नरेश भट्टविरुद्ध आपराधिक मुद्दामा अदालती ट्रायलको मिति तोकियो

डिसी नेपाल
१ असोज २०८१ १३:५९

काठमाडौं । अमेरिकाको भर्जिनियाबाट बेपत्ता भएकी नेपाली मूलकी महिला ममता काफ्ले भट्टका श्रीमानविरुद्ध आपराधिक मुद्दामा ट्रायलको लागि मिति तोकिएको छ । उनीविरुद्ध ट्रायल आगामी डिसेम्बरमा हुनेगरी न्यायाधीशले मिति तोकेका हुन् ।

श्रीमान नरेश भट्टविरुद्ध आफ्नी बेपत्ता पत्नीको शव लुकाएको आरोप लगाइएको छ । सोमबारको द्रुत सुनुवाइमा न्यायाधीशले डिसेम्बर ९ लाई ट्रायल मितिका रूपमा तय गरेका हुन् ।

पहिलो ट्रायल डिसेम्बर ९ देखि ११ सम्म र त्यसपछि अर्को ट्रायल डिसेम्बर १६ देखि १८ सम्म हुनेछ । अभियोजकहरूले प्रमाणहरूलाई सङ्गठित गर्न र तयारी गर्न समय चाहिएको भन्दै अर्को वर्षको सुरुमा मुद्दा सुरु होस् भन्ने चाहन्थे। नरेशका वकिलले भने पहिल्यै सुरु गर्नका लागि तर्क गरे।

ममता काफ्ले भट्ट जुलाईको अन्त्यदेखि देखिएकी छैनन्। २८ वर्षीया ममता २०२१ मा विवाहपछि अमरिका गएकी थिइन् । उनले भर्खरै आफ्नो छोरीको पहिलो जन्मदिन मनाउन पाइनन् । जन्मदिनभन्दा केही दिनअघि नै उनी बेपत्ता भएकी थिइन्।

उनका पतिलाई गत महिना श्रीमतीको शव लुकाएको आरोपमा पक्राउ गरिएको थियो। तर आपराधिक उजुरीमा पुलिसले उनलाई ममता काफ्ले भट्टको हत्या समेत गरेको आरोप लगाएको छ। अभियोजकहरूले उनीहरूको घरको मुख्य बेडरूम र बाथरुममा रगत जम्मा भएको आरोप लगाएका छन्।

सोमवारको सुनुवाइमा अमेरिकामा बस्ने नेपाली समुदायका दर्जनौँ समर्थकहरूसँगै ममताका परिवारका केही सदस्य र पूर्व सहकर्मीहरू उपस्थित भएपछि अदालत कक्षको प्रत्येक सिट भरिएको थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *