अमेरिकामा इन्ट्रा कप भलिबल, रुकुम र बेलमण्ट विजयी

डिसी नेपाल
१ असोज २०८१ ७:१२

न्यूयोर्क। अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्ग शहरमा सम्पन्न इन्ट्रा कप भलिबल प्रतियोगितामा पुरुषतर्फ रुकुम टिम र महिलातर्फ बेलमण्ट टिम विजयी भएका छन्।

नेपाली समयअनुसार भदौ ३१ साँझ गते सम्पन्न अत्यन्त प्रतिष्पर्धात्मक फाइनल खेलमा रुकुम टिमले सजनी टिमलाई ३-२ को सेटले जितेको थियो। नेपालको मध्यपश्चिमको रुकुमबाट आएर अमेरिकाको टेक्सास राज्यमा बसोबास गर्ने खेलाडीहरु रुकुम टिममा सम्मिलित छन् भने नेपालको नेपालको सुदूर पश्चिमबाट अमेरिका आई टेक्सासमै बसोबास गर्ने खेलाडीहरु सजनी टिममा समावेश छन्।

प्रथम हुने रुकुम टिमले १० तोला सुनको गोल्ड कप र १२ हजार अमेरिकी डलर (१६ लाख ९ हाजर नेरु) जितेका छन्। उनीहरुलाई आयोजक संस्था इन्ट्रा-नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले सो पुरस्कार हस्तान्तरण गरेका थिए।

त्यसैगरी महिला भलिबलतर्फ मेरिल्याण्ड राज्यको नेपाली क्लब बेलमण्टले जितेको छ। चर्चित नेपाली राष्ट्रिय खेलाडीहरु सिपोरा गुरुङ र रमिला तण्डुकारसम्मिलित बेलमण्टले १० तोला सुनको गोल्ड कप र ९ हजार अमेरिकी डलर(१२ लाख ६ हजार नेरु) जितेको थियो।

यसैगरी सो प्रतियोगितामा पुरुषतर्फ उपविजेता बनेको सजनी टिमले ८ हजार अमेरिकी डलर( १० लाख ७२ हजार नेरु) र महिलातर्फको उपविजेता बीवाईएससी मिनिसोटाले ६ हजार अमेरिकी डलर(८ लाख ४ हजार नेरु) पुरस्कार प्राप्त गरेको छ।

खेलको नियमअनुसार, सुनको ट्रफी पूर्णरुपले जित्नको लागि लगातार ३ पल्ट जित्नुपर्ने हुन्छ। पुरुष विजेता रुकुम टिम र महिला विजेता बेलमण्ट टिमले लगातार दुईपटक इन्ट्रा कप भलिबल प्रतियोगिता जितिसकेका छन्।

अव एकपटक दुबै टिमले जिते सुनको ट्रफी यी टिमहरुले नै लग्नेछन्। पुरस्कार वितरण गर्दै फाउण्डेसनका अध्यक्ष अधिकारीले खेल जितेर पुरस्कार रकम, ट्रफी र कपमात्र लिएर खेलाडीहरु फर्किएको नभई नेपालीपन, नेपाली मन र नेपाली जातीय एकतालाई मजवुत बनाइएको बताए।

उनले नेपालीपन र नेपाली सांस्कृतिक एकतालाई संसारभर मजबुत बनाउन फाउण्डेसनले मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको दोस्रो संस्करण सन् २०२५ मा देखि शुरु गर्ने बताए।

पुरस्कार वितरण गर्दै नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बलले नेपालीपन र नेपाली मनलाई अमेरिकामा एकताबद्ध बनाई खेलकुद प्रतियोगिता गराएको देख्न पाउँदा आफूलाई गर्व लागेको बताए।

खेल व्यवस्थापन समितिका संयोजक ओमराज गुरुङले दिएको जानकारीअनुसार, इन्ट्रा कप भलिबलको सर्बोत्कृष्ट खेलाडीमा महिलातर्फ बेलमण्टकी सिपोरा गुरुङ र पुरुषतर्फ रुकुम टिमका डेमोण्ड खड्का घोषित भएका थिए।

प्रतियोगितामा तेस्रो हुन सफल पुरुषतर्फ सानफ्रान्सिस्को टिमले ५ हजार अमेरिकी डलर(६ लाख ७० हजार नेरु) र महिलातर्फ फ्रेण्डसिप ओहायो टिमले ३ हजार अमेरिकी डलर( ४ लाख २ हजार नेरु) प्राप्त गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *