किन सती जाने? निम्न वर्गीय सिपाही र तिनले प्रतिनिधत्व गर्ने बिपन्न बर्ग-जनताको साथ दिएर नेतृत्वहरु सुशासनको संबाहक किन नहुने ?

शुरुवात आफैंबाट आजैबाट

नेतृत्व सम्हालेको ५ हप्ता सकियो। त्यो फर्केर आउँदैन। ५ हप्तामा तमाम गौरवान्वित कामहरु प्रारम्भ भइसके होलान्।

आन्तरिक सुशासनको त्याग आफैंबाट शुरु हुनुपर्दछ र त्यसको सुवास छिटो सर्वत्र फैलिनु पर्दछ। १ घण्टा खेर नजावस्। देश ध्वस्त भयो भनेर संगठन सुस्त हुने छुट छैन।

सुशासनको महाअभियानमा सामेल हुन आन्तरिक सुशासन मजवुत हुनुपर्दछ र पहिलो ३ महिनामा त्यो सुशासनको फूल फुलेर सिपाहीको आँखा नाकमा सुगन्ध पुगिसक्नुपर्दछ र आत्मविश्वास भरिनु पर्दछ।

नेतृत्वको सुशासनको महाअभियानमा सगौरव स्वस्फूर्त साथ दिने मातहत कमाण्डरहरुको जिम्मेवारी हो। हिजो बाटो बिराउनेलाई नेतृत्वले क्षमादान दिएर सुशासन यात्राको एउटै डुंगामा सारालाई एकढिक्का सामेल गराउने हो। अन्कनाउने र अनफिट हुनेलाई दण्ड पुरस्कार नीतिले कस्ने, फ्याँक्ने हो।

निकुञ्ज आरक्ष र संरक्षण क्षेत्र एक्लिएका छन्। गैंडा, हात्ती, बाघ र तिनका बिज्ञहरु च्याप्पिएका र पेलिएका छन्। र, पशुआशिष प्राप्त पूर्व निकुञ्ज कमाण्डर (प्रधानसेनापति) लाई स्वागत, आतिथ्यता, सहयोग गर्न आतुर छन्।

दशैं, तिहार, निकुञ्जमा बितोस्। र, संरक्षण स्तर सुदृढ होस्। अर्को बर्षबाट बिश्व रेकर्ड राख्ने गरी संरक्षण सुनिश्चितता सहितको बृक्षरोपण र हिमाल, ताल, नदी सफाईको वातावरण संरक्षणको काम होस्।

निचोड

बडो सकसका साथ नेतृत्वमा पुगियो। अहिले सिक्ने र पछि पुनः नेतृत्वमा फर्कने सम्भावना छैन। सिपाही बोल्दैन। प्रकृति र माटोले माग्दैन।
नेतृत्वलाई दुई बिकल्प-जागिरे भएर जाने कि जीवनभर सलामी मलामी कमाउने अशल कुशल दुर्लभ नेतृत्व भएर इतिहासमा सुनौलो अक्षरले नाम लेखाउने।

नेपथ्यबाट आएका अदृश्य आवाजहरु आफैंले डिकोड गर्ने र बुझ्ने  हो। सिपाही भनेको दूरदराजको भुईं जनताहरुको प्रतिनिधि हो। सिपाही, माटो र मातृभूमिले निर्भिक नेतृत्वको निःस्वार्थ निर्णय र त्यागपूर्ण बलिदानको जगमा उभिएको सुशासनको मन्दिर हेर्न देख्न पूजा गर्न खोजेका छन्। सुशासनको रुख नै छैन भने शान्ति र समृद्धिको फल कहा फल्नु र जनताले खान पाउनु?

सरल, शालीन, साहसिक, प्रतिबद्ध र दृढ संकल्पले सुशोभित नयाँ सैनिक नेतृत्वको सानदार नेतृत्वबाट राष्ट्रिय संकटको ग्रहण फाटोस् र सुशासन मन्दिरको दरो जग निर्माण गर्न सम्पूर्ण तागत र त्याग केन्द्रित होस्।

सैनिक शासन संभव छैन तर, सैनिक दबावमा सुशासन सम्भव छ। दिनै पर्दछ। आउनै पर्दछ। मैले होइन, जनताले जोडदार मागेको खोजेको एकमात्र कुरा सुशासन हो।

हरेक ३-३ महिनामा प्रगतिका गौरव गाथाहरु लेख्न पाइराखौं भन्दै नयाँ नेतृत्वलाई हार्दिक शुभकामना !

२४ भाद्र, २०८१

हेलम्बु, लाङटाङ राष्ट्रिय निकुञ्ज।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *