केपी ओलीले हिन्दु धर्ममाथिको शब्दप्रहार सच्याउनु पर्छ

खगेन्द्रराज सिटौला
४ असोज २०८१ ७:१५

नेताले नीति बोल्नुपर्छ प्रतिशोध बोल्नु हुँदैन। कुर्सी गिरेको रिसमा देशलाई गिराउने अभिव्यक्ति कहिल्यै पनि दिनुहुँदैन। यहाँ यस्तै भएको रहेछ। तत्कालीन प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणको समयमा गेरु धोती वस्त्र पहिरिएर भारतको कुनै मन्दिरमा पूजामा सरिक भएका थिए।

यसैलाई लिएर कुनै पत्रकारले एमाले अध्यक्ष केपी वलीलाई प्रश्न सोधेको रहेछन्। यसको जवाफमा केपी ओलीले प्रचण्डलाई प्रहार गर्ने नाममा हिन्दु धर्ममाथि प्रहार गरेका रहेछन्।

यो भिडिओ सामाजिक सञ्जालमा आएको रहेछ। ढिलो भए नि यसको चिरफार गर्नुपर्ने देखियो। किनभने यो अभिव्यक्तिले धर्मान्तरलाई बल दिन्छ। यो त्यसैबेला चर्को बिरोध हुनुपर्ने थियो। न हिन्दु राजनीति गर्ने दलहरुले नै विरोध गरेको देखियो न अनेक नामका हिन्दु संगठनहरुले नै।

पहिला एमाले अध्यक्ष केपी ओलीको भनाइ जस्ताकोतस्तै सुनौं र पढाैं। केपीले भनेका रहेछन्-‘केहो हिन्दु धर्म भन्या? हिन्दु धर्म भनेको के? हिन्दु भन्याको कहिले चल्या हो? यो वैदिक होइन, सनातन होइन, उपनिषद होइन, पौराणिक होइन, केही होइन। यो हिन्दु भनेको कहिले उदायो? यो हिन्दु भनेको खास धर्म नै होइन। धर्म भनेको खास सनातन परापूर्वकालदेखि चलेको होला।’

अझ अगाडि पोशाक अर्थात पहिरन सम्बन्धि पनि उनले आफ्नो धारणा यसरी राखेका रहेछन् “ त्यसले यो बस्त्र लगाउ त्यो बस्त्र नलगाउ भन्दैन। हिजो उहिले ऋषिमुनीहरुले धोतीहरु लगाएको देखिन्छ। किनभने तेसबोला मिसिन थिएन।

सिउने चलनै थिएन। कपडा बल्ल बन्न जानेको थियो काट्ने सिउने चलन थिएन। त्यसकारण त्यस्तै कपडा लगाइन्थ्यो त्यस्तै चलन थियो। त्यो जमानाको कुरो। अहिले आएर त्यहाँको देउताले यो पोशाक लाउन पाइदैन भन्छ? यस्तो रङको पोशाक लगा भन्छ देउताले? नचाहिने कुरो”।

केपीले एकैपल्ट हिन्दु धर्म र हिन्दु धर्मका गुरु, पुरोहित, पण्डित साधु, सन्त, महन्त आदि तथा हिन्दु पूजा विधि विधान आदिमा लगाइने धोती आदि आध्यात्मिक पहिचानको पहिरन समेतलाई पनि अनादार गर्ने अभिव्यक्ति दिएका रहेछन्।

पत्रकारलाई केपी ओलीले सकारात्मक जवाफ दिएको भए हुन्थ्यो। उनले यति नै भनेको भए पुग्थ्यो भारतको मठ मन्दिरमा पूजाआजा आदिमा सरिक हुँदा त्यहाँको आध्यात्मिक मान्यता अनुसारको पहिरन लगाउनु सामान्य र स्वभाविक नै लिनुपर्छ। यसले पूर्वीय आध्यत्मिक चिन्तनधारलाई नै बढवा दिन्छ भन्न सक्थे।

अथवा एक कम्युनिष्ट नेताको हैसियतले हामी भौतिकवादी हौं यस्ता इश्वर र अन्धविश्वासलाई बढावा दिने कार्यमा सरिक हुँदा राम्रो सन्देश जाँदैन भनेर कथित क्रान्तिकारी कुरा गर्न पनि सक्थे। तर यिनले त हिन्दु धर्म कै अस्तित्वलाई अस्वीकार गर्ने आपत्तिजनक अभिव्यक्ति किन दिएका होलान्? मूल सवाल यो हो।

पूजा, गुरु, पुरोहित आदिको प्रतिकात्मक, औपचारिक र पवित्र धोती आदि पहिरनलाई पनि होच्याउन यिनलाई किन जरुरी परेको होला? छलफल यसैमा केन्द्रित गरौं।

पहिलो त यिनले हिन्दु धर्मको अस्तित्व र इतिहासलाई नै अस्वीकार गरे। यो हिन्दु धर्म र हिन्दुधर्मावलम्बी र उनीहरुको आस्थामाथिको पनि प्रहार हो। यो नेपाल राज्यको मान्यताभन्दा पृथक, नेपालका बहुसंख्यक हिन्दु धर्मवालम्बीहरुको विश्वास, आस्था र पहिचान भन्दा पृथक, अन्तर्राष्ट्रिय मान्यताभन्दा पृथक हिन्दु धर्म बिरोधी अभिव्यक्ति नै हो यो। सारा विश्वले मान्यता दिएको र अस्तित्वलाई स्वीकार गरेको एक प्रमुख धर्ममाथि धावा हो र अस्तित्व अस्वीकार हो।

भरखरै प्रधानमन्त्री भएर राज्य हाँकेर कुर्सीबाट फालिने बित्तिकै एमाले पार्टी जस्तो जिम्मेवार पार्टीका नेताले यस्तो गैह्र जिम्मेवार अभिव्यक्ति दिन मिल्थ्यो? भरखरै राज्यले गरेको जनगणनाको परिणामको तथ्यांक दिएको छ। जसमा असी प्रतिशत भन्दा बढी हिन्दु धर्ममा विश्वास गर्ने तथ्यांक दिएको छ।

यही राज्यले जनगणनाको तथ्यांक निकाल्न दिएको फारममा आस्था भएको धर्मको महलमा एउटा धर्ममा हिन्दु लेखेको छ। के राज्यले नभएको धर्म लेखेर बेइमानी गरेको हो केपी  ओलीको भनाइमा? राज्यले हिन्दु धर्म भन्छ राज्य हाँक्ने प्रधानमन्त्री हिन्दु धर्म नै होइन भन्छन्? हिन्दु धर्म भन्ने राज्यको मान्यता सही कि हिन्दु धर्मको अस्तित्व नै अस्वीकार गरेर हिन्दु धर्म नै होइन भन्ने केपी ओलीको मान्यता सही?

यसमा एमाले पार्टीको आधिकारिक धारणा के हो? एमालेका संगठित सदस्य वा सबै समर्थक मतदाताको आधिकारिक भनाइ यही हो? मेरो धर्म हिन्दु हो भनेर जनगणनाको फारम भर्ने नेपालका लगभग २ करोड ५० लाख हिन्दुहरुको भनाइ केहो? आफ्नो धर्म हिन्दु भनेर लेख्ने सबै अज्ञानी र पागल?

केपी ओलीले एक किसिमले हिन्दु धर्मको अस्तित्व अस्वीकार गर्दै सवाल उठाएका रहेछन् के हो हिन्दु धर्म भन्या? हिन्दु भन्याको कहिलेबाट चलेको हो? यो हिन्दु भन्ने कहिले उदायो? मानौं हिन्दु धर्मको अस्तित्व नै छैन इतिहास नै छैन हिन्दु धर्मभन्दा पहिला एमाले उदाएको हो।

केपी ओलीजस्तो सर्वज्ञानी नेतालाई यति त थाहा भएकै हुनुपर्ने हो नेपाल एकीकरणका नायक राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले “असली हिन्दुस्थाना नेपालै रहेछ” भन्ने उल्लेख भएको दिव्य उपदेश पढेको नै हुनुपर्ने हो।

हिन्दु कहिले उदायो कहिलेबाट चलेको भन्ने सवालको जवाफ अलिकति त केपी ओलीलाई यसले पनि दिन्छ। पृथ्वीनारायणले पनि आफूभन्दा अघिको इतिहास र धार्मिक परम्परा बुझेर नै यसो भनेको हुनुपर्छ।

पृथ्वीनारायण शाहले नेपालमा जोडेका मकवानपुर, चौदण्डी, विजयपुर राज्यका सेन राजाहरुले आफूलाई “हिन्दुपति” उपाधिले विभूषित गरेका थिए। उनीहरुले पनि आफूभन्दा पहिलादेखि चलेको धार्मिक मान्यतामाथि उभिएर यो उपाधिले आफूलाई विभूषित गरेको र हिन्दु हुनमा गर्व गरेको सजिलै बुझ्न सकिन्छ। यसले पनि केपीलाई हिन्दुधर्म कहिलेदेखि चल्यो कहिले उदायोको उत्तर लिन सहयोग गर्छ होला।

पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियानमा नेपालमा जोडेका कान्तिपुर,ललितपुर र भक्तपुरका सबै मन्दिरमा एकपटक त केपी पुगेकै होलान् ? ती मन्दिर कहिले बनेका होलान्? मल्लकालमा बनेका अनेक नामका मन्दिरहरु,मुर्तिहरु कुन धर्मसँग जोडिएका देवी देउताका नाम होलान्?

के यिनले पनि केपी ओलीको सवालको जवाफ दिन सहयोग गर्दैन होला? मल्लहरुले पनि धार्मिक इतिहास पढेर नै हिन्दु देव देवीको मन्दिर बनाएका हुन् भनेर केपीले नबुझेको होर याे ? तै पनि उनले सवाल उठाइतहाले। यो कहिलेबाट उदायो?

नेपालको लिखित इतिहास भएको भनेको लिच्छवीकालमा बनेका मन्दिरले, मूर्तिले पनि केपीको जिज्ञाषा मेटाउन मदत गर्छ होला नि यो कहिले उदायो? हिन्दुधर्मसँग जोडिएका प्राय सबै ग्रन्थ केपीले सायद पढेका होलान्। हिन्दुधर्म कहिले उदायो? को केपीको सवालको जवाफ ति ग्रन्थबाट पनि केपी ओलीले लिएकै होलान् नि। तर पनि बुझ पचाउँदै सवाल गरेरै छोडे हिन्दुधर्म कहिले उदायो?

केपीले केहीवर्ष अघि हिन्दु धर्मवालम्बीले भगवान् मानेका रामको जन्मभूमी भारतको अयोध्यामा होइन नेपालको चितवनको ठोरीमा भएको भनेर खैलबैला चलाएका थिए। रामको अस्तित्वलाई केपीले के आधारमा स्वीकारेको हो? रामको इतिहास वा मिथक कति वर्ष पुरानो हो?

केपी ओलीले के आधारमा रामको जन्मभूमि नेपालको ठोरीमा हो भनेको? कुनै नामी राजा भएकोले वा हिन्दुहरुले मानेका भगवान् भएकोले? आफैं हिन्दुले मानेका हिन्दु ग्रन्थमा आधारित भगवान् रामको अस्तित्व स्वीकार्दै चितवन रामको जन्मभूमि भनेर झुत्ति खेल्ने अनि आफैं फेरि हिन्दु धर्म नै होइन भनेर ठोकुवा गर्ने बिरोधाभाषपूर्ण अभिव्यक्ति किन र कसका लागि? हिन्दुधर्म कहिलेबाट भन्ने केपीको प्रश्न केपीले आफैं याहाँ पनि दिएका छैनन् र?

केपी ओलीले हिन्दु धर्म जोडिएका सबै ग्रन्थ हिन्दुसँग नजोडिएका वा पृथक हुन् भन्ने तथ्यसँग मेल नखाने विचार अघि सारेका रहेछन्। यो वैदिक होइन, उपनिषद होइन, पौराणिक होइन, केही होइन भनेछन्। कसैले पत्याउलान्? हिन्दु धर्मको सामान्य जानकारी भएका कसैले पत्याउँदैनन्। हिन्दु धर्मले मान्ने ग्रन्थ कुन हो त सम्माननीय केपी ओली महोदय?

राज्य हाँक्ने ठाउँमा बसेका केपीले हिन्दुलाई धर्म मानेनछन् केही होइन भनेछन्। सनातनलाई भने धर्म हुनसक्छ भनेछन्। तर राज्य हाक्ने केपीलाई राज्यले नै मान्यता दिएको नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको शब्दकोषले नै हिन्दु धर्म भन्नु र सनातन धर्म भन्नु एउटै हो एउटै बुझिने दिएको अर्थ पढे भने अब केपी हिन्दु धर्मलाई के भन्छन् होला? शब्दकोषले के दिएको छ त हिन्दु धर्म र सनातन धर्मको अर्थ कतै जोडेको छ कि छैन तल हेरौं।

हिन्दु-वेद,धर्मशास्त्र,नीतिशास्त्र र पुराण आदिलाई आफ्नो धर्मग्रन्थ मान्ने जाति वा धर्म।

हिन्दु धर्म- हिन्दुहरुको धर्म

सनातन- शिव,विष्णु,ब्रम्हा,लक्ष्मी, दुर्गा,सरास्वतीका निम्ति प्रयोग हुने नाम।

सनातन धर्म-आर्यहरुमा प्राचीन समयदेखि चली आएको मानवीय धर्म, वेद,पुराण,तन्त्र,मूर्तिपूजा,आदिद्वारा समर्थित अचेल चलेको हिन्दु धर्म (नेपाली बृहत् शब्दकोष नेपाल प्रज्ञा प्रतिष्ठान २०७५,पेज १२२६ं-२७,१३४६) यसलाई केपी के भन्छन् ? कि आफ्नो भनाइ सच्याउनु पर्ने भो कि शब्दकोषमा आफूले चाहे बमोजिमको अर्थ सच्याउन लगाउनु पर्ने भो।

अघिल्लो प्रधानमन्त्री कालमा केपी ओलीले हिन्दुहरुको सबैभन्दा ठूलो आस्थाको मन्दिर पशुपतिनाथमा सरकारको तर्फबाट सुनको जलहरी चढाउने काम गराएका थिए। सुनको जलहरी केपीले के मान्यतामाथि उभिएर चढाएका हुन्? कुनै सुन पसल ठानेर वा हिन्दुहरुको सबैभन्दा ठूलो आस्थाको मन्दिर भनेर?

पशुपतिनाथमा सुनको जलाहरी बनाउन लगाउने केपी ओलीलाई अवश्य पनि पशुपतिनाथको महिमा र इतिहास थाहा भएर नै जलारी चढाउन लगाएका होलान्। यसले पनि केपीलाई हिन्दु धर्म कहिले उदायो को उत्तर दिँदैन र?

केपी ओलीले गरेको प्रश्न याहाँ केपीतिर नै फर्कन्छ। “त्यहाँको देउताले यो पोशाक लगाउन पाउँदैन यस्तो रङको पोशाक लगा भन्छ?” भनेर प्रचण्डले पूजामा लगाएको पर्हेलो रङको धोती आदि पहिरनको बिरोध गर्ने केपीलाई यहाँको देउताले पित्तल नले, तामा नले, चाँदी नले, सुन नै चाहिन्छ भनेको थियो भनेर सवाल गरेमा केपीको के जवाफ आउँछ होला?

होली वाइनको कार्यक्रममा प्रधानमन्त्री निवास बालुवाटार छोडेर तीनदिनसम्म नै सोल्टी होटलमा होली वाइनका दक्षिण कोरियाली क्रिश्चियन मुनको पाहुना बस्ने केपी ओलीले कसको स्वार्थको सेवामा हिन्दु धर्म होइन भन्न सकेका होलान्? हिन्दु धर्म होइन भन्ने केपीले क्रिश्चियन धर्म होइन भन्न सक्छन् सक्दैनन्?

इस्लाम पनि धर्म नै होइन भन्न सक्छन् सक्दैनन्? अथवा हामी भौतिकवादी कम्युनिष्ट कुनै अन्धविश्वास धर्म, इश्वरलाई मान्दैनौ भन्छन् कि भन्दैनन्? किन हिन्दुधर्ममाथि मात्रै प्रहार गर्छन्?

पश्चिमा चिन्तनधारबाट प्रेरित नेताहरु किन समान किसिमले हिन्दु धर्ममाथि धावा बोल्छन् बुझिनसक्नु रहस्य भएको छ। वीपी कोइरालाले पशुपतिनाथको मन्दिरलाई म्युजियममा थन्क्याए हुन्छ भनेका थिए भनेर कतै पढेको थिएँ। वीपीको उक्त भनाई र केपी ओलीको हिन्दु कुनै धर्म नै होइन भन्ने भनाई दुबैले एउटै रणनीति स्वार्थको सेवा गर्दछ।

अनेकौं पुस्ता हिन्दु परम्पराबाट आएका र आफ्ना नाम र न्वारान पनि हिन्दु विधिविधानबाट जुराएका प्रधानमन्त्री भएका व्याक्तित्वबाट आएका यस्ता अभिव्यक्तिले हिन्दु धर्म र सभ्यतामाथि नेपालको मौलिक आध्यात्मिक दर्शन र सभ्यतामाथि प्रहार गर्नेलाई बल दिएको छ। देशभक्त नेताले आफ्ना सभ्यता र शक्तिमाथि गर्व गर्छ प्रहार गर्दैन।

नेपालमा प्रचलित धेरे चाडपर्वहरु संस्कृतिहरु हिन्दु दर्शन वा मिथकसँग जोडिएका छन्। ती सबैमा केपी ओलीले कहिले प्रधानमन्त्रीको रुपमा कहिले पार्टी अध्यक्षको रुपमा बधाई शुभकामना दिन्छन्।

आफूले अस्तित्व नै स्वीकार नगरेको धर्मसँग जोडिएका पर्वहरुमा शुभकामना दिन भने किन रहर जागेको होला ? सैदान्तिक हिसाबले कम्युनिष्ट धर्ममा विश्वास गर्दैनन् भौतिकवादी हुन्छन्। केपी ओलीलगायत नेपालका कम्युनिष्टका अनेक तहका नेता कार्यकर्ताहरुले जनगणनाको धर्मको महलमा के लेखेका होलान् ? वा खाली छोडेका होलान्?

हिन्दुहरुको देवी देउतासँग जोडिएको सबैभन्दा ठूलो चाड दसैंमा केपी ओली छोराको हैसियतले बुबासँग टिका जमारा लगाउँछन् भने प्रधान्मन्त्रीको हैसियतले हिजो जनताले विष्णुको अवतार समेत मानेका एक हिन्दु राजाले राष्ट्राध्यक्षको हैसियतले सर्वसाधरण नेपालीलाई दसैंको टिका लगाइदिने चलनको अनुसरण गर्दै उनी पनि दसैंमा सर्वसाधरण जनतालाई टिका लगाइदिन्छन्।

पहिला त हिन्दु धर्म नै होइन भनेका थिएनन्। अहिले त धर्म नै होइन भने पछि यस्ता हिन्दु धर्मसँग जोडिएका धार्मिक सांस्कृतिक चाड के आधारमाथि उभिएर मनाउँछन् होला? सानो जिज्ञाषा नि।

चीनका कम्युनिष्ट नेताले चीनका मौलिक रैथाने प्राचीन आध्यात्मतिर फर्कन चीनका जनतालाई प्रोत्साहित गरिरहेका छन् भने नेपालका नेताभने आफ्नै आध्यात्मिक चिन्तनधारलाई प्रहार गरेर बाह्य रणनीतिको आध्यात्मिक चिन्तनधाको लागि मैदान तयार गरिदिन भएभरको शक्ति लगाइरहेका छन् किन?

केपी ओलीले आफ्नो मत सच्याउनु पर्छ नेपालको हित र जितको लागि । र उनी र उनको दलको हितको लागि पनि। उनले आफ्नो मत सच्याएनन् भने हिन्दु मतदाताले आफ्नो मत सच्याउने अभियान चलाए भने यसले केपी र एमालेलाई नै नोक्सान हुनसक्छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *